बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हिमाल आरोहीहरूमा कोभिड–१९ को संक्रमण, हल्ला कि वास्तविकता ?

विभाग भन्छ– फेक रेस्क्युवालाहरुले अनावश्यक हल्ला फैलाए
शुक्रबार, २४ वैशाख २०७८, १० : ०४
शुक्रबार, २४ वैशाख २०७८


काठमाडौं । पछिल्ला दिनमा मुलुकभित्र तीव्र रुपमा कोरोनाभाइरसको संक्रमण फैलिरहेका बेला हिमाल आरोहणमा गएका आरोहीहरूमा समेत संक्रमण देखिन थालेको समाचार यतिबेला अन्तर्राष्ट्रिय मिडियामा चर्चाको विषय बनेको छ । हिउँद सिजनका लागि पर्यटन विभागबाट स्वीकृति लिएर विभिन्न हिमाल आरोहणमा गएका नेपालीसहित विदेशी नागरिकमा कोरोना संक्रमण पुष्टि भएको विभिन्न सञ्चार माध्यमहरुले बताएका छन् ।

त्यसो त हालैमात्र विश्वको सर्वोच्च शिखर सगरमाथा सहित धौलागिरी हिमाल आरोहणमा गएका कम्तीमा १९ जना आरोहीमा कोरोना संक्रमण देखिएको चर्चित अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसी र सीएनएनले दाबी गरेका छन् ।

बीबीसीले हालैमात्र प्रकाशित गरेको समाचारमा सगरमाथा आरोहणमा गएका १७ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको उल्लेख छ भने सीएनएले सगरमाथासहित धौलागिरी र अन्य हिमालमा गरी कम्तिमा १९ जना आरोहीमा कोरोना संक्रमण भएको हुनसक्ने उल्लेख गरेको छ ।

तर, यता नेपालको आधिकारिक निकायले भने यी समाचारहरूको खण्डन गरेको छ । हिमाल आरोहणमा गएका आरोहीहरूमा अहिलेसम्म कोरोना संक्रमणको पुष्टि भइनसकेको र आधिकारिक सूचनासमेत नआएकाले त्यस्ता समाचारमा विश्वास गर्ने कुनै आधार नभएको पर्यटन विभागले जनाएको छ ।

रातोपाटीसँग कुरा गर्दै पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले भने, ‘अहिलेसम्म विभागमा एकजना आरोहीमा पनि कोरोना संक्रमण पुष्टि भएको भन्ने सूचना आएको छैन । विभागले नियमित रुपमा आरोहीहरूको अवस्थाबारे जानकारी राखिरहेको छ ।’

यद्यपि आरोहणमा गएका केही आरोहीमा भने हाई अल्टिच्युट (अक्सिजनको कमीले लेक लाग्नु) का कारण रेस्क्यु गरिएको उनले बताए । उनीहरु पनि उपचारपछि पुनः बेस क्याम्प फर्किसकेको तामाङको भनाइ छ । ‘यस्तो अवस्थामा आरोहीहरूमा कसरी कोरोनाको पुष्टि हुनसक्छ ?’ उनले प्रतिप्रश्न गरे ।

हाई अल्टिच्युटका कारण रेस्क्यु गरिएका बिरामीहरुलाई नै कोरोनाको शंका गरिएको हुन सक्ने तामाङले बताए ।

‘हाई अल्टिच्युट र कोरोनाको लक्षण उस्ताउस्तै हुन्छ । हिमाल आरोहणका क्रममा जतिजति माथि गयो उतिउति अक्सिजनको मात्रा कम हुँदै जान्छ । यस्तो अवस्थामा आरोहीमा अक्सिजनको मात्र कम हुन्छ र श्वास प्रश्वासमा समस्या आउँछ,’ उनले भने, ‘जति बेला प्रभावितको टाउको दुख्ने, वाकवाकी लाग्ने र ज्वरो आउनेसम्म हुन्छ ।’

यस्तै लक्षण कोरोनाभाइरस संक्रमितमा पनि हुने भएकाले  रेस्क्यु गरिएकाहरुमा कोरोना संक्रमणको शंका गरिएको हुन सक्ने उनको भनाइ छ ।

‘तथापि केहीमा भने उपचारका क्रममा काठमाडौं ल्याइसकेपछि संक्रमण भएको पनि हुनसक्छ । त्यसलाई भने नकार्न सकिन्न,’ उनले भने, ‘तर उतै हिमाल आरोहणकै क्रममा कोरोनाभाइरस संक्रमणको सम्भावना भने छैन ।’

तामाङका अनुसार हिमाल आरोहणमा जाने जो कोहीले पहिलेनै पीसीआर टेस्ट गरेर गएका हुन्छन् । उता बेस क्याम्पसम्म पुग्नै ५ देखि ७ दिनसम्म लाग्छ । बेस क्याम्पदेखि पहिलो, दोस्रो, तेस्रो, चौथो क्याम्पसम्म पुग्दा झण्डै १५ दिन बितिसकेको हुन्छ । सामान्यतया मेडिकलका अनुसार यति दिनसम्ममा कोभिड–१९ को आइसोलेसन वा क्वारेन्टिनको समयावधी समेत पूरा भइसकेको हुन्छ । यस्तो अवस्थामा कोरोना संक्रमण हुने सम्भावना हुँदैन ।

तर, धौलागिरी आरोहणमा गएका ४ जनामा भने कोरोना भाइरसको संक्रमण पुष्टि भएको सेभेन समिट ट्रेकिङ्ग प्रा.लिका सञ्चालक मिङमा शेर्पा बताउँछन् ।

‘धौलागिरी हिमाल आरोहणमा गएका ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । हिमाल आरोहणबाट फर्किएका ४० जनामा गरिएको परीक्षणमा ४ जनामा संक्रमणको पुष्टि भएको हो,’ शेर्पाले भने, ‘उनीहरुको अवस्था अहिले सामान्य छ ।’

शेर्पाका अनुसार यी संक्रमितहरुको अहिले ह्याम्स अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।

आरोहीहरूमा संक्रमण देखिएको हल्लाबाट चकित छौं : एनएमए    

यता पर्वतारोहण संघ (एनएमए) ले पर्वतारोहणमा गएका आरोहीहरूमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको भन्ने हल्लाबाट आफुहरु चकित भएको बताएको छ ।

रातोपाटीसँग कुरा गर्दै संघका महासचिव कुलबहादुर गुरुङले भने, ‘हिमाल आरोहणमा गएका आरोहीहरूसँग मेरो नियमित सम्पर्क भइरहेको छ । सगरमाथा आरोहणका लागि त हाम्रै संघको टोलीसमेत यतिखेर बेस क्याम्पमै छ । तर त्यहाँबाट अहिलेसम्म कोरोना संक्रमणको खबर आएको छैन ।’

राष्ट्रियदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले माउन्ट एभरेष्टसहित धौलागिरी हिमाल आरोहणमा गएका आरोहीमा कोभिड–१९ को संक्रमण देखिएको भन्ने समाचार प्रकाशित गरिरहेको देख्दा अचम्म लागेको उनले बताए ।

‘यद्यपि यसबाट अब हामी सचेत र सजग भने भएका छौं,’ गुरुङले भने, ‘यसबाट गतिलो पाठ सिक्दै अब सरकारले हिमाल आरोहणमा गएका आरोहीहरूका लागि पनि विशेष ध्यान दिनुपर्छ । यदि आरोहीहरूमा कोरोना संक्रमण देखिएमा उद्धारसहित विशेष उपचार केन्द्र र आइसोलेसनको व्यवस्था गर्नुपर्छ ।’

ट्रेकिङ्ग एजेन्सिज एशोसिएसन अफ नेपालका अध्यक्ष खुम सुवेदीले समेत हिमाल आरोहणमा गएका आरोहीहरूको स्वास्थ्य उपचार तथा कोभिड–१९ संक्रमण व्यवस्थापनको आवश्यक तयारी गरिदिन सरकारसँग माग गरेका छन् ।

आरोहीमा कोभिड–१९ को संक्रमण देखिहालेमा उचित उपचारसहित आइसोलेसनको समेत व्यवस्था गर्न माग गरेको तर अहिलेसम्म व्यवस्था नगरिएको उनले सुनाए ।

कोरोनालाई देखाएर फेक रेस्क्युको फण्डा !

त्यसो त अहिलेको हिमाल आरोहीहरूमा देखिएको भनिएको कोरोनाभाइरस संक्रमणको हल्ला ‘फेक रेस्क्यु’को फण्डा हुनसक्ने पर्यटन विभागको आशंका छ ।

विभागका महानिर्देशक रुद्रसिंह तामाङले भने, ‘बरु अहिलेको कोरोनाभाइरसको संक्रमणको हल्ला फेक रेस्क्युको फण्डा हुन सक्छ । अनुचित व्यापार गर्न चाहेका रेस्क्यु कम्पनी, ट्राभल एजेन्सिज र अस्पतालको समेत मिलेमतोमा गडबड गर्न खोजिएको हुनसक्छ,-’ तामाङले भने, ‘यस्तो कार्यलाई निरुत्साहित गर्नुपर्छ । अवस्था हेरेर हामी यसको छानविन गर्छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप