बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीको मुख्यमन्त्रीमा पोखरेलको दाबी  : मन्त्रीमा क–कसको सम्भावना ?

शुक्रबार, २८ जेठ २०७८, २१ : ५१
शुक्रबार, २८ जेठ २०७८

गण्डकी प्रदेशमा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्ने करिब पक्का भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विहीबार प्रदेशसभामा विश्वासको मत गुमाएपछि विपक्षी गठबन्धनकातर्फबाट पोखरेलले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

काँग्रेसका १५, माओवादीका ११, जसपाको २, राष्ट्रिय जनमोर्चाका २ र एक स्वतन्त्र गरी बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा पोखरेलको निवेदन परेको छ ।

विपक्षी गठबन्धनले बुझाएको ३१ सांसदको हस्ताक्षर सनाखत गरिएको छ । पोखरेलले आजै सपथ गराउन माग गरेका थिए । तर प्रदेश प्रमुख पौडेलले आफूले उक्त दावीबारे अध्ययन गर्ने र प्रक्रिया पु¥याएर निर्णय गर्ने बताएकी छन् ।

प्रदेश प्रमुख पौडेलले यसअघि नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न शनिबार ३ बजेसम्मको समय सीमा तोकेकी थिइन् । त्यतिञ्जेल अध्ययन गरी निर्णय दिने उनले बताएकी छन् ।

संविधानको धारा १६८ को ५ अनुसार सरकार गठनका लागि आवश्यक आधार बुझाएकाले शनिबार दिउँसो तीन बजे पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नेमा गठबन्धन विश्वस्त छ । योसँग गठबन्धन मन्त्रालय भागबण्डाको तयारीमा जुटेको छ ।

काँग्रेस सांसद विष्णु लामिछानेका अनुसार मुख्यमन्त्रीको सपथसँग तीन दल, (काँग्रेस, माओवादी र जसपा)बाट एक÷ एक समेटेर मन्त्रिमण्डल गठन गर्ने तयारी छ ।

 


पोखरेललाई मुख्यमन्त्रीमा समर्थन गरेपनि राजमोले भने सरकारमा सहभागी नहुने नीति लिएको छ । विशेष गरी मन्त्रालयको भागबण्डाका विषयमा काँग्रेस र माओवादी केन्द्रबीच छलफल भइरहेको छ । मन्त्रीका आकांक्षी पनि काँग्रेस र माओवादीमै धेरै छन् । जसपालाई एउटा मन्त्रालय दिइने भएकाले खासै समस्या छैन ।

पोखरेल रामचन्द्र पौडेल निकट रहेकाले काँग्रेसको केन्द्रीय सन्तुलन अनुसार मन्त्री छनोट गरिने काँग्रेसका एक सांसदले सुनाए । पोखरेलले पनि पार्टीको सबै पक्ष मिलाएर अगाडि मन्त्री छनोट गर्ने सोचमा रहेको उनको भनाइ छ ।

नवलपरासी निर्वाचन क्षेत्र भएका काँग्रेस महामन्त्री शशांक कोइरालासँग पनि राम्रो सम्बन्ध भएका ७१ वर्षीय पोखरेल काँग्रेसमा ‘सर्वमान्य’ नेताका रुपमा परिचित छन् । त्यसैले पोखरेलाई प्रेदश संसदीय दलको नेतादेखि मुख्यमन्त्री बनाउने विषयमा पनि पार्टी सभापति शेरबहादुर देउवाले पनि कुनै नाइनास्ती गरेका छैनन् ।

तर काँग्रेसले पाउने अधिकांश मन्त्रीमा आफू निकटलाई पठाउने देउवा पक्षको तयारी छ । स्राेतका अनुसार काँग्रेसबाट मन्त्री बन्नेमा कुमार खड्का, मेखलाल श्रेष्ठ, विन्दु थापा, प्रकाशचन्द्र दवाडी, ललितकला गुरुङ, डोबाटे विश्वकर्माको नाम चर्चामा छ ।

यसमा पनि सबैभन्दा बलियो सम्भावना खड्का र थापाको रहेको बताइएको छ । उनीहरु दुबै जना काँग्रेस सभापति देउवानिकट मान्छिन् । तत्कालीन अखण्ड पार्टीबाट खड्का संघीय सरकार कै महिला तथा बालबालिका मन्त्री नै बनेका थिए ।

खड्काले संसदीय दलको नेतामा दाबी गरेपनि पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन देउवा अन्तिमा ब्याक भएपछि पौडेल पक्षीय पोखरेल दलको नेता बनेका थिए ।

०७४ को आम चुनावअघि अखण्ड पार्टी काँग्रेसमा समाहित गराएका खड्का गण्डकीमा नयाँ सरकार बनाउन काँग्रेसद्वारा गठित वार्ता टोलीका संयोजक समेत हुन् । यस्तै माओवादी केन्द्रबाट रामजी बराल, दीपक कोइराला र गायत्री गुरुङको नाम चर्चामा छ ।

गण्डकी प्रदेश माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान पनि राम्रो मन्त्रालय पाए सरकारमा जाने मुडमा रहेको बुझिएको छ ।

तत्कालीन नेकपाको एकल सरकार रहेका उनी आन्तरिक मामिला तथा कानुन मन्त्री थिए ।

 


नाम विवादमा फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि चैत २५ गते मात्र चुमानसहित भूमि व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर मगरले राजीनामा दिएका थिए । यता जसपाबाट हरिशरण आचार्य सरकारमा जाने पक्का छ ।

बजेट ल्याउनुपर्ने समयको चाप भएकाले पनि पोखरेलले मन्त्री नियुक्त गर्ने ढिला गर्ने छुट पाउने अवस्था छैन ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप