सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

बालबालिकामा कोरोना संक्रमण बढ्दो, उपचारका लागि यस्ता छन् चुनौती

बालबालिकामा संक्रमण हुँदा यस्तो लक्षण देखिन्छ
शनिबार, ११ वैशाख २०७८, ०८ : ३३
शनिबार, ११ वैशाख २०७८

नेपालमा कोरोनाभाइरस (कोभिड—१९) संक्रमणको दोस्रो लहरले बालबालिका नराम्ररी प्रभावित भएका छन् । नेपालमा पछिल्लो समय कुल संक्रमितमध्ये १० प्रतिशत बालबालिका छन् ।

अहिले अस्पतालको ओपिडीमा उपचारका लागि बालबालिकामध्ये ५० प्रतिशतमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको चिकित्सकहरुको भनाइ छ । तीन सातायता ‘सिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम’ जस्ता समस्या भएका धेरै बालबालिका अस्पताल आउने गरेको उनीहरु बताउँछन् ।

कम उमेर समूहका बालबालिकामा पहिलो लहरको तुलनामा कोरोनाको नयाँ भेरियन्टको संक्रमण दर निकै बढेको हो । बालबालिकामा संक्रमण दर यही रफ्तारले बढ्दै गए अस्पतालहरुले धान्न नसक्ने बालरोग विशेषज्ञ तथा इसान अस्पतालका निर्देशक डा. आरके चौधरी बताउँछन् ।

दैनिक करिब २ हजार कोरोना संक्रमित पुष्टि हुँदा उपत्यकाका अस्पतालमा बेडको अभाव हुन थालेको छ । ‘सामान्य अवस्थामै पनि बालबालिका बिरामी हुँदा बेड नपाएर बिरामीका आफन्त भौतारिनुपर्ने अवस्था थियो,’ उनले भने, ‘बालबालिकामा नयाँ भेरियन्टको कोरोना संक्रमण दर यही गतिमा बढेमा ठुलो समस्या सिर्जना हुन्छ ।’

 


कोरोना संक्रमणको पहिलो लहरमा अहिलेजस्तो बालबालिका प्रभावित भएका थिएनन् । सरकारले बालबालिकामा संक्रमण दर बढेपछि अति प्रभावित क्षेत्रका विद्यालयमा वैशाख मसान्तसम्म भौतिक रुपमा उपस्थित नभइकन पठनपाठन सञ्चालन गर्न निर्देशन दिइसकेको छ । भौतिक उपस्थितिसहितको पठनपाठनमा रोक लगाए पनि घरबाहिर निस्कने अभिभावक तथा परिवारका सदस्यहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउने गर्दा बालबालिकामा जोखिम बढेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउँछन् ।

संक्रमण दर यही अनुपातमा बढ्दै जाने हो भने बालबालिकाको उपचार व्यवस्थापन कसरी गर्ने भन्नेतर्फ ध्यान दिन अत्यन्त जरुरी भएको उनको भनाइ छ ।

कोरोनाको पहिलो लहरबाट पाठ सिक्दै अस्पताल र जनशक्तिको क्षमता अभिवृद्धि गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताउँदै आएको छ । तर बालबालिकाको उपचार व्यवस्थापनका लागि सरकारले ख्याल नगरेको बालरोग विशेषज्ञ डा. चौधरी बताउँछन् ।

पहिलो लहरमा झै संक्रमितको संख्या, मृत्यु दर र गम्भीर बिरामीको संख्या बढेको खण्डमा संक्रमित बालबालिकाहरु उपचारबाट वञ्चित हुनसक्ने उनको भनाइ छ । नेपालमा बालबालिकाका लागि छुट्टै अस्पतालको कमी रहेका कारण पनि संक्रमण दर वृद्धि भएमा कयौं बालबालिका उपचारबाट वञ्चित हुन सक्ने भन्दै उनले यसतर्फ सरकारले बेलैमा ध्यान दिनुपर्नेमा जोड दिए ।

बालबालिकामा संक्रमण हुँदा यस्तो लक्षण देखिन्छ

कोरोना संक्रमित बालबालिकामध्ये कतिपयमा ‘मल्टी सिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम इन चिल्ड्रेन’ जस्तो जटिल स्वास्थ्य समस्या देखिएको पाइएको छ । कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमित बालबालिकामा ज्वरो आउने, पेट दुख्ने, शरीरमा डाबर देखिने, श्वासप्रश्वासमा समस्या हुने, झाडापखाला लाग्नेजस्ता लक्षण पाइएको छ । तर, यी लक्षण गर्मी याममा संक्रामक रोग लाग्दासमेत देखापर्ने हुँदा अभिभावकहरु अन्योलमा पर्ने गरेका छन् । यो अवस्थाले संक्रमणको जोखिम झन् बढ्ने बालरोग विशेषज्ञ डा. चौधरी बताउँछन् ।

‘अन्य स्वास्थ्यसम्बन्धी समस्या लिएर अस्पताल आएकाहरुमा पनि शंका लागेर कोरोना परीक्षण गराउँदा विगतदेखि संक्रमित भएको पाइएको छ,’ उनले भने ।

बालबालिका संक्रमित भएमा उपचारकै समस्या

कोरोना संक्रमित बिरामीको उपचार गर्दै आएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बालबालिकाको भने उपचार गरिँदैन । अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार संक्रमित बालबालिका यहाँ उपचार गराउन आएमा कान्ति बाल अस्पतालमा रिफर गरिन्छ ।

सबैभन्दा पुरानो अस्पतालका रुपमा रहेको वीर अस्पतालमा बाल उपचार कक्ष नै छैन । संक्रमित बालबालिका उपचार गर्न आएको खण्डमा अन्य अस्पतालमा रिफर गरिने सरुवारोग विशेषज्ञ डा. अच्युत कार्की बताउँछन् ।

‘विगतमा कोरोना संक्रमण दर बढे पनि बालबालिकाहरु उपचारका लागि आएका थिएनन्,’ उनले भने, ‘आक्कलझुक्कल संक्रमित बालबालिका आइपुगेको खण्डमा अन्य अस्पतालमा रिफर गर्छौं ।’

बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहे पनि संक्रमित बालबालिकाको उपचारमा समस्या हुने अस्पताल प्रशासनको भनाइ छ ।

अस्पताल  प्रमुख डा. प्रविन नेपालका अनुसार बाल उपचार कक्ष भए पनि २÷३ वर्षका मूनिका बालबालिका संक्रमित भइ उपचार गर्न आएमा समस्या हुन्छ ।

बालउपचार कक्षमा १५ वटा बेड छ । बालबालिकाको उपचार गर्ने जनशक्ति, स्वास्थ्य उपकरण पनि छुट्टै चाहिने भएकाले सबै अस्पतालमा हत्तपत्त उपचार नहुने उनले बताए । ‘अन्य कोरोना संक्रमितलाई आपतकालीन अवस्थामा उपचार गर्ने आइसियू, भेन्टिलेटरबाट बालबालिकालाई उपचार गर्न मिल्दैन,’ उनले भने, ‘नेपालका थोरै अस्पतालमा मात्रै बालबालिकाको उपचार हुने भएकाले उनीहरुमा संक्रमण दर बढ्दा समस्या हुन सक्छ ।’

पाटन अस्पतालको बाल उपचार कक्षमा बालबालिकाको उपचारका लागि १३ वटा बेड छ । कोरोना संक्रमित बालबालिकाका लागि ‘हाइ डिपेन्डेन्सी युनिट’ ३ वटा छुट्याइएको अस्पतालका निर्देशक डा. रवि शाक्य बताउँछन् ।

यहाँ बालरोग विशेषज्ञ चिकित्सकमात्रै १६ जना छन् । आवश्यकताको आधारमा बेड संख्या बढाउने उनले सुनाए । संक्रमित बालबालिकाको चाप बढ्दै गएमा जनशक्ति र स्वास्थ्य पूर्वाधारको कमी हुन नदिने उनको भनाइ थियो ।

 


बालबालिकाकै निम्ति स्थापित एकमात्र सरकारी अस्पताल कान्ति बाल अस्पतालमा देशभरबाट विभिन्न बालबालिका उपचारका लागि आउँछन् । बाल अस्पताल भएकाले प्रायः सबैजसो अस्पतालले संक्रमित बालबालिकाको उपचारका लागि पनि यही अस्पतालमा रिफर गर्छन् । कान्ति बाल अस्पताल ४ सय बेड छ ।

यहाँ संक्रमित बालबालिकाको उपचार कक्ष, शंकाको घेरामा पर्ने बालबालिकाको उपचार कक्ष छुट्याइएको अस्पतालका बालरोग विशेषज्ञ डा. अनिल श्रेष्ठले बताए । अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका बालबालिकाको पिसिआर रिपोर्ट नआउन्जेल उपचार गर्ने कक्षसमेत छुट्याइएको डा. श्रेष्ठले बताए ।

‘कहाँबाट कुन रोग लागेका बालबालिका आउँछन्, थाहा हुँदैन,’ उनले भने, ‘त्यसैले बालबालिकाको उपचारका लागि ए, बी, सी गरेर विभिन्न युनिट छुट्याएका छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप