बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपालसँग वार्ता विफल भएपछि वामदेव फकाउँदै ओली

बिहीबार, ०९ वैशाख २०७८, २३ : ३३
बिहीबार, ०९ वैशाख २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ओली र एमाले नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहीबार साँझ ओली र गौतमबीच डिनर मिटिङ भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

ओली र गौतमको डिनरमा कानुन मन्त्री लीलानाथ श्रेष्ठ र प्रमुख सचेतक विशाल भट्टराई पनि सहभागी थिए। एमालेमा गौतम अहिलेसम्म ओली र नेपाल खनाल पक्षमा खुलेका छैन । आजको भेटवार्ताबाट गौतम ओली समूहमा लागेको उनले आफ्नो फेसबुकमार्फत जानकारी दिए ।

ओलीसँगको सम्बन्ध पदका कारणले बनेको नभइ जमानादेखिको अटुट रहिरहने गौतमको भनाइ रहेको भट्टराईले बताए । भट्टराईले लेखेका छन्, 'अब कमरेड वामदेव गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि !' नेता माधव नेपालसँग बुधबार र विहीबार भएको छलफल सफल हुन नसकेपछि ओलीले गौतमसँग भेट गरेका हुन् । 

 


 

नेपालसँग कुरा नमिलेपछि ओली गौतम फकाउन लागि परेको बुझिएको छ । गौतमले तत्कालीन नेकपा ओली र प्रचण्ड नेपाल समूहमा विभाजित हुँदा नेकपा राष्ट्रिय एकता अभियान चलाएका थिए । २३ फागुनमा सर्वोच्च अदालतबाट नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा पुगेपछि गौतमले एमाले राष्ट्रिय एकता अभियान अगाडि बढाएका छन् ।

फागुन २८ गते ओलीले एकपक्षीय रुपमा एमालेको साविकको संरचना हेरफेर गरेपछि विवाद उग्र बनेको छ । ओलीको उक्त कदमको गौतमले पनि चर्को विरोध गरेका थिए । त्यतिबेला गौतमले अब ओलीसँग मिल्ने सम्भावना सकिएको प्रतिक्रिया दिएका थिए । 

 


विपक्षी दलबाट घेराबन्दीमा परेपछि ओली एमालेका शीर्ष नेतासँग संवादमा जुटेको देखिन्छ । नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव बाबुराम भट्टराई खेमा ओली इत्तर गठबन्धन बनाउन कसिएको छ । जसमा एमालेको माधव नेपाल पक्षको पनि भित्रि समर्थन रहेको लुकेको छैन । केन्द्रदेखि प्रदेशसम्म अप्ठ्यारोमा पर्ने देखिएपछि ओली पार्टीभित्रका नेता फकाउने रणनीतिमा लागेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप