आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आ–आफ्नै बाटो लाग्ने जसपाको तयारी, बहुमत नजुटे महन्थ ठाकुरले राजपा ब्युँताउने

आइतबार, १६ जेठ २०७८, ०९ : ५५
आइतबार, १६ जेठ २०७८

जनता समाजवादी पार्टी नेपाल (जसपा) मा दुबै समूहबाट फुटको अन्तिम अस्त्र प्रयोग भएको छ । पार्टीका अध्यक्षद्वयले एक–अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरणको म्याद आजै सकिँदैछ ।

यसअघि दुबै अध्यक्षले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न जेठ ११ गते एक–अर्कालाई पत्र पठाएका थिए । दुबै पक्षले कसैलाई जवाफ नदिएपछि शनिबार फेरि एक–अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधिएका हुन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरलाई स्पष्टीकरण सोधेको पौने २ घण्टापछि अध्यक्ष ठाकुरले पनि शनिबारै २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

ठाकुरले पठाएको पत्रमा भनिएको छ, तपाईलाई सफाइको मौका दिन तपाईलाई कारवाही किन नगर्ने भनी स्पष्टीकरण सोधिएकामा आजको मितिसम्म जवाफ प्राप्त हुन नआएकाले दोस्रो पटक पुनः यो पत्र जुनसुकै माध्यमले प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्तबुझ्दो स्पष्टीकरण लिई आउन हुन अनुरोध छ ।’

यो पत्र प्राप्त गरेको म्यादभित्र चित्त बुझ्दो र सन्तोषजनक प्राप्त नभएमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ र जसपा नेपालको अन्तरिम विधान २०७७ बमोजिम निष्काशन समेतको कारवाही हुने चेतावनी अध्यक्ष ठाकुरले यादवलाई दिएका छन् ।

​यादवका तर्फबाट पनि ठाकुर लगायतका नेतालाई सोही व्यहोराको पत्र पठाइएको थियो ।  यादवले ठाकुर पक्षलाई सोधेको स्पष्टीकरणको २४ घण्टे म्याद आज दिउँसो १ एक बजे सकिँदैछ । त्यसपछि उनीहरुमाथि कारवाही हुने जसपा पार्टी कार्यालयका सचिव प्रकाश अधिकारीले बताए । अध्यक्ष ठाकुरलगायत वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण पठाइएको अधिकारीले बताए ।

शनिबार दुवै पक्षले एक–अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधेर पार्टीबाट निष्कासित गर्ने चेतावनी दिएको आज २४ घण्टा पुग्ने भएकाले एकले अर्कालाई कारवाही गर्ने सम्भावना देखिएको छ । त्यसपछि पार्टीको आधिकारिकताका लागि दाबी सुरु हुनेछ र निर्वाचन आयोगमा एक अर्काले आधिकारिकताका लागि लागि दाबी प्रस्तुत गर्नेछन् ।

राजनीतिक दलसम्बन्धी ऐन अनुसार कार्यसमितिमा जसको बहुमत हुन्छ, त्यसले आधिकारिकता पाउनेछ । कार्य समिति र कार्यकारिणी समितिमा उपेन्द्र यादवको बहुमत छ ।

विघटित संसदीय दलमा भने अध्यक्ष महन्थ ठाकुरको बहुमत छ । तर, संसदीय दलबाट मात्रै पार्टी विभाजन गर्न सकिने छैन । केन्द्रीय समितिबाट ४० प्रतिशत पुर्याउनेले मात्रै आयोगमा दाबी गर्न सक्छन् ।

​अध्यक्ष ठाकुरले कार्यकारिणी समितिमा आफ्नो बहुमत पु¥याउने प्रयास गरिरहेका छन् । उपेन्द्र यादवको पक्षमा रहेका नेताहरुलाई उनी आफूतिर तान्ने प्रयासमा छन् । तर, हालसम्म बहुमत पुर्याउन सकेका छैनन् । उपेन्द्र यादवको पक्षबाट ठाकुरको पक्षमा कोही आएका छैनन् ।

राजपा पुनर्गठन गर्ने तयारीमा ठाकुर

यसैबीच, अध्यक्ष ठाकुर अर्का अध्यक्ष उपेन्द्र यादवले सोधेको स्पष्टीकरणको जवाफ नदिने बरु पार्टी अलग गर्ने मनस्थितिमा रहेको बुझिएको छ । ठाकुर निकट एक नेताले भने, ‘यो सधैको किचकिच भन्दा आ–आफ्नो बाटो लाग्दा नै बेस हुन्छ ।’

अध्यक्ष ठाकुर जसपामै आधिकारिकता खोज्ने कि राजपा नेपाल ब्युँत्याउने भन्ने छलफलमा जुटेका छन् । आफ्ना निकट नेताहरुलाई राजपा नेपालको विधान तयारी गर्न पनि उनले लगाएका छन् ।

उपेन्द्र यादवले चाल्ने कदमपछि निर्णय लिने प्रतिक्षामा ठाकुर रहेको बुझिएको छ । ठाकुरका स्वकीय सचिव सत्येन्द्र मिश्राले उपेन्द्र यादवबाट स्पष्टीकरणको जवाफ पर्खिइरहेको बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप