शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महन्थले सुरु गरे हस्ताक्षर अभियान, सांसद र केन्द्रीय सदस्यलाई तुरुन्त काठमाडौँ आउन टेलिफोन

सोमबार, २० वैशाख २०७८, २३ : ४२
सोमबार, २० वैशाख २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेपछि जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षको व्यस्तता एकाएक बढेको छ ।

केपी ओलीसँग नरम देखिएको जसपा (महन्थ ठाकुर पक्ष) ले कार्यकारिणी समितिका सदस्य र सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेको छ । काठमाडौँमा रहेका कार्यकारिणी सदस्य तथा सांसदको हस्ताक्षर संकलन सुरु भएको छ भने उपत्यका बाहिर रहेका कार्यकारिणी सदस्य र सांसदलाई आज साँझसम्म काठमाडौं आइपुग्न निर्देशन दिइएको छ ।

जसपाको पार्टी कार्यालयमा कार्यरत प्रदीप पाठकले (महन्थ ठाकुर निकट) पार्टीका अध्यक्ष महन्थ ठाकुरको निर्देशनमा कार्यकारिणी सदस्य र सांसदहरुलाई फोन गरेर जानकारी संकलन गरिरहेको जसपाका एक सांसदले बताए । उनले भने, प्रदीप पाठकजीले मलाई फोन गर्नुभएको थियो, कहाँ हुनुहुन्छ सोध्नुभयो, मैले गाउँमा छु भन्दा उहाँले सोमबार साँझसम्म जसरी पनि काठमाडौँ आउनका लागि अध्यक्षज्युले भन्नुभएको छ भन्नुभयो ।’

पार्टी अध्यक्षकै निर्देशन छ भने आउनैप-यो भन्दै काठमाडौँका लागि हिँडेको उनले बताए ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले यसअघि कार्यकारिणी सदस्य र सांसदको हस्ताक्षर गरेर लुम्बिनीका चारजना प्रदेशसभा सदस्य र पार्टीका नेतालाई कारवाही गरिसकेका छन् । साथै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव दर्ता गराउने प्रयोजनका लागि पनि उपेन्द्र–बाबुराम पक्षले हस्ताक्षर संकलन गरेको नेताहरु बताउँछन् । त्यसैगरी अर्का अध्यक्ष महन्थ ठाकुरले पनि केपी ओलीको पक्षमा आफ्ना पक्षका सांसद तथा पार्टीका कार्यकारिणी समितिका सदस्यहरुको हस्ताक्षर संकलन गर्न सुरु गरेका हुन् ।

प्रधानमन्त्री ओलीले १२० जनाको मुद्दा फिर्ता गरेपछि जसपाको ठाकुर पक्षले ओलीलाई समर्थन गर्ने संकेत देखिएको छ । विश्वासको मतका लागि प्रधानमन्त्री ओलीले प्रकृया सुरु गरेपछि महन्थ ठाकुर पक्षले ओलीलाई समर्थन गर्ने नेताहरु बताउँछन् ।

जसपामा ३४ जना सांसद छन् त्यसमध्ये रेशम चौधरी जेलमा छन् भने हरिनारायण रौनियार निलम्बनमा परेका छन् । बाँकी रहेका ३२ मध्ये १६ जना सांसद उपेन्द्र यादव नेतृत्वको पूर्व समाजवादी पार्टीको रहेका छन् भने १६ जना महन्थ ठाकुर नेतृत्वका पूर्वराजपासँग छन् ।

पूर्वराजपाका १६ जनामध्ये २ जना पूर्वसमाजवादी पार्टीतिर लागेको स्पष्ट भएको छ । उता पूर्वराजपावालाहरुले ७÷८ जना पूर्वसमाजवादीका सांसदहरु आफूतिर आउने दाबी गरेका छन् । तर, अहिलेसम्म त्यो निश्चित भएको छैन ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा २५ जना पूर्वसमाजवादी पार्टीका छन् भने २६ जना पूर्वराजपाका छन् । तर, पूर्वराजपाबाट तीनजनाले पूर्वसमाजवादी पार्टीलाई साथ दिएका कारण पार्टीभित्र बाबुराम–उपेन्द्र पक्षको बहुमतमा देखिएको छ ।

तर, जसपाका अध्यक्ष महन्थ ठाकुरले बहुमत पु-याउनका लागि हरसम्भव प्रयास गरिरहेका छन् । त्यसका लागि कार्यकारिणी समितिका नेता तथा सांसदहरुलाई काठमाडौं डाकेका हुन् ।

सोमबार साँझसम्म सबैजना काठमाडौं आइसकेपछि मंगलबार जसपाको पार्टी कार्यालय बबरमहलमा ठाकुर पक्षले बैठक बोलाएको स्रोतले रातोपाटीलाई बतायो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप