शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञामा कडाइ : कोरोनातिर लक्षित कि विपक्षीतिर ?

आन्दोलन रोक्ने सरकारी रणनीति : विपक्षी दल, सामाजिक सञ्जाल उपयोगको नीति
बुधबार, १२ जेठ २०७८, १४ : ४५
बुधबार, १२ जेठ २०७८

कोरोना नियन्त्रणको बहानामा सरकारले काठमाडौ उपत्यकामा आगामी शुक्रबारदेखि निषेधाज्ञामा थप कडाइ गर्ने घोषणा गरिसकेको छ । तर, प्रशासनको यो निर्णयलाई विपक्षी गठबन्धनले कोरोनाको बाहनामा सरकार आफ्नो स्वार्थसिद्ध गर्ने अभियानमा केन्द्रीत भएको भन्दै शंकाका रुपमा हेरेको छ ।

निषेधाज्ञा कडाइ गर्नुमा कोरोना नियन्त्रण भन्दा पनि सरकारले आफुविरुद्ध हुन सक्ने सम्भावित आन्दोलन रोक्न कोरोनाको आडमा राजनीति गर्न खोजेको गठबन्धनले विश्लेषण गरेको छ । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले गत बैशाख १६ देखि जारी निषेधाज्ञालाई निरन्तरता दिदै जेठ १३ पछि थप एकसाता बढाउदै कडाइ गर्ने निर्णय गरेको थियो ।

‘कोरोनाको आडमा स्वार्थसिद्धिको प्रयास’

नेपाली काँग्रेसको बुधबार बसेको पदाधिकारी बैठकले सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न पर्याप्त औषधि उपकरण, कन्ट्याक्ट ट्रेसिङ, भेन्टिलेटर, अक्सिजन, खोपको व्यवस्था गरेर जनताको उपचार गर्नुको साटो निषेधाज्ञाको सहारा लिएको ठहर गरेको छ ।

‘कोभिडको महामारीका सम्वन्धमा हामीले केही समयअघि पनि १५ बुँदे ज्ञापनपत्र दिएका हौं । तर, सरकार अहिले पनि कोभिड संक्रमणलाई रोक्ने भन्दा पनि यसको आडमा राजनीति गर्न खोज्दैछ । जनतामा आतंक फैलाउन खोज्दैछ । एक÷दुई दिनभित्र किनमेल गर भनेर भनेको छ’, काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको भनाइ छ ।

नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुषाल आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्न, कोहीपनि आफ्नो विरोधमा नआओस्,कसैले प्रतिवाद नगरोस् भनेर नै निषेधाज्ञामा कडाइ गरिएको होइन भनेर आशंका गर्नुपर्ने अवस्था आएको बताउँछिन् ।

उनले सरकारको आशय अहिले पनि अक्सिजन, अस्पताल बेड, दुर्गममा पीसीआर परीक्षण गर्नेभन्दा पनि संक्रमणको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थसिद्ध गर्नेतर्फ नै केन्द्रित भएको पाइएको बताए ।

‘फेरि पनि हामी सरकारलाई तत्काल जनताका आवश्यकता, पिरमर्का बुझ्दै सानोतिनो रोजगार गरेर जीवन चलाउनेहरु एकातिर स्वास्थ्य संकटकाल र अर्कोतिर जीवीकोपार्जनको संकट भोग्नुपरेकाहरुलाई राहतको सुनिश्चित गरोस् भन्न चाहन्छौ’, नेता महतको जोड रहेको छ । उनले जनताका समस्या सम्बोधन गर्नको साटो सरकार आफूले लिएको अवैधानिक बाटोलाई मजबुत गर्ने नीतिमा लागेको भन्दै आपत्ति समेत जनाएका छन् ।

राजनीतिमा देखा परेको कोभिड : पम्फा भुषाल

नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुषाल आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्न, कोहीपनि आफ्नो विरोधमा नआओस्,कसैले प्रतिवाद नगरोस् भनेर नै निषेधाज्ञामा कडाइ गरिएको होइन भनेर आशंका गर्नुपर्ने अवस्था आएको बताउँछिन् ।

‘यदि त्यसो होइन भने कोरोनाका लागि मुख्य चहिने भनेको खोप हो । त्यो खोप पाउने ठाउबाट नल्याउने, तर समुन्द्र पारि किन देखाउँछ सरकार ? चीनले जति चाहिए पनि खोप दिन्छु भनिरहेको बेलामा त्यता जाँदै नजाने, माग पनि नगर्ने तर टाढाको युरोप अमेरिकासँग भीख माग्न थालेको छ त्योपनि देशलाई ऋणमा डुवाउँदै’ भुसालले आक्रोश पोखिन् । 

उनले राजनीतिक हिसावले आफूले चालेको निरंकुश र प्रतिगामी कदमकाविरुद्ध कोेही बाहिर नआओस् भन्ने उद्देश्यले सरकारले कोरोनालाई राजनीतिकरण गरेको बताइन् ।

‘निषेधाज्ञापछि कोरोनाका लागि गर्नुपर्ने काम छोडेर सरकारले गाईजात्रा देखायो । कोभिडको भरपर्दो समाधान खोप नै हो । तर, त्यसका लागि सिन्कोसम्म भाँचेको छैन’, भुसालले भनिन् ‘जनता तीन हप्ता भैसक्यो घरभित्र बसेको । अब गरिव र न्यून आय भएका मानिसहरु भोकै मर्ने बेला हुन लाग्यो । यसबेलासम्म त राहत अनुदानका कुरा ल्याउनुपर्ने होइन ?’

जनता बिहान–बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्तामा रहेका बेला सरकार भने नहुने चुनाव र आफ्नो गैरसंवैधानिक कदमलाई प्रमाणित गर्नतिर लागेको भन्दै यसलाई भुसालले राजनीतिमा देखापरेको कोभिडको संज्ञा दिइन् ।

‘सरकारको नालायकीपनको पराकाष्ठा’

जसपाका कार्यकारिणी समिति सदस्य माेहम्मद इस्तियाक राईले कोरोना नियन्त्रणको बहानामा सरकारले मानिसहरुलाई घरभित्रै थुनेर आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न निषेधाज्ञामा कडाइ गरेको बताए । उनले रातोपाटीसँग भने, ‘यो कोरोनाका लागि हुँदै होइन । जम्मा तीन करोड जनसंख्या भएको देशमा राज्यले खोप किनेर ल्याउन नसक्ने कुरै हुँदैन ।’

‘ठीक छ सरकारले घरभित्रै बस भनेपछि राहत प्याकेज त दिनुपर्यो नि । त्यसकारण यो पुरापुर राजनीतिक उद्देश्यले गरिएको हो’, उनले भने, ‘यो सरकारले गैरसंवैधानिक ढंगले संसद विघटन र चुनाव घोषणा गरेको छ । त्यसविरुद्ध आन्दोलन नहोस् भनेर यो नाटक गरेको हो ।’

उनले विकसित राजनीति घट्नाक्रमविरुद्ध मानिसहरु आक्रोशित भएकाले सडकमा आउने देखेर प्रतिवन्ध लगाउन कोरोनालाई बहाना बनाएको बताए ।

‘तरकारी किन्न जान नपाउने, मर्निङ वाकमा पनि जान नपाउने ? कसरी बाच्छ मान्छे घरभित्र बसेर ?’, उनको प्रश्न छ । मानिसहरुले गतसाल एक बर्ष लकडाउन झेलेको भन्दै अहिले पनि न्युन आए भएका मानिसहरुले जम्मा गरेको पैसा सकिइसकेकोले अव के खाने भन्ने समस्या पर्न थालिसकेको बताए ।

‘ठीक छ सरकारले घरभित्रै बस भनेपछि राहत प्याकेज त दिनुपर्यो नि । त्यसकारण यो पुरापुर राजनीतिक उद्देश्यले गरिएको हो’, उनले भने, ‘यो सरकारले गैरसंवैधानिक ढंगले संसद विघटन र चुनाव घोषणा गरेको छ । त्यसविरुद्ध आन्दोलन नहोस् भनेर यो नाटक गरेको हो ।’

पूर्वमन्त्री राईले राज्यको अवैधानिक क्रियाकलापविरुद्ध अदालत पनि जान नपाओस्, भोकै घरमै मरोस् र औषधि उपचार पनि गर्न नपाओस् भन्ने गैरजिम्मेवार, नालायकीपन र जनताप्रति अनुत्तरदायी व्यवहार प्रदर्शन गरेको बताए ।

उनले यो सरकारमा चुनाव गराउने र कोरोना नियन्त्रण गर्ने दुवै उदेश्य नरहेको भन्दै एउटै उदेश्य राजनीतिक गतिविधि हुन नपाओस् भन्ने रहेको दावी गरे ।

संघर्षमा सामाजिक सञ्जाल उपयोग नीति

यसैबीच, विपक्षी गठबन्धनले सरकारविरोधी आन्दोलनलाई सशक्त पार्ने रणनीति बनाएको छ । त्यसका लागि भौतिक उपस्थितिमा हुने संघर्षलाई रुपान्तरण गर्दै सामाजिक सञ्जालमार्फत त्यस्ता गतिविधि सञ्चालन गर्ने नीति लिएको छ ।

‘संक्रमणको अवस्थामा भौतिक उपस्थितिमा भन्दा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नागरिक समाज, पार्टीका संरचना वडादेखि केन्द्रसम्म परिचालन गर्ने, अरु दलसँग पनि समन्वय गरेर नागरिकमा राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध निरन्तर सन्देश प्रवाह गर्ने हाम्रो रणनीति छ’, काँग्रेस नेतासमेत रहेका डा. महतको भनाइ छ ।

यसअघि विपक्षी गठबन्धनको संयुक्त बैठकले संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने सरकारको निर्णयका विरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने घोषणा गरेको थियो । त्यसलगत्तै सोमबार विपक्षी गठबन्धनका १४६ सांसदहरुले हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप