बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीपछि लुम्बिनीमा पनि एमालेलाई झड्का, उपनिर्वाचनमा काँग्रेसका पाण्डेय  विजयी

सोमबार, १७ जेठ २०७८, १६ : १८
सोमबार, १७ जेठ २०७८

लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् ।

जम्मा २९६ मत खसेकामा पाण्डेयले प्रदेश सभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ मत प्राप्त गरेका छन् भने खड्काले प्रदेश सभातर्फ ४० र स्थानीय तहतर्फ ९४  मत प्राप्त गरेका छन् । प्रदेशतर्फ १ र स्थानीय तर्फ पनि १ मत बदर भएको छ । 

​जसअनुसार पाण्डेयले ४,१४० मतभार प्राप्त गरे भने खड्काले ३६१२ मतभार प्राप्त गरे । 

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान  दिउँसो ३ बजेसम्म भएको थियो भने त्यसलगत्तै मतगणना गरेर अन्तिम नतिजा घोषणा गरिएको थियो ।

निर्वाचनमा प्रदेशसभाका ८३ सदस्य र स्थानीय तहका २१७ जनप्रतिनिधि मतदाता भएपनि २९६ मत खसेको हो  । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुन्छ । विजयी पाण्डेयलाई माओवादी, जनमोर्चा र जसपाको समेत समर्थन रहेको थियो । 

 यसअघि जेठ ६ मा बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा पनि एमालेका उम्मेदवार पराजित भएका थिए । एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई काँग्रेस माओवादीसहितको गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका खिमलाल देवकोटाले पराजित गरेका थिए । यससँगै उप निर्वाचनबाट एमालेलाई नराम्ररी झट्का लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप