भ्याक्सिन १२ देशको कब्जामा छ : परराष्ट्रमन्त्री (भिडियोवार्ता)
केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनः नियुक्त भइसकेपछि रातोपाटीले सम्पादकीय लेखेर भनेको थियो,'राजनीति अति भयो, अब महामारी नियन्त्रणमा ध्यान जाओस्'। वरिष्ठ पत्रकार कनकमणि दीक्षितले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग कोरोना नियन्त्रणमा सरकार के गर्दैछ भन्ने विषयमा विशेष अन्तरवार्ता गरेका छन् ।
अन्तरवार्ताको शुरुमै पत्रकार कनकमणि दीक्षितले रातोपाटीको सम्पादकीयको चर्चा गर्दै अब केपी ओलीको मन्त्रिमण्डल राजनीतिक अवरोधबिना कोभिड नियन्त्रणमा सक्षम छ कि छैन भनेर सोधेका छन् ।
कोरोना महामारी नियन्त्रणमा सरकारले अहिलेसम्म चालेका नीतिगत एवं व्यवहारिक कदमहरूको समीक्षासहितको अन्तवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ–
दीक्षित– आजको दिनमा यहाँलाई मेरो पहिलो प्रश्न, एउटा अनलाइनमा सम्पादकीय छ । अब एक महिना त यो सरकारले पायो त, दत्तचित्त भएर केपी ओलीजीको मन्त्रिमण्डल राजनीतिक अवरोधबिना यसमा (कोभिड नियन्त्रणमा) पूरै लाग्नका लागि सक्षम छ कि छैन ?
ज्ञवाली– धेरै–धेरै धन्यवाद । अत्यन्त महत्वपूर्ण ठाउँबाट यो विषयको उठान गर्नुभएको छ । म भर्खरै मात्रै सम्माननीय प्रधानमन्त्रीज्यूले नवनियुक्त मन्त्रीज्यू र सिंगो कर्मचारी संयन्त्रको माथिल्लो तहलाई राखेर गर्नुभएको बैठकमा दिनुभएको विशेष निर्देशन लिएर म फर्केको छु । त्यो बैठकमा प्रधानमन्त्रीज्यूको शब्द नै कोट गर्न चाहन्छु– अब हाम्रो मुख्य कामको केन्द्रविन्दू कोभिड महामारीको विरुद्ध हाम्रो लडाइँलाई प्रभावकारी बनाउने, नागरिकहरुको जीवन रक्षा गर्ने र यसका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित गर्ने, हाम्रो सम्पूर्ण सामर्थ्य त्यसमा परिचालित गर्ने भनेर प्रधानमन्त्रीज्यूले निर्देशन गर्नुभएको छ ।
निश्चय नै विगतका केही महिनाहरु वास्तवमा बिर्सन लायक छन् । कोभिडलाई हामीले नियन्त्रण त गर्दै ल्याएका थियौं । तर, कोभिडको पहिलो लहर समाप्त भइसकेको थिएन, दोस्रो लहरको जोखिमका बारेमा विज्ञहरुले बताइ नै रहनुभएको थियो । तर, दुर्भाग्यवश मुलुक राजनीतिक अस्थिरतामा फस्न पुग्यो । दलहरु बीचमा दूरीहरु बढे । प्रतिनिधिसभा विघटन भो । त्यसका क्रिया प्रतिक्रियाहरु भए । पुनःस्थापित भो, त्यसपछाडि पनि राजनीतिले एउटा लय समाउन पाएन । र, जहाँ हामी केन्द्रित हुनुपर्थ्यो, त्यहाँ केन्द्रित हुन हामीले पाएनौं । त्यसले पनि कहीँ न कहीँ तयारीका कामहरुमा प्रभावित गर्यो होला ।
तर, यति भन्दाभन्दै पनि म यहाँलाई आग्रह गर्न चाहन्छु, म नेपाली नेपाली जनताको सचेतना पनि र साथलाई पनि आधारभूतरुपमा एकदमै सकारात्मक रुपमा लिन्छु । किनभने हामीले लाइफ र लाइफहुड दुईटैलाई सँगसँगै लैजान जरुरी हुन्छ । सरकारले बाध्यात्मक रुपमा कहिले लकडाउन त कहिले निषेध आदेशहरू जारी गरेको छ । नागरिकहरुलाई त्यसले निश्चय नै कठिन पारेको छ र दैनन्दिन काम गर्दै ज्याला कमाएर खानुपर्नेहरुका लागि त्यो सजिलो छैन । तर, त्यस्तो अप्ठ्याराका बीचमा पनि नागरिकहरुले आम रुपमा साथ सहयोग दिनुभएको छ । अझ थप सचेतनाको जरुरी छ, त्यो सही हो । तर, आधारभूत रुपमा भन्ने हो भने नागरिकहरुले सरकारले जारी गरेका आदेशहरूलाई पालना गर्नुभएको छ र नै हामी यहाँसम्म आइपुगेका छौं ।
अब खाली यो बीचमा हामीले केही तयारी गर्न पायौं कि पाएनौं, तयारी गर्यौं कि गरेनौं भन्ने कुरामा म अलिकति डेटा मात्रै यहाँलाई राख्न चाहन्छु –
गत वर्ष कोभिड शुरु हुने बेलामा २०७६ साल चैत ११ गते हामीले लकडाउन गर्यौं । पहिलो केसचाहिँ माघमा देखापरेको थियो । त्यतिबेला हामी कस्तो अवस्थामा थियौं भने पीसीआर टेस्ट यहाँ गरेर त्यसको भेरिफाइ गर्न सक्ने अवस्थामा थिएनौं । पहिलो केस हामीले हङकङ पठाएका थियौं । आज ८५ वटा ल्याबहरुबाट हामी पीसीआर टेस्ट गर्छौं । यसबीचमा हामीले २ हजार वटा एचडीयू युनिटहरु थपेका छौं । ९ सय वटा आइसीयू बेडहरु थपेका छौं । २ सय भेन्टिलेटरहरु थपिएका छन् । हामीले एकखालको तयारी ठिकै ढंगले गरेका हौं ।
तर, कस्तो भैदियो भनेदेखि यो दोस्रो लहर यति आक्रामक ढंगले... जस्तो– औषधिको तयारीको कुरा गरौं, गत वर्षसम्म एकदमै क्रिटिकल अवस्थाका विरामीहरुलाई १५ लिटर दिँदाखेरि पुग्ने अक्सिजन अहिले डाक्टरहरु भन्दै हुनुहुन्छ, ३५ / ४० लिटरसम्म दिनुपर्छ । योखालको संक्रमणको भयावहताले हाम्रा तयारीमा स्ट्रेस परेको सत्य हो । तर, सरकारले तयारी चैं गरेकै थियो र गरिरहेकै छ । त यति चैं निवेदन गर्छु ।
दीक्षित– प्रधानमन्त्रीजीले पनि राम्रै गरी निर्देशन दिनुभएछ । यहाँहरुको प्रतिवद्धतामा पनि शंका रहेन । यो दोस्रो लहर अति आक्रामक छ भन्ने कुरा हामीले बुझ्दै आएकै छौं । यो विशेष गरी भारतबाट फैलिँदै नेपालभित्र छिर्यो । तर, पनि गर्नुपर्ने कुराहरुमा जस्तै– यहाँहरुले अहिले स्वास्थ्य संकट घोषणा गरेर अगाडि बढ्नुपर्ने होइन ? तपाईंहरुबाट र कर्मचारीतन्त्रबाट पनि कहिलेकाहीँ कम्प्लेन आउँछ कि लजिस्टिक तयार पार्न सकिएन, खरीद सम्बन्धी नियमले हामीलाई दुःख दियो, यावत कुराहरूले काम देखाउन पनि सकिएन चाहँदा खेरि भन्नुभो । यो स्वास्थ्य संकटको कुराका बारेमा मलाई बताइदिनोस् त, तपाईलाई के लाग्छ ?
ज्ञवाली– हामी अहिले संक्रामक रोग ऐन २०२० ले दिएको अधिकार, जसले त्यस्तो संक्रामक रोग लागेका बेलामा सरकारले निषेध आदेशहरू जारी गर्न सक्ने, खरीदहरु सीधै गर्न सक्ने र राज्यको सम्पूर्ण संयन्त्र त्यो संक्रमणका विरुद्ध लगाउन सक्ने र त्यसको अवज्ञा गर्नेहरुका विरुद्ध कठोर दण्डहरु दिन सक्ने त्यो कानुनी प्रावधानमा टेकेर काम गरिरहेका छौं ।
कहीँ कहीँ समस्याहरु परेका छन् र धेरैतिरबाट हामीलाई स्वास्थ्य संकटकाल घोषणा गरेर अगाडि बढौं भन्ने सुझावहरु प्राप्त भएका छन् । अहिलेसम्म हामीलाई संक्रामक रोग ऐनले दिएको अधिकार र त्यसमार्फत जारी गरिएका आदेशमार्फत काम गर्दा पुग्छ भन्ने नै हाम्रो अहिलेसम्मको विश्वास हो । तर, कहीँ कहीँ, जस्तो प्राइभेट हस्पिटलहरूलाई एक किसिमले भन्ने हो भने नियन्त्रणमा लिएर त्यहाँबाट पनि उपचार गराउनुपर्यो। या राज्यका अरु विभिन्न ठाउँमा रहेका शक्तिहरुलाई पनि स्वास्थ्यमै केन्द्रित गर्नुप¥यो भन्ने हो भने केही केही कुराहरूका लागि थप कानुनी प्रवन्धहरु चाहिने आवश्यकता देखिएको छ, त्यसो हुँदाखेरि हामी त्यो दिशामा सोच्न सक्छौं । अहिलेसम्म चाहिँ हामीले संक्रामक रोग ऐन २०२० ले पनि हामीलाई कतिपय कुराहरुमा त्यो अख्तियारी दिएको हुनाले त्यही आधारमा सरकारले काम गरिरहेको छ ।
दीक्षित– अब संयन्त्रतर्फ जाऔं । कानुनले यदि दिन्छ भने, कानुनले दिएर मात्रै पुगेन, पब्लिकले महसुस पनि गर्नुपर्यो कि सरकार यसमा केन्द्रित छ भनेर । सरकारले सुरुमै एउटा निकाय नै खडा गर्यो – सीसीएमसी । मेरो बुझाइमा यो सीसीएमसीले काम गर्न सकेको छैन मन्त्रीज्यू । नामै हेर्नोस् हामीले अंग्रेजी प्रयोग गर्नु परिराखेको छ । यो सीसीएमसी भनेको कुन संयन्त्र हो ? यसले नामले पनि जनाउँदैन । मैले बुझेको के हो भने मुख्य संयन्त्र हो सीसीएमसी, जसमा तपाई पनि सदस्य हुनुहुन्छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल त्यसको अध्यक्षता गर्नुहुन्छ । यो शक्तिशाली छैन । यसले भनेको कुरा प्रधानमन्त्री कार्यालयबाट पनि उल्ट्याइन सकिन्छ । यसमा भएका प्राविधिकहरु पनि पदेन जस्ता छन् । यसले गर्ने कामहरु देखिएको छैन....
ज्ञवाली– बाहिरबाट तपाईहरुले देख्नुभएको र यसको बारेमा आएका कमेन्टहरुलाई मैले अन्यथा ठान्दिनँ । हामीले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी ) किन बनायौं भने यो यस्तो लडाइँ हो, जसमा एउटा मात्रै मन्त्रालय अग्रसर भएर पुग्दैन । निश्चय नै यसको नेतृत्व स्वास्थ्य मन्त्रालयले गरि नै रहेको छ । भोलिका दिनमा पनि स्वास्थ्य मन्त्रालय महत्वपूर्ण फ्रन्टलाइन एजेन्सी हो । तर, गृह, अर्थ, आपूर्तिका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय बाह्य सहायताका लागि परराष्ट्र, पर्यटनजस्ता सबै मन्त्रालयहरुको एउटा समन्वयात्मक भूमिका नहुने हो भनेदेखि एउटा मात्रै मन्त्रालयले यी सबै कामहरु गर्न सम्भव नहुने भएका कारणले हामीले यो सीसीएमसी खडा ग¥यौं, जहाँ मुख्य मन्त्रालयका मन्त्रीज्यूहरु र सचिवज्यूहरु हुनुहुन्छ र त्यसको मातहतमा पनि विभिन्न खालका संयन्त्रहरु छन् । नेपाली सेना लगायत सुरक्षा निकाय पनि यसमा हुनुहुन्छ ।
सीसीएमसीले सबैभन्दा महत्वपूर्ण काम के गरिरहेको भनेदेखि सबै मन्त्रालयका कामहरुलाई एउटा लयमा हिँडाउने, समन्वयात्मक ढंगले अगाडि बढाउने कामचाहिँ यसले गरेको छ । त्यसो नभएको भए झन बढी भद्रगोल हुन्थ्यो ।
जहाँसम्म यहाँको जिज्ञासा छ, यसले तयार गरेका कतिपय विषयहरु मन्त्रिपरिषद बैठकमा गएर उल्टिन्छन् । वास्तवमा केही निर्णयहरु सीसीएमसीले आफैं गर्न सक्छ, केहीचाहिँ नेपाल सरकारले । जस्तो– केही आदेशहरु जारी गर्नुपर्यो, यस्ता विषय चाहिँ मन्त्रिपरिषद स्वयंले गर्नुपर्ने भएको कारणले हामीले त्यहाँ पठाउने गरेका छौं । नभए थुप्रै निर्णयहरु सीसीएमसीले पनि गरेको छ । यसलाई अख्तियारी छ । अख्तियारी नभएको होइन, तर फेरि पनि यसको काम भनेको समन्वय गर्ने हो र व्यवस्थापन गर्ने हो । संकट व्यवस्थापन गर्ने हो, संकटको समन्वय गर्ने हो । यसले नै समन्वय गर्दै सबै मन्त्रालयहरुलाई एक्टिभेट गर्छ । यसमा चाहिँ सीसीएमसीको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्छ र देखिने गरी काम गर्नुपर्छ भन्ने तपाईंहरुको सुझावलाई सकारात्मक रुपमा लिन्छु ।
दीक्षित– समन्वय गरेर अब नपुग्ने भो कि त ? यो दोस्रो छाल छ । अब तेस्रो लहर आउँछ भनिँदैछ । यो दोस्रो लहर नै पनि एकदम घातक भएर अगाडि बढेको छ । अब कोभिड गाउँ छिर्यो । पहिलो लहरमा गाउँ छिरिसकेको थिएन । अब चैं समन्वयको भूमिका नभइकन नेतृत्वदायी हुनुपर्ने हो कि ? सरकारप्रति बफादार भइकन जनताप्रति जवाफदेही त हुनुप¥यो नि । मैले के देखेको छु भने पब्लिकलाई समेटेर लग्न एउटा अनुहार पनि चाहिने रहेछ मन्त्रीज्यू । कोभिड सम्बन्धी बोल्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताले धानिरहनुभएको छ, तर पूरै राष्ट्रलाई अगाडि बढाउनका लागि भूमिका खेल्ने एउटा अनुहार, एउटा व्यक्तित्व चाहियो । योचाहिँ अहिलेसम्म प्रधानमन्त्रीको काँधमा हालिएजस्तो छ । प्रधानमन्त्रीज्यूले कहिले कहिले केही गल्ती कुरा पनि गर्नुभएको छ । उहाँले कहिले बेसार पानीको कुरा गर्नुभएको छ, कहिले आँपको पातको कुरा गर्नुभएको छ..... यसमा प्रधानमन्त्रीलाई मात्रै किन सरकारको अनुहार बनाउने ?
ज्ञवाली– एकदम सही हो । वास्तवमा हामीले के गरिरहेका छौं, के गर्न जरुरी छ भन्नेबारेमा समग्र सूचनाहरु जान जरुरी छ । यहाँले भन्नुभएको ठीक हो स्वास्थ्य मन्त्रालयका प्रवक्ताज्युले स्वाथ्योपचार सन्दर्भमा भइरहेका कामहरुका बारेमा उहाँले एकदमै अपडेट दिने गर्नुभएको छ । राम्रो पनि छ त्यो ब्रिफिङ । तर, कोभिड विरुद्धको उपचारको लडाइँ स्वास्थ्य उपचारसँग मात्रै सम्बन्धित विषय होइन । आपूर्तिका व्यवस्थाहरु, हामीले प्राप्त गरिरहेका बाह्य सहयोगहरू, या गृहमन्त्रालय वा अरु विभिन्न ठाउँबाट जारी हुने आदेशहरू ती सबै कुराहरु पनि एउटै ‘विन्डो’ बाट जान जरुरी हुन्छ । यो सुझावलाई मैले गम्भीरतापूर्वक मनन गरेको छु । अब सीसीएमसीबाट त्यसका महत्वपूर्ण सूचनाहरु नियमितरुपमा प्रवाह हुने प्रवन्ध हामी गर्छौं । र, आवश्यक प¥यो भने नागरिकसँग प्रत्यक्ष सम्वाद पनि गर्न सकिने गरिकन सीसीएमसीबाट त्यो प्रवन्ध पनि हामीले गर्नेछौं । आजको यो छलफलमा मैले यसलाई महत्वपूर्ण सुझावका रुपमा ग्रहण गरेको छु ।
यो प्रश्नमा म एउटा कुरा मात्रै थप भन्न चाहन्छु, प्रधानमन्त्रीज्यूले गर्नुभएका अपिलहरुका सन्दर्भमा । म यहाँलाई निवेदन गरौं, एउटा भ्रमबाट हामी मुक्त हुन जरुरी छ । एलोपेथिकमात्रै औषधि हो, आयुर्वेदिकहरु औषधि होइनन् भन्ने यो भ्रमबाट हामी मुक्त हुन जरुरी छ । त्यो. उपचार विधिका आफ्ना सवल पक्षहरु छन्, आफ्ना कमजोरीहरु पनि छन् । आजका मितिसम्म कोभिड १९ को, सार्स २ को उपचार त छैन । भ्याक्सिन भनेको पनि त्यसले प्रतिरोधी क्षमता बढाउने हो । यो स्थितिभित्र नागरिकलाई जति सकिन्छ, स्वस्थ्य रहु, तिम्रो आफ्नो प्रतिरोधी क्षमता बढाऊ । प्रधानमन्त्रीले कहिल्यै पनि यो भन्नुभएको छैन कि बेसार पानी खाऊ, तिमीले खोप लाउनुपर्दैन । बेसार पानी खाऊ तिमीले मास्क, लाउनुपर्दैन । यो भन्नुभएको छ र ? छैन नि । प्रधानमन्त्रीका भनाइहरू मिस कोड गरेको र त्यसलाई जानी बुझिकन अपव्याख्या गरेको पनि म पाउँछु । आज मात्रै मैले चीनको एउटा विश्वविद्यालयले बेसार निमोनियाका बिरामीलाई एकदमै उपयोगी भएको रिपोर्ट हेर्दै थिएँ ।
दीक्षित – प्रधानमन्त्रीज्यूले एकातर्फ सीएनएनमा नेपालका कोभिड नियन्त्रणमा छ भन्नुभो । त्यसको अघिल्लो दिन स्वास्थ्य मन्त्रालयले निकालेको विज्ञप्तिमा अब धान्न गाह्रो भइसक्यो भन्ने विचार पोखिएको थियो । त्यसको पर्सिपल्ट द गार्डियनमा प्रधानमन्त्री केपी ओलीजीले एकदमै राम्रो एउटा लेख लेख्नुभयो र नेपाल गाह्रोमा परेको छ है भनिकन संसारलाई अपिल शेर्पाहरुले अक्सिजन बोक्ने गरेको प्रशंगलाई उल्लेख गरेर राम्रो विम्वमा कुरा राख्नुभयो । यी दुईवटामा मैले विरोधाभाष पाएँ ।
ज्ञवाली – मलाई चाहिँ त्यस्तो विरोधाभाष लाग्दैन । प्रश्न कसरी गरिएको थियो भन्नेबाट पनि जान्छ होला । सीएनएनको एउटा प्रश्न थियो के साँच्चै नेपालमा कोभिड नियन्त्रण बाहिर भएको हो ? आजका मितिमा पनि हामीले यसलाई नियन्त्रण बाहिर भन्दैनौँ । भन्नुहुँदैन र होइन पनि । हाम्रा सामर्थ्यहरुमा स्ट्रेस थपिएको छ, सही हो, हाम्रा अस्पतालहरुमा असाध्यै चापमा परेका छन्, खास गरेर, अक्सिजनको, भेन्टिलेटरहरुको र कतिपय ठाउँमा बेडहरुको । तर, यसको अर्थ यसलाई चाहिँ एकदम नियन्त्रण बाहिर गयो, अब सबै हामीले हात खुट्टा छाडिदियौं भन्ने कुरा चाहिँ यथार्थ होइन र त्यो सन्देश हामीले दिनु पनि हुँदैन । त्यसो भएर त्यो (सीएनएनको) प्रश्नसँग जोडिएको भनाइ हो भन्ने मलाई लाग्छ ।
निश्चय नै हामीले विश्व समुदायलाई भनिरहेका छौं, अहिले नेपाल अप्ठ्यारोमा प¥यो । अप्ठ्यारोमा किन प¥यो भने हामी १८ सय किलोमिटर खुला सिमानामा छौं । भारतमा कोभिडको महामारी बढिसकेपछि गतवर्षको पनि ट्रेन्ड त्यही थियो । भारतमा पहिलो लहर उत्कर्षमा पुगेको करिब १२/१३ दिनपछि नेतामा पनि त्यसले त्यही फलो ग¥यो र हामी १५ दिनपछि त्यस्तै गरी उत्कर्षमा पुग्यौं । अहिले हामी त्यही खालको ट्रेन्ड फलो गरिरहेका छौं । यस्तो स्थितिमा हाम्रा कतिपय सामर्थ्यहरुले एकदमै गाह्रो पर्ने कुरा सही हो । यो कुरा हामीले विश्व समुदायलाई जस्ताको त्यस्तै जानकारी गराउनुपर्छ र गराइ नै रहेका छौं । यहाँले उल्लेख गर्नुभएको गार्डियनको एउटा ओपेड मार्फत प्रधानमन्त्रीज्यूले त्यो कुरा प्रष्ट पनि पार्नुभएको छ । त्यो अपिल र हामीले कूटनीतिक रुपमा गरेका अपिलहरुका कारणले अहिले विश्व समुदायले सहयोगको हात पनि बढाएको छ ।
दीक्षित – अब भ्याक्सिन र अक्सिजनको बारेमा चर्चा गरौं । पहिलो काम त रोकथाम नै हो । सरकारले बन्दाबन्दीको श्रृखंला नै चलाएपछि अहिले मुलुक निषेधाज्ञामै छ । पहिलो उपाय यो नै हो । भ्याक्सिनमा चाहिँ यहाँहरुले पब्लिकलाई बताइदिनुपर्छ कि भएको के हो ? पहिले पीपीई ल्याउने सन्दर्भमा जुन खालको कुरा भएको थियो, अहिले भ्याक्सिन ल्याउने सन्दर्भमा त्यही भयो..... । भ्याक्सिनको लफडा के थियो, अहिले पनि त्यो जारी छ ?
ज्ञवाली – भ्याक्सिनको बारेमा अलि डिटेल नै यहाँलाई बताउँछु । संसारभर भ्याक्सिनको अवस्था कस्तो रहेछ भनेर मैले मे ११ मा एउटा अपडेट लिएको थिएँ । संसारभर कुल १ अर्ब ३२ करोड डोज भ्याक्सिन प्रयोग गरिएको अवस्था रहेछ । बिडम्बना के छ भनेदेखि १२ वटा देशहरुले प्रयोग गरेको भ्याक्सिन १ अर्ब १० करोड डोज भन्दा बढ्ता छ । अर्थात ८५ प्रतिशत भन्दा बढी भ्याक्सिन १०÷१२ वटा मुलुकहरुको कब्जामा छ । बाँकी १७५ देशमध्ये १६३ देशहरुले जम्माजम्मी २२ करोड डोज भ्याक्सिनले आफ्ना नागरिकहरुलाई बचाउनुपरेको अवस्था छ ।
भ्याक्सिनको वितरणमा असाध्यै ठूलो विरोधाभाष छ । यसमा न्यायोचित वितरण छैन । र, धनी र गरीबको खाडल यति चर्को देखिएको छ, यसको बारेमा मैले थप बताउन परेन ।
गत वर्ष, २०२० को अन्त्यतिर आइसकेपछि भ्याक्सिनहरु आविष्कार भए । परराष्ट्र मन्त्रालयले तत्कालै नै भ्याक्सिन उत्पादक देशहरुसँग पत्राचार गर्यो । हामी प्राथमिकतामा राखेर तपाईहरुसँगै भ्याक्सिन सहयोग लिन चाहन्छौं, हामी खरीद गर्न चाहन्छौं भनेर हामीले लेख्यौं । त्यतिञ्जेलसम्म फाइनल अप्रुभल पनि भइसकेको अवस्था थिएन । त्यसपछाडि अप्रुभल भयो ।
भ्याक्सिनमा तीन/चारवटा कुराहरु हेर्नुपर्यो । त्यसको प्रभावकारिता, त्यसको हामीले किन्न सक्ने मूल्य र सबैभन्दा ठूलो कुरा त हाम्रो यहाँको जुन रेफ्रिजेरेटर, फ्रिजहरु छ, त्यो फ्रिजसँग मिल्दोजुल्दो छ कि छैन । हाम्रो त गाएँ गाउँमा पनि भ्याक्सिन लगाउने एकदमै राम्रो संयन्त्र छ । दक्षिण एशियामा नेपाल खोपका लागि असाध्यै राम्रो छ । यी कुराहरुलाई हेर्दाखेरि सबैभन्दा छिटो तयार भएको फाइजर भ्याक्सिन हाम्रा लागि उपयुक्त देखिएन । माेडर्ना पनि त्यति धेरै उपयुक्त देखिएन । खास गरेर एष्ट्राजेनिका र त्यसमध्ये पनि भारतीय संस्करण सेरम इन्स्टिच्युटले निकालेको भ्याक्सिन हामीलाई राम्रो हुने देखिइसकेपछि हामीले भारतसँग कुराकानी गर्यौं।
संयोग कस्तो पर्यो भने नेपाल भारत संयुक्त आयोगको छैठौं बैठकमा म माघको १ गते दिल्ली गएको थिएँ, २ गते हाम्रो त्यहाँ मिटिङ भएको थियो । हामीले प्राथमिकताका साथ भ्याक्सिनको कुरा गर्यौं । भारतले आफ्नो स्वतन्त्रता दिवस जनवरी २६ बाट भ्याक्सिन शुरु गर्यो । त्यसको एक हप्तापछि नेपालले शुरु गर्यो । अर्थात, दक्षिण एशियामा नेपाल आफ्ना नागरिकलाई खोप दिनेमा दोस्रो मुलुक हो । पहिलो कुरा यो सच्चाइ बुझौँ ।
अहिलेसम्म हाम्रो भ्याक्सिनको अवस्था के छ भने भारतबाट १० लाख डोज सहायता स्वरुप प्राप्त गर्यौं, हामी आभारी छौं । त्यसपछाडि हामीले भारतसँग २० लाख डोज खरीद गर्यौं । त्यसको १० लाख हामीले प्राप्त गरेका छौं, अर्को १० लाख आउन बाँकी छ ।
दीक्षित – या दिएका छैनन्, भन्नुपर्यो कम्पनीले.....
ज्ञवाली– म बताउँछु । त्यसको पनि म कथा बताउँला ।
त्यसपछि चीनले भेरोसेल ८ लाख डोज हामीलाई दियो, जुन अहिले खोप चलिरहेको अवस्था छ । कोभ्याक्स सुविधाअन्तर्गत हामीले तीन लाख ४८ हजार डोज पायौं । भारतले नेपाली सेनाका लागि एक लाख डोज छुट्टै दियो ।
यसो गर्दा ३२ लाख ४८ हजार डोज खोप अहिलेसम्म नेपाल भित्रिएको छ । अहिलेसम्म करिब २२ लाखले पहिलो मात्रा लगाएका छन्, त्यो जनसंख्याको करिब ८÷९ प्रतिशत हुन्छ । यस हिसाबले हेर्दा नेपाल आफ्ना नागरिकहरुलाई खोप लगाउने हिसाबले झण्डै–झण्डै ८० औं स्थानमा छ । दक्षिण एशियाको पनि तुलना गर्नुभयो भनेदेखि हामी धेरै तल छैनौं ।
भारतसँग हामीले जुन सेरम इन्स्टिच्युटसँग २० लाख डोज खरीद ग¥यौं, त्यो (४ डलर प्रति डोज) विल्कुल सरकारले मध्यस्थता गरेर सरकारले तय गरिदिएको मूल्य हो । यसको निम्ति म संसारको जुनसुकै कोर्टमा, जुनसुकै खुल्ला ठाउँमा गएर बहस गर्न तयार छु । ४ डलर प्रतिडोजमा हामीले खरीद गर्यौं । त्यसमध्ये १० लाख मात्रा तुरुन्तै आइ पुगिहाल्यो । हामीले त्यो शुरु गर्यौं ।
त्यस पछाडि अचानक भारतमा संक्रमण बढ्यो । संक्रमण बढेपछि देश–देशहरुका बीचमा तानातान शुरु भयो । र, त्यो दबाव यति बढ्यो कि पछि त्यहाँको अदालतले, त्यहाँको सरकारले खोप निर्यातमा प्रतिबन्ध लगाएको अवस्था छ । हामीले त्यो १० लाख डोज खोप नपाएको कारण अरु कुनै बिचौलिया, अरु कुनै कमिशन, बेकारको कुरा हो यो ।
मैले यहाँलाई तथ्य बताऔँ, केही समय अगाडि हामी राष्ट्रपति ज्युको राजकीय भ्रमणमा हामी बंगलादेश गएका थियौं । मेरो समकक्षी विदेशमन्त्रीले बताउनुभएको थियो, उहाँहरुले तीन करोड डोजका लागि सेरम इन्स्टिच्युटलाई एडभान्स दिनुभएको थियो । एडभान्स पैसा दिएको त्यो खोपसमेत पनि बंगलादेशले पाइरहेको अवस्था छैन र अहिले उसले त्यो खोप रोकिइसकेपछि चीनबाट खरीद गरेको अवस्था छ ।
अर्थात् त्यो १० लाख डोज जुन हामीले पाउनुपर्ने हो, त्यो भारतमा बढेको संक्रमण र त्यसका कारणले सिर्जित चापको कारणले हो । त्यो हामी पाउँछौं, त्यसमा कुनै सरकारले सरकारसँग कुरा गरेर सीधै कम्पनीबाट खरीद गरिएको ठाउँमा कमिसनको कुनै सम्भव नै हुँदैन । यो अहिले जे चलाइएको छ, सतप्रतिशत गलत कुरा हो ।
दीक्षित– यहाँका समकक्षी मन्त्रीज्यू (हृदयेश त्रिपाठी) बाटै आयो नि कुरा त । यो त पत्रकारले गरेको होइन...
ज्ञवाली– हैन, हैन । २० लाख डोज खोपका बारेमा उहाँले केही भन्नुभएको छैन ।
त्यस पछाडि हामीले भारतसँग थप ५० लाख डोज किन्न खोजेका थियौं । त्यो चाहिँ अगाडि किन बढेन । किनभने, एकातिर भारत स्वयंमा चाप बढ्यो । हामीले पैसा बुझाइसकेको १० लाख त आएको छैन भने बाँकी ५० लाख जाने कुरा भएन ।
त्यसपछि सेरमले, त्यो चाहिँ सही हो कि अब हामी सीधै सरकारसँग डिल गर्दैनौं, हाम्रो आधिकारिक एजेन्टसँग तपाईहरुले कुराकानी गर्नुहोस् भनिसकेपछि अनि उहाँहरु( एजेन्टहरु) आउनुभयो । हामीले के भन्यौं भने सरकारले पैसा तिरेर किन्ने, त्यो पनि कस्तो भन्दाखेरि एडभान्स पैसा पठाएर । हाम्रो सार्वजनिक खरीद नियम... ।
कतिपय साथीहरुले किन क्याबिनेट लगेको यो प्रस्ताव भन्छन् । क्याबिनेट किन लग्नुपर्यो भने नेपालको सार्वजनिक खरीद ऐनले सतप्रतिशत किस्ता एकैचोटि एडभान्समा दिन मिल्दैन । त्यो निर्णयलाई वेभर गर्नका लागि हामीले लगेर २० लाख डोजका लागि अग्रिम पैसा त्यहाँ पठाएका थियौं । त्यसका निम्ति क्याबिनेटले निर्णय गर्नुपरेको थियो ।
भारतले तत्काल ५० लाख डोज पठाउन नसक्ने भइसकेपछि त्यो छलफलै रोकिएको छ । त्यहाँ कमिसन भन्ने कुरा बेकारको कुरा हो । भोलि डिल भएछ भने त्यहाँनेर कसरी हुन्छ, त्यो बेग्लै कुरा हो । अहिले त्यो विषय अगाडि बढ्न सक्ने अवस्था नरहेको म अनुरोध गर्न चाहन्छु ।
त्यसो भएको हुनाले यो कोभिडको विरुद्ध हामीले जसरी सहुलियत दरमा ल्यायौं, आफ्ना नागरिकहरुलाई लगायौँ, अहिले पनि हामी त्यही ढंगले अगाडि बढ्न खोज्दैछौँ । यस्तो मानवीय कुरामा समेत कुनै तथ्य नबुझिकन जुन ढंगले प्रचार गर्ने, विपक्षी दलका नेताहरुले यसलाई राजनीतिकरण गर्न कोसिस गर्ने, उहाँहरूकै पाखुरामा त्यो सुई छ । भ्याक्सिन लगाउनुभएको छ । कहिले काहिँ त त्यो आफ्नो मनमा हरि राखेर बोल भन्छ नि । मनमा हरि पनि नराखिकन बोल्ने यो एकदमै गलत कुरा हो ।
त्यसकारण, २० लाख मात्रा जुन हामीले खरीद गरेका छौं । त्यसमा कुनै ऊ छैन । ४ डलर प्रतिडोजमा छ र बाँकी १० लाख डोज आउन बाँकी छ, त्यसका लागि हामीले निरन्तर प्रयत्नहरु गरिरहेका छौं ।
खोपको कुरा आइरहेको हुनाले यसमा म च्याप्टर क्लोज नै गर्छु... ।
दीक्षित– यसैमा म वीचमा आइहालौं, जनतामा के छ भने एउटा रसियाबाट ल्याउन सकिन्छ, एउटा अमेरिकाबाट, एउटा चीनबाट । तपाईहरु लागिराख्नुभएको होला, बाहिरचाहिँ धेरै पहल भएको देखिएको छैन । नागरिकका तर्फबाट अमेरिकामा बस्ने एनआरएनहरु, विदेशमा पढ्ने विद्यार्थीहरु हुन् वा संसारलाई चिनेका अभियन्ताहरु हुन्, सबैजना जागरुक भएको मैले पाएको छु । आखिरमा जानुपर्ने त सरकारमार्फतै हो । तीनवटा मुलुकहरु छन् हामीले खोपको आश गर्ने, त्योबाहेक एउटा कोभ्याक्स भयो..... ।
ज्ञवाली– चीनबाट शुरु गर्छु । हामीले चीनको सिनोफार्मसँग भेरोसेल खोपका निम्ति कुराकानी अगाडि बढाएका छौं । जूनको शुरुसम्म २० लाख डोज प्राप्त गर्न सकिने गरिकन त्यो खरीद गर्ने हो । सरकारले मध्यस्थता गर्ने र सरकारले तोकेको मुल्यमा हामीले कम्पनीबाट लिने हो । त्यससम्बन्धी प्रक्रिया अगाडि बढेको व्यहोरा म यहाँलाई जानकारी गराउन चाहन्छु । त्यो २० लाख डोज जूनसम्म, पहिलो १० लाख चाहिँ सकेसम्म मे महिनाभित्रै, नभए पनि जूनको पहिलो हप्ताभित्र ल्याउने गरिकन प्रयासहरु हामीले अगाडि बढाएका छौं ।
दीक्षित– अहिलेसम्म प्रयासमै छ त्यो ?
ज्ञवाली– हैन, सबै पत्राचारहरु भएर हामी एक किसिमले अन्तिम चरणमा पुगेका छौं ।
दोस्रो, रुसले विकास गरेको ‘स्पुतनिक भी’ का बारेमा पनि हामीले पत्राचारहरु गरेका छौं । त्यसलाई हामीले इमर्जेन्सी प्रयोगको अप्रुभल पनि दिइसकेका छौं । तर, स्पुतनिकको एउटा समस्या के भएको छ भने यसको उत्पादनचाहिँ न्यून नै छ । रुसले आफ्ना नागरिकहरुलाई पनि ९÷१० प्रतिशतमा मात्रै खोप लगाउन सफल भएको छ । अस्ति भारतलाई उसले अनुदान दिँदा जम्मा डेढ लाख डोज दियो । अर्थात पर्याप्त मात्रामा हाम्रो आवश्यकता पूर्ति गर्न सक्ने गरिकन उसको उत्पादन भइसकेको छैन । तर, पनि हामीले उहाँहरुसँग ८० लाख डोज डिल गर्न चाहन्छौं भनेका छौं । र, ४० लाख डोज हामीलाई तत्काल चाहियो भनेका छौं, वहाँहरुले कहिलेसम्म उपलब्ध गराउन सक्नुहुन्छ, त्यसको जवाफचाहिँ पाएका छैनौं । हामीले त्यो ढोका पनि ओपन गरेका छौं ।
रह्यो अमेरिका । अमेरिकासँग हामीले दुई हिसाबले कुराकानी गरेका छौं । शुरूमा अमेरिकाले अस्ट्राजेनेका खोप ६ करोड डोज विभिन्न उत्पादकहरुसँग बुक गरेको रहेछ । केही खरीद गरेको रहेछ । तर, पछि अमेरिकामा आफ्नै उत्पादन फाइजर, मोडर्ना र अहिले पछिल्लो सिंगल शटवाला जोन्सन एन्ड जोन्सन खोप विकसित भइसकेपछि त्यहाँ अस्ट्राजेनेका प्रयोग भएन ।
प्रयोग नभइसकेपछि, अहिले अमेरिकाले आफ्ना मित्रराष्ट्रहरुलाई त्यो आफूले खरीद गरेको ६ करोड मात्रा सहायतास्वरुप वितरण गर्ने कि भनेर त्यहाँ बहस चलिरहेको छ । त्यो थाहा पाइसकेपछि हामीले नेपाल तपाईहरुको एकदम पुरानो मित्र, अहिले हामी यत्रो संकटमा परिरहेका बेला नेपाललाई उच्च प्राथमिकतामा राखेर त्यो खोपभित्रको एउटा हिस्सा उपलब्ध गराइदिनोस् भनेर कूटनीतिक पहल गरेका छौं ।
तर, त्यसका केही प्रोसेसहरु बाँकी छन् । अमेरिकाको खाद्य तथा औषधि प्रशासनले त्यसलाई प्रक्रिया टुंग्याइदिनुपर्ने, त्यसपछि त्यहाँको रोग नियन्त्रण केन्द्रले त्यसलाई टुंग्याइदिनुपर्ने । यहाँसम्म कि त्यहाँको सुरक्षा निकायले समेत अप्रुभल गरेर यो ठीक छ भनेपछि, त्यो क्वालिटी कन्ट्रोल गरेर मात्रै उसले आफ्ना मित्रहरुलाई दिन मिल्ने भएका कारणले यो प्रक्रिया टुंगिइसकेको छैन । तर, मलाई विश्वास छ, अमेरिकाले त्यो वितरण गर्दाखेरि नेपाल त्यसको प्राथमिकतामा पर्छ । हामी त्यसका लागि पनि कुराकानी गरिरहेका छौं ।
यसका अतिरिक्त कोभ्यासलाई हामीले घच्घच्याइरहेका छौं । तर, कोभ्याक्सको समस्या के रहेछ भन्दाखेरि कोभ्याक्सले प्राप्त गर्ने सबैभन्दा महत्वपूर्ण स्रोतचाहिँ भारतको सेरम इन्स्टिच्युट । जहाँ उसले मार्चसम्म झण्डै ९ करोड डोज त्यहाँबाट प्राप्त गरिसक्नुपर्ने । तर, अहिलेसम्म त्यसको निकै न्यून अंशमात्रै उसले प्राप्त गरेको हुनाले कोभ्याक्स अहिले एक किसिमले भन्ने हो भने खोपविहीन जस्तो भएर बसेको अवस्था छ । प्राप्त हुनासाथ त्यहाँबाट पनि नेपालले प्राथमिकतामा पाउँछ । नेपाललाई उसले नेपालको कुल जनसंख्याको २० प्रतिशत अर्थात एक करोड ४० लाख डोज नेपालले प्राप्त गर्ने हाम्रो हक छ । त्यसका लागि कोसिस गरिरहेका छौं । तर, त्यो पर्खेर बसिरहेका छैनौं । किनभने, नागरिकको जीवन सबैभन्दा महत्वपूर्ण कुरा हो ।
त्यसो भएको हुनाले चीनबाट प्राप्त गर्न सकिन्छ कि, रुसबाट प्राप्त गर्न सकिन्छ कि, अमेरिकाबाट प्राप्त गर्न सकिन्छ कि, हामी यी सबै क्षेत्रमा कूटनीतिक पहलहरु गरिरहेका छौं ।
दीक्षित– मन्त्रीज्यु, मैले अघि संकेत गरेको थिएँ, अन्तरराष्ट्रिय जगतमा पनि अहिले नेपालीहरु, नेपालमा मित्रहरु जागेका छन् । अमेरिकाको सन्दर्भमा २६ हजारभन्दा बढी हस्ताक्षर भएको एउटा अभियान अगाडि बढेको छ, अमेरिकी सरकारलाई घच्घच्याउन । त्यहाँका सिनेटर, गभर्नरहरुलाई पनि घच्घच्याउने काम भएको मैले बुझेको छु । ब्रिटेन–नेपाल एकेडेमिक काउन्सिलले नेपाल र बेलायतवीचको सम्बन्धलाई पनि मध्यनजर गरी तिमीहरुसँग धेरै खोप भण्डारण गरेका छौ, प्रयोगमा आइराखेको छैन, त्यो पनि नेपाललाई दिलाऊ भनेको छ । यतातिर ध्यान गएको छ कि छैन ?
ज्ञवाली– हामी धन्यवाद पनि दिन्छौं अमेरिकन सिनेटरहरूलाई । उहाँहरुले अस्तिको दिन नेपालका बारेमा छलफल गर्नुभएको छ र नेपाललाई सहायता गर्नुपर्छ भनेर त्यहाँको संसदमा आवाज उठाउनुभएको छ । उहाँहरुलाई धेरै–धेरै धन्यवाद । त्यहाँका नेपालीहरुलाई पनि, ज–जसले लविङ गरिरहनुभएको छ, उहाँहरुलाई म धन्यवाद भन्न चाहन्छु ।
बेलायतसँग हामीले कूटनीतिक पत्राचार पनि गरेका छौं । बेलायती संसदमा नेपालसम्बन्धी एउटा समूह पनि छ । त्यहाँका मित्रहरुसँग पनि हाम्रा राजदूतले निरन्तर सम्पर्क गरिरहनुभएको छ । र, म यहाँलाई जानकारी गराऔं, छिट्टै बेलायतले एउटा ठूलै सहायता नेपाललाई घोषणा गरेर नेपाल पठाउन लागिरहेको छ । त्यस्तै सहायता स्वीट्जरल्यान्डले पनि पठाउन लागिरहेको छ ।
हामीले यसवीचमा चीनसँग दक्षिण एशियाका परराष्ट्रमन्त्रीहरुको मिटिङ पनि ग¥यौं । र, चीनले दुई चरणमा गरेर १० मिलियन आरएमबी बराबरको सहायता घोषणा गरेको छ । जसअन्तरगत अक्सिजन सिलिण्डरहरु, भेन्टिलेटरहरु, कन्सन्ट्रेटरहरु र अरु स्वास्थ्य सामग्रीहरु चीनबाट प्राप्त गरिरहेका छौं, गर्ने क्रममा छौं ।
चीनको सिचुवान र तिब्बत प्रान्तीय सरकारहरुले पनि हामीलाई छुट्टाछुट्टै सहायता गरेका छन् र त्यहाँबाट छिट्टै एउटा छुट्टै जहाज नै आउँदैछ । तिब्बत सरकारले २०० लिटर लिक्विड अक्सिजन अट्ने १५० वटा सिलिन्डर पठाउँदैछ । हामीले त्यहाँ खोप लगायत अक्सिजन जेनेरेटरहरु, प्लान्टहरु र अक्सिजन क्यारिअरहरुका सन्दर्भमा पनि कुराकानीहरु गरिरहेका छौं । भारतसँगको कुरा मैले अघि गरिहालें ।
दीक्षित– अक्सिजनतिर अझ गहिरोमा जानुपर्ने नै छ । किनभने, नेपालमा सबैभन्दा ठूलो क्राइसिस अहिले अक्सिजनकै छ । त्योभन्दा पहिले खोपको सन्दर्भ । अब १८ वर्ष माथिका लाई सिनोफार्मको खोप दिने गरिएको छ, त्यो आउला । तर, ६५ वर्षभन्दा माथिकालाई जुन खोप दिइयो, त्यसमा पनि एक लाख जति छुटेका छन् । तर, ६० देखि ६५ वर्षकालाई चाहिँ किन माया मारेको ?
ज्ञवाली– हैन, माया मारेको त्यो सही होइन । हाम्रो प्लान के थियो भने खोप शुरू गर्दैगर्दा बाँकी १० लाख डोज पनि आउँछ र त्यसो भयो भने ५९ देखि ६५ को बीचको करीब ८ लाख जनसंख्या छ, त्यो ८ लाखलाई पहिलो डोज लगाउन पुग्छ । यहाँलाई थाहै छ, अझ सुरुमा त स्वास्थ्य मन्त्रालयले त ५५ वर्षदेखि माथिको उमेर समूह भनेर सूचना जारी गरेको थियो । तर, पछाडि १० लाख मात्रा नआउने भइसकेपछि कुनै उमेर समूहलाई अधुरो छाड्न त भएन । त्यसो भइसकेपछि हामीले ६५ वर्षमाथिका लाई खोप दिऔं । त्यसमा यहाँले भन्नुभएको सही हो, करिब एक लाख जनसंख्या छुटेको छ र त्यो ५९ देखि ६५ को वीचको करिब ८ लाख जनसंख्या छुटेको छ ।
अहिलेसम्म हामीले करिब साढे १७ लाख अष्ट्राजेनेका अर्थात कोभिशिल्ड खोप लगाएका छौं । त्यो दोस्रो मात्राका निम्ति हामीलाई त्यति त कोभिशिल्ड नै चाहिने भयो । ५९ वर्षमाथिका लाई चाहिँ भेरोसिल लगाउन नमिल्ने भइसकेपछि र त्यसका लागि प्रभावकारी कोभिशिल्ड हुने भएका कारणले हामीले पहिलो मात्रा लगाएका १७ लाख जनसंख्या, छुटेको एक लाख जोड्दा १८ लाख र ५९ वर्षदेखि माथिका ८ लाख गरी करिब २५ लाख जनसंख्यालाई लक्षित गरेर अष्ट्राजेनेका खोप, चाहे त्यो सेरमबाट होस् या अष्ट्राजेनेकाका अरु प्लान्टहरुबाट, ल्याउने पहल हामीले गरिरहेका छौं ।
५९ वर्ष उमेर समूह भन्दा मुनिकालाई चाहिँ अरु जे–जे खोप तत्काल उपलब्ध हुनसक्छ, हामी त्यसअनुसार नै अगाडि बढेका छौं । त्यो लक्षित समूह छुटेको कुरामा हाम्रो ध्यान छ र उहाँहरुलाई उपयुक्त हुनेखालको प्रभावकारी खोपको प्रवन्ध हामी गरिरहेका छौं ।
दीक्षित– अब आयो अक्सिजनको कुरा । आजको दिनमा हामीले केही कुरालाई प्रकोप भन्न सक्छौं भनेदेखि यो अक्सिजनको आपूर्ति, व्यवस्थापन र यसलाई ठाउँ ठाउँमा पु¥याउने काम । यसमा एक वर्षयता जित उत्पादनका लागि काम गर्नुपर्थ्यो, शायद त्यो भएन । तर, पछाडि नहेरौं, अगाडि हेर्दाखेरि आजैको कुरा यहाँलाई बताऔँ, हेटौंडा अस्पतालमा अक्सिजन चाहियो, परवानीपुरमा बन्छ । तर, अहिले जनतामै पनि यस्तोखालको सन्त्रास उत्पन्न भइसकेको छ कि हामीले पाउनुपर्ने अन्त जाला कि ? सरकार यसमा देखा पर्नुपर्यो । सबैतिर समानुपातिक हिसाबले जाओस् । अक्सिजन जति छ, त्यो पनि राम्ररी बाँडियोस् र विदेशबाट जति ल्याउनुपर्ने छ, त्यो पनि ल्याउनुपर्यो । यहाँ परराष्ट्र मन्त्री पनि भएको नाताले अन्तरराष्ट्रिय जगतबाट केके हुँदैछ अक्सिजनको आपूर्तिका लागि ? र मुलुकभित्र व्यवस्थापनका लागि के हुँदैछ ?
ज्ञवाली– एकदमै सही भन्नुभो । वास्तवमा यो बीचको अवधिमा हामीले अक्सिजन उत्पादनमा जति ध्यान केन्द्रित गर्नुपथ्र्यो, महामारीले अक्सिजनको आपूर्तिमा पार्ने दबावको आकलन गरेर त्यसको तयारीमा चाहिँ अलिकति हामी थोरै पछाडि परेछौँ भन्ने अहिले घटनाक्रमले देखाएको छ । यो एउटा समीक्षा गर्ने विषय भयो ।
एकातिर अक्सिजन एकदमै बढी चाहिने बिरामीहरु आउनुभो, दोस्रो हामीले जति मात्रामा उत्पादन बढाउनुपर्थ्यो, बढाउन सकेनौं । अहिले हामीले चारवटा क्षेत्रमा काम गरिरहेका छौं । पहिलो– अक्सिजन उत्पादन हुने तर सिलिन्डरको अभाव भइसकेपछि हामीले गैरस्वास्थ्यजन्य प्रयोजनका लागि सिलिन्डर प्रयोग गर्न नपाउने भन्यौं । हाम्रो उत्पादनको करीब ३० प्रतिशत अक्सिजन उद्योगमा खपत हुँदोरहेछ । त्यो सम्पूर्ण रोकेर अहिले सतप्रतिशत स्वास्थ्य प्रयोजनका लागि लगाउने निर्णय गर्यौं ।
दोस्रो– उद्योगहरुबाट हामीले सिलिन्डरहरु तान्यौं । १० हजारजति सिलिन्डर उद्योगहरुबाट तानेर अस्पतालहरुमा उपलब्ध गराएका छौं । सरकारले लिएर वितरण गरेको छ ।
तेस्रो– हाम्रा जति पनि अक्सिजन प्लान्टहरु छन्, तिनीहरुलाई पूर्ण क्षमतामा उत्पादन गर्न भनिएको छ । काठमाडौं, बुटवल लगायत पश्चिम क्षेत्रका सत प्रतिशत क्षमतामा चलेका छन् । अझै बिराटनगर लगायतका आसपासमा अझ क्षमता बढाउन सक्ने अवस्था छ । त्यो कुरामा पनि हामीले ध्यान दिइरहेका छौं ।
चौथो– यति हुँदाहुँदै पनि हामीलाई लिक्विड अक्सिजन नभइकन अहिलेको गर्जो नटर्ने । हामीकहाँ लिक्विड अक्सिजन उत्पादन हुने रहेनछ । एकजना व्यवसायीले त्यसको प्रक्रिया शुरु गर्नुभएको तर अबको ६÷८ महिनापछि मात्रै तयार होला । यस्तो स्थितिभित्र हामी मित्रराष्ट्र भारतसँग निर्भर थियौं । तर, यहीबेला भारतमा यस्तो हाहाकार भयो कि भारतले लिक्विड अक्सिजनको निर्यातसमेत रोकिदियो । त्यो १० दिन हाम्रा लागि साँच्चै–साँच्चै संकटको बेला थियो । त्यसपछि हामीले आफ्नो सम्पूर्ण कूटनीतिक क्षमता परिचालन गर्यौं । र, भारतलाई धन्यवाद छ कि अहिले उहाँहरु आफैं संकटमा हुँदाहुँदै लिक्विड अक्सिजनको निर्यातलाई नेपालमा फकुवा गरिदिनुभएको छ ।
अब व्यवसायीसँग चाहिँ समस्या के रहेछ भने ढुवानीका लागि पनि दुईवटा ठूला बुलेटहरु ५ हजार किलोलिटर क्षमताका मात्रै रहेछन् । हामीले उहाँलाई या त भारतबाट लिजमा ट्यांकरहरु लिन, होइन भने अरु ट्यांकरहरु खरीद गर्नका लागि हामीले सहजीकरण गरिरहेका छौं । र, यस दिशामा केही प्रगतिहरु भएका छन् ।
यसबाहेक सिलिन्डरहरुको आवश्यकतालाई ध्यानमा राखेर हामीले चीनबाट, ओमानबाट र अरु विभिन्न ठाउँबाट अक्सिजन सिलिन्डरहरु पनि मगाइरहेका छौं । र, अरु देशहरुले पनि अक्सिजन सिलिन्डरको सहायता गरिरहनुभएको छ ।
तर, सिलिन्डरभन्दा बढी अहिले हामीलाई अक्सिजन उत्पादन गर्ने क्षमता र त्यसको एउटा न्यायोचित वितरण .... । अब यहाँ वितरणको सन्दर्भमा कस्तो भएछ भने कोभिडका बिरामीहरुको सेन्ट्रल लगइन, स्क्रिनिङ र त्यसो भइसकेपछि नै उहाँहरुलाई सामान्य अक्सिजनसहितको बेड भए पुग्ने हो कि ? उहाँहरुलाई आइसीयु चाहिने हो कि भेन्टिलेटर चाहिने हो भन्ने कुराको चाहिँ एकै ठाउँबाट त्यसको निर्णय गर्न पाउने हामीसँग केन्द्रीकृत मेकानिज्म नहुँदाको एउटा परिणाम अहिले के भएको छ भन्दाखेरि चाहिँ अक्सिजनको लेबल घट्नेवित्तिकै विरामीहरु स्वाभाविक रुपले त्रसित हुने । त्यसो भएपछि आइसियु र भेन्टिलेटर भएकै ठाउँमा उहाँहरु भर्ना हुन चाहने । त्यसमा राजनीतिक दबाव पनि हुने । अरु विभिन्न ढंगका दबावहरु पनि हुने । यो अलिकति चैं यसमा मिलाउनुपर्नेछ । अहिले सीसीएमसीले पनि, स्वास्थ्य मन्त्रालयले पनि सबै बिरामीहरुको स्क्रिनिङको एउटा प्रणाली विकसित गरेर उहाँहरुलाई सामान्य अक्सिजन सहितको बेड, एचडीयु, आइसीयु या भेन्टिलेटर के चाहिने हो, त्यसअनुसार वितरण गर्न पाइयो भनेदेखि शायद यो चापलाई अलिकति कम गर्न सकिन्छ । हामी अहिले अक्सिजनको कारणले अलिकति दुःखित पनि छौं । अस्ति बुटवलमा, नेपालगञ्जमा केही घटनाहरु घटे ।
दीक्षित– यी घटनाहरु घट्दैछन् मन्त्रीज्यु । यसमा सीसीएमसीले काम गरोस् पनि, काम गरेको देखियोस् पनि । मान्छेहरुको मरणको मुख्य कारण चाहिँ अहिले यही छ । तपाईले दुःखदायी अवस्था त हो भन्नुभो, तर क्राइसिसका साथ दुःखदायी छ नि त मन्त्रीज्यू ?
ज्ञवाली– अवस्य । दृश्यहरु हेर्दा एकदमै मन कहालिन्छ । यद्यपि महामारी भनेकै, महामारीको परिभाषा भनेकै विद्यमान कुनै पनि संरचनाले नथेग्ने अवस्था हो । त्यसकारणले त्यो महामारी हुने हो । तर, त्यसो भनेर हामीले एकजना पनि नागरिकको जीवन त्यसरी जानुपर्ने अवस्थाबाट हामी असाध्यै चिन्तित पनि छौं । आहत पनि छौं ।
कोभिडलाई आगामी दिनमा कसरी रोक्न सकिन्छ भन्नेबारेमा हाम्रो सम्पूर्ण शक्ति यसमा परिचालित गरेका छौं ।
यहाँले भन्नुभएको जस्तो अहिलेको हकमा लिक्विड अक्सिजन ल्याउन सक्ने करिअरहरु कहाँबाट मगाउन सकिन्छ, धेरैभन्दा धेरै मगाएर, लिजमा लिएर कम्तिमा दिनमा एक ट्यांकर लिक्विड अक्सिजन नियमितरुपमा सप्लाइ भयो र सातै दिन ट्यांकर आउने स्थिति बन्यो भनेदेखि अहिलेको हाम्रो संकट टर्छ । त्योखालको सुनिश्चितताका लागि हामीले आफ्नो सप्पै बलबुँता लगाइरहेका छौं । व्यवसायी साथीहरु पनि त्यसमा एकदमै दत्तचित्त भएर लागिरहनुभएको छ ।
त्यो नहुँदासम्म चाहिँ यहाँभित्र जुुन एयरबेस अक्सिजन जेनेरेटरहरु छन्, तिनीहरुलाई पूर्ण क्षमतामा चलाउने । अहिले हामीले चीनबाट सानो क्षमताको तर ठिक्कको, अस्पताललाई पुग्ने खालका प्लान्टहरु, एयरबेस अक्सिजन जेनेरेटहरुको खरीद प्रक्रियालाई पनि अगाडि बढाएका छौं । र, यसरी अहिलेको संकटलाई समाधान गर्नका निम्ति हामी त्यसमा केन्द्रित भएको व्यहोरा अनुरोध गर्न चाहन्छु ।
दीक्षित– अहिले यहाँसँग कुरा गर्दागर्दै मेरो अगाडि एउटा नोटिस आयो, अक्सिजन अभावमा वीर अस्पतालमा १२ र ट्रमा सेन्टरमा ६ जनाको मृत्यु भनेर । दिवंगत आत्माको चिर शान्तिको कामनासहित हाम्रो आश के छ भने सरकार र सीसीएमसीले यसमा पूरै फोकस गरोस् । भ्याक्सिनको पनि कुरा छँदैछ, तर आज र भोलि नै मान्छेको मरण यताबाट ( अक्सिजनको अभावबाट) भइरहेको छ मन्त्रीज्यू...
ज्ञवाली– हो । त्यसको गम्भीरता, त्यसको एकदमै अर्जेन्सी, त्यसको इमर्जेन्सीका बारेमा हामी अवगत छौं । यसलाई एकदमै गम्भीरतापूर्वक लिएका छौं ।
अन्तरवार्ताको पूर्ण विवरण भिडियोमा -
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान