बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद शाहीको फरक स्वास्थ्य रिपोर्ट : अस्पतालको शंकास्पद प्रतिक्रिया

बुधबार, १५ वैशाख २०७८, २० : १९
बुधबार, १५ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेशसभा बैठकमा अनुपस्थित भएका सांसद खिमविक्रम शाही अस्पताल भर्ना भएको बुझिएको छ । प्रदेशसभामा मंगलबार उपस्थित भएर पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएका सांसद शाही फेरि पोखरास्थित चरक अस्पतालमा भर्ना भएपछि गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । 

उनलाई कोभिड–१९ वार्डमा राखिएको अस्पताल स्रोतले जनाएको छ । सांसद शाहीको हिजो गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । तर, आज गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको भन्दै आइसोलेसनमा राखिएको हो ।

गण्डकी प्रदेशमा निर्णायक मानिएको जनमोर्चाले यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारलाई समर्थन जनाउने बताउँदै आएको थियो । तर, जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले नेकपाको सरकारलाई कम्युनिष्टको हैसियतमा समर्थन गरेको भएपनि अहिले सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र ब्यूँतिएकाले यही सरकारलाई समर्थन नगर्ने बताएका थिए । त्यसपछि प्रदेशमा जनमोर्चाले केन्द्रको ह्वीप मान्ने बताउँदै आएको थियो । तर, प्रदेशसभामा अविश्वास प्रस्तावका पक्षमा मतदान गर्ने समयमा एकाएक सांसद खिम विक्रम शाही बेपत्ता भएपछि सांसदहरु अचम्ममा परेका थिए । उनी बेपत्ताको खबरसँगै संसद बैठक चलिरहेका अवस्थामा अविश्वास प्रस्ताव समर्थक दल काँग्रेस, माओवादी र जनता समाजवादीका सांसदहरु कानेखुसी गरिरहेका देखिन्थे ।

 

अविश्वास प्रस्तावका पक्ष विपक्षमा सांसदहरुले आ–आफ्ना भनाइ राख्ने अन्तिम चरणमा पुगेको अवस्थामा समर्थन गर्ने सांसद नै बेपत्ता भएपछि जनमोर्चाकी सांसद प्यारी थापा सहितको टोली खोज्ने भन्दै संसद भवनबाट बाहिरिएको थियो । सम्भावित ठाउँमा पुग्दा समेत सांसद शाहीको अत्तोपत्तो नपाएपछि उनीहरु १ घण्टापछि रित्तै फर्किए ।
संसद भवनमा उनी रित्तै फर्किएपछि उनले आफ्नो दलका सांसद बेपत्ता भएको भन्दै सभामुख समक्ष खोजी गर्न र बैठक स्थगित गर्न माग गर्दै निवेदन दिएकी थिइन् । सांसद थापाले शाहीको खोजीमा दौडधुप गरिरहँदा जनमोर्चा संसदीय दलका नेता कृष्ण थापा सांसद अनुपस्थित भएकोमा बेखबर जस्तै देखिन्थे । सांसद बेपत्ता भएको भन्दै संसदको बैठक स्थगित हुँदासमेत उनले शाही बेपत्ता भएकोबारे आफुलाई जानकारी नभएको बताइरहेका थिए । 

अस्पतालको शंकास्पद प्रतिक्रिया
पोखराको चरक अस्पतालमा उपचाररत भनिएका सांसद शाहीलाई कोरोना संक्रमण भएकाले कोभिड वार्डमा भर्ना गरिएको अस्पतालले बताएको छ । चरक अस्पतालले उपचाररत सांसद शाहीलाई मंगलबार प्रदेशसभामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । बुधबार उनको नामबाट लाइफ केयर डाइनग्लोस्टिकको साँझ आएको रिपोर्ट पोजेटिभ देखिएको छ । 

कोरोना पोजेटिभ आएर अस्पताल भर्ना भएका जनमोर्चा सांसदको दुईओटा रिपोर्टमा फरकफरक नतिजा देखिएको छ । वैशाख १५ गते बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । त्यसैगरी १५ गते साँझ लाइफ केयर डाइनग्लोस्टीकमा गरिएको रिपोर्ट भने पोजेटिभ आएको छ ।


चरक मेमोरियलले सांसद शाहीको कोभिड वार्डमा राखेर उपचार भइरहेको बताएको छ । ‘स्वाब परीक्षण कहाँ गरियो त्यो थाहा भएन उहाँको रिपोर्टमा कोरोना संक्रमण देखिएकाले कोभिड कक्षमा राखेर उपचार गरेका छौं’ अस्पताल स्रोतले भन्यो । ‘उहाँसँगै अस्पतालमा प्रदेशसभाका अर्का सांसद पनि उपचाररत हुनुहुन्छ ।’

‘आउँछु भन्नुभएको थियो, कहाँ जानुभयो’

राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले बेपत्ता भएका पार्टीका सांसद शाहीबारे आफूलाई जानकारी नभएको बताएका छन् । ‘उहाँसँग संसद् सुरु हुनुभन्दा अगाडि फोनमा कुरा भएको थियो । मतदान हुँदासम्म आउँछु भन्नुभएको थियो’ बैठक स्थगित भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै नेता थापाले भने, ‘त्यसपछि सम्पर्क भएको छैन । कहाँ जानुभयो थाहा भएन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप