शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रीको बायोडाटा : के–के छन् योग्यता ?

बिहीबार, २७ जेठ २०७८, १६ : ४०
बिहीबार, २७ जेठ २०७८

 प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा १८ औं पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । पछिल्लोपटक जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याएका ओलीले बिहीबार ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । योसँगै कामचलाउ सरकार २५ सदस्यीय बनेको छ ।

ओलीले विहीबार नियुक्त गरेका मन्त्रीमध्ये खगराज अधिकारीले गृह मन्त्रालयको जिम्मा पाएका छन् । बादलपत्नी नैनकला थापा सञ्चार मन्त्री बनेकी छिन् । त्यस्तै नारदमुनि राना वन, मोहन बाँनिया विना विभागीय, ज्वालाकुमारी साह कृषि, राजकिशोर यादव उद्योग, गणेश पहाडी सामान्य प्रशासन र आशा विक वन राज्यमन्त्री बनेका छन्  ।

पछिल्लोपटक  नियुक्त भएका मन्त्रीहरुको व्यक्तिगत विवरण यस्तो छ–

खगराज अधिकारी : गृहमन्त्री

पोखरा महानगरपालिका ३१ स्थायी घर भएका अधिकारी एमालेका निवर्तमान सांसद हुन् । २०१८ चैत १३ मा जन्मेका उनका श्रीमती र एक छोरी छन् । अधिकारीको शैक्षिक योग्यता स्नातकोत्तर हो ।

२०२९ सालदेखि अनेरास्ववियुबाट राजनीतिक थालेका अधिकारी एमालेका पुराना नेता मानिन्छन् । २०३२ सालबाट कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका उनी २०४६ देखि २०५२ सालसम्म नेकपा मालेको कास्की जिल्ला सचिव थिए । २०६५ सालदेखि नेकपा एमालेको गण्डकी अञ्चल सचिव र अञ्चल इञ्चार्ज भए ।

​एमालेको अनुशासन कमिटीको केन्द्रीय सदस्य एवं केन्द्रीय सल्लाहकार परिषदको उपाध्यक्षसम्म भएका अधिकारी २०७५ जेठपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य र गण्डकी प्रदेशको सहइञ्चार्ज बने ।

२०५१ को मध्यावधि निर्वाचनबाट प्रतिनिधिसभा सदस्य बनेको अधिकारी तीनपटक सांसद बनेका व्यक्ति हुन् । २०५६ मा कास्कीबाट निर्वाचित उनी २०७४ मा कास्की १ बाट निर्वाचित भए । पार्टी एकीकरण पूर्व संसदमा तत्कालीन एमालेको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका अधिकारी २०७० सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए ।

राजकिशोर यादव : उद्योग मन्त्री

सिराहाका निवर्तमान सांसद एवं जसपाका नेता राजकिशोर यादव विहीबार दोस्रो चरणमा मन्त्रि नियुक्त भएका छन् । उनी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् ।

२०३० साल साउन १८ गते जन्मेका मन्त्री यादवका श्रीमती, दुई छोरा र एक छोरी छन् । श्रीमती सरिताकुमारी यादव पूर्वसभासद हुन् ।

इन्जिनियरिङ पढेका यादव २०६० सालदेखि मधेसी जनअधिकार फोरममा आबद्ध भई सक्रिय राजनीतिमा आएका हुन् । उपेन्द्य्र यादवको पार्टीबाट अलग भएपछि २०६७ सालमा फोरम गणतान्त्रिक निर्माण गरेर यादव अध्यक्ष बनेका थिए । उनको पार्टी राजपामा समाहित भयो र पछि राजपा र समाजवादी मिलेर जसपा बन्यो । २०७२ वैशाखमा मधेस केन्द्रित दलहरू एकीकृत हुँदा राजपामा उनी अध्यक्ष मण्डलको सदस्य थिए ।

संविधानसभा निर्वाचन २०६४ मा तत्कालीन मधेसी जनअधिकार फोरमबाट सिरहाबाट यादव निर्वाचित भएका थिए । २०७४ को चुनावमा उनी सिरहा ४ बाट निर्वाचित भए ।

२०६८ सालमा यादवले सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले । त्यसबेला उनले सरकारको प्रवक्ताको जिम्मेवारी पनि निभाएका थिए ।

नैनकला थापा : सञ्चार तथा सूचना प्रविधि मन्त्री

नैनकला थापा एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती हुन् । २०५२ सालबाट माओवादीले सुरु गरेको जनयुद्धमा उनी पनि बादलसँगै भूमिगत भएकी थिइन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि उनले महिला आयोगको अध्यक्ष पद हात पारेकी थिइन् । बादलसँग उनको २०४० सालमा बिवाह भएको हो । बादल एमाले प्रवेशसँगै उनले एमाले नेतृत्वको कामचलाउ सरकारमा मन्त्री बन्ने अवसर पाइन् ।

ज्वालाकुमारी साह : कृषिमन्त्री 

पूर्वमाओवादी नेतृ ज्वालाकुमारी साह तत्कालीन नेकपा छुट्टिएपछि एमालेमा लागेकी हुन् । उनी २०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा बारा ३ (क) बाट प्रदेश २ को प्रदेशसभामा निर्वाचित भएकी हुन् । माओवादी छाडेर एमालेमा आगेपछि उनको प्रदेसभा सदस्य पद गयो । तर, उनले संघीय सरकारको मन्त्री बन्ने मौका पाएकी छिन् ।

नारदमुनि राना : वनमन्त्री

कैलालीको धनगढी नगरपालिकाका नारदमुनि राना गत चुनावमा काँग्रेस नेतृ आरजु देउवालाई हराएर प्रतिनिधिसभा सदस्य बनेका थिए । हाल घट्टेकुलोमा बस्दै आएका उनी २०२९ बैशाख १९ गते जन्मेका हुन् । उनका श्रीमती, ३ छोरा र २ छोरी छन् । रानाले स्नातकोत्तर अध्ययन गरेका छन् ।

२०४३ सालमा अनेरास्ववियु पाँचौंको प्रारम्भिक कमिटीबाट राजनीति गरेका उनले २०४७ मा तत्कालीन एमालेको संगठित सदस्यता पाए । पार्टीको वडा सदस्य हुँदै नेकपा एमालेको केन्द्रीय कमिटीसम्मको जिम्मेवारीमा पुगे । ०७५ सालमा उनी नेकपाको केन्द्रीय सदस्य बने ।

राजनीतिमा होल टाइमर हुनु अघिसम्म कानुन व्यवसाय गरेका राना २०६४ मा एमालेका तर्फबाट समानुपातिक सभासद बनेका थिए । २०७४ मा कैलाली ५ बाट उनी प्रतिनिधिसभामा निर्वाचित भए ।

गणेशकुमार पहाडी : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

सिन्धुलीको फिक्कल गाउँपालिकामा जन्मेका गणेश पहाडी माधव नेपाल समूह छाडेर मन्त्री बनेका हुन् । श्रीमती, एक छोरी र एक छोरा रहेका उनले सिभिल इन्जिनियरिङका साथै  समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका छन् ।

अनेरास्ववियुबाट राजनीति सुरु गरेका पहाडीले २०४७ सालमा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरे । २०५१ मा नेकपा एमाले सिन्धुली काठमाडौं सम्पर्क कमिटीको संयोजक बने । २०५२ सालमा नेकपा एमाले जिल्ला कमिटी सदस्य भए । २०६५ नेकपा एमाले सिन्धुली जिल्ला सचिव भए । २०६६ मा सिन्धुली जिल्ला संयोजक ।

०७० मा सिन्धुली १ बाट संविधानसभामा निर्वाचित पहाडी २०७४ मा पुनः सिन्धुली १ बाटै प्रतिनिधिसभामा निर्वाचित भए । त्यसअघि पहाडीसँग २०५४ मा गाविस अध्यक्ष चलाएको अनुभवसमेत छ ।

मोहन बानियाँ : मन्त्री, विनाविभागीय

 २०२० साल माघ १५ गते मुगुमा जन्मेका मोहन बानियाँ विनाविभागीय मन्त्री बनेका छन् । श्रीमती, चार छोरा र एक छोरी रहेका बानियाँले स्नातकोत्तर अध्ययन गरेका छन् ।

२०३६ सालमा तत्कालीन महाकाली माविको स्ववियुको प्रारम्भिक कमिटी हुँदै राजनीति थालेका उनी २०६४ मा तत्कालीन एमालेको  मुगु जिल्ला कमिटी सचिव भए भने २०६९ मा उनी अध्यक्ष बने । २०७१ को नवौं महाधिवेशनबाट उनी एमालेको केन्द्रीय सदस्य बने ।

​दोस्रो संविधानसभा चुनावमा मुगुबाट प्रत्यक्ष निर्वाचित बानियाँ ०७४ मा मुगुबाट समानुपातिक तर्फको प्रतिनिधिसभा सदस्य बने ।

२०४८ र २०५४ मा मुगु जिल्ला विकास समिति सभापति बनेका बानियाँले सुकुम्बासी समस्या समाधान आयोगको मुगुको अध्यक्ष भएर पनि काम गरेका छन् । बानियाँ २०४० देखि २०४८ सम्म स्थायी शिक्षक थिए ।

आशाकुमारी विक :  वन राज्यमन्त्री

बझाङ स्थायी घर भएकी आशा कुमारी बिक वन राज्यमन्त्री बनेकी छिन् । २०१८ असोज ३० मा रूपन्देहीमा जन्मेकी उनले स्नातकसम्म अध्ययन गरेकी छिन् । उनका श्रीमान्, एक छोरा र एक छोरी छिन् ।

२०५९ सालदेखि जिल्ला कमिटी सदस्य हुँदै एमालेमा पार्टीमा आवद्ध उनी ०७४ को प्रतिनिधिसभामा समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्थिन् ।

नेकपा एमालेमा रहँदा जिल्ला कमिटी सदस्य, मुक्ति समाजको प्रदेश सदस्य र अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य बनेकी उनी अन्ततः कामचलाउ सरकारको राज्यमन्त्री बनेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप