बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस सडक प्रदर्शनमा नउत्रने, सामाजिक सञ्जालमार्फत बहस चलाउने

बुधबार, १२ जेठ २०७८, १२ : ४८
बुधबार, १२ जेठ २०७८

नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले पछिल्लो राजनीतिक घटनाको समीक्षा गर्दै विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने निष्कर्ष निकालेको हो ।

काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार बैठकले न्यायिक लडाइ अदालतमा र राजनीतिक लडाइ सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत थाल्नुपर्ने निर्णय गरेको छ ।

बैठकपछि रातोपाटीसँग उनले भने, ‘न्यायिक लडाइँअनुसार अदालतमा बहस गर्छौं । हामीले नागरिक समाज, राजनीतिक दल, आम नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्रीको षड्यन्त्रमुलुक असंवैधानिक कदमबारे सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत सुसूचित गराउन बहस चलाउँछौं ।’

प्रधानमन्त्रीका काम र राष्ट्रपतिको निर्णयविरुद्ध पार्टीपंक्ति र आम नागरिकलाई सोही अनुसार मोबिलाइज निर्णय भएको महतले जानकारी दिए ।‘ुहामीले संसद विघटनको कदमविरुद्ध नागरिक समाजदेखि लिएर पार्टीलाई पूर्ण रुपमा परिचालन गर्ने काम गर्छौं,’ महतको भनाइ छ ।

यस्तै बैठकले तत्काल सडकमा आउनु उपयुक्त नभएको पनि निष्कर्ष निकालेको छ । ‘कोभिड १९ का कारण राजनीतिक लडाइका लागि सडक आन्दोलनमा जान सक्ने अवस्था छैन । नभए लाखौँ मान्छे सडकमा निस्किसक्थे । तत्काल सडकमा जानु उपयुक्त हुँदैन भन्ने बैठकको निष्कर्ष निकालेको छ,’ महत भन्छन् ।

जेष्ठ ७ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भएको प्रतिनिधिसभा विघटनको विरुद्धमा काँग्रेसले विपक्षी पार्टीसँग मोर्चाबन्दी निर्माण गरेको छ । त्यसको विरुद्धमा काँग्रेसले माओवादी केन्द्रसहितको एमालेको माधव नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षसँग मोर्चा बनाएको छ । 

उक्त गठबन्धनले  न्यायिक लडाइका लागि सोमबार सर्वोच्च अदालतमा विघटित प्रतिनिधिसभाका बहुमत सांसदको हस्ताक्षरसहित रिट निवेदन दर्ता गराएको छ । बैठकले कोरोना महामारीबारे पनि छलफल गरेको थियो । 

यस्तै काँग्रेसले कोभिडको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पुरा गर्नका लागि जनतामा आतंक फैलाउने काम गरेकोे आरोप लगाएको छ ।

बैठकले कोभिड १९ संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो । आफ्ना असंवैधानिक कदमलाई वैधानिकता दिन र राजनीतिक अभिष्ट पुरा गर्नका लागि सरकारले कोभिड संक्रमणको नाममा जनतामा आतंक फैलाउन खोजेको ठहर बैठकले गरेको छ ।

सहमहामन्त्री महतले कोभिडका नाममा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धि गर्ने कोसिसमा सरकारअघि बढेको बताए । उनले कोभिड संक्रमितको उपचार सुनिश्चित गर्नु भन्दा पनि संक्रमणको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धि गर्ने सरकारका क्रियाकलापको बैठकले घोर भत्र्सना गरेको बताए ।

महामारीमा जनताको दैनिकी असहज भइरहेका बेला सहयोगी भूमिका निर्वाह गर्नुभन्दा सरकार जनअधिकारलाई निषेध गर्ने र अवैधानिक बाटोलाई बैध बनाउने बाटोमा लागेको भन्दै बैठकले त्यस कार्यको निन्दा एवंम भत्र्सना गरेको नेता महतले जानकारी दिए ।

काँग्रेसले उपचार नपाएर र अक्सिजन नपाएर कोभिड संक्रमितहरुको ज्यान गइरहेको तथा दुर्गम लगायत क्षेत्रमा कोरोना परीक्षण हुन नसकिरहेका बेला उपचार, रोकथाम र राहततर्फ केन्द्रीत हुनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

केही दिनअघि काँग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड १९ महामारी रोकथाम, नियन्त्रण तथा उपचारका सम्बन्धमा गर्नुपर्ने काम र सर्वसाधरणको दैनिकीलाई सहज बनाउनका लागि राहत लगायतको व्यवस्था गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप