शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राप्रपामा अन्तरविरोध : कमल थापाले भने– दुईवटा ‘अल्छी घोडा’ को चेपुवामा परियो !

सोमबार, २४ जेठ २०७८, १२ : ०९
सोमबार, २४ जेठ २०७८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र अन्तरविरोध चर्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै राप्रपाभित्र अन्तरविरोध चर्किएको हो । तीन अध्यक्ष रहेको राप्रपामा प्रधानमन्त्री ओलीबाट भएको प्रतिनिधिसभा विघटनलाई हेर्ने नजरदेखि सरकारमा सहभागी हुनेसम्मको विषयमा दुई धार देखापरेको छ ।

राप्रपामा कमल थापासहित डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा अध्यक्ष रहेका छन् । तीमध्ये कमल थापा एकातिर र लोहनी तथा राणा अर्को धारमा उभिएका छन् । विवाद सतहमै देखा पर्न थालेपछि पार्टीको एकता नै संकटमा पर्नसक्ने नेताहरुले बताउन थालेका छन् ।

लोहनी र राणाले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेकोप्रति विरोध गरेका छन् भने थापाले ताजा जनादेशमा जानुपर्ने बताउँदै ओली नेतृत्वको सरकारमा सहभागी हुन सकिने संकेत गरेका छन् ।

‘अल्छी घोडाको चेपुवामा परियो’​

​​यही विषयमा पार्टीमा दुई धार हुँदा अध्यक्ष थापाले राणा र लोहनीलाई ‘अल्छी घोडा’को संज्ञा दिएका छन् ।  थापाले दुई वा दुई भन्दा बढी घोडाले तानेको रथ तीव्र गतिमा अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दै यो नैसर्गिक सत्य भएको बताएका छन् ।

अध्यक्ष थापाले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तीव्रगति लिन सक्दैन । यो नैसर्गिक सत्य हो । यो सत्य नबुझेको होइन, तर तीव्रगति लिन नसके पनि सामान्य गतिमा हिँड्ला भन्ने आशा थियो । गतिहीन नै होला भन्ने सोचिएन ।’

थापाको यो अभिव्यक्तिपछि अर्का अध्यक्ष डा.लोहनीले भने आफूले यस विषयमा कुनै टिप्पणी नगर्ने बताउँछन् । ‘यसमा मेरो नो कमेन्ट’, उनले रातोपाटीसँग भने ।

यद्यपि लोहनीलगायतका नेताले कमल थापा सरकारमा जाने पक्षमा रहेको र एकलौटीरुपमा पार्टीमा अघि बढ्न नसक्ने अवस्था भएपछि छटपटाहट बढेको र त्यसैको नतिजास्वरुप थापाले दुई अध्यक्षबारे नकारात्मक टिप्पणी गरेको ठहर गरेका छन् ।

पटक–पटक फुट्दै र जुट्दै आएको राप्रपाको पछिल्लो पटक १५ महिनाअघि एकता भएको थियो । राणा र लोहनीको राप्रपा संयुक्त र थापाको राप्रपाबीच एकता भएर एकीकृत राप्रपा बनेको थियो ।

राप्रपा नेता मोहन श्रेष्ठले वैकल्पिक शक्ति बन्ने लक्ष्यका साथ अघि बढेको राप्रपा एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिँदै पार्टीभित्र केही समस्या भए छलफलबाटै सुझाइने बताए ।

एकताको १५ महिनामा पार्टीको सांगठानिक लगायतका विषय टुंगोमा पुग्न बाँकी रहेको बताउँदै श्रेष्ठले पार्टीलाई गति दिन तीनै अध्यक्षको भूमिका महत्वपूर्ण भएकाले कार्यकर्ताको भावनाअनुरुप अघि बढनुपर्नेमा जोड दिए ।

‘कम्युनिस्टमा विभाजन र काँग्रेस किंकर्तव्यविमूढ भइसकेको अवस्थामा राप्रपा वैकल्पिक शक्तिका रुपमा देखिनुपर्थ्यो’, उनले भने, ‘तर, निर्णय क्षमता गुम्दै गएको, ढिलासुस्ती भइरहेको र एकताको भावनाबाट पार्टी अघि बढ्न नसकेको भने सत्य हो ।’

पार्टीभित्र भएका कमीकमजोरीलाई सच्याउँदै पार्टीको एजेण्डा र उद्देश्यलाई सफल बनाउने ढंगले पार्टी नेतृत्व अघि बढ्नुपर्नेमा उनको जोड छ ।

किन बिच्किए कमल थापा ?

राप्रपामा पार्टी सञ्चालनका लागि ५० जना भन्दा बढी सदस्य भएको निर्देशन समिति र २१ जनाको विशेष निदर्शन समिति बनाउन लागिएको छ । सोही समितिको आधारमा पार्टीका अध्यक्षदेखि सबै तहका नेता कार्यकर्ता परिचालन हुने गरी निर्णय गर्न लागिएको छ । तर अध्यक्ष थापा सो समितिको विपक्षमा छन् ।

यसबाहेक सरकारमा सहभागी हुने विषयमा पनि लोहनी–राणा विपक्षमा रहेकाले उनले प्राप्त मौकामा पनि सरकारमा जाने प्रस्ताव पार्टीमा राख्न सकेका छैनन् । बरु आफू निकटका नेताहरु परिचालन गरेर उनले बाहिरबाहिरै माहोल बनाइरहेका छन् ।

स्रोतका अनुसार जेठ १० गतेको भेटमा ओलीले थापालाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए भने त्यो ढोका अहिले पनि बालुवाटारले खुला राखेको छ ।

बालुवाटारले सकेसम्म थापालाई नै सरकारमा आउन भनेको छ । अन्यथा दोस्रो तहका नेतालाई पठाउँदा पनि मन्त्रिपरिषद्मा समेट्ने ओलीको आश्वासन छ । 

राप्रपाका नेता जनकराज पाठकले पार्टीभित्र सरकारमा जानेबारे कुनै प्रस्ताव नआएको र यसबारे छलफल पनि नभएको बताए । उनले अहिलेको अवस्थामा सरकारमा जानु भनेको आत्मघाती हुने प्रतिक्रिया दिए ।

पाठकले पार्टीमा निर्देशन समिति र विशेष निर्देशन समिति बनाउन लागिएको र सोही आधारमा पार्टी सञ्चालन गर्ने भन्नेबारे नेतृत्व तहमा मोटामोटी सहमति भइसकेको बताए ।

तत्कालीन नेकपा र जसपा यसअघि नै असफल भएको बहुअध्यक्ष प्रणालीको असर राप्रपामा पनि देखिन थालेकाले अब सोको नतिजा कस्तो देखिएला भन्नेमा राजनीतिक वृत्तमा चासो बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप