बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बिरामीले लिने अक्सिजन किन उद्योगहरुमा प्रयोग गरिन्छ ?

आइतबार, ०२ जेठ २०७८, १७ : ०५
आइतबार, ०२ जेठ २०७८

कोरोना संक्रमणको दोस्रो लहरबीच नेपालमा यतिबेला अक्सिजनको हाहाकार छ । अक्सिजनकै अभावमा संक्रमित बिरामीले ज्यान गुमाइरहेको समाचार दिनहुँ आइरहेका छन् । अक्सिजन कोभिडका बिरामीलाई मात्रै नभएर नन्कोभिड बिरामीलाई पनि आवश्यक छ ।

अक्सिजन मेडिकल क्षेत्रमा मात्रै प्रयोग नभएर औद्योगिक क्षेत्रमा पनि प्रयोग गरिन्छ । अक्सिजनको चरम अभाव सिर्जना भएपछि सरकारले उद्योगहरुलाई अक्सिजन प्रयोगमा रोकसमेत लगाएको छ ।

कोरोना संक्रमणको पहिलो लहरमा खासै चर्चा नभएको अक्सिजनको बारेमा यसपटक भने सबैको चासो रहेको छ । अक्सिजन उत्पादक कम्पनीहरुलाई सरकारले ओझेलमा पारेका कारण यसपटक अभाव हुँदा यसको महत्त्वका बारेमा चर्चा बढेको अक्सिजन ग्यास उत्पादक सङ्घका अध्यक्ष गौरव सारडा बताउँछन् । यही सन्दर्भमा हामीले सारडालाई उद्योगमा अक्सिजनको प्रयोग र लिक्विड र एयरवेस अक्सिजन बीचको भिन्नताका बारेमा प्रश्न गरेका छौँ :​

उद्योगमा किन अक्सिजनको प्रयोग हुन्छ ?

सिसा, स्टील, तामा कम्पनी, हाइड्रोपावर लगायतका कम्पनीहरुले अक्सिजन प्रयोग गर्ने गर्छन् । यी कम्पनीहरुले एल्पी ग्यासमा अक्सिजन मिश्रण गरी प्रज्वन शक्ति बढाइन्छ । अक्सिजन मिश्रणपछि प्रज्वलन शक्तिको ताप उच्च भएसँगै उत्पादित वस्तु कटिङ गरिन्छ । कम्पनीमा उत्पादिन वस्तु काट्नका लागि नै फ्यूलको रुपमा अक्सिजन धेरै प्रयोग गरिन्छ । हाइड्रोपावरमा पनि उच्च मात्रामा अक्सिजनको प्रयोग गरिन्छ ।

लिक्विड र एयरवेस अक्सिजनमा के फरक छ ?

कोरोना संक्रमित बिरामीको चाप हुवात्तै बढ्न थालेपछि अक्सिजनको अभावमा लिक्विड अक्सिजनको प्रयोग गर्न थालिएको छ । तर, लिक्विड अक्सिजन सिधै बिरामीले प्रयोेग गर्न भने मिल्दैन । लिक्विड अक्सिजनलाई ग्यासमा परिर्वतन गरेर केही अस्पतालले बिरामीलाई सेवा दिइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विदेशमा लिक्विड अक्सिजन ग्यासलाई प्रायः उद्योगहरूले नै बढी प्रयोग गर्छन् । मेडिकल प्रयोजनका लागि लिक्विड अक्सिजन धेरै प्रयोग हुँदैन । भारतका ठूला कम्पनीहरुले लिक्विड अक्सिजन ठूलो मात्रामा प्रयोग गरे पनि नेपालको सन्र्दभमा धेरै उद्योग तथा कम्पनीहरुले एयरवेस अक्सिजनकै प्रयोग गर्दै आइरहेका छन् ।

एयरवेस अक्सिजन भन्नाले हावाबाट तानेर शुद्धीकरणमार्फत तयार पारिएको  अक्सिजन ग्यासलाई बुझिन्छ । हावाबाट तानिएको ग्यासमा नाइट्रोजन, हाइड्रोजन, कार्बनडाइअक्साइड लगाएका विभिन्न किसिमका ग्यासहरु हुन्छन् । एयरवेस अक्सिजन निर्माण गर्दा अन्य ग्यासहरुलाई शुद्धीकरण गरेर ९९.९९ प्रतिशत शुद्ध अक्सिजन तयार पारिन्छ ।  बिरामीलाई शुद्ध अक्सिजनको आवश्यकता पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप