शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आजै राति केपी ओली प्रधानमन्त्री नियुक्त हुने

बिहीबार, ३० वैशाख २०७८, ०५ : ००
बिहीबार, ३० वैशाख २०७८

प्रतिनिधिसभामा बैशाख २७ गते विश्वास गुमाएका केपी शर्मा ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुने भएका छन् । काँग्रेस– माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना टरेका कारण राति ९ बजेपछि ओली नै प्रधानमन्त्री बन्ने भएका हुन् ।

​राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठनका लागि आज राति ९ बजेसम्मको समय दिएकी थिइन् । यो समयसीमा सकिन एकाध घण्टामात्र बाँकी छ । तीन दिनको यो अवधिमा शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले भगीरथ प्रयास गर्दा पनि बहुमत प्रमाणित गर्न सकेनन् । अन्ततः उनीहरु प्रधानमन्त्रीको दाबी गर्न नजाने निष्कर्षमा पुगेका छन् ।

माधव नेपाल समूहले सामुहिक राजीनामा नगरेको र जसपाको महन्थ ठाकुर पक्षका सांसदहरुलाई भक्तपुरको रिसोर्टमा राखिएपछि देउवाको पक्षमा बहुमत नजुटेको हो ।

विपक्षीले बहुमत जुटाउन नसकेपछि राष्ट्रपतिले अब संविधानको धारा ७६ (३) अनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाउने बाटो खुलेको छ । दुई वा दुईभन्दा बढी दलहरुले बहुमत सिद्ध गर्न नसके ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाइने संविधानको धारा ७६ (३) मा प्रावधान छ ।

यसबीचमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम पनि प्रधानमन्त्रीका रुपमा चर्चामा आएको थियो । काँग्रेस, माओवादीका नेताहरुले महन्थको नाम अगाडि सारेको अवस्थामा चाहिँ बहुमत जुट्न सक्ने सम्भावना पनि थियो । तर, यसका लागि काँग्रेस–माओवादीका नेताहरु तयार भएनन् ।   

सरकारको दाबी गर्न विपक्षीले सकेनन्

विपक्षी दलहरुले बहुमतको सरकार गठनका लागि माग दाबी नगर्ने भएका छन् । नेपाली काँग्रेस माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले बहुमत जुटाउन नसकेपछि सरकारका लागि दाबी पेस नगर्ने निष्कर्ष निकालेको हो ।

काँग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार बहुमतको सरकारका लागि दाबी नगर्ने भएको छ । देउवाले पार्टी पदाधिकारी बैठक राखेर बहुमत जुट्न नसकेको बारे बिफ्रिङ गरेका थिए । माओवादी केन्द्र स्थायी समिति बैठकले पनि सरकार बहुमतको सरकार गठनको सम्भावना सकिएको निष्कर्ष निकालेको थियो ।

बहुमत पुग्ने परिस्थिति नबनेपछि काँग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि दाबी गर्न नहुने निष्कर्षमा पुगेका छन् ।

काँग्रेससँग ६१ (दुई निलम्बित) र नेकपा माओवादी केन्द्रसँग ४८ गरी १०९ सांसद छन् । जसपाको ३२ (दुई निलम्बित) सांसद दुई भागमा विभाजित छन् । सिंगो जसपाको सहयोगका लागि आज विहान देउवाले जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग छलफल गरेका थिए । तर ठाकुर र महतोले सरकार निर्माण साथ दिन नसकिने बताएपछि देउवालाई बहुमत जुटाउन सम्भव नभएको हो ।

जसपाको ठाकुर पक्षले सरकार निर्माण तटस्थ बस्ने जनाएकाले अब कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली नै फेरि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएको छ । ओलीले प्रधानमन्त्रीमा नियुक्त भए ३० दिनभित्र अर्थात असार ३० गतेभित्र बहुमत सिद्ध गर्नुपर्छ ।

सोमबार विश्वासको मत लिँदा माधव नेपाल पक्षको बहिष्कारका बीच ओलीले ९३ मत मात्र पाएका थिए । उनको विपक्षमा १२४ र १५ मत तटस्थको पक्षमा खसेको थियो ।

एमाले विवाद सहमति नजिक पुगेकाले असारमा पार्टीका १२१ सांसदसहित ओलीले जसपाको ठाकुर पक्षलाई साथमा लिँदा बहुमत सिद्ध गर्न सक्ने सम्भावना पनि छ । तथापि ओलीको रुची ‘अर्ली इलेक्सन’मै जाने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप