बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

‘सगरमाथा’ नजिक पुग्यो कोरोना संक्रमण, अब घट्छ : जनस्वास्थ्यविद्

यस्तो छ संक्रमित र मृतकको १९ दिनको ग्राफ
मङ्गलबार, २८ वैशाख २०७८, २० : ३४
मङ्गलबार, २८ वैशाख २०७८

मदन ढुंगाना/माया श्रेष्ठ

भारतमा कोभिड १९ को दोस्रो लहर तीव्ररूपमा बढ्न थालेपछि त्यसको असर नेपालमा पनि पर्ने त निश्चित नै थियो । सरकार र आम नागरिक अघिल्लो पटकजस्तै त होला नि भन्ने सोचमा थिए । तर, यसपटकको नयाँ भेरियन्टको कोरोना संक्रमण दर तीब्र मात्रै भएन, मृतकको सङ्ख्या पनि अत्यधिक बढ्न थालेको छ ।

सरकारले उपत्यकामा निषेधाज्ञा सुरु गर्नुभन्दा एक साता अघिसम्म २ हजार ४२८ जना संक्रमित भई जम्मा ५ जनाको मृत्यु भएकोमा निषेधाज्ञाको १२ औं दिन अर्थात् वैशाख २७ गते ९ हजार २७१ जना संक्रमित बने भने १३९ जनाले ज्यान गुमाएका छन् ।

संक्रमणबाट छटपटाइरहेका आम मानिसमा चिन्ता र जिज्ञासा छ, संक्रमण र मृत्युको यो दर कहिलेसम्म बढ्ला ? काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा निषेधाज्ञा लगाएको दुई हप्ता बित्दा पनि किन संक्रमण र मृत्युदर किन नघटेको होला ? संक्रमणको उच्चविन्दू कुन हो र कहिलेदेखि ओरालो लाग्ला ? यो प्रश्नमा विज्ञले केही गुड न्युज सुनाएका छन् । अर्थात् संक्रमण उच्च विन्दूमा पुगिसकेको र अब केही दिनदेखि नै ओरालो लाग्न थाल्ने विज्ञको दाबी छ । 
  
कोरोना संक्रमणको उच्च विन्दु कुन हो र कहिले यो ओरालो लाग्छ भन्नेबारे विज्ञको कुरा सुन्नु पूर्व बैशाख ९ गतेदेखि बढेको संक्रमण र मृत्युदरको विश्लेषण गरौं– 

निषेधाज्ञा अघिको पहिलो साताको तथ्यांक

गएको १९ दिनको तथ्यांक केलाउने हो भने बैशाख २४ गते अघिल्लो दिनको तुलनामा केही कम संक्रमित भेटिए पनि वैशाख ९ गतेदेखि नै प्रत्येक दिन कोरोना संक्रमितको सङ्ख्यामा लगातार वृद्धि भइरहेको छ ।

 

निषेधाज्ञा हुनुभन्दा एक साताअघि अर्थात् वैशाख ९ गते २ हजार ४२८ जना संक्रमित भएकोमा त्यसको भोलिपल्ट अर्थात् वैशाख १० गते २ हजार ५५९ जना संक्रमित बनेका थिए ।
त्यसैगरी वैशाख ११ गते २६१९ जना, वैशाख १२ गते ३१२२ जना, १३ गते ३५५६ जना, १४ गते ४५२४ जना र वैशाख १५ गते ४८९७ जना कोरोनाबाट संक्रमित बनेका थिए । 

निषेधाज्ञा शुरु भएको दिन अर्थात बैशाख १६ गते ४ हजार ९२८ जना संक्रमित बनेका थिए भने सो दिन ३५ जनाले ज्यान गुमाएका थिए । जबकि वैशाख १५ गते १७ जनाले मात्रै कोरोनाका कारण ज्यान गुमाएका थिए ।
 
निषेधाज्ञा घोषणा हुन थालेपछि

निषेधाज्ञापछि झन् तीव्रगतिमा फैलिएको कोरोनाले वैशाख १९ मा आइपुग्दा ७ हजार २११ जनालाई संक्रमित बनायो । त्यसैगरी वैशाख २२ मा आइपुग्दा एकैदिन संक्रमितको सङ्ख्या ८ हजार ६५९ जना पुग्यो भने ५८ जनाको ज्यान गयो । 

वैशाख २६ गते एकैदिन ८ हजार ८५० जना संक्रमित बन्दा ८८ जनाले ज्यान गुमाए । बैशाख २७ गते ९ हजार २७१ जना संक्रमित बन्दा मृतकको सङ्ख्या १३९ जना पुगेको छ ।

 

वैशाख २५ गते संक्रमितको सङ्ख्या घटेको दाबी गरिए पनि उक्त दिन परीक्षण पनि कम नै गरिएको थियो । बैशाख २४ गते २० हजार ४८२ जनाको परीक्षण गर्दा ९ हजार १९६ जना संक्रमित बनेका थिए । जबकि, वैशाख २५ गते १८ हजार ३०४ जनाको मात्रै परीक्षण गर्दा ८ हजार ४१८ जना संक्रमित देखिएका थिए । 
वैशाख २४ मा ५० जनाको मृत्यु भएकामा वैशाख २५ गते भने ५३ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो । बैशाख २७ मा ज्यान गुमाउनेको संख्या बढेर १३९ पुग्यो ।

तथ्यांकले के देखाउँछ भने निषेधाज्ञापछि पनि संक्रमितको संख्यामा कुनै कमी आएको छैन । सामान्यतः निषेधाज्ञा सुरु भएको बढीमा १० दिनपछि संक्रमितको संख्यामा कमी आउनुपथ्र्यो । तर, यसपटक निषेधाज्ञा सुरु भएको १२ दिनसम्म पनि संक्रमितको सङ्ख्यामा कमी आएन । बरु लक्षण देखिएका बिरामीहरुको संख्या धमाधम बढ्न थालेको छ र मृतकको संख्या पनि बढिरहेको छ । 
पीसीआर टेष्ट गरे पनि अस्पतालमा उपचारका लागि स्थान नभएको भन्दै अहिले धेरैले पीसीआर परीक्षण नै गराउनै छाडेका छन् । 

सगरमाथामा पुग्यो, अब माथि जाने ठाउँ छैन : विज्ञ

नेपालमा कोरोना संक्रमणको दर र मृत्युदर अत्याधिक बढ्न थालेपछि हामीले जनस्वास्थ्यविद्लाई संक्रमण कति माथिसम्म पुग्ला भनेर प्रश्न सोधेका थियौँ । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी कोरोना संक्रमण दर १० हजारभन्दा माथि नपुग्ने बताउँछन् । 

उनी भन्छन्, ‘सामान्यतया लकडाउन सुरु भएको १० दिनपछि संक्रमण दर घट्न थाल्नुपर्ने हो । तर, यसपटकको संक्रमण तीब्र गतिको भएको र पहिले नै संक्रमित भएकाहरुमा लक्षण देखिन र ठीक हुन पनि दुई साता लाग्ने भएकाले नघटेको जस्तो देखिएको हो । अब बिस्तारै घट्न थाल्छ । एक वा दुई दिनमै संक्रमणमा कमी आउन सक्छ ।’

​जनस्वास्थ्यविद् मरासिनी संक्रमणदर सगरमाथामै पुगिसकेको भन्दै अब यो भन्दा खासै माथि नजाने दाबी गर्छन् । उनका अनुसार अझै एक वा दुई दिन संक्रमण बढ्न सक्नेछ र अधिकतम दैनिक १० हजारसम्म संक्रमित बन्न सक्नेछन् । तर, त्योभन्दा माथि जाने ठाउँ छैन र विस्तारै संक्रमणदर घट्न थाल्ने छ । 

यसपटकको संक्रमणको गति बढेको भए पनि लक्षण भने कमैलाई मात्र देखिएको मरासिनीको भनाइ छ । उनका अनुसार पहिले नै खोप लगाएकाहरु र पहिले नै संक्रमित बनिसकेकाहरुलाई यसपटक धेरैलाई लागेको छैन भने लागेकालाई पनि खासै असर गरेको छैन । तर, घरभित्रै बसेकामध्ये पहिले परिवारका एकाध सदस्यलाई मात्रै संक्रमण देखिएकामा अहिले करिब–करिब सबैलाई संक्रमण देखिएको हुनाले संक्रमणको गति तीब्र रहेको मरासिनीको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयको बेग्लै दाबी

जनस्वास्थ्यविद् डा. मरासिनीले कोरोनाको संक्रमण उच्च विन्दुमा पुग्न लागेको र अब ओरालो लाग्ने विश्लेषण गरिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाहिँ संक्रमण अझै थप भयावह हुने विश्लेषण सुनाएको छ ।

स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले संक्रमण उच्चविन्दुमा पुग्ने क्रम अझै जारी रहेको बताएका छन् । मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले नेपालमा संक्रमण उच्चविन्दुमा पुग्ने क्रम जारी रहेको सुनाए । अहिले अक्सिजनको माग अत्यधिक बढेकाले  मागअनुसार पु¥याउन नसकेको मन्त्री त्रिपाठीको भनाइ छ । 

नेपालले असार मसान्तसम्म पनि संक्रमण उच्च गतिमा बढ्ने यस अघि नै प्रक्षेपण गरे पनि कोरोना संक्रमण झन तीव्र गतिमा बढिरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् । यसअघि सरकारले असारसम्म दैनिक ११ हजार कोरोना संक्रमित पुष्टि हुने लक्ष्य प्रक्षेपण गरेको थियो ।

स्वास्थ्य मन्त्रालयका बरिष्ठ जनस्वास्थ्यविद् तथा सल्लाहकार डा.रोशन पोखरेलका अनुसार, वर्तमान समयको कोरोना संक्रमण दर अबको ४५ दिनपछि ‘पिक’ मा पुग्ने आँकलन गरेको थियो । तर, मन्त्रालयले आकलन गरेभन्दा तीव्र गतिमा संक्रमण बढेका एउटा मन्त्रालय वा निकायले मात्रै धान्न नसक्ने उनले बताए ।

संक्रमण बढ्नुका ४ कारण

मरासिनीका अनुसार यसपटक संक्रमण बढ्नुका ४ कारण छन् । तीमध्ये राजनीतिक दलको सभा र सम्मेलन तथा वायु प्रदूषण प्रमुख कारण हुन् । त्यसैगरी चाडपर्वको समय भएकाले पनि संक्रमणको दर बढेको र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले समयमै अध्ययन गर्न नसक्दा संक्रमण फैलिएको मरासिनीको विश्लेषण छ ।
 
राजनीतिक गतिविधि : यसपटक राजनीतिक दलहरुले विभिन्न नाममा सभा र सम्मेलन गरेका कारणले संक्रमण बढेको मरासिनीको आरोप छ । वीरगञ्जदेखि काठमाडौंसम्म आवत–जावत हुने गरेका कारण वीरगञ्जको संक्रमण काठमाडौं र काठमाडौंको संक्रमण वीरगञ्ज लगायतका क्षेत्रमा पुगेको उनी बताउँछन् । विभिन्न राजनीतिक दलका भेला, सभा र सम्मेलनका कारण पनि यसपटक संक्रमण बढी भएको हो । 

वायु प्रदूषण : यसपटक संक्रमण दर तीब्र हुनुको अर्को कारण वायु प्रदूषण पनि रहेको मरासिनी बताउँछन् । पहिले पनि जहाँ–जहाँ वायु प्रदूषण बढी थियो, त्यो स्थानमा संक्रमण दर बढी भएको भन्दै अहिले पनि नयाँ दिल्ली, काठमाडौं लगायतका स्थानमा संक्रमण दर बढ्नुको कारण वायु प्रदूषण र चिसो मौसम कारक रहेको उनको विश्लेषण छ । 

चाडपर्व र जात्रा : मरासिनीका अनुसार यसपटक संक्रमण दर बढ्नुको अर्को कारण फागुपूर्णिमा लगायतका चाडपर्व र जात्राहरू पनि हुन् । यसपटक बाहिर फागु खेल्न नदिए पनि टोल र छिमेकमा विना मास्क फागु खेल्ने गरेका कारण संक्रमण बढ्न पुग्यो । त्यसैगरी केही जात्राहरूका कारण पनि संक्रमण बढी भयो । जात्राको उचित व्यवस्थापन गर्न नसक्दा त्यसले संक्रमण बढायो ।

इपिडिमियोलोजीको अपरिपक्वता : यसपटक संक्रमण बढ्नुको अर्को कारण स्वास्थ्य सेवा विभाग अन्तरगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अपरिपक्वता पनि रहेको मरासिनी बताउँछन् । उनका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पहिले नै अध्ययन र अनुसन्धान गरी संक्रमणको स्तर, गति, कारक आदि बारेमा सरकारलाई पहिले नै जानकारी दिनुपर्ने थियो । तर, उक्त निकायले राम्रोसँग काम गर्न नसकेकै कारण संक्रमण बढेको उनको आरोप छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप