राउटेमाथि ‘सभ्यजाति’ को दुर्व्यवहार : कस्तो छ राउटेको कानुन ?
गत आइतबार राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेत प्रहरीले तीन जनालाई पक्राउ ग¥यो । सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेहलकुना बजारका एक होटेल सञ्चालकसहित तीनजनालाई राउटे युवतीलाई मादक पदार्थ सेवन गराई होटलमा लिएर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले यौन दुर्व्यवहार मात्र गरेनन्, दुर्व्यवहार गरेको भिडियो बनाई सामाजिक सञ्जालमा समेत फैलाए । त्यसपछि प्रहरीले तीनैजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही नगरपालिकाका ३५ वर्षका दमन घर्ती, २४ वर्षका भुपेन्द्र बुढा र २९ वर्षका होटेल सञ्चालक विनोद पुन छन् ।
उनीहरुले गल्ती स्वीकार गरिसकेको र तीनैजना विरुद्ध प्रहरीले किटानी जाहेरी दर्तासमेत गरिसकेको छ । तर, यो घटनालाई लिएर यतिबेला सामाजिक सञ्जाल तातेको छ ।
बाहिरी समाजबाट टाढा, जंगलका कुना कन्दरामा जीवनयापन गर्दै आएको अल्पसंख्यक राउटे समुदायको आफ्नो रीति, परम्परा र संस्कृतिमाथिकै हमलाका रुपमा पनि यो घटनालाई कतिपयले व्याख्या गरेका छन् । राउटेको मौलिकतामाथि हमला गरेर उनीहरुको पहिचान संकटमा पार्नेमात्र होइन, उनीहरुलाई असुरक्षित बनाउने काम भइरहेको कतिपयको गुनासो छ ।
राउटेलाई आधुनिक युगमा ढाल्नु, उनीहरुको मौलिक पहिचान र परम्परामा अतिक्रमण गर्नु भनेको उनीहरुलाई सखाप पार्नु हो भनेर तर्क गर्नेहरुको कमी छैन । अर्कातिर बहुसंख्यक समुदायका युवाबाट दुर्व्यवहारको सिकार बनेकी राउटे युवती आफ्नै समुदायमा अब असुरक्षित रहन सक्ने भनेर पनि विभिन्न अड्कलबाजीसहितका समाचार आइरहेका छन् ।
कस्तो छ राउटेको कानुन र प्रचलन ?
इतिहासमै पहिलोपटक राउटे युवतीलाई आफ्नो समुदाय बाहिरका युवाले यौनदुर्व्यवहार गरेको घटना प्रकाशमा आएपछि राउटे समुदायको कानुन, परम्परा र उनीहरुको सामाजिक नियमले त्यसलाई कसरी लिन्छ ? प्रश्न अनुत्तरित छ ।
राउटेसम्बन्धी जानकार पत्रकार भक्तबहादुर शाहीका अनुसार बजारमा चलेका सबै प्रकारका हल्ला अड्कलबाजीमा आधारित छन् । ‘यस्तो घटना विगतमा कहिल्यै भएको थिएन,’ उनले भने, ‘बजारमा हल्ला सुनेकै भरमा विभिन्न अड्कलबाजीका आधारमा समाचार प्रकाशमा आउनु न्यायसंगत होइन ।’
उनका अनुसार राउटेमा माफी तथा जरिवानाको संस्कार पनि छ । कसैले केही गल्ती गरेमा मुखियाको अगुवाईमा पञ्चायती अगुवाहरु बसेर दण्ड, जरिवानासम्बन्धी निर्णय लिने उनले बताए । यस अन्तर्गत जरिवाना तिराउने र माफी दिने प्रचलनसमेत रहेको उनले बताए ।
‘उनीहरु पनि चेतनशील छन् । अप्रिय निर्णय कहिल्यै गर्दैनन्,’ शाहीले भने, ‘पीडितको सुरक्षामा सरकार चनाखो हुनु सकारात्मक हो । तर, सञ्चार माध्यममा आएको जस्तो उनीहरुको आफ्नो कानुन छैन ।’
शाहीले राउटेको जस्तो भावना गैरराउटेसँग नभएको पनि बताए । यतिमात्र होइन, राउटे बस्तीमा महिला हिंसा नहुने उनले दाबी गरे । उनले भने, ‘यो समुदायमा महिलालाई उच्च दर्जाका रुपमा राखिन्छ । राउटेमा बालहिंसा, महिला हिंसा मान्य हुँदैन ।’
राउटेको आफ्नै परम्परा, रीतिरिवाज र संस्कृति छ । तर, अहिले परिर्वतनका नाममा विभिन्न गैरसरकारी संस्था राउटेलाई समाजको मूल धारमा ल्याउन अग्रसर नभएका पनि होइनन् ।
राउटेहरु आफ्नै परम्परा र प्रचलनमा रमाउन चाहन्छन् । राउटेको कानुन अलिखित छ । तर, उक्त कानुनलाई ‘कठोर’ भन्ने गरिएको छ । समुदायमा विवाह, मृत्यु सम्बन्धी पनि उनीहरुको आफ्नै परम्परा छ, जसलाई उनीहरु कानुनसरह मान्छन् ।
यौन दुर्व्यवहार गर्न मदिराको सहारा
काठको झुमामा तीन महिनासम्म अन्न कुहाएर चाडपर्वमा जाँड बनाएर खाने राउटे समुदाय हिजोआज चौबीसै घण्टा मदिरा पिउन थालेका छन् । राउटेलाई आवश्यकताभन्दा बढी सहयोग, सहयोगका नाममा अनावश्यक वस्तु दिँदा उनीहरुले त्यस्ता वस्तुलाई विक्री गरेर मदिरा पिउन थालेका हुन् । राउटे समुदायका स–साना बालबालिकादेखि गर्भवती महिलासमेतले मदिरा पिउने गरेका छन् ।
राउटे युवतीमाथि गैरराउटे युवाले यौन दुर्व्यवहार गर्नुको एउटा कारण मदिरा पनि बनेको छ । राउटे युवतीलाई ललाई फकाई मदिरामा लिप्त बनाई ती युवाले होटेलमा लगेर यौन दुर्व्यवहार गरेको सामाजिक सञ्जालमा आएको भिडियोले नै प्रष्ट पारेको छ । भिडियोमा युवती मदिराले लट्ठै परेको देखिन्छ भने युवाले उनीहरुमाथि यौनजन्य गतिविधि गरिरहेको देखिन्छ ।
राउटे बस्तीमा गैरराउटेलाई प्रवेश निषेध
जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे बस्तीमा असुरक्षा बढेको भन्दै गैरराउटे कुनै पनि व्यक्तिलाई प्रवेश निषेध गरेको छ । बस्तीमा कसैलाई पनि आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाइएको जिल्ला प्रशासन कार्यालय स्रोतले जानकारी दिएको छ ।
राउटे हाल गुर्भाकोट नगरपालिका–१२ आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् । प्रशासनले राउटे युवतीमाथि यौन दुर्व्यवहार भएपछि मात्रै बस्ती सिल गरेको हो ।
कसरी असुरक्षित बने राउटे ?
राउटे समुदायलाई जंगलको राजा भन्ने गरिन्छ । राउटेले कुनै बेला काठका भाँडाकुँडा बनाएर तिनलाई बेचेर जीविकोपार्जन गर्दथे ।
राउटे स्थायी बसोबास, लेखपढ र खेतिपातीलाई महाशत्रु ठान्ने गर्थे । यो समुदायले नेपालको संविधान अथवा कानुन मान्दैन । यो समुदायको आफ्नै कानुन छ । कर्णाली र सुदूरपश्चिमका विभिन्न जंगलमा फिरन्ते जीवन बिताउँदै आएको दक्षिण एसियाकै एकमात्र घुमन्ते यो जाती लोपोन्मुख समुदाय हो ।
तर, पछिल्लो समय राउटेलाई परिर्वतनका नाममा एनजीओ/आईएनजीओहरुले चामल, त्रिपाल दिने गरेका छन् । केही एनजीओले डलर कमाउनका लागि राउटेको संस्कार नै बर्बाद गर्न लागेको सरोकारवाला बताउँछन् । एनजीओ/आईएनजीओहरु राउटेको संस्कारमाथि जाईलागेको स्थानीय बुद्धिजीवीको आरोप छ ।
सरकारी एवं गैरसरकारी संस्थाले सहयोगमा नाममा बजेट सक्ने र आवश्यकताभन्दा बढी सहयोग दिन थालेपछि राउटे अल्छी बनेका छन् भने आफ्नो कुल, परम्परा बिर्सदै गएको पाइन्छ । पहिला राउटे समुदाय अन्य समुदायसँग खासै बोल्न रुचाउँदैनथे । तर, अहिले कोही आयो कि पैसा माग्ने र फोटो, टिकटक, भिडियो बनाउने जस्ता गतिविधिमा उनीहरु लोभिन थालेका छन् । जसका कारण राउटे असुरक्षित बन्दै गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वसाधारण भन्छन्– धरहराको शुल्क बढी भयो
-
मिनी संसद्को दुःख : एकातिर विधेयकको थुप्रो, अर्कातिर कोरम नपुगेर बैठक बस्नै समस्या
-
विपद् व्यवस्थापन बारे बागमती सरकार र प्राधिकरण बिच छलफल
-
कालिमाटीमा महिलाको शव बोकेर हिँड्ने युवक पक्राउ
-
गलत तरिकाले दाँत माझिरहनु भएको त छैन ?
-
संभलमा जामा मस्जिद सर्वेक्षणको समयमा हिंसा, ३ जनाको मृत्यु