सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री पौडेललाई अष्टलक्ष्मीको प्रश्न–तपाईंले बादललाई नै भोट दिएको प्रमाण के छ ?

आइतबार, ०९ जेठ २०७८, ११ : ३५
आइतबार, ०९ जेठ २०७८

नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डकी सदस्य अष्टलक्ष्मी शाक्यले आफूलाई मुख्यमन्त्री डोरमणि पौडेलले अनैतिक रुपमा अनावश्यक स्पष्टीकरण सोधेको टिप्पणी गरेकी छन् ।

रातोपाटीसँग कुरा गर्दै उनले माधव नेपाल समूहमा लागेकै कारण आफूलाई स्पष्टीकरण सोधिएको बताइन् । आफूसहित बागमती प्रदेशका १४ जना सांसदले संसदीय बोर्डले दिएकै समयमा स्पष्टीकरण बुझाउने उनको भनाइ छ ।

नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डकी सदस्यसमेत रहेकी शाक्यले स्पष्टिकरण सोधिएका सबै सांसद र पार्टी नेतृत्वसँग आन्तरिक छलफल गरेर मात्र स्पष्टीकरण पेश गर्ने बताइन् ।

शनिबार हेटौंडामा बसेको बोर्डको बैठकले पार्टी हित विपरित काम गरेको र राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई मतदान नगरेको भन्दै १४ जना सांसदलाई २४ घण्टाको समय दिएर स्पष्टिकरण सोधेको थियो ।

शाक्यले भनिन्, ‘हामी चाहिँ पार्टी एकता जोगाउनका लागि उहाँहरूसँग झुक्दै जाने, उहाँहरु चाहिँ हामीलाई पेल्दै जाने ! यो कसरी पार्टी एकताको हितमा भयो ? मुख्यमन्त्रीले हामीलाई हेपेर आरोपमाथि आरोप लगाउने, हामीले सबै सहनु पर्ने ? यही हो विधि ?’

उनले मुख्यमन्त्री पौडेलले भने झैँ रामबहादुर थापा बादललाई भोट नहाल्ने माधव नेपाल समूहकै १४ जना सांसद हुन् भन्ने प्रमाण के छ भन्ने प्रश्नसमेत गरिन् । राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा गोप्य मतदान भएकोले यस विषयलाई मुद्दा बनाएर स्पष्टिकरण सोध्नु आफैमा अनैतिक र अनुशासनहीन काम भएको उनको भनाइ छ ।

‘मुख्यमन्त्री पौडेलले बादललाई नै भोट दिएको प्रमाण के छ ?’ उनको प्रश्न छ । गोप्य मतदान भएकाले कसले कहाँ मत दियो भनेर सोध्न नमिल्ने उनले बताइन् ।

उनले नेकपा एमालेको नेतृत्वले नीति, नियम र अनुशासनलाई बिर्सेर अघि बढेकाले यसबाट कसैको पनि हित नहुने बताइन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप