शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा केपी ओली र कमल थापाबीच गोप्य वार्ता

सरकारमा आउन राप्रपालाई निम्तो
शुक्रबार, १४ जेठ २०७८, १४ : ५४
शुक्रबार, १४ जेठ २०७८

राप्रपाका अध्यक्ष कमल थापा जेठ १० गते सुटुक्क बालुवाटार पुगे । बिहान साढे १० बजेतिर बालुवाटार प्रवेश गरेका उनी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच गोप्य भेटवार्ता त्यतिबेला भयो, जतिबेला ओली प्रतिनिधिसभा भंग गरेर चौतर्फी आलोचित थिए ।

विघटित प्रतिनिधिसभामा जम्मा एक सिट रहेको कमल थापाको पार्टी र संसदमा १२१ सिट रहेको केपी ओलीको पार्टीबीच वैचारिक रुपमा आकाश–जमिनको फरक छ । तर, ओली र थापाबीच यति निकटता छ कि विगतमा सत्ता सहकार्यदेखि लिएर चुनावी गठबन्धनका साथ विभिन्न मुद्दामा पनि सहकार्य हुँदै आएको छ ।

पछिल्लो समय गत जेठ ६ गते बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभाको एक पदमा भएको उपनिर्वाचनमा कमल थापाकै जोडबलमा राप्रपाले एमाले उम्मेदवार रामबहादुर थापा बादललाई सघाएको थियो । पार्टीमा बृहद छलफल नगरी एमालेलाई सघाएको भन्दै राप्रपाको कार्यकर्ता तहबाट विरोधसमेत भएको थियो ।

संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको पक्षपाती राप्रपाले गणतन्त्र र धर्मनिरपेक्षताका साथै संघीयताको समेत घोर विरोध गर्दै आएको छ । उसो त आफ्नो गतिविधिका कारण प्रधानमन्त्री ओली कम्युनिस्ट नेता भए पनि हिन्दुधर्मतिर झुकाव देखाएको महसुस गर्नेहरु पनि कम छैनन् ।

पार्टी विभाजन हुँदै राजनीतिकरुपमा कमजोर धरातलमा पुगेका ओलीले अन्तिम अश्रका रुपमा चुनावमा हिन्दु राष्ट्रको एजेण्डा ल्याउन सक्ने टीकाटिप्पणी समेत हुँदै आएको छ । ओली–थापा एजेण्डाका हिसावले दुई किनारामा रहे पनि विगतका उदाहरण र पछिल्लो क्रियाकलापले उनीहरुबीच ‘पोलिटिकल रिलेशसन’ अचम्मलाग्दो देखाएको छ ।

उसो त जनाधार कमजोर रहेको राप्रपाका अध्यक्ष थापाले ओलीले प्रतिनिधिसभा विघटन गरेर राम्रो गरेको बताउँदै आएका छन् । पछिल्लो समय प्रतिनिधिसभा विघटन गरेर नयाँ जनादेशमा जानुपर्ने पक्षमा रहेका थापाले जेठ ८ गते अबको कार्यभार भन्दै  ट्वीटरमा भनेका थिए, ‘स्वास्थ संकटकाल घोषणा गर्ने, सम्पूर्ण राष्ट्रिय शक्ति र श्रोत परिचालन गरी ३ महिनाभित्र कोरोना महामारी नियन्त्रण गर्ने, आम नागरिकलाई खोपको व्यवस्था गर्ने, चुनाव निष्पक्ष र स्वतन्त्ररूपमा सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने, चुनावबाट ब्रम्हलुट र सर्वसत्तावाद पराजित गर्ने ।’

स्रोतका अनुसार राप्रपा अध्यक्ष कमल थापाले आफू निकटसँग ओली सत्ता सहकार्यका लागि सकारात्मक वातावरण बनेको र त्यसका लागि आफू पनि माहोल बनाउन लागिपरेको बताउने गरेका छन् । सो कुराले अहिलेसम्म राप्रपाको बैठकमा औपचारिक रुपमा प्रवेश नपाए पनि पार्टीभित्र चर्चाको विषय भने बनेको छ ।

राप्रपा नेता जगत गौचनले अहिलेको अवस्थामा पार्टी सरकारमा जाने भन्ने कुरा सोच्न पनि नसकिने बताए । उनले यसबारे पार्टीमा कुनै छलफल नभएको र अहिलेको कार्यभार सरकारमा जानेभन्दा पनि पार्टी बनाउने रहेको बताए ।

तत्कालीन राप्रपा र राप्रपा प्रजातान्त्रिक एक भएर बनेको राप्रपाको अहिलेसम्म पनि एकता महाधिवेशन भएको छैन । एकतापछि तीन अध्यक्ष भएको राप्रपामा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा सरकारमा जाने भन्ने प्रस्ताव सुन्न पनि तयार छैनन् । यही बुझेका थापाले पार्टीमा छलफल नचलाएको र बाहिर नै आफू निकटस्थबाट सरकारमा जानेबारे चर्चा चलाएको ती नेताको भनाइ छ ।

विगतमा पनि सरकारमा जाने बारेमा राप्रपामा विवाद रहेको र सोही कारण पार्टी विभाजितसमेत बनेको तीतो यथार्थका बीच फेरि सरकारमा जानेबारे चर्चा सुरु भएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली आफ्नो पक्षमा माहोल बनाउनका लागि राप्रपालाई पनि जसपालाई जसरी नै सरकारमा ल्याउन चाहन्छन् । त्यसका लागि उनको दुईवटा स्वार्थ छ, राप्रपालाई सरकारमा सहभागी गराए सो पार्टीमा बचेखुलेको धार्मिक भोट छिन्नभिन्न हुने उनको बुझाइ छ । अर्को, आगामी दिनमा हिन्दु सेन्टिमेन्ट तान्न राप्रपालाई एक हुन दिन नहुने बालुवाटारको विश्लेषण छ ।

प्रतिनिधिसभा विघटन सर्वोच्चबाट सदर भए ओली वैधानिक रुपमा चुनावमा होमिन पाउनेछन् । त्यसका लागि सहज वातावरण बनाउन उनले कमल थापालाई सहयात्रीको रुपमा उपभोग त गर्ने नै छन् । कमल थापा संघीय सांसद नरहे पनि संविधानले दिएको अधिकारलाई उपयोग गरेर ६ महिनासम्म सरकारमा सामेल हुनका लागि आतुर रहेको स्रोत बताउँछ ।

महाधिवेशनमा अलमल

राप्रपाको एकता महाधिवेशन पटक–पटक स्थगित हुँदै आएको छ । पछिल्लोपटक जेठ २५ देखि ३ दिनसम्म काठमाडौंमा हुने भनिएको महाधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । कोरोनाका कारण नै महाधिवेशन स्थगित गरिएको बताइन्छ । तर, प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई ‘संवैधानिक’ भनेर व्याख्या गर्न थालेको राप्रपा, खासगरी कमल थापा पक्षले देशलाई चुनावमा लैजानु उचित देख्ने तर पार्टीको महाधिवेशन गर्न अनुचित देख्नु पनि अनौटो मानिएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन तोक्न सकेको अवस्थामा राप्रपाले महाधिवेशनको मिति तोक्न नसक्नु महाधिवेशन गर्न आलटाल गर्नुबाहेक अरु केही हुन नसक्ने एक नेताले रातोपाटीलाई बताए ।

राप्रपाको जेठ १ मा बसेको अध्यक्षत्रय सहितको बैठकले कोभिड–१९ महामारी भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै  जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको महाधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो । महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने भनिए पनि हालसम्म अलमलकै अवस्था छ ।

यसैबीच, शनिबार राप्रपाले आफ्नो स्थापना दिवसको अवसरमा भर्चुअल बैठक गर्न लागेको एक नेताले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप