अक्सिजन भर्न धमाधम उठाइँदैछ बेवारिसे सिलिन्डर
सोमबार ललितपुरको मलपोखरीमा बेवारिसे अवस्थामा सयौँ अक्सिजन सिलिन्डर फेला परेको समाचार प्रकाशित भयो । सो सिलिन्डर फेला पर्ने १०० ग्रुप्सका समाजसेवी अन्सु यादव थिए । देशमा कोरोना संक्रमितका लागि अक्सिजन सिलिन्डरको हाहाकार भइरहेका बेला ठूलो संख्यामा बेवारिसे सिलिन्डर फेला परेपछि उनले उत्साहित हुँदै मिडियालाई खबर गरे । बेवारिसे सिलिन्डरबारे समाचार प्रकाशित भएपछि प्रहरी र आविष्कार केन्द्रको टोली सो स्थानमा पुग्यो । तर, ती सिलिन्डरहरू काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको रहेको खुल्यो अनि सिलिन्डर अक्सिजनको नभएर कोलोरिन ग्यासको सिलिन्डर भएको पनि पत्ता लाग्यो । त्यसपछि सिलिन्डरलाई परीक्षणका लागि आविष्कार केन्द्र र नास्टमा लगियो ।
देशभर अक्सिजन सिलिन्डरको हाहाकार भएपछि यतिबेला प्रयोगमा नरहेका सिलिन्डरहरूलाई धमाधम संकलन गर्ने काम भइरहेको छ । प्रहरीदेखि सामाजिक अभियन्ताहरु यस कार्यमा लागेका छन् । तर, सिलिन्डर उठाउने नाममा जुन पायो त्यही सिलिन्डर उठाउने हो भने झन् ठूलो दुर्घटना निम्तने सक्ने खतरा विज्ञहरुले औँल्याएका छन् । नेपालमा अक्सिजन सिलिन्डर मात्र नभएर विभिन्न विषाक्त ग्यास भरिएका सिलिन्डर पनि पाइने हुँदा त्यसको पहिचान नगरी हचुवाको भरमा सिलिन्डर उठाउने र त्यसैमा अक्सिजन भरेर बिरामीलाई दिने हो भने यसले मानिसको ज्यान पनि जान सक्ने उनीहरुले चेतावनी दिएका हुन् ।
कोरोना महामारीबीच अक्सिजन अभाव भइरहेकै बेला देशभर १ लाख ११ हजार ३ सय ६४ सिलिन्डर उपलब्ध रहेको सरकारले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकाभित्रका १० उद्योग र बाहिर १९ उद्योगमा ठूलो ७२ हजार २ सय ५० र सानो ३९ हजार १ सय १४ सिलिन्डर रहेको छ । तर, कोभिड बिरामीले आवश्यकताको आधारमा सहजरुपमा अक्सिजन पाउन सकिरहेका छैनन् ।
केही अस्पतालहरुले बिरामी आफैलाई अक्सिजन व्यवस्थापन गर्न समेत भनिरहेका छन् । त्यस्तै, कोभिड बिरामीकै लागि र घरमै स्टक राख्नका लागि भन्दै सिलिन्डरसहित अक्सिजन उत्पादन कम्पनीमा मानिसहरु लामबद्ध भएका छन् ।
तर, अक्सिजन भर्न पुग्नेहरूले आप्mनो हात रहेको सिलिन्डर अक्सिजन ग्यास भर्न मिल्ने सिलिन्डर हो या होइन भनेर थाहा पाउन पनि अत्यन्त जरुरी रहेको नेपाल अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष गौरव शारडा बताउँछन् । सरकारले अघिल्लो हप्ता विभिन्न उद्योगहरूबाट रित्ता अक्सिजन सिलिन्डर जफत गर्नुका साथै सरकारले वर्षौँदेखि कवाडी स्थालमा थन्किएका सिलिन्डरसमेत संकलन गरिरहेको छ । कतिपय नागरिकले जहाँ खाली सिलिन्डर पाइन्छ, त्यहीँबाट उठाउने पनि गरेका छन् ।
यसरी उठाइएका सबै सिलिन्डरमा अक्सिजन भर्न नमिल्ने शारडा बताउँछन् । नेपालमा अक्सिजन ग्यास उत्पादन गर्ने कम्पनी मात्रै नभएर अन्य धेरै ग्यास उत्पादन गर्ने कम्पनी रहेको उनले सुनाए । ‘सबै कम्पनीका आ—आफ्नै स्टान्डर्ड मार्किङ छ,’ उनी भन्छन्, ‘कुन सिलिन्डरमा अक्सिजन, नाइट्रोजन, आर्गन राख्ने कम्पनीहरुको मार्किङ हुन्छ ।’
अक्सिजनको अभाव भएपछि सरकारी तथा व्यक्तिगत तवरबाट भेटाएकाजति खाली सिलिन्डर धमाधम उठाउने काम भइरहेकाले बिरामीका लागि खतरा सावित हुने चेतावनी दिए । ‘रुवावासी गर्दै पहिला अन्य ग्यास भरेको सिलिन्डर लिएर अक्सिजन भर्न बिरामीका आफन्त कम्पनीमा आइपुगेको उदाहरण छन्,’ अध्यक्ष शारडा भन्छन् । अन्य ग्यास भरेका सिलिन्डर लिएर लाईन बस्नेलाई चिनेर फर्काइदिएको उनले सुनाए । ‘तर, कम्पनीका काम गर्ने मध्ये धेरैलाई कोभिड भएकाले कामको बढी चाप छ, जुन सिलिन्डर ल्याए पनि त्यसमा भरेर हतारमा पठाउने काम भइरहेको हुनसक्छ,’ उनले थपे, अहिले मानवीय संकट भएपछि कुन कम्पनी सिलिन्डर हो भनेर समेत राम्रोसँग धेरै हेरेका छैनन् । कम्पनीले पहिला अन्य विषाक्त ग्यास भरेको सिलिन्डरमा अक्सिजन ग्यास भरेर पठाए के हुन्छ ?’
सिलिन्डरबारे थाहा पाउनैपर्छ, नत्र ज्यान नै जान सक्छ
सरकारले सिलिन्डरका बारेमा प्रष्ट सर्वसाधारण जनतालाई दिन अतिआवश्यक भएको शारडा बताउँछन् । खाली भन्दै उठाएका सबै सिलिन्डर अक्सिजन ग्यास भर्न योग्य नभएको उनको भनाइ छ । फेला पारेका सिलिन्डर ल्याउँदा थाहा नपाएर बिरामी बचाउन भन्दै अक्सिजन भर्दा अञ्जानमा ज्यान जाने त होइन भन्ने चिन्ताले सताउने गरेको उनको भनाइ छ ।
वेवारिसे अवस्थामा, घरमै थन्किएको वा खिया लागेको अवस्थामा भेटिएका सिलिन्डरमा पहिले कार्वनडायोअक्साइड, नाइटोजन, आर्गन वा अक्सिजन भरिएको थियो भनेर आम सर्वसाधारणलाई थाहा नहुन सक्छ । कुन सिलिन्डर कुन ग्यास भरिन्छ भन्ने बारे जानकारी स्वास्थ्य मन्त्रालय र उद्योग मन्त्रालयले सर्वसाधारण जनतालाई जानकारी दिनुपर्ने उनको भनाइ छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी पनि विषादीयुक्त ग्यास भरिएका सिलिन्डरमा अञ्जानमा अक्सिजन भरिए स्वास्थ्यमा गम्भीर असर पुुर्याउनुका साथै बिरामीको ज्यानै पनि जानसक्ने बताउँछन् ।
‘नेपालमा अक्सिजन ग्याससँगै अन्य विभिन्न प्रकारका ग्यासहरु उत्पादन गरिन्छ । औद्योगिक क्षेत्रमा कावर्डअक्सिाइड, नाइटोजन आर्गन, सल्फर जस्ता ग्यासको प्रयोग गरिन्छ । यी ग्यासका सिलिन्डरहरू एउटै प्रकारका देखिन्छन् । अक्सिजन भरिदिने कम्पनी र अक्सिजन लैजाने व्यक्ति र संस्थाले समेत महामारीको आपत्तकालिन समयमा सबैले सिलिन्डरको बारेमा थाहा पाउन जरुरी छ,’ डा.राजभण्डारी बताउँछन् ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर भने प्रहरीले हालसम्म संकलन गरिएका सिलन्डरहरु अक्सिजनकै भएको बताउँछन् । ‘सङ्कलन गरिएका सिलिन्डरमध्ये अञ्जानमा कुनैमा विषाक्त ग्यास राखेको परेको भए ?’ भन्ने प्रश्नमा उनले भने, ‘ अक्सिजन भर्नुु अघि कम्पनीले त्यसलाई जाँच गर्छ होला ।’
एलपीजी सिलिन्डरमा अक्सिजन राख्न मिल्छ ?
अक्सिजनसँगै सिलिन्डरको अभाव हुँदा धेरैको मनमा खाना पकाउने अर्थात एलपीजी सिलिन्डरमा अक्सिजन भर्दा कस्तो हुन्छ होला भनेर बिरामीका आफन्तले सोध्ने गरेको अध्यक्ष शारडा उनले सुनाए । तर, उनका अनुसार एलपीजी ग्यासको सिलिन्डरमा अक्सिजन भर्न मिल्दैँन । ‘खाना पकाउने एलपीजी सिलिन्डरमा ग्यास भर्दा लाग्ने प्रेसर र अक्सिजन सिलिन्डरमा भर्दा लाग्ने प्रेसर फरक हुन्छ । यी दुवै सिलिन्डरको बनावट नै फरक हुन्छ । अक्सिजन १५० पावरको प्रेसर अक्सिजन ग्यास सिलिन्डरमा भरिन्छ । तर, यो प्रेसर एलपीजी सिलिन्डरले धान्नै सक्दैन,’ उनी भन्छन्, ‘एजपीजी ग्यास सिलिन्डर रेगुलेटरले चल्छ भने अक्सिजनको सिलिन्डरमा भल्भले चल्छ ।’ धेरै वटा प्राविधिक भिन्नताहरु हुने भएकाले खाना पकाउने सिलिन्डरमा अक्जिजन भर्न नमिल्ने उनले प्रष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विनोद काम्बली अस्पताल भर्ना, अवस्था चिन्ताजनक
-
सिरहामा दुई समूहबिच झडप, प्रदेश सांसद खातुनसहित १८ जना घाइते
-
७ पटक राष्ट्रिय चलचित्र पुरस्कार विजेता श्याम बेनेगलको निधन
-
अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिण्टनमा नेपालको खराब प्रदर्शन
-
झापा कपको उपाधि चर्च ब्वाइजले जित्यो
-
जीबी राईका सबै सहकारीबिच अवैधानिक ‘अन्तर–सहकारी’ कारोबार