कोभिसिल्ड खोप लगाउन लडाइँ, चिकित्सक नै फर्किए (भिडियो)
स्वास्थ्य कार्यालय ललितपुरमा बिहानैदेखि सिमसिम पानीमा छाता ओढेर स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, बैंक तथा वित्त क्षेत्र लगायतका कर्मचारी लाइनमा बसेका थिए । स्वास्थ्य कार्यालयले यसअघि नै जारी गरेको सूचना अनुसार जेठ १२, १३ र १४ गते कोभिसिल्डको दोस्रो मात्रा खोप लगाउने कार्यक्रम थियो ।
अघिल्लो दिन जाउलाखेलमा ३११ जना सुरक्षाकर्मीलाई खोप लगाइएको थियो । पहिलो मात्राको खोप लगाएका र दोस्रो मात्राको खोप लगाउन नपाएका ‘फ्रन्टलाइन’मा रहेर सेवा दिने व्यक्तिहरुका लागि खोप लगाइने भनेपछि ठूलो संख्यामा स्वास्थ्य कार्यालयअघि मानिसहरु भेला भएका थिए ।
तर, स्वास्थ्य कार्यालयले गत फागुन २३ गतेभन्दा अगाडि खोप लगाएकाहरुलाई मात्रै दोस्रो मात्राको खोप दिने भनेपछि खोप नलगाइ धेरै व्यक्तिहरु फर्किए । फागुन २२ गतेपछि पहिलो डोज खोप लगाएका कतिपय स्वास्थ्यकर्मी दोस्रो डोज पाउने आशमा गेटका कुरेर अनुरोध गरिरहेका थिए । कार्यालयको गेटमा स्वास्थ्य कार्यालयका कर्मचारी तथा प्रहरीहरु माइकिङ गरेर स्वास्थ्यकर्मी, सफाइकर्मीलाई मात्रै खोप दिने बताइरहेका थिए ।
जसमध्ये एकजना चिकित्सक अस्पतालको काम छोडेर आएको र खोप लगाएर जान दिन आग्रह गरिरहेका थिए । हामीले उनीसँग कुरा गर्न खोज्यौं तर मिडियामा उनले आफ्नो नाम समेत बताउन चाहेनन् । उनी भन्दै थिए, ‘कि सुरुमै स्पष्ट पारिदिनुपर्थ्यो, बिहान ९ बजे आएर लाइन बसेको छु । तपाईहरुले स्पष्ट पारिदिएको भए म यहाँ आउँथे त ? सूचनामा २२ गते भन्दा अगाडिका लागि मात्र भनेर कहाँ भनेको छ ?’
उनी निकैबेर खोप लगाउनका लागि आग्रह गर्दै गेटमा कुरेर बसे । स्वास्थ्य कार्यालयका ललितपुरका कर्मचारीले सम्झाउँदा पनि नमानेपछि उनलाई सम्झाउन आइपुगे कार्यालयका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक खगेश्वर गेलाल ।
उनले भने, ‘डा.साब यहाँ बस्दै नबस्नुस ।’
खोप लगाउन आएका डाक्टरले भने, ‘मेरो यति धेरै समय खेर गइसक्यो ।’
डा.गेलालले भने, ‘हामीले तपाईलाई आउनुस् भनेर बोलाएका थियौं र ?’
उनले भने, ‘अगाडि नै स्पष्ट पार्नुपर्थ्यो नि ।’
डा. गेलालले थपे, ‘फागुन २२ गते अगाडि खोप लगाएको हो भने लाइन बस्नुस, त्यसभन्दा पछाडिको हो भने जति बसे पनि पूरा हुँदैन । मैले तपाईलाई नमस्कार गरेँ । यहाँ बसेर हुने भए त हजारौं मान्छे बिहानदेखि नै बस्थे नि ।’
झण्डै ३ घण्टा खोप लगाउन पर्खेर बसेका उनले खोप लगाउन नपाएपछि निराश भएर फर्किए । जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीहरु फागुन २२ गते भन्दा अगाडि नै पहिलो चरणको खोप लगाएकाहरुलाई मात्रै खोप लगाउने अरुलाई खोप नपुग्ने भनेर फर्काइरहेका थिए ।
पर्याप्त भ्याक्सिन नभएका कारण गत फागुन २२ गतेअघि खोप लगाएका स्वास्थ्यकर्मीहरु पनि बिहानैदेखि लाइन बसे पनि निराश भएर फर्किए ।
खोपको मौज्दात छैन, सबै आए धान्न मुस्किल हुन्छ : गेलाल
कोरोना संक्रमण जोखिम हुने क्षेत्र अर्थात स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक, सफाइकर्मीका लागि सरकारले सबैभन्दा पहिला कोरोना खोप लगाएको थियो । गएको फागुन २२ गतेभन्दा अगाडि जोखिम क्षेत्रमा काम गर्नेहरुलाई खोप दिइएकाले बचेको कोभिसिल्ड खोप दोश्रो चरणमा दिन लागेको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले बताए ।
उनले भने– ‘अहिले यो कोभिसिल्ड खोपको भ्याक्सिनको मौज्दात धेरै छैन् । हामीले धेरै जिल्लाहरुमा लगायौँ । केही केही जिल्लाबाट उब्रिएको अवस्थामा सरकारले निर्णय गरेर फागुन २२ गतेभन्दा अगाडि खोप लगाएर दोश्रो चरणको खोप लगाउन छुटेकाहरूलाई खोप दियौँ भने उहाँहरुको सुरक्षा हुन्छ भनेर हो ।’
गत फागुन २३ गतेबाट सरकारले देशभरका १४ लाख जेष्ठ नागरिकलाई खोप लगाएको थियो । उनीहरुले हालसम्म दोश्रो चरणको खोप लगाउन पाएका छैनन् । भ्याक्सिन अभाव भएकाले गत फागुन २३ गतेपछि लगाएकालाई पनि आउ भन्यो भने त लाखौं मान्छे आउने र धान्न नसकिने उनले बताए ।
उनले भने, ‘अहिले खोपको महत्व बुझेर धेरै मान्छे आएका हुन् हामी स्वास्थ्य कार्यालयहरूले फागुन २३ गते यता खोप लगाएका मानिसहरुलाई बोलाएका छैनौँ । धेरैजसो मानिसलाई गएर लाइन बसेपछि खोप पाइन्छ भन्ने लागेछ तर २२ गतेभन्दा अगाडिका लागि मात्र हो ।’
स्वास्थ्य कार्यालय ललितपुरले अघिल्लो दिन ३ सय ११ जना सुरक्षाकर्मीलाई खोप लगाएकोमा बिहीबार र शुक्रबार १ हजार डोज खोप लगाउने उनले बताए ।
सरकारले यतिबेला दोस्रो डोज खोप लगाउनका लागि छिमेकी राष्ट्र भारत र चीनसँग पहल गरिरहेको छ । बुधबार चिनियाँ राष्ट्रपति सी जिनफिङले राष्ट्रपति विद्या भण्डारीलाई नेपालका लागि १० लाख मात्रा खोप दिने प्रतिवद्धता जनाएका छन् ।
यस्तै राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपतिसँग पनि खोपका लागि पहल गरेकी छिन् । तर, भारतमा कोरोना संक्रमण भयावह भएका बेला उसले कुनै प्रतिक्रिया जनाएको छैन् । भारतको सर्वोच्च अदालतले अन्य देशमा खोप नदिन आदेश समेत दिएको छ । नेपालमा पहिलो चरणमा भारतले अनुदानमा दिएको कोभिसिल्ड खोप लगाएकाहरुले दोस्रो चरणको सो खोप लगाउन पाएका छैनन् ।
हेर्नुहोस् भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण