शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्यकर्मीलाई खोप छैन, एमाले समर्थक व्यवसायी र कार्यकर्ताका लागि ‘प्राइभेट’ खोप अभियान

जनप्रतिनिधि नै बेखबर, स्थानीयको विरोध, सामाजिक विकास मन्त्री राई विवादमा
शुक्रबार, १४ जेठ २०७८, १८ : ४७
शुक्रबार, १४ जेठ २०७८

काठमाडौँमा सिमित खोप रहेको कारण देखाउँदै फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुले सेरम इन्सटिट्युटले उत्पादन गरेको कोभिसिल्ड खोप नपाइरहेका बेला प्रदेश १ मा भने सत्तारुढ दलले आफू निकट व्यवसायी र कार्यकर्तालाई खोप लगाएको खुलेको छ ।

​सामाजिक विकास मन्त्री उषाकला राईले आफु निकटका मान्छेलाई लुकाएर कोभिसिल्ड खाेपको दोस्रो डोज दिएको थाहा पाएपछि लफडा भएको हो । मन्त्री राई निकट कार्यकर्ता र केही उद्योगी व्यवसायी र कर्मचारीलाई खोप दिएको थाहा पाएपछि स्थानीयवासीले खोप केन्द्रमा अवरोध पुर्याएपछि खोप कार्यक्रम नै बिथोलिएको छ ।

एमाले समर्थक कार्यकर्ता र केही उद्योगी तथा कर्मचारी खोप लगाउन अपरान्ह विराटनगरको तीन पैनी चोकमा पर्ने सिटी सिनेमा हल पुगेका थिए । करिब ३ सय जनालाई खोप लगाउने कार्यक्रम रहेकोमा २ सय बढीलाई खोप लगाएपछि स्थानीयको अवरोधका कारण खोप लगाउने कार्यक्रम बिथोलिएको थियो ।

हालै एमाले प्रवेश गरेका उद्योगी किशोर प्रधानले आफूलाई आफन्तले खोप लगाउने कार्यक्रम रहेकाले सिटी सिनेमा आउन भनेकाले आफू र श्रीमती खोप लगाउन केन्द्रमा पुगेको बताए । उनले लाइनमा बसेर आफू र श्रीमतीले खोप लगाएपनि कसले आयोजना गरेको हो भन्नेबारेमा आफुलाई केही थाहा नभएको बताए ।

यसअघि, करिब ३ सय डोज खोप लगाउने कार्यक्रम भएपनि कोटा संख्याभन्दा बढी मानिसको उपस्थिति भएपछि सिटी सेनामा हलको मुल गेटमा ताला लगाएर खोप लगाउने कार्यक्रम आयोजना गरिएको थियो । विवादपछि स्थानीयवासीले बा १ झ ९३६५ नम्बरको मन्त्रालयको खोप बोक्ने गाडी १ घण्टा जति सिनेमा हलकै प्राङ्गणमा रोकेर राखेका थिए भने गाडीमा रहेका ४ खोपकर्मीलाई पनि स्थानीयवासीले रोकेका थिए । त्यसपछि प्रहरी आएर उनीहरुलाई त्यहाँबाट निकालेको थियो ।

खोप लगाउनका लागि विराटनगरको प्रतिष्ठित उद्योगी व्यापारी, एमाले पार्टी निकटका मानिस र केही कर्मचारी मात्र खोप लगाउने कार्यक्रममा सहभागी भएको स्थानीयको आरोप छ । सिटी सिनेमामा खोप लगाउने कार्यक्रम भएपनि सोही वडाका जनप्रतिनिधिहरूलाई समेत खोप लगाउने कार्यक्रमका बारेमा जानकारी गराइएको थिएन । जसका कारण खोप कार्यक्रमप्रति थप शंका उब्जिएको स्थानीयको भनाइ छ ।

विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले सिटी सेनामा हलमा खोप कार्यक्रम रहेपनि महानगरलाई सोबारेमा कुनै जानकारी नभएको बताए । उनले भने,‘कसले कसका लागि खोप कार्यक्रम राखेको हो हामीलाई जानकारी छैन । मैलेपनि भखरै जानकारी पाए सिडियो साबलाई सोध्दा उहाँले पनि आफुलाई सो बारेमा केही जानकारी नभएको बताउनुभएको छ । म यसबारेमा थप बुझ्दैछु।’

खोप केन्द्र रहेको सिटी सिनेमा हल उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलका हो । तर उनले पनि आफूलाई सिटी सिनेमा हलबाहिरको प्राङ्गणमा खोप कार्यक्रम राखेको बारेमा कुनै जानकारी नभएको दाबी गरे । ‘म आफै अस्वस्थ्य भएर घरमा आराम गरिरहेको छु । खोप केन्द्र बनाएको बारेमा मलाई केही जानकारी छैन । के रहेछ म बुझेर खबर गर्छु ।’

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले खोप लगाएको बारेमा लफडा भएको भनेर जानकारी आएको भएपनि कसले आयोजना गरेको भन्ने बारेमा आफुहरुलाई पनि कुनै जानकारी नगराएको उनले बताए । ‘खै मलाई यसबारेमा कतैबाट जानकारी गराउने काम भएको छैन,’ सिडियो निरौलाले भने, ‘खोप कार्यक्रमको संयोजकको रुपमा म आफै रहेको छु ।’ तर यस विषयमा मलाई केही जानकारी गराइएको छैन ।’

यता सामाजिक बिकास मन्त्री उषाकला राईले भने प्रदेश सरकार अन्तर्गतका मुख्यमन्त्री तथा मन्त्री परिषदका केही कर्मचारीसहित अन्य मन्त्रालयका दोश्रो डोजको खोप लगाउन छुटेका कर्मचारीका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले खोप लगाउने कार्यक्रम राखिएको दाबी गरिन् ।

प्रत्यक्षदर्शीका अनुसार दोस्रो चरणको खोप लगाउन आउनेमा एमाले समर्थित विभिन्न कर्मचारी सङ्गठनका सदस्य तथा पदाधिकारी, एमाले कार्यकर्ता र केही छानिएका उद्योगपति–व्यापारी थिए । मन्त्री राईले १५–२० जना कर्मचारीका लागि मात्र भनेर दाबी गरेको खोपका लागि ३ सय जनालाई खोप लगाउने कार्यक्रम तय भएको जनस्वास्थ्य कार्यालयका एक कर्मचारीले बताए ।

यता मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव सुमनराज आचार्य र मन्त्री राईको कुरा बाझिएको छ । आचार्यले मुख्यमन्त्री तथा मन्त्री परिषद्मा कार्यरत सबै कर्मचारीले दोस्रो खोपपनि यस अघि नै लगाएको बताए । उनले कर्मचारीले दोश्रो डोज खोप वैशाखको अन्तिम साता लगाएको दाबी गरे । ‘हाम्रो मन्त्रालयमा कर्मचारीहरुले खोप लगाउन बाँकी भएको मलाई जानकारीमा छैन,’ प्रमुख सचिव आर्चायले भने, ‘गएको चैत महिनामा सबै कर्मचारी साथीहरु कोरोनाको पहिलो डोजको खोप लगाउनु भएको थियो । दोस्रो डोज पनि वैशाखको तेस्रो सातामा पुरा गरिसक्नुभएको छ ।’

यता खोप प्राविधिक हरि घिमिरेले आफूलाई जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखले सिटी सिनेमामा खोप दिन जानु भनेर आदेश गरेको हुँदा टिमसहित आएको बताए । उनले करिब १ सय ५० जनालाई खोप दिइएको जानकारी दिए । खोप दिन सरकारी ठाउँ र स्वास्थ्य केन्द्र विराटनगरमा पर्याप्त हुँदाहुँदै निजी क्षेत्रको सिनेमा हललाई किन प्रयोग गरियो भन्ने प्रश्नको उत्तर दिन सरकारी अधिकारीले चाहेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप