आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

टी–२० मा नेपालको कीर्तिमानी जीत

शनिबार, ११ वैशाख २०७८, १६ : ३१
शनिबार, ११ वैशाख २०७८

 त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै कीर्तिमानी जीत हासिल गरेको छ ।  शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले १४२ रनको शानदार जित हाँसिल गरेको हो । 

५ डिसेम्बर २०१९ मा नेपालले भुटानलाई रनकाे हिसाबले १४१ रनको अन्तरले जीत दर्ता गराएको थियो । साेही रेकर्डलाई तोड्दै शनिबार नेपालले नेदरल्याण्डलाई १४२ रनले पराजित गरेकाे हाे ।

नेपालले दिएकाे २३९ रनको विशाल लक्ष्य पछ्याएको नेदरल्याण्ड १७ ओभर २ बलमा सबै विकेट गुमाउँदै ९६ रनमा समेटियो ।

ब्याटिङमा नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने २ विकेट कमल ऐरीले लिए ।  यस्तै करण केसीले  ३ विकेट लिए भने सन्दीप लामिछानेले पनि २ विकेट लिए । यसैगरी अविनाश बोहोराले १ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ३८ रन बनाएको थियो  । टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालको यो सबैभन्दा ठूलो योगफल हो । नेपालले सन् २०१९ मा भुटानविरुद्ध २ सय ३६ रनको योगफल तयार गरेको थियो । 

कुशल भुर्तेलले शृङ्खलाको चौथो अर्धशतक बनाउने क्रममा ५३ बलमा ७७ रन बनाए । उनले यस क्रममा ८ चौका र ३ छक्का हिर्काए । नेदरल्यान्डसँगको पहिलो खेलमा भुर्तेलले ६१, मलेसियासितको खेलमा ६१ तथा नेदरल्याण्डस्सितको दोस्रो खेलमा ६२ रन बनाएका थिए ।

नेदरल्याण्डका लागि फिलिपे बोसेभाइनले २ विकेट लिए । नेदरल्याण्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

फाइनलमा पुग्दासम्म नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै चार खेलमा तीनमा जीत तथा एकमा हार बेहोर्दै फाइनलमा पुगेको थियो ।  नेपालले पहिलो खेलमा नेदरल्यान्डलाई नौ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा मलेसियालाई नौ विकेटले पराजित गरेको हो भने नेपाल तेस्रो खेलमा नेदरल्यान्डसित तीन विकेटले पराजित भएको थियो ।

चौथो खेलमा भने नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको थियो । यस्तै नेदरल्यान्डले दुई खेलमा जीत निकाल्यो भने एक खेल बराबरी खेलेको थियो । एउटा खेलमा नेदरल्यान्ड पराजित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप