कहिल्यै काठमाडौँ नफर्कने वाचा गर्दै रोल्पा फर्किइन् दिलकुमारी
बुधबार दिउँसो बेस्सरी घाम चर्केको थियो । घामभन्दा पनि अझ चर्को थियो काठमाडौं छोड्न चाहनेहरुको हतारो । चर्को घामबाट जोगिन गोगंवुस्थित नयाँ बसपार्कको सानो छहारी छेउ पोका पन्तुराहरुको बीचमा थिइन् रोल्पाकी दिलकुमारी पुन मगर ।
४ महिनाअघि उनी श्रीमान् दीपक पुनसँग काठमाडौंँमा काम खोज्न आएकी थिइन् । नुवाकोटको बट्टारमा रहेको एक इँटा उद्योगमा ईटा बनाउँने र बोक्ने काम गरेका उनीहरुको काम लकडाउनले रोकिदियो । सरकारले फेरि लकडाउन गर्दैछ भन्ने सुनेका उनीहरुले हिजो साँझ नै पोका पन्तुरा कसे र बिहानै बट्टारबाट काठमाडौँ हिँडे ।
दिउँसो १ बजे गोङ्गबु बसपार्कको सडक पेटीको छहारीको भुइँमा पोका पन्तुरा र दुई जना काखे छोराछोरी कुरेर बसेकी थिइन् दिलकुमारी । उनका श्रीमान् दीपक भने रोल्पा जाने बसको खोजीमा निस्किएका थिए । सामानहरुको पाकोमाथि निदाइरहकी थिइन् उनको छिमेकी बहिनी । ४ वर्षका छोरा दिपेश र २ वर्षकी छोरी मनिषा त्यहीँ खेलिरहेका थिए ।
गाउँमा काम सकिएर हिउँद लागेपछि ४ महिनाअघि कामको खोजीमा उनको परिवार काठमाडौं आएको थियो । गाउँको नाइकेको साहयतामा नुवाकोटको एक इँटा भट्टामा काम गर्न पुगेका उनीहरुले फेरि अघिल्लो वर्षको जस्तै लकडाउन हुने खबर थाहा पाएपछि घर जाने यात्रामा निस्किएका थिए ।
उनीहरुले खाना पकाउने ग्याँस, खन्ने साबेलदेखि भाँडाकुडाको पोको पन्तुरो कसेका थिए । उनका श्रीमान् दीपक अघिल्ला वर्षका हिउँदमा पनि इँटा बनाउने काम गर्न काठमाडौंँ आएपनि दिलकुमारी भने पहिलो पटक आएकी थिइन् । उनले अब फेरि फर्केर काठमाडौं नआउने बताइन् । टिकट खोज्न उनका श्रीमान् कता गए उनलाई थाहा थिएन । उनी घर जाने बस र श्रीमानको बाटो हेर्दै सामान कुरेर बसिरहेकी थिइन् ।
इँटा भट्टामा काम गरेको पनि पूरा पैसा नलिइ हिँडेको उनले बताइन् । ‘साहुले गाडि भाडा मात्र दिएको छ दश–पन्ध्र हजार जति । अरु पैसा दिएको छैन ।’ इँटा भट्टामा काम गाउँका अरु मान्छे नफर्किएपनि बालबच्चा भएका कारण घर जान लागेको उनले सुनाइन् । अब फेरि काठमाडाैं नआउने, रोल्पामा मकै छर्ने, खेत रोप्ने काम गर्ने उनले सुनाइन् ।
उनीसँग कुरा गर्दा गर्दैगर्दा उनका श्रीमान् दीपक पनि आइपुगे । उनी घर जाने बस खोज्न फोनमा व्यस्त थिए । फोनमा कुरा गर्दा गर्दै एउटा बस मिलेपछि उनी प्रशन्न देखिए । उनले भने–‘लकडाउनमा यता बस्दा धेरै समस्यापनि हुने भयो । पोहोर साल पनि त्यस्तै दुःख भयो । यसपाली चाँहि चाँडै नै जाउँ भनेर हिँडियो । अहिले बस पनि मिलाइयो ।’
उनले साहुबाट लिनुपर्ने पैसा नाइकेले लिने र त्यसपछि आफूले लिने भनेर बाटो खर्च लिएर हिँडेको उनले सुनाए । उनले हाँस्दै भने, ‘साहुले काम छोडेर जान दिइरहेको थिएन, हल्का झगडा गरेर हिँडेको ।’
५ महिनादेखि उनका श्रीमान्–श्रीमतीले इटा पार्ने तथा बोक्ने काम गरेबापतको २ लाख हाराहारी ज्याला लिनुपर्ने छ । लकडाउनका कारण नाइकेलाई सो रकम लिएर दिन भन्दै घर फर्केको दीपकले सुनाए ।
उनले भने–‘काममा लगाउने हाम्रो गाउँतिरको नाइके छन् । उनीमार्फत् त्यो पैसा हामी लिन्छौँ । अहिले उनै नाइकेको विश्वासमा पैसा छोडेर जाँदैछौँ ।’
उनका अनुसार १ लाख, डेढ लाख, दुई देखि साढे २ लाख रुपैयाँसम्म काम गरेर पाउनुपर्ने ज्याला नाइकेको विश्वासमा छोडेर कामदारहरु घर फर्किरहेका छन् ।
उनको रोल्पास्थित गाउँको खास नाम राङकोट हो । स्थानीय तह निर्माण गर्दा गाउँको नाम फेरेर परिवर्तन गाउँपालिका बनाइएको रहेछ । उनले गाउँको नाम परिवर्तन गरेर परिवर्तन राखेपनि आफ्नो दुःख भने परिवर्तन नभएको बताए । दीपकले हाँस्दै भने, ‘परिवर्तन नाममात्रै छ हामी यस्तो गरेर हिँड्नुपरेको छ । झोला बोक्यो बोरा बोक्यो यस्तै छ । अब घर जान ढिला हुन्छ, टाढाको बाटो छ, बालबच्चा लिएर हिँड्नुपरेको छ ।’
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले २ साता लामो लकडाउन गर्ने घोषणा गरेपछि दीपकको परिवार जस्तै विभिन्न पेशा व्यवसायमा लागेका सर्वसाधारण आफ्नो काम तथा बासस्थल छोडेर गाउँ फर्किरहेका छन् । बुधबार दिउँसो काठमाडौंको नयाँ बर्षपार्कमा घर फर्किनेहरुको ठूलो भीड थियो ।
जसमा अध्ययनका लागि काठमाडौं आएका विद्यार्थीहरु पनि थिए । मैतीदेवीमा बसेर कक्षा ११ मा पढ्दै गरेका सुमित केसी बुधबार कैलाली फर्किनका लागि बसको टिकट खोजिरहेका थिए । कोठामा भएको सामान आफन्तलाई जिम्मा लगाएर लकडाउन खुलेर क्याम्पस खुलेपछि फेरि काठमाडौं फर्किने उनको योजना छ । लकडाउनका कारण पढाइ र परीक्षा प्रभावित भएको उनले बताए ।
काठमाडौंमा कक्षा १२ मा पढ्ने चाँदनी बोहोरा लकडाउनमा कलेज बन्द हुने भएपछि आफ्नो गाउँ रुकुम पश्चिम हिँडेकी थिइन् । कलेज पनि बन्द भएको र परीक्षापनि बन्द भएकोले अब लकडाउन खुलेपछि मात्रै काठमाडौं फर्केर आउने उनले सुनाइन् । घर जानका लागि टिकट भनेपनि निश्चित भने भइनसकेको उनले सुनाइन् ।
कोठाको सामान आधा मूल्यमा बचेर हिँडियो : मानबहादुर नेपाली
बसर्पाकमै भेटिए जुम्लाका मानबहादुर नेपाली । उनको ४ जनाको परिवार पनि जुम्लासम्म जाने बसको खोजीमा जुटिरहेको थियो । अघिल्लो लकडाउन खुलेपछि मंसिरमा कामको खोजीमा काठमाडौँ आएका थिए । अघिल्लो वर्ष लकडाउनका कारण दाङमा १ महिना होटलमा बस्नुपरेकोले अहिले छिट्टै घर फर्किन लागेको उनले बताए । काठमाडौँमा व्यापारको काम गर्ने उनले कोठामा रहेका केही सामानहरु आधा मूल्य घटाएर बेचेर गाडी भाडा निकालेको बताए ।
उनले भने, ‘३५ सयमा किनेको ग्याँस १२ सयमा, १६ सय रुपैयाँ तिरेको चामलको प्याकेट ८ सयमा अरु विभिन्न सामानहरु आधा मूल्यमा बेचेर त्यसैबाट भाडा निकालेर हामी घर जान लागेको । हाम्रो एउटा बाध्यता पनि प¥यो । बाटोमा खाना, खाजाको लागि खर्च चाहिने भएरपनि यस्तो गर्नुप¥यो ।’
गोर्खाकी पुनम श्रेष्ठ कालिमाटीमा कपडाको व्यापार गर्थिन् । लकडाउनले व्यापार व्यवसाय रोकिएपछि उनी गाउँ फर्किँदै थिइन् । अघिल्लो वर्षको लकडाउनपछि चौपट बनेको व्यापार बिस्तारै सुधार हुँदै थियो । तर, फेरि लकडाउन हुने हल्लासँगै व्यापार सुस्ताएको थियो । उनले भनिन्–‘दसैँदेखि विस्तारै व्यापारमा सुधार हुँदै थियो । चैतदेखि फेरि सुक्यो । अब गोरखामा गएर बस्ने । त्यहाँ आफ्नै घर छ परिवारसँग आनन्दले बसिन्छ । छोराछोरीको पढाइ पनि यतै छ । अलिकति समस्या भनेको घरबेटीलाई समयमै भाडा दिन सकिँदैन कि भन्ने मात्र हो ।’
सरकारले लकडाउन गर्नुभन्दा ३ दिन पहिले नै सूचना दिएका कारण यो पटकको लकडाउनका सर्वसाधरणले घर फर्किन केही राहत महसुस गरेका छन् । अघिल्लो बर्ष सरकारले छापामार शैलीमा लकडाउन गर्दा विभिन्न जिल्लाबाट लामो दुरी पैदल यात्रा गर्दै सर्वसाधारणहरु आफ्नो गाउँ पुगेका थिए । लकडाउनको पूर्वसन्ध्यामा ७ लाख बढीले काठमाडांैँ छोडेको अनुमान गरिएको छ ।