सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

ओलीलाई बहुमत जुटाउन महन्थ ठाकुरको हस्ताक्षर अभियान जारी

उपेन्द्र यादव पक्षको पनि हस्ताक्षर, पैसाको चलखेल भएको आरोप
मङ्गलबार, २१ वैशाख २०७८, २३ : ००
मङ्गलबार, २१ वैशाख २०७८

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास मतमा समर्थन जुटाउन सुरु गरेको हस्ताक्षर संकलन मंगलबार पनि जारी छ ।

अध्यक्ष ठाकुरले आफ्ना पक्षका प्रतिनिधिसभा सदस्य एवं कार्यकारिणी सदस्यहरुलाई काठमाडौँ आउन निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार सोमबार नै सबै नेता तथा सांसद काठमाडौँ आइपुगेका छन् । त्यसमध्ये केहीले हस्ताक्षर गरिसकेका छन् भने केहीले आज गर्दैछन् ।

जसपाका कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले आफूलाई पार्टीका अध्यक्ष ठाकुरले काठमाडौँ बोलाएको  बताए । सोही अनुसार आफू काठमाडौं आएको बताए । उनले जसपामा दुवैतर्फ हस्ताक्षर संकलन भइरहेको आफूले सञ्चार माध्यमबाट थाहा पाएको तर वास्तविकता जानकारीमा नआएको बताए ।

उनी भन्छन्, ‘संसदीय अभ्यास विधि र प्रकृया अनुसार चल्नुपर्छ, बैठकको आफ्नै प्रकृया हुन्छ, छापामार युद्ध शैलीमा बैठक बस्नु भनेको पार्टीको आन्तरिक लोकतन्त्रलाई कमजोर पार्नु हो ।’

जसपाका अर्का कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले आफूले हस्ताक्षर गरेको बताए । पार्टीका अध्यक्ष महन्थ ठाकुरले मान्छे पठाएर हस्ताक्षर गर्न लगाएको बताउँदै उनले भने, ‘पार्टीका अध्यक्षले हस्ताक्षर गर्न भन्नुभयो, मैले गर्दिएँ । तर, हस्ताक्षर किन गराए, त्यसका बारेमा मलाई जानकारी छैन, पार्टीको बैठक बस्दैछ, त्यसमा छलफल हुन्छ ।’

ठाकुर पक्षधर कार्यकारिणी सदस्य २६ जना र सांसद १६ जना छन् । ठाकुर आफ्ना पक्षका सबैको हस्ताक्षर संकलन गगराउनुका साथै पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका सांसद तथा कार्यकारिणी सदस्यहरुलाई पनि तान्ने दाउमा छन् ।

​जसपा नेपाल (उपेन्द्र यादव पक्षका) का एकजना पदाधिकारीले भने, महन्थ ठाकुरजीले ओलीतिर बहुमत पु¥याउन साम, दाम, दण्ड, भेद सबै प्रयोग गरिरहनुभएको छ, जसपाकै (उपेन्द्र पक्षका) कतिपय सांसदलाई विभिन्न प्रलोभन दिइएरहनुभएको छ । डर, धाकधम्की दिएर नेता तथा कार्यकर्तालाई हस्ताक्षर गराउन थाल्नुभएको छ ।’

जसपाका केन्द्रीय सदस्य एवं संघीय परिषदका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले काँग्रेस र एमालेको विकल्प दिने भनेर गठन भएको जसपा करिब–करिब फुटको संघारमा पुगेको बताए । उनले भने, ‘हामी सकभर फुट रोक्न प्रयासरत त छौं, तर हिजो बेलुकादेखि देशी–विदेशी शक्तिहरू पैसाको झोलासहितको गाडीमा केही सांसद र कार्यकारिणी समिति सदस्यको घरदैलो गर्दैछन् । त्यो पैसाको झोला फिर्ता गर्ने सांसद÷कार्यकारी समिति सदस्यलाई अनेकन डर र त्रास देखाइएको छ ।’

उपेन्द्र यादवको पक्षमा रहेका एक सांसदले भने, ‘दुईजना सांसदले ५०–५० लाख रुपैयाँ लिएर ठाकुरको पक्षमा हस्ताक्षर गर्न राजी हुनुभएको छ, अरुलाई पनि त्यस्तै लोभ दिइरहनुभएको छ ।’

उपेन्द्र यादव पक्षका प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरियाले भने, मैले कुन पक्षमा हस्ताक्षर गर्ने भनी हालसम्म तय भएको छैन । दुबै  पक्ष (उपेन्द्र–महन्थ) सँग मेरो कुराकानी भइरहेको छ, जसले मेरो माग पूरा गर्छ त्यसको पक्षमा हस्ताक्षर गर्छु ।’

आफूलाई जसपाका अध्यक्ष महन्थ ठाकुरले पनि फोन गरेको, तर हालसम्म आफूले कुनै प्रतिकृया नदिएको दाबी गर्दै सांसद अरगरियाले आफ्नो मागका बारेमा छलफल गरेपछि मात्र हस्ताक्षरका लागि निर्णय लिने बताए ।

माग बारेमा जिज्ञासा राख्दा उनले आफू तत्कालिन लोकतान्त्रिक फोरम नेपालबाट तत्कालीन संघीय समाजवादी पार्टी फोरम नेपालमा आउँदा आफूसँग रहेका अन्य नेता तथा कार्यकर्ताहरु पनि सो पार्टीमा प्रवेश गरेको तर हालसम्म उनीहरुको कुनै समायोजन नभएको गुनासो गरे ।

उनले भने, ‘समाजवादी पार्टीमा आएको चार वर्ष भइसक्यो, तर मसँग आएका नेताहरुलाई अझै व्यवस्थापन गरेको छैन, जसपा नेपाल पनि बन्यो, त्यसमा पनि व्यवस्थापन गरेको छैन । दुवै पक्षमध्ये जसले मेरा कार्यकर्तालाई व्यवस्थापन गर्छ, उसको पक्षमा हस्ताक्षर गर्छु ।’

उपेन्द्र यादव पक्षको पनि हस्ताक्षर

जसपाका अर्का अध्यक्ष यादवले पनि कार्यकारिणी सदस्य तथा सांसदको हस्ताक्षर गराएको दाबी महन्थ ठाकुर पक्षका नेताहरुले गरेका छन् । उनीहरु भन्छन्, यसको सुरुवात उपेन्द्र यादवले गर्नुभएको हो, उहाँले यसको सुरुवात गरेपछि बाध्य भएर हामी संकलन गर्न लागेका हौं ।’

तर, अध्यक्ष उपेन्द्र यादव भन्छन्, हामीले कसैसँग जवर्जस्ती कारकाप गरेर हस्ताक्षर गराएको होइन, कार्यकारिणी समितिको बैठक बसाएर माइन्युटमा हस्ताक्षर गराएका हौं । अरु जस्तो घरघर गएर, गाउँबाट काठमाडौँ बोलाएर जवर्जस्ती हस्ताक्षर गराएको होइन ।’

कार्यमारिणी समितिको बैठक बसाएको कुरा अध्यक्ष महन्थ ठाकुरहरुलाई पनि जानकारीमा रहेको बताउँदै उनले बैठक बसाउँदा बैठकमा नआउने, पछि विभिन्न आरोप लगाउने काम गरेको दाबी गरे ।

लुम्बनी लगायतका घटनाका विषयमा छलफल गर्न कार्यकारिणी समितिको बैठक बसौं, बैठकबाट यसलाई टुंगो लगाउँभन्दा उनीहरु कोरोनाको बहाना बनाएर पदाधिकारी बैठकबाट उठेर गए, पछि बैठकमा नआएको दाबी उपेन्द्र यादवले गरे । उनले भने, ‘उहाँहरु किन र केका लागि हस्ताक्षर संकलन गरिरहनुभएको छ, त्यसको बारेमा मलाई कुनै जानकारी छैन, पार्टीमा पनि यसका बारेमा जानकारी छैन ।’

पार्टीमा जे–जति समस्या छन्, ती सबैलाई आपसी छलफलबाट समाधान गर्न सकिने यादवले बताए । उनले बैठकबाटै सबै समाधान खोजिनुुपर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप