शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश २ : कोरोना संक्रमित भगवानकै भरोसामा

सरकारी तथा निजी अस्पतालले भर्ना लिन छाडे
मङ्गलबार, ०४ जेठ २०७८, ११ : ३१
मङ्गलबार, ०४ जेठ २०७८

जनकपुर । प्रदेश २ का अधिकांश अस्पतालले अक्सिजनको अभावलाई कारण देखाउँदै कोरोना संक्रमितलाई भर्ना लिन छाडेका छन् । प्रदेशको अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल, सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पताल, वीरगंजस्थित नारायणी अस्पताल र विभिन्न निजी अस्पतालले अक्सिजन ग्यास सिलिन्डरको अभावको कारण कोरोना संक्रमितको उपचार गर्न नसक्ने भन्दै बिरामी भर्ना लिन छाडेका हुन् ।

प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले अक्सिजन ग्यास अभावका कारण अब कोरोना संक्रमितहरुलाई उपचार गर्न नसकिने अवस्था सिर्जना भएको बताए ।

‘कोभिड अस्पतालमा ६५ जना बिरामी रहेको र सबै संक्रमितलाई अक्सिजनसहितको उपचार गर्नु परिरहेको छ,’ उनले भने, ‘हामीसँग रहेका सबै अक्सिजन सकिन लागेका कारण थप बिरामी आएमा समस्या हुने भएकाले उपचार नै गर्न नसक्ने अवस्था आइसकेको छ ।’

​डा. यादवले एक सातादेखि प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव रहेको बताए । प्रदेश सरकार र स्थानीय प्रशासनलाई पटक पटक आग्रह गर्दा पनि कसैले चासो नदेखाएको उनको भनाइ छ ।

प्रादेशिक अस्पतालमा दिनहुँ दुई सय सिलिन्डरभन्दा बढी अक्सिजन खपत भइरहेको छ । तर एक÷दुई दिनको अन्तरालमा ४०÷५० वटा सिलिन्डरमात्र आपूर्ति हुँदै आएकाले समस्या बढेको उनले बताए ।

‘कोभिड अस्पतालमा बिरामीको आवश्यकता अनुसार दैनिक एक सयभन्दा बढी सिलिन्डर खपत हुन्छ, अक्सिजन अभावका कारण एउटा सिलिन्डर पालैपालो गरी ३÷४ वटासम्म बिरामीलाई धान्नुपर्ने अवस्था आइसकेको छ,’ उनले भने ।

सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा समेत अक्सिजनको अभाव भएको छ । सुनसरीको दुहबीस्थित डिपोले अक्सिजन दिन नमान्दा समस्या भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित कुमार झाले जानकारी दिए ।

जनकपुरधामस्थित चन्द्रकला हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा उपचाररत २९ वर्षीय एक युवकको अक्सिजन अभावकै कारण सोमबार बिहान मृत्यु भएको छ ।

अस्पतालमा भएको अक्सिजन आइतबार नै सकिएपछि आईसीयूमा उपचाररत रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–३ स्थित बनबोहरी बस्ने फिरोज मन्सुरीको मृत्यु भएको अस्पतालका म्यानेजर रोशन कुमार यादवले जानकारी दिए ।

​गत वैशाख २३ गतेदेखि सोही अस्पतालमा उपचार गराइरहेका उनको शरीरको अक्सिजन लेभल आइतबार राति अचानक ४० मा झरेको अस्पतालका एक चिकित्सकले बताए । उनको उपचारका लागि समयमै अक्सिजन उपलब्ध नहुँदा मृत्यु भएको ती चिकित्सकको भनाइ छ ।

प्रादेशिक अस्पताल जनकपुरधामले ग्यास आपूर्तिकर्ता भाजुरत्न ईन्जिनियरिङ्ग र उत्पादक ढल्केवर ग्यास उद्योगसँग अक्सिजनको कारोबार गर्दै आएको थियो । तर भाजुरत्नले करिब दुई सातादेखि आपूर्ति बन्द गरेको छ भने ढल्केवर ग्यास उद्योगले अक्सिजन उपब्ध गराउँदै आएको छ ।

दैनिक बढीमा ४ सय अक्सिजन सिलिण्डर उत्पादन गर्ने ढल्केवर ग्यास उद्योगले धनुषासहित महोत्तरी, सर्लाही, सिरहा, सप्तरी र सिन्धुलीमा आपूर्ति गर्दै आएको छ ।

प्रादेशिक अस्पतालका साथै निजी अस्पतालका सञ्चालकहरूले अक्सिजन अभावमा अब कोभिड बिरामीको उपचार गर्न नसक्ने बताउन थालेका छन् । संक्रमितका कुरुवालाई अक्सिजन ल्याएमा मात्रै उपचार हुने भन्दै ती अस्पतालहरुले बिरामी फर्काउने गरेका छन् ।

निजी अस्पताल संघ धनुषाका अध्यक्ष एवं काव्या हस्पिटलका सञ्चालक डा. सुधांशु सिंहले जनकपुरधाममा मात्रै करिब १५ वटा अस्पतालले कोरोना बिरामीको उपचार गर्दै आएको बताए । तर अक्सिजन अभावमा अब ती अस्पतालले बिरामीको उपचार गर्न नसक्ने अवस्था आएको उनको भनाइ छ ।

अक्सिजन ग्यास सप्लायर्स भाजुरत्न इन्जिनियरिङ एण्ड सेल्स जनकपुरधाम शाखाका मनोज ठाकुरले दुई सातादेखि जनकपुरधामका लागि आफूकहाँ अक्सिजन नै सप्लाई नभएकोले अस्पताललाई ग्यास सप्लाई गर्न नसकेको बताए ।

उनले भने, ‘विरगंजस्थित हिमाल अक्सिजन उद्योगबाट हामीले अक्सिजन लिने गरेका थियौं, तर त्यहाँका स्थानीय प्रशासनले पहिलो प्राथमिकता स्थानीय सप्लायर्सहरुलाई दिने निर्देशन दिएपछि त्यहाँबाट आपूर्ति नै बन्द भएको कारण हामीकहाँ अक्सिजनको अभाव भएको छ ।’

प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले अक्सिजनको अभाव प्रदेश २ मा मात्र नभई देशैभर रहेको बताए । उनले भने, ‘हामी सबै सप्लायर्स र उत्पादन कम्पनीलाई यस प्रदेशका अस्पतालमा प्राथमिकता सहित अक्सिजन वितरण गर्न निर्देशन दिइसकेका छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप