आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विपक्षी गठबन्धनका चार नेताबीच गोप्य भेटवार्ता

बुधबार, २२ वैशाख २०७८, ११ : ३३
बुधबार, २२ वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इत्तर पक्षका नेताहरुबीच मोर्चाबन्दी सुरु भएको छ । काँग्रेस पदाधिकारीको बैठकले प्रधानमन्त्री ओलीको योजना ‘फेल’ गराउने निर्णय गर्नुपूर्व शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । सोमबार साँझ महाराजगञ्जमा भएको यो भेटलाई नेताहरुले अहिलेसम्म गोप्य राखेका छन् ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने निर्णय लिएपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको खनाल–नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा)को यादव–भट्टटाई पक्षबीच सघन छलफल शुरु भएको छ।यही क्रममा साेमबार साँझ  काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपा अध्यक्षबीच भेटवार्ता भएको हो ।

साेमबार साँझ महाराजगञ्जस्थित प्रमोद राणाको निवासमा चार नेताबीच छलफल भएको काँग्रेस उच्च स्रोतले रातोपाटीलाई जानकारी दियो । यसअघि पनि एक चरण उनीहरुबीच सोही घरमा छलफल भएको थियो ।

प्रदेशमा काँग्रेस र माओवादीसहितको गठबन्धन निर्माणका परिस्थिति पनि सोही निवासमा भएको छलफलले तय गरेको थियो । केन्द्रको गठबन्धनलाई निर्माणका लागि पनि नेताहरुले सोही निवास रोजेको देखिन्छ ।

विश्वास मतमा प्रधानमन्त्री ओलीलाई कसरी विफल बनाउने र आगामी दिनमा कसरी जाने भन्ने विषयमा चार नेताबीच भएको छलफल केन्द्रित थियो ।​

 

भेटमा देउवाले नेता नेपाललाई सांसदहरुको राजीनामाबारे अन्तिम निर्णय दिन भनेका थिए । ‘तपाईंका दोस्रो तहका नेता उता (केपी ओलीसँग) कुरा गरिरहेका छन्, ओली पक्षका दोस्रो तहमा नेता पनि यसमा लागिरहेको देखिन्छ’ देउवाले माधव नेपाललाई भने,‘यता कुराकानीकै भरमा कसरी निर्णयमा पुग्ने ? यता कुरा गर्यो गर्यो उता उनीहरुको कुरा मिलिदियो भने सिद्धिएन ?’

छलफलमा प्रचण्ड, नेपाल र यादवले २७ गतेअघि नै ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनका लागि देउवालाई अग्रसर हुन आग्रह गरेको स्रोतको दाबी छ ।

तर, देउवाले भने नेपाल पक्षले निर्णय लिएपछि मात्र अविश्वासको प्रस्तावमा प्रवेश गर्नु उचित हुने तर्क राखे । नेपाल पक्षका दोस्रो तहका नेताहरुले ओली पक्षसँग पनि संवाद गरिरहेकाले देउवाले सो कुरा राखेको बुझिएको छ ।

भेटमा देउवाले नेता नेपाललाई सांसदहरुको राजीनामाबारे अन्तिम निर्णय दिन भनेका थिए । ‘तपाईंका दोस्रो तहका नेता उता (केपी ओलीसँग) कुरा गरिरहेका छन्, ओली पक्षका दोस्रो तहमा नेता पनि यसमा लागिरहेको देखिन्छ’ देउवाले माधव नेपाललाई भने,‘यता कुराकानीकै भरमा कसरी निर्णयमा पुग्ने ? यता कुरा गर्यो गर्यो उता उनीहरुको कुरा मिलिदियो भने सिद्धिएन ?’

नेता नेपालले देउवालाई भने, ‘हामी ओली पक्षसँग कुनै पनि हालतमा जाँदैनौं ।’

देउवाले थपे, ‘हामीले छोड्यौँ भनेर राजीनामा लिएर आउनुहोस् ।’

नेपालले फेरि भने ‘तपाईंहरुसँग छलफल गरेर आगामी दिनमा कसरी अगाडि जाने भन्ने टुंगो लगाउला ।’

मंगलबारको छलफलमा देउवा र नेपालबीच नै बढी कुराकानी भएको थियो । त्यसपछि नेपालले उपेन्द्र यादवसँग कुरा जोडेका थिए । जसपाको चित्र प्रष्ट हुँदा आफूलाई निर्णय लिन थप सहज हुने नेपालको भनाइ थियो ।

आफूहरुसँग बहुमत सांसद रहेको दलिल सुनाउँदै नेपाल पक्षका १५ बढी निर्वाचित सांसदले राजीनामा दिएमा विपक्षी गठबन्धनमा बहुमतको कमी नहुने यादवको तर्क थियो ।

एमालेमा दोस्रो तहका नेताले ओलीसँगको एकताका लागि पहल गरे पनि नेपालले सामूहिक राजीनामाको निर्णयमा पुग्ने सम्भावना बलियो रहेको सुनाएका थिए ।

छलफलमा अविश्वासको प्रस्ताव दर्ता गर्न ढिलो भएको भन्दै थप ढिलो गर्न नहुनेमा प्रचण्डको जोड थियो । तर, यसका लागि खनाल–नेपाल पक्षको निर्णय कुर्नुको विकल्प नरहेको देउवाको भनाइ थियो ।

चार नेताको भेटवार्ताको भोलिपल्ट मंगलबार काँग्रेस पार्टी पदाधिकारी तथा शीर्षस्थ नेता सम्मिलित बैठकले ओलीलाई विश्वासको मतमा विफल पार्ने रणनीति अख्तियार गर्ने निर्णय लिएको थियो । त्यसैगरी माओवादी केन्द्रको स्थायी समिति बैठकले पनि ओली सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको थियो । एमालेको खनाल–नेपाल पक्षमा सांसद पदबाट सामुहिक राजीनामा दिने विषयमा आन्तरिक परामर्श भएको थियो । त्यसैगरी जसपाको यादव– भट्टराई पक्ष पार्टी र संसदीय दलमा बहुमत कायम राख्न मंगलबार दिनभर व्यस्त थियो ।

यसैबीच, काँग्रेस नेता गगन थापाले भने विपक्षी गठबन्धनले खनाल–नेपाल पक्षको निर्णय कुरिरहेको रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘उहाँहरु (खनाल–नेपाल) को निर्णय कुरिरहेको अवस्था छ । माधव नेपाल पक्षले राजीनामा दिने हो भने त्योबेला संख्या के हुन्छ, कसो हुन्छ भन्नेमा होमवर्क हुन्छ ।’

थापाका अनुसार खनाल–नेपाल पक्षले राजीनामा दिने सम्भावना बढेको छ । उनी भन्छन्, ‘योबेलामा प्रधानमन्त्री ओलीले फकाउने र अल्मल्याउने गरी केही कदम चाले भने मात्र, नभए उनीहरुले राजीनामा दिन्छन् ।’

खनाल–नेपाल पक्षले एमालेबाट निर्वाचित सांसदको संख्या घटाउन सके उपेन्द्र यादव पक्षको साथ लिएर नयाँ सरकार निर्माणको सम्भावना अधिक रहेको थापाको विश्लेषण छ ।

देउवाको भूमिकाप्रति पौडेल र सिटौला सन्तुष्ट

मंगलबारको पदाधिकारी बैठकमा देउवाको बिफ्रिङपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला उत्साहित भएको पाइएको छ ।

सभापति देउवाले छलफल तीव्रता दिएकाले आफूले चाहेकै अनुसार परिस्थिति निर्माण भइरहेको उनीहरुको बुझाइ छ । देउवाले आफूसँगै महामन्त्री पूर्णबहादुर खड्कालाई पनि संवादका लागि अगाडि बढाएका छन् ।

बबरमहलस्थित तत्कालीन नयाँ शक्ति पार्टीको कार्यालयमा खड्काले पनि पछिल्लो एक÷दुई दिनमा ओली इत्तर पक्षका नेताहरुसँग छलफल गरेका थिए । खड्कासँग छलफल पनि सकारात्मक रुपमा अगाडि बढिरहेको काँग्रेस स्रोतले रातोपाटीलाई जानकारी दियो ।

खड्कालाई पनि नयाँ सरकार निर्माणका लागि खटाउनुले देउवा अब कस्सिएको पौडेल सिटौलाको बुझाइ छ । उपसभापति विमलेन्द्र निधिले कोरोना संक्रमणको जोखिम देखाउँदै घरबाट बाहिर निस्कन नचाहेपछि देउवाले खड्कालाई अगाडि सारेको बुझिएको छ ।

‘त्यसपछि केही पनि बाँकी रहँदैन । पछि फेरि विश्वासको मत दिनुपर्ने बेलामा मत दिनुपर्छ । फ्लोर क्रस गर्ने कुरा अनैतिक हुन्छ, ‘खनाल–नेपाल पक्षले काँग्रेस नेतासँगको छलफलमा भन्ने गरेका छन्, ‘कार्यकर्तालाई फेस गर्न सकिँदैन । यदि हामीहरुले राजीनामा दियाैँ भने राजनीति बच्छ, हामी कार्यकर्ताका बीचमा जान्छौं ।’

काँग्रेसभित्र खड्कालाई पनि सत्ता राजनीतिका चतुर खेलाडीका रुपमा हेरिन्छ । केपी ओलीसँग आन्तरिक छलफल गर्दा रमेश लेखकलाई खटाउने गरेका देउवाले नेपाल पक्षसँगको छलफलमा खड्कालाई अगाडि सारेका छन् ।

हाम्रो राजीनामा देउवा लागि होइन आफ्नै लागि हुन्छ : खनाल-नेपाल पक्ष

छलफलमा नेपाल पक्षले आगामी रणनीति भन्दा पनि तत्कालीन रणनीतिमा जोड दिएको काँग्रेस नेताहरुको भनाइ छ । आफूहरूसँगको छलफलमा पनि खनाल नेपाल पक्षमा नेताहरु सोही अनुसार प्रस्तुत हुने गरेका काँग्रेसका एक नेताले रातोपाटीलाई बताए ।

‘यदि अहिले हामीले निर्णायक मुभ गरेनौं भने तपाईंको पार्टी सभापति पनि स्वाभाविकरुपले निर्वाचनमा जाने पक्षमा हुनुहुन्छ । त्यसैले शेरबहादुर देउवाका लागि गर्ने होइन, आफ्नै लागि राजनीतिक निर्णय उठाउनुपर्ने अवस्थामा पुगेका छौं,’ काँग्रेसका ती नेताले भने ।

अहिले विश्वासको मत फेल भएर राजनीति अगाडि बढ्दा आफूसँग भएका दुई÷चार जना मान्छे पनि ओलीसँग भएर आत्मसमर्पण गर्ने खनाल–नेपाल पक्षको बुझाइ छ ।

‘त्यसपछि केही पनि बाँकी रहँदैन । पछि फेरि विश्वासको मत दिनुपर्ने बेलामा मत दिनुपर्छ । फ्लोर क्रस गर्ने कुरा अनैतिक हुन्छ, ‘खनाल–नेपाल पक्षले काँग्रेस नेतासँगको छलफलमा भन्ने गरेका छन्, ‘कार्यकर्तालाई फेस गर्न सकिँदैन । यदि हामीहरुले राजीनामा दियाैँ भने राजनीति बच्छ, हामी कार्यकर्ताका बीचमा जान्छौं ।’

खनाल–नेपाल पक्षका नेताहरुका अनुसार प्रधानमन्त्री नरहेपछि केपी ओलीमाथि निर्वाचनभन्दा अगाडि नै पार्टी एकता गर्न दबाव सिर्जना हुन्छ । त्यो अवस्थामा पार्टी मिल्छ  वा नयाँ पार्टी नै बनाउनुपर्ने अवस्था आए पनि सरकारभन्दा बाहिर रहेका ओलीसँग लड्न सकिन्छ भन्ने खनाल–नेपाल पक्षको बुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप