कलंकीमा फरक दृश्य : घर फर्कनेलाई गाडी चढाउन प्रहरीको साथ (भिडियो)
दृश्य : १
धादिङ गजुरीकी विष्णुमाया बसेल आफ्नो ७ महिने बच्चाको उपचारका लागि निषेधाज्ञा अघि काठमाडौं आएकी थिइन् । कान्ति बाल अस्पतालमा भर्ना गरेर उपचार गराइरहेका बेला काठमाडौंमा बन्दाबन्दी भयो । विहीबार अस्पतालले डिस्चार्ज गरेपछि उनी एक रात भाइको कोठामा बसिन् ।
घर जानका लागि कुनै गाडीमा लिफ्ट पाइने आशामा शुक्रबार उनी कलंकी चोकमा भाइ–बुहारीसहित पुगेकी थिइन् । उनका भाइ काठमाडौं बाहिर गइरहेको कुनै खाली गाडीमा लिफ्ट मिलाइदिन प्रहरीलाई आग्रह गरिरहेका थिए ।
एकैछिनमा प्रहरीले एउटा ट्रक रोकेर अगाडिको सिटमा उनीहरुलाई चढाइदियो । उनीहरु खुसी हुँदै घरतिर लागे ।
दृश्य : २
महोत्तरीका जहागिर शाखी, काठमाडौंको बागबजारमा कपडाको व्यापार गर्थे । आँखाको उपचारका लागि समय लागेकाले बन्दाबन्दीअघि उनी घर फर्कन पाएनन् । बागबजारबाट रिक्सा चढेर उनी कलंकी पुगे । उनले पनि काठमाडौं बाहिर जाने सवारी रोकिदिन प्रहरीलाई अनुरोध गरे । प्रहरीले महोत्तरीतर्फ जाने ट्रक कुनै छ कि भनेर रोक्दै सोधिरहेको थियो ।
दृश्य : ३
धादिङ खाल्टेका दिपेश बिडारी शुक्रबार घर फर्किन कलंकी चोक पुगेका थिए । अस्पतालबाट छोरीको स्वास्थ्य रिर्पोट नआएकाले पर्खनुपर्दा उनी लकडाउन अघि घर जान पाएनन् । उनले पनि प्रहरीलाई लिफ्ट मिलाइदिन आग्रह गरे । धादिङको गल्छीसम्म पुग्नका लागि प्रहरीले एउटा खाली ट्रकको अगाडि राखेर उनलाई पनि पठाइदियो ।
दृश्य : ४
हेटौंडाकी सुन्तली तामाङ बैदेशिक रोजगारीका लागि काठमाडौं आएकी थिइन् । तर, म्यानपावर कम्पनीमा आएको समस्याका कारण उनी बिदेश जान पाइनन् । केही दिन एयरपोर्टको होटलमा बसेकी उनी घर फर्किन शुक्रबार कलंकी पुगिन् । प्रहरीले उनका लागि पनि गाडी खोज्न सहयोग ग¥यो ।
प्रहरीको फेरिँदो व्यवहार : पहिले गरम, अहिले नरम !
सार्वजनिक बसलगायतका सवारी साधन ठप्प भए पनि शुक्रबार कलंकी चोकमा मालबाहक ट्रक, भ्यानलगायतका सवारी साधन उल्लेख्य मात्रामा काठमाडौं भित्रिरहेका र बाहिरिरहेका थिए । घर जान भनेर बाहिर निस्किएका सर्वसाधारणले प्रहरीको सहयोगमा केही राहत महसुस गरिरहेका थिए ।
अघिल्लो बर्षको तुलनामा यो वर्ष कलंकी चोकको दृश्य फरक थियो । अघिल्लोपटक लकडाउनका बेला घर फर्कन लागेकाहरुप्रति कडा देखिने प्रहरी योपटक भने नरम देखिन्थे ।
शुक्रबार मात्रै ३०/४० जना भन्दा बढीलाई काठमाडौं बाहिर जाने खाली गाडीमा चढाएर पठाइदिएको एक प्रहरीले बताए ।
सर्वसाधारणहरु प्रहरीलाई आफ्नो गन्तब्य बताउँदै सोही स्थानतिर जाने मालबाहक ट्रक रोक्न लगाइरहेका थिए ।
एक प्रहरीले रातोपाटीसँग भने, ‘धेरै दुःख पाउने सर्वसाधारणले नै हो । घर जान भनेर यहाँसम्म आइपुगेकालाई हामीले फर्काएका छैनौँ । मिलेसम्म उनीहरु पुग्ने ठाँउतिर जाने ट्रकको अगाडिको भागमा चढाएर नै पठाइरहेका छौँ । यता हामीले रोक्दा उनीहरुले दुःख पाउँछन् भने किन रोक्ने भनेर हो । अहिले समय नै त्यस्तै छ । ’
हेर्नुहोस भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)
-
ट्रम्पले बढाए क्यानडा–चीनको चिन्ता
-
कर्णाली याक्सको ‘युथ ब्रान्ड एम्बासडर’ मा सिसन बानिया
-
३३४ किलो यार्सागुम्बा निर्यात हुँदा भित्रियो साढे १२ करोड
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन तयारी अन्तिम चरणमा, बिहीबार भूगोल पार्कमा उद्घाटन हुने
-
कीर्तिपुरमा गुमेको साख फिर्ता ल्याउनुपर्ने दबाबमा एमाले उम्मेदवार (भिडियोसहित)