पर्यटन मन्त्रालयले भन्यो–‘हिमाल आरोहीमा कोभिड–१९ को संक्रमण छैन’
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले हिमाल आरोहणमा गएका आरोहीहरूमा कोभिड–१९ को संक्रमण देखिएको भन्ने समाचारको खण्डन गरेको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले हालसम्म हिमाल आरोहणमा गएका कोही कसैमा पनि कोरोना भाइस संक्रमणको पुष्टि नभएको र आधिकारिक सूचना समेत नआएकाले हल्लाको पछि नलाग्ने सबैमा अपिल गरेको हो ।
विज्ञप्तिमार्फत मन्त्रालयले सन् २०२१ को स्प्रीङ्ग सिजनका लागि विभिन्न ७९ देशका ८६ समूहमा ७४५ जना आरोहीहरूले अनुमति लिएर हिमाल आरोहणमा गएकोमा अहिलेसम्म एक जनामा पनि संक्रमणको पुष्टि नभएको र समस्या नआएको बताएको छ ।
सो अवसरमा मन्त्रालयले हिमाल आरोहणमा जाने प्रत्येक टोलीसँग सम्बन्धित सम्पर्क अधिकृतहरु खटाएको र ती व्यक्तिहरुसँग मन्त्रालयले नियमित सम्पर्क समेत गरिरहेको अवस्थामा बाहिर हल्लामा आएजस्तो कसैमा समस्या नभएको जिकिर गरेको छ ।
सोही विज्ञप्तिमार्फत मन्त्रालयले बाहिर आएको समाचारहरूप्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको र आधिकारिक सूचना बाहेकको सूचना सम्प्रेषण नगर्न समेत समाचार माध्यमहरुलाई अनुरोध गरेको छ ।