शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा छैन अक्सिजनको अभाव

प्रजिअ भन्छन्–  दिनहुँ काठमाडौं र अन्य जिल्लामा पठाइरहेका छौं
आइतबार, ०२ जेठ २०७८, २१ : ००
आइतबार, ०२ जेठ २०७८

बिराटनगर । कोरोना संक्रमणको दर बढेसँगै अहिले अन्य प्रदेशका कोभिड विषेश अस्पतालमा अक्सिजनको चरम अभाव छ । गम्भीर प्रकारका संक्रमितको उपचारका लागि आवश्यक अक्सिजनको अभावले राजधानीसहित देशका विभिन्न अस्पतालमा बिरामीले अकालमा ज्यान गुमाउनु परेपछि सुनसरी र मोरङबाट अक्सिजन आपूर्ति हुन थालेको छ ।

अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने गम्भीर बिरामीहरुको उपचारलाई प्रदेश १ का उद्योगहरूले अक्सिजन आपूर्ति गरेर भरथेग गर्दै आएका छन् ।

अहिलेकै अवस्थामा प्रदेश १ मा अक्सिजनको आपूर्ति ब्यवस्था सहज रहेकाले सुनसरी र मोरङ जिल्लामा रहेका पाँचवटा उद्योगले अक्सिजनको राजधानीसहित देशका विभिन्न अस्पतालहरुमा अक्सिजन आपूर्ति गर्दै आएका छन् ।

प्रदेश १ मा सुनसरीमा तीन र मोरङमा दुई गरी साना–ठूला पाँचवटा उद्योग छन् । यी उद्योगले प्रदेशको अक्सिजनको मागलाई धान्दै काठमाडौं लगायत अन्य जिल्लाका कोभिड विशेष अस्पतालमा समेत आपतकालीन उपचारका लागि आवश्यक अक्सिजन आपूर्ति गर्दै आएका छन् ।

सुनसरी र मोरङमा रहेका उद्योगले दैनिक २ हजार ७ सय सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएका छन् । प्रदेशभरिका अस्पतालमा अहिले दैनिक सरदर १ हजार सिलिन्डर अक्सिजन खपत हुँदै आएको छ ।

‘प्रदेश १ का कोभिडसहितका अस्पतालमा दैनिक अक्सिजनको माग १ हजार सिलिन्डर रहेको छ’ मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले रातोपाटीसँग भने, ‘आजको मितिसम्म प्रदेशमा अक्सिजनको कुनै समस्या छैन । प्रदेशलाई आपूर्ति गरेर पनि हामीले एक सातादेखि राजधानीसहित देशका विभिन्न कोभिड–१९ अस्पतालमा यस प्रदेशबाट अक्सिजन पठाउँदै आएका छौं ।’

प्रदेश १ मा सहज आपूर्ति व्यवस्था भइरहेसम्म यो कार्यले निरन्तर पाइरहने उनले बताए । सहायक सीडीओ तिम्सिनाले विभिन्न अस्पतालबाट आएको अक्सिजनको मागलाई आधार बनाएर प्राथमिकताका आधारमा जिल्ला प्रशासनको अनुमतिमा सम्बन्धित उद्योगले ती अस्पताललाई अक्सिजन दिने ब्यवस्था मिलाइएको बताए ।

मोरङका दुई उद्योग हिमाल र मारुतीबाट उत्पादन हुँदै आएको अक्सिजन नियमितरुपमा गत सातादेखि कम्तिमा १ सयदेखि तीन सय सिलिन्डर अक्सिजन बाहिरी प्रदेशका अस्पतालमा पठाउने गरिएको तिम्सिनाले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय मोरङले अक्सिजन सप्लाई गरेको अस्पतालको अभिलेख राख्ने गरेको छ । सोहीअनुसार क्रम मिलाएर सबै अस्पतालमा अक्सिजन आपूर्ति गर्ने गरिएको छ भने प्रशासनको अभिलेख अनुसार एक साताको अवधिमा काठमाडौंसहितका देशका विभिन्न अस्पतालमा १ हजार बढी सिलिन्डर अक्सिजन पठाइसकिएको प्रशासन कार्यालयले बतायो ।

मोरङमा रहेका दुई उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गरी दैनिक १६ सय सिलिन्डर अक्सिजन उत्पादन हुँदै आएको छ । सहायक सीडीओ तिम्सिनाका अनुसार यसअघि दैनिक पाँच सयको हाराहारीमा मात्रै अक्सिजन सिलिन्डर उत्पादन हुदै आएकोमा अहिले सुरक्षा र नियमित विद्युत आपूर्तिको व्यवस्था मिलाइएको छ ।

त्यसैगरी सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले पनि गत सातादेखि नियमितरुपमा राजधानी काठमाडौं लगायत पश्चिम नेपालका विभिन्न अस्पतालमा सुनसरीबाट अक्सिजन पठाइएको जानकारी दिए । उनले सुनसरीका रहेका तीनवटा उद्योगबाट यो अवधिमा २ हजार बढी अक्सिजन सिलिन्डर विभिन्न अस्पतालमा पठाइएको बताए ।

‘पछिल्लो दिनमा काठमाडौंसहित पश्चिम नेपालका अस्पतालमा चरम अक्सिजनको अभाव देखिएको छ’ प्रजिअ ढकालले रातोपाटीसँग भने, ‘अक्सिजन अभावका कारण स्वास्थ्य प्रणाली नै अस्तव्यस्त हुन पुगेको छ, यस्तो अवस्थामा अक्सिजनको माग ह्वातै बढेको छ र हामीले प्रदेशलाई आवश्यक अक्सिजनको जोहो गर्दै प्रदेश बाहिरका अस्पतालको मागलाई पनि धान्दै आएका छौं ।’

ढकालका अनुसार गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको स्काई ट्रकमार्फत तीन दिनदेखि सुनसरीका उद्योगहरुबाट अक्सिजन भरेर आपूर्ति भइरहेको छ ।

‘एयर लिफ्ट गरेर अस्ति र हिजो काठमाडौंमा अक्सिजन पठायौं । यहाँबाट सिलिन्डर पठाउने होइन, ल्याएको सिलिन्डर भरेर पठाउने गरिएको हो,’ प्रजिअ ढकालले भने, ‘हामीलाई प्रदेशमा आवश्यक पर्ने अक्सिजन छुट्याएर मात्रै पठाउने गरिएको छ ।’

शनिबार पनि एयर लिफ्टमार्फत भैरहवामा तीनपटक अक्सिजन पठाइने प्रजिअ ढकालले बताए । स्थलमार्गबाट पश्चिमका थुप्रै जिल्लामा अक्सिजन सिलिण्डर रिफिल गरेर पठाइएको पनि प्रजिअ ढकालले जानकारी दिए ।

प्रदेश १ मा पनि विभिन्न जिल्लाका अस्पतालमा आवश्यक पर्ने अक्सिजन आपूर्ति भइरहेको ढकालको भनाइ छ । उद्योगहरुलाई चौबिसै घण्टा प्लान्ट चलाउन लगाएर अक्सिजन उत्पादन बढाउन लगाइएको पनि प्रजिअ ढकालले जानकारी दिए ।

सुनसरीमा रहेका ३ वटा अक्सिजन प्लान्टहरु अहिले २४ सै घण्टा सञ्चालनमा छन् । ती उद्योगले दैनिक १ हजार २५५ सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएका छन् ।

प्रदेश नं १ मा ५ वटा अक्सिजन उत्पादन उद्योग रहेका र तीमध्ये ३ वटा उद्योग सुनसरी जिल्लामा छन् । इटहरीमा २ वटा उद्योग छन् भने दुहबीमा एउटा छ ।

इटहरीस्थित दुर्गा अक्सिजन उद्योगका प्रोपाइटर आशिष मित्तल अक्सिजन उत्पादन पर्याप्त भए पनि सिलिन्डरको समस्या भएको बताउँछन् । उनका अनुसार माग कम भएपछि उद्योगको क्षमताको मात्र ४०÷४५ प्रतिशत अक्सिजन प्लान्ट चलेको थियो । सिलिन्डर पर्याप्त हुने र अक्सिजन खपत भएमा क्षमताअनुसार नै उत्पादन हुने उनले बताए ।

प्रदेश १ अक्सिजनमा आत्मनिर्भर

प्रदेश १ बाहेक अन्य ६ वटै प्रदेशमा अक्सिजनको चरम अभाव छ । तर, प्रदेश १ भने अक्सिजनमा आत्मनिर्भर देखिएको छ । हालकै अवस्थामा प्रदेशमा अक्सिजनको कुनै अभाव नभएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सचिव गोविन्द कार्कीले प्रदेशमा रहेका पाँच उद्योगबाट प्रदेशका सबै अस्पतालको माग धान्न सक्ने अवस्थामा अक्सिजन उत्पादन भइरहेको बताए । उनले अहिले प्रदेशका कोभिड र नन कोभिड अस्पतालमा दैनिक १ हजार सिलिन्डर अक्सिजन माग भए पनि त्यो भन्दा दोब्बर मात्रामा उद्योगहरुबाट अक्सिजन उत्पादन हुँदै आएको कार्कीले बताए ।

मन्त्रालयका अनुसार कोरोना उपचारका लागि ८३ बेडसहितको कोशी कोभिड अस्पतालमा दैनिक ४ सय सिलिन्डर अक्सिजन खपत हुँदै आएको छ । अहिले ९६ बेड सञ्चालन हुँदा ४०० सिलिन्डर अक्सिजन खपत भइरहेको अस्पतालले सबै बेडमा बिरामीको उपचार थालेको खण्डमा ७०० सिलिन्डरभन्दा बढी अक्सिजन दैनिक आवश्यक पर्नेछ ।

बिराटनगरस्थित नोबेल मेडिकल कलेजसँग भने ३०० बेडका लागि आवश्यक पर्ने अक्सिजन प्लान्ट छ । नोबेलले आफ्ना बिरामीको उपचारमा आफ्नै प्लान्टबाट उत्पादन गरेको अक्सिजन प्रयोग गर्दै आएको थियो । तर, कोभिडका बिरामीको संख्या बढेपछि उसले पनि विभिन्न उद्योगहरुबाट दैनिक ३०० सिलिन्डर अक्सिजन खरिद गरेर बिरामीको उपचार गर्दै आएको छ ।

नोबेलका प्रबन्धक नारायण दाहालका अनुसार नोबेलले ठूलो क्षमताको अर्को अक्सिजन प्लान्ट पनि स्थापना गरिरहेको छ । बढीमा ७ दिनभित्र प्लान्ट स्थापना भइसक्ने जानकारी उनले दिए । त्यसपछि भने नोबेल अक्सिजनमा आत्मनिर्भर हुनेछ ।

विराटनगरमा सञ्चालित अन्य अस्पतालहरुमा भने आफ्नै अक्सिजन प्लान्ट छैन । उनीहरुले उद्योगहरुमै भर पर्नुपर्ने अवस्था छ । उद्योगहरूसँग पनि केमिकल लिक्वीड न्यून मौज्दात रहेको बताइएको छ । उद्योग सञ्चालकहरूले कच्चा पदार्थको अभाव रहेको जानकारी सरकारलाई दिइसकेका छन् । यद्यपि उनीहरुले भारतबाट कच्चा पदार्थ आयातका लागि निरन्तर प्रयत्न भने जारी राखेका छन् ।

अहिलेसम्म प्रदेश १ मा अक्सिजनको अभाव भइसकेको छैन । सुनसरी, र मोरङमा गरी पाँचवटा अक्सिजन प्लान्ट अहिले सञ्चालनमा छन् । सञ्चालनमा रहेका अधिकांश प्लान्टहरु ‘केमिकल लिक्वीड’ प्रशोधन गरेर अक्सिजन उत्पादन गर्ने प्रकृतिका छन् ।

सारडा ग्रुपले सञ्चालन गर्दै आएको अक्सिजन प्लान्टले भने केमिकल लिक्वीड र एयरबेस दुबै विधिबाट अक्सिजन उत्पादन गर्ने गरेको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पनि अस्पतालको अक्सिजन प्लान्टबाट आवश्यक अक्सिजन आपूर्ति गर्दै आएको छ ।

प्रदेश सरकारलाई न जानकारी, न समन्वय

प्रदेश १ का पाँचवटा अक्सिजन उत्पादन गर्ने उद्योगले स्थानीय प्रशासनको समन्वयमा ठूलो परिमाणमा अन्य प्रदेशमा अक्सिजन पठाइरहे पनि योबारेमा प्रदेश सरकार भने बेखबर छ । प्रदेश सरकारसँग न पर्याप्त जानकारी छ, न त स्थानीय प्रशासनले समन्वय नै गरेका छन् ।

सामाजिक बिकास मन्त्रालयका सचिव गोबिन्द कार्कीले राजधानी लगायत देशका अन्य अस्पतालमा अक्सिजन पठाइएको बारेमा आफूहरुलाई जानकारी नगराइएको बताए । ‘विभिन्न माध्यमबाट हामीले पनि सुन्दैछौँ’ सचिव कार्कीले भने, ‘यति सिलिन्डर अक्सिजन काठमाण्डौं लगायतका स्थानमा पठाइयो अरे भन्ने सुनेको हो । तर, यो विषयमा न हामीलाई जानकारी गराइएको छ, न समन्वय, हामी अहिलेसम्म यो विषयमा बेखबरजस्तै छौं ।’

कार्कीले अब तत्कालै यस विषयमा सम्वन्धित जिल्लाका सीडीओ, सुरक्षा अंगका प्रमुख लगायतको सहभागितमा समिति बनाएर यो कामलाई प्रदेश सरकार मातहत लैजाने गरी तयारी थाल्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप