सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश- २ मा मन्त्रालयको बाँडफाँटका लागि तीन दल छलफलमा

काँग्रेसबाट मन्त्रीको टुंगो लगाउन देउवा-निधि पनि छलफल जारी
बुधबार, २६ जेठ २०७८, ०९ : ५३
बुधबार, २६ जेठ २०७८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको प्रदेश २ सरकारमा काँग्रेस र माओवादी केन्द्र पनि सम्मिलित हुने भएका छन् । मंगलबार जसपा (उपेन्द्र यादव पक्ष), काँग्रेस र माओवादीबीच सत्ता सहकार्यको सहमति भएपछि बुधबार मन्त्रालयको बाँडफाँटका लागि छलफल जारी छ ।

प्रदेश २ काँग्रेस संसदीय दलका नेता रामसरोज यादवका अनुसार विहान ९ बजेदेखि तीन दल छलफलमा छन् । मन्त्रालयको संख्या र कसले कुन दलले कतिवटा प्राप्त गर्ने विषय टुंगिएको माओवादीका सांसद भरत साहले जानकारी दिए ।

तीन दलको सत्ता सहकार्य हुने भएपछि प्रदेश २ मा ६ वटा मन्त्रालयलाई फुटाएर १० मन्त्रालय बनाइँदै छ । जसपा मुख्यमन्त्री लालबाबु राउतले  ५ वटा मन्त्रालयले आफूसँग राखेर काँग्रेसलाई तीन र  माओवादीलाई दुई मन्त्रालय दिन लागेको बुझिएको छ । तर काँग्रेसले प्रदेशमा आफ्नो उपस्थिति अनुसार मन्त्रालय पाउनुपर्ने अडान राखेको छ ।

 


 

राउतले भने केही दिनमै नेकपा एमालेको माधव नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने रणनीतिअनुसार अहिले आफूले ५ वटा मन्त्रालय राख्नुपरेको बताइरहेका छन् । तर राउतको उक्त रणनीतिप्रति काँग्रेसको असन्तुष्टि छ ।

यादवले भने, 'एमाले (माधव नेपाल पक्ष) सरकार जाने अवस्थामा छैन । केपी ओलीले कारबाही गर्ने उहाँहरुमा डर छ । मैले सोध्दा पनि उहाँहरुले सरकार नजाने कुरा गर्नुभयो । तर यिनीहरु उहाँहरुका लागि पनि मन्त्रालय राख्ने भन्दै हुनुहुन्छ ।'

रामसरोज यादवले रातोपाटीलाई भने, 'अब टेबुलमा बसेर ६ वटा मन्त्रालयलाई ब्रेक गरेर १० वटा बाउनु छ । त्यसपछि कुन मन्त्रालय कसले लिने भन्ने अहिलेसम्म औपचारिक कुराकानी भएको छैन । आज हुन्छ ।' तर आफूले पूर्वाधार मन्त्रालय ब्रेक गर्न नहुने सुझाव दिएको उनको भनाइ छ ।

 


 

काँग्रेस संसदीय दलका नेता यादवको नेतृत्वमा सरकारमा जाने विषय टुंगिएपनि अन्य दुई मन्त्रीका विषयमा टुंगो लागिसकेको छैन । कसलाई मन्त्री बनाउने भन्नेबारे काँग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिबीच यतिबेला बूढानीलकण्ठमा छलफल जारी छ ।

यता माओवादी पनि दलका नेता साहको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने बताइएको छ । उसले पनि अर्को कसलाई सरकारमा पठाउने भन्नेमा टुंगो लगाउन नसकेको बुझिएको छ ।


साथै जसपा पक्षले एक्लै नीति तथा कार्यक्रम ल्याउन खोजेकोमा पनि काँग्रेसलाई असन्तुष्टि जनाएको छ । उनले भने, 'उहाँहरुले हामीसँग सरसल्लाह नगरी नीति कार्यक्रम पनि आफ्नै ढंगले ल्याउनु भयो । यस्तो अवस्था मन्त्री भएर कसरी काम गर्न सकिन्छ । यसबारे पनि आज छलफल हुन्छ । रिक्त संसदीय समितिमा पनि समझदारी गर्नुपर्छ । भ्रष्टाचार नियन्त्रणका लागि लोकपाल गठनको कुरा छ ।'

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप