शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ : आधिकारीकताको प्रतीक्षामा महन्थ पक्ष

सोमबार, २४ जेठ २०७८, २० : ११
सोमबार, २४ जेठ २०७८

प्रदेश नम्बर २ को सरकारले एक मन्त्री र ३ राज्यमन्त्री बर्खास्त गरेपछि क्रुद्ध बनेका जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका सांसदहरुले तत्काल कुनै कदम भने नचाल्ने भएका छन् । जसपाको आधिकारिकताको विषयलाई लिएर अदालतमा समेत मुद्दा परेको भन्दै तत्काल प्रतीक्षा गर्ने निष्कर्षमा उनीहरु पुगेका हुन् ।

केन्द्र सरकारमा ठाकुर पक्ष सहभागी भएसँगै जसपाको आन्तरिक किचलो उत्कर्षमा पुगेको छ । मुख्यमन्त्री लालबाबु राउतले महन्थ पक्षका मन्त्रीहरुलाई बर्खास्त गरेपछि सोमबार बसेको प्रदेशसभा बैठकमा उनीहरु अनुपस्थित भए ।

​जसपाको उपेन्द्र यादव पक्षका रहेका मुख्यमन्त्री राउतले ठाकुर पक्षलाई कित्ताकाट गर्दै विपक्षी दलसँग गठबन्धन गर्न लागेको भन्दै उनीहरु प्रदेशसभा बैठकमा अनुपस्थित भएको जसपाका सचेतक परमेश्‍वर साहले जानकारी दिए । मन्त्रीहरुलाई बर्खास्त गरेपछि तत्कालिन राजपाका प्रदेशसभा सदस्यहरुको बैठकले प्रदेशसभा बैठकमा उपस्थित नहुने र सरकारको आगामी गतिविधिको आधारमा समर्थन वा विरोध गर्ने निर्णय गरेको साहले बताए ।

साहले तत्कालिन समाजवादी पार्टी र तत्कालिन राजपा नेपाल अस्तित्वमा नरहेको समयमा गुटगत हिसाबले मुख्यमन्त्री राउतले एकलौटी ढंगबाट अघि बढेको आरोप लगाए । उनले भने, ‘जसपाको  आधिकारीकताका विषयमा निर्वाचन आयोगसम्म मुद्दा पुगेको छ । आयोगले हाम्रै पक्षमा निर्णय गर्ने विश्वास छ । हामी अहिले पार्टीको आधिकारिकता सम्बन्धमा आउने निर्णयको प्रतीक्षामा रहेका छौँ ।

‘अहिले मुख्यमन्त्रीजीका लागि काँग्रेस र माओवादी प्यारो भएको छ । तर चिन्ता नगर्नुस् निर्वाचन आयोगको निर्णय हाम्रो पक्षमा आउनेमा विश्वस्त छौँ,’ उनले थपे ।

तत्कालिन राजपाका २५ सांसद मध्ये ६ जना खुलेरै उपेन्द्र यादव पक्षमा लागेका छन् भने अझै सांसदहरु आउने भन्दै मुख्यमन्त्री राउतले सोका लागि समेत लबिङ गरिरहेका छन् ।

यता प्रदेश सरकार र काँग्रेसको वार्ता टोलीबीच सरकारमा सहभागिताको विषयलाई लिएर बैठक सुरु भएको छ । आज अबेर रातिसम्म काँग्रेस वार्ता टोलीसँग कुरा मिले भने भोलि प्रदेशको मन्त्रिमण्डल पुनर्गठन र विस्तार गर्ने तयारी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप