मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशमा माधव समुहको रणनीति : ओली सच्चिए ठिकै, नत्र विकल्प खुल्ला

अष्टलक्ष्मी शाक्य भन्छिन्– ओली सच्चिनुपर्छ, नभए आउट हुनुपर्छ
सोमबार, ३१ जेठ २०७८, १२ : ३५
सोमबार, ३१ जेठ २०७८

अध्यक्ष केपी ओलीसँगको टकरावपछि घोषितरुपमै विपक्षी गठबन्धनमा उभिएको एमालेको खनाल–नेपाल समुह प्रदेशस्तरमा भने अचानक ओली समुहसँग नजिकिन पुगेको छ । केन्द्रमा ओलीविरुद्ध विपक्षी गठबन्धनमा रहेर मोर्चाबन्दी कसेको यो समुहले गण्डकी, प्रदेश १ र वागमती प्रदेशमा ओलीसँग नजिकिँदै सहकार्य गर्न पुगेपछि धेरैले आश्चर्य व्यक्त गर्न थालेका छन् ।

तर, ओली पक्षसँग कटाक्ष गर्दै आएका नेताहरु भने ओलीलाई जेठ ३ अघिको अवस्थामा फर्कन थप दबाव पुग्ने विश्लेषणका साथ आफूहरुको भूमिका परिवर्तन भएको दावी गर्छन् । एमाले एकताका लागि केन्द्रीय तहमा भएका प्रयास र छलफलले सार्थकता पाउन नसकेका बेला प्रदेशमा भएका सहकार्यले पार्टी एकतामा बल पुग्छ या पानीको फोका जस्तै बन्छ, त्यो भने हेर्न बाँकी नै छ ।

​यसअघि सरकार टिकाउने सवालमा कर्णाली र सुदुरपश्चिम प्रदेशमा विपक्षी गठबन्धनको पक्षमै उभिएको यो समुहले लुम्बिनी,बागमती र प्रदेश १ मा भने ओली समूहलाई नै साथ दिन पुगेपछि एमालेभित्रको राजनीतिमा यु–टर्न हुन सक्ने विश्लेषण समेत कतिपयले गर्न थालेका छन् ।

यसअघिसम्म खनाल नेपाल समुहका हार्डलाइनर भनेर चिनिएका नेताहरु अष्टलक्ष्मी शाक्य, भीम आचार्य र राजेन्द्र पाण्डेलगायतका नेताहरुले परिवर्तित भूमिकाको अगुवाइ गरिरहेका छन् ।

यही क्रममा पृथ्वी सुब्बा गुरुङको विकल्पमा गण्डकी प्रदेश सरकार गठनका क्रममा भएको मतदानमा खनाल नेपाल समुहका एकमात्र सांसदले पृथ्वी सुब्बा गुरुङलाई नै साथ दिएर एकताको सन्देश दिन खोजेको कतिपयको भनाइ छ ।

कर्णालीका चार सांसदलाई एमालेको दशौं महाधिवेशन आयोजक कमिटीका नाममा गरेको कारवाहीलाई सर्वोच्चले अस्वीकार गरेपछि पुन एमाले एकताका लागि ढोका खोलेको निष्कर्षका साथ ओलीलाई सच्चिन थप मौका मिलेको भन्दै आफूहरु पनि पार्टी एकताकै पक्षमा उभिन पुगेको खनाल नेपाल समुहका प्रदेशस्तरीय नेताहरुको भनाई छ । यस विषयमा शीर्ष नेताको आदेश नखोजी स्वविवेकले निर्णय गरेको पनि ती नेताहरुको दावी छ ।

यसअघिसम्म खनाल नेपाल समुहका हार्डलाइनर भनेर चिनिएका नेताहरु अष्टलक्ष्मी शाक्य, भीम आचार्य र राजेन्द्र पाण्डेलगायतका नेताहरुले परिवर्तित भूमिकाको अगुवाइ गरिरहेका छन् ।

प्रदेशमा खनाल नेपाल समुहले ओली समूहसँग सहकार्य गर्न थालेपछि यो समूह विपक्षी गठबन्धनबाट बाहिर निस्कन लागेको त होइन भन्ने प्रश्नसमेत उठ्न थालेका छन् । तर, गठबन्धनबाट बाहिर निस्किएको भन्ने बुझाइप्रति खनाल नेपाल समुहका नेताहरु असहमति राख्छन् ।

‘हामी गठबन्धनबाट बाहिर निस्केको भन्ने अर्थ लगाउन थालिएको छ । यो गलत छ’, एमाले उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्य भन्छिन्, ‘पार्टी एकता जोगाउन हदैसम्मको लचकता अपनाइएको हो ।’

बागमती प्रदेश सदस्यसमेत रहेकी शाक्य यसअघि मुख्यमन्त्री डोरमणि पौडेलको विकल्पमा मुख्यमन्त्रीमा दाबी पेश गर्दै आएकी थिइन् । काँग्रेस, माओवादीसँग मिलेर उनै शाक्यको नेतृत्वमा पौडेलविरुद्ध २ पटक अविश्वास प्रस्ताव लगे पनि अहिले भने शाक्य आफैले निर्देशन दिएर वागमती सरकारको नीति कार्यक्रम पारित भएको छ । यो समुह अहिले बजेटसमेत पास गर्ने तयारीमा जुटेको छ ।

परिवर्तित अवस्थामा फरक भूमिका खेल्नुमा दुई तीनवटा कारण रहेको शाक्यको भनाइ छ । ‘यसमा दुई तीनवटा कुरा छन् । पहिलो कुरा अरु प्रदेशको जस्तो अवस्था बागमतीमा होइन । यद्यपि बागमतीले ठूलै अर्थ राख्छ । पौडेलको विकल्पमा सरकार बनाउन बहुमतका लागि ५६ जनाको संख्या चाहिन्छ । त्यो पुग्ने अवस्था भएन । दुई चोटि अविश्वास प्रस्ताव राख्दा पनि सभामुखले सूचना टाँसेर असफल बनाइदिएको अवस्था हो’, शाक्यको भनाइ छ ।

‘सकारात्मक पहल हो हाम्रो । तर हुँदै भएन, केपी ओलीले मान्यता दिएनन् र यस्तै भएर जानुपर्ने स्थिति भयो भने विकल्प सोच्न हामी खुला नै छौं । त्यतिकै हाम्रो शक्तिलाई छिन्नभिन्न हुन दिँदैनाैँ तर अन्तिममा केन्द्रले लिने निर्णयमा प्रदेशले साथ नदिने कुरा हुँदैन’

दोस्रो, सत्तापक्षको संख्या घटाएर अघि बढ्दा पनि ११ जना भन्दा बढी सांसदले पद त्याग गर्नुपर्ने र त्यसो गर्दा बढी नोक्सान हुने उनको बुझाइ छ । ‘नोक्सान र असफलता नै असफलता भोग्नुभन्दा पनि मिलेर जान तयार हुनु त राम्रो नै हो भन्ने लाग्यो । किनभने जनताले यत्रो विश्वास गरेर हामीलाई ठूलो दल बनाए । तर, हामी आफै लडेर सिद्धिने, जनतालाई पनि सिध्याउने र गणतन्त्र पनि सिध्याउने ढंगले अघि बढ्दा इतिहासले क्षम्य गर्दैन’, शाक्यको भनाइ छ ।

उनले मिलेर जाँदाको फाइदा र नमिल्दा हुने बेफाइदालाई समेत विश्लेषण गर्दा देश बच्ने र जनता समेत खुसी हुने भएकाले यस्तो निर्णय गर्न पुगेको बताइन् । त्यतिमात्रै होइन, शाक्यले एमाले विवादमा प्रदेशबाट मिल्दै गयो भने केन्द्रलाई समेत मिल्न सहज हुने निश्कर्ष निकालेको समेत बताइन् ।

‘निर्देशित मात्रै भएर हुँदैन आन्दोलन बचाउन, संघीयता बचाउन हामीले स्वविवेकले पनि निर्णय लिन सक्नुपर्छ । गणतन्त्र नै सकिएपछि संघीयता पनि सकिन्छ’, शाक्यले निर्देशित मात्र बन्नुभन्दा स्वविवेकीय निर्णयले पनि कहिलेकाँही राम्रो परिणाम दिन सक्ने बताइन् । उनले सर्वोच्चले दिएको अन्तरिम आदेशले पनि केपी ओलीलाई पार्टी मिलाउनैपर्ने बाध्यता रहेको भन्दै यदि त्यो आदेश नमाने ओली आफै नांगिने बताइन् ।

‘नेकपा एमाले भनेको ओलीको मात्रै पेवा होइन । लाखौँलाख जनता र अग्रजहरुको बलिदानको उपज हो । त्यसैले अहिले कुनै कार्यकर्ता आउट हो भन्दैमा हुने होइन’, शाक्य भन्छिन्, ‘केपी ओली सच्चिनुपर्छ, होइन भने उहाँ नै आउट हुनुपर्छ ।’

शाक्यले अन्तिमसम्म पार्टी एकताका लागि सकारात्मक पहल गर्ने, तर ओली सच्चिदै नसच्चिए विकल्प सोच्न खुला रहेको पनि बताइन् । ‘सकारात्मक पहल हो हाम्रो । तर हुँदै भएन, केपी ओलीले मान्यता दिएनन् र यस्तै भएर जानुपर्ने स्थिति भयो भने विकल्प सोच्न हामी खुला नै छौं । त्यतिकै हाम्रो शक्तिलाई छिन्नभिन्न हुन दिँदैनाैँ तर अन्तिममा केन्द्रले लिने निर्णयमा प्रदेशले साथ नदिने कुरा हुँदैन’, नेतृ शाक्यको भनाइ छ ।

ओलीसँगको सम्बन्ध विच्छेदन नै छ

नेतृ शाक्यले बागमती प्रदेशको हकमा आफूहरुको परिवर्तित भूमिकाबारे केपी ओलीसँग कुनै छलफल र कुराकानीसमेत नभएको बताइन् । ‘ओलीसँग हाम्रो कुनै सम्पर्क भएको छैन । कुराकानी भेटघाट, फोन सम्पर्क केही भएर हामीले साथ दिएका होइनौं । अहिले पनि सम्बन्ध विच्छेदजस्तै हो’, उनले भनिन्, ‘हाम्रो पंक्ति फुटको चाहनामात्रै राख्छन् भन्ने जुन सन्देश गइरहेको छ, हामीले त्यसलाई गलत सावित पनि गरेका छौं । नेतृत्वले त्यस्तो चाहाना राखे पनि त्यस्तो होइन है भन्ने सन्देश दिएका छाैं । तर, अन्तिममा यति गर्दा पनि भएन भने हाम्रो बाटो खुला नै छ । नयाँ शक्ति र नयाँ पार्टीका साथ अघि बढ्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप