शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यसकारण फलदायी भएन ओली–नेपाल वार्ता

बिहीबार, ०९ वैशाख २०७८, २० : ५१
बिहीबार, ०९ वैशाख २०७८

काठमाडौँ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच दुई दिनसम्म चलेको वार्ता विना निष्कर्ष सकिएको छ । वार्ता फलदायी नभएको नेता नेपालले प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री ओलीले पनि माधव नेपालसँगको सम्वाद सकारात्मक दिशामा अघि नबढेको प्रतिक्रिया बिहीबार बिहानै दिइसकेका थिए ।

‘हाम्राविरुद्ध कति गरे ? यति उपद्रो गर्दा र अर्को पार्टी खोलेर हिँड्दा पनि अहिलेसम्म हामीले कारबाही नगरेर सम्झाई–बुझाई गर्ने प्रयास गरिरहेका छौँ,’ बिहीबार नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालयको शिलान्यासपछि सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘अहिले पनि हाम्रो प्रयास सम्झाउनेमा छ, सच्याउनेमा छ । अहिले पनि भरसक पार्टीमा क्षति नहोस् भन्ने छ ।’

प्रधानमन्त्री एवं अध्यक्ष ओलीको यो अभिव्यक्तिले बुधबार साँझ अर्का नेता नेपालसँग भएको दुई घण्टा लामो भेटवार्ताप्रति लक्षित थियो । साथै ओलीको यो अभिव्यक्तिले दुई नेताबीचको लामो छलफल फलदायी नभएको स्पष्ट बुझिन्थ्यो ।

नेता नेपालसँग भेटवार्ता गरेको भोलिपल्ट नै एमाले मुख्यालय बल्खु पुगेर अध्यक्ष ओलीले दिएको यो अभिव्यक्तिबाट सम्झाउने, बुझाउने र भरसक पार्टीमा क्षति नहोस् भन्ने रहे पनि त्यो प्रयास सम्भव हुन्छ भन्ने निश्चित नरहेको बुझिन्छ ।

किनभने दुवै पक्ष आआफ्नो अडानबाट लचक हुन तयार छैनन् भन्ने कुरा ओलीको बोलीलाई सङ्केतका रूपमा बुझ्न सकिन्छ ।

अध्यक्ष ओलीले माधव नेपाल पक्ष पार्टी अनुशासन विपरीत र गुट बनाउँदै हिँडेको आरोप लगाउँदै आएका छन् । बिहीबार पनि ओलीले सोही कुरा दोहोर्याएका छन् ।

‘पार्टी विरोधी र गुटगत गतिविधिमा कुनै पनि हालतमा सम्झौता हुन सक्दैन । अब पार्टीभित्र गुटगत गतिविधि चल्दैन,’ ओलीको स्पस्ट सन्देश थियो ।

तर, माधव नेपाल पक्षको आफ्नै बुझाइ छ । सर्वोच्च अदालतले गत फागुन २३ मा नेकपा एकतालाई मान्यता नदिएर पूर्वएमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काएपछि एमालेको नवौँ महाधिवेशन र त्यसले तय गरेको पार्टी सङ्गठन, संरचना, विधि र विचारका आधारमा अघि बढ्नुपर्नेमा ओलीले ती सबै व्यवस्था कुल्चिएको माधव पक्षको बुझाइ छ ।

ओली फागुन २३ पछिका आफ्ना निर्णय सच्याउन तयार नहुने र माधव नेपाल पक्ष ती निर्णय मान्न तयार नहुने अवस्थाले गर्दा ओली नेपाल वार्ता भए पनि समस्या भने ज्युँको त्यँु रहने एमालेभित्रै विश्लेषण हुन थालेको छ ।

जेठ २ मा फर्कन ओली असहमत

 


नक्सालस्थित मेरियट होटलमा ओली–नेपालबीचको बुधबार र बिहीबारको वार्ता पनि नेताहरुबीच जेठ २ मा फर्कने कि नफर्कने भन्नेमै केन्द्रित रह्यो ।

नेता नेपालले ओलीसँगको भेटवार्ताबारे आफू निकट नेताहरुलाई बिहीबार गरेको ब्रिफिङअनुसार सुरुमा ओलीले पार्टीमा समस्या आउनुको मुख्य दोष नेपाल पक्षलाई लगाएका थिए ।

ओलीले आफ्नो सरकार बनेदेखि नै असहयोगको नीति लिएको, सरकारले गरेका राम्रा कामको प्रचार नगरेको तथा असहयोग गरेको तथा एमाले माओवादीको पृष्ठभूमिबारे व्याख्या गर्दै आफूमाथि प्रचण्डसँग मिलेर गरेको कारवाही र गुटबन्दीका प्रसङ्ग निकालेका थिए ।

भेटमा ओलीले आफ्ना कुरा राखेपछि नेता नेपालले पार्टी एकता जोगाउने हो भने त्यसको पहल गर्न ओलीलाई नै सुझाएका थिए ।

‘पार्टी एकता जोगाउने हो भने तपाईंबाटै पहल हुनुपर्छ । त्यसका लागि तपाईंले २०७५ जेठ २ मा फर्किनुको विकल्प छैन’, नेता नेपालको ब्रिफिङ सुनेका भीम रावलले रातोपाटीसँग भने, ‘सर्वोच्चको फैसला बमोजिम जब नेकपा एमाले भइसकेपछि पूर्ववत् अवस्थामा अर्थात् जेठ २ को अवस्थामा जानुप¥यो । त्यसका लागि तपाईंले गत फागुन २८ गते जे जे निर्णय र काम गर्नुभएको छ रद्द गरेको घोषणा गर्नुस्, त्यसपछि अरू विषयमा छलफल गरौँला ।’

नेपालको यो प्रस्तावमा ओलीले भने कुनै ठोस जवाफ दिएनन् । ‘माधव नेपालको यो भनाइमा उहाँले फिर्ता लिने कुनै सङ्केत नै गर्नुभएनछ’, नेता रावलको भनाइ छ । दुवै नेताले आ–आफ्नो अडान नछोडेपछि ओलीले पुनः फेरि बसेर कुरा गराँै भन्ने प्रस्ताव गरेका थिए ।

जवाफमा नेता नेपालले भने फेरि कुरा गर्नेभन्दा पनि पार्टी र देशको हित चाहने हो भने अदालतको फैसलापछि एमालेको (२०७५ जेठ २) कै संरचना यथावत राख्न किन प्रतिबद्धता जनाउनुहुन्न ? भन्ने प्रश्न गरेका थिए । त्यसक्रममा ओलीले भने वैशाख १० गते बस्ने केन्द्रीय समिति बैठकमा सहभागी हुन र त्यहीँबाट छलफल गरेर अघि बढ्न सहमत हुन नेता नेपाललाई आग्रह गरेका थिए ।

ओली–नेपाल भेटवार्ताले नेताहरुबीचको लामो समयको संवादहीनता तोडिए पनि एमालेभित्र देखिएको सङ्कट समाधानमा कुनै नयाँपन नआएको नेता रावलको बुझाइ छ ।

‘मेरो बुझाइमा दुई नेताको भेटवार्ताले पनि समस्या समाधानमा कुनै नयाँपन आएको छैन’, रावलको भनाइ छ ।

१५ नेता भन्छन् : पार्टी विभाजन र विसर्जनको डिलमा पुग्यो

यता बिहीबारै पार्टी स्थापना दिवसको अवसरमा झलनाथ खनाल माधव नेपाल पक्षका १५ जना नेताहरुले संयुक्त अपिल जारी गर्दै आफूहरुलाई नेकपा (एमाले) मा रहन नदिन अनेक दाउपेचहरू गरिएको आरोप लगाएका छन् ।

आफूहरु पार्टी एकता जोगाउन चाहेको पनि उनीहरुको भनाइ छ ।

‘२८ फागुनको गुट भेलालाई नै पार्टी केन्द्रीय कमिटीको बैठक मान्ने कुराले त्यही देखाउँछ । तर हामी पार्टी एकता जोगाउन चाहन्छौँ । त्यसैले हामीले नेकपा (एमाले) को एकतालाई बचाऔँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ भनेका छौँ’, उनीहरुले संयुक्त अपिलमा भनेका छन् ।

त्यसका निम्ति फागुन २८ र तत्पश्चात भएका कथित बैठक र तिनका अवैध निर्णय सबै रद्द गरिनुपर्ने र २०७५ जेठ २ गतेको केन्द्रीय कमिटीको पूर्ण बैठक बसेर कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने उनीहरुको भनाइ छ ।

‘यदि त्यसो भयो भने नेकपा (एमाले) को एकता जोगिन्छ । एमालेको एकता जोगाउन सकियो भने नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने आधार जोगिन्छ । यही अठोटका साथ ७२ वर्षको मिहिनेतले निर्माण भएको कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्न सबैले आआफ्नो ठाउँबाट प्रयास गरौँ । पार्टी स्थापना दिवसको सन्दर्भमा कम्युनिस्ट पार्टीका आम नेता तथा कार्यकर्ता र समर्थक शुभचिन्तक सबैमा हामी यही हार्दिक अपिल गर्दछौँ’, १५ नेताको जोड छ ।

उनीहरुले पार्टी अध्यक्ष ओलीले फागुन २८ गते ठूलो सङ्ख्यामा रहेका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई थाहासमेत नदिई आफ्नो गुटको भेला गरेर स्वेच्छाचारी ढङ्गले निर्णय गर्दै त्यसैलाई केन्द्रीय कमिटीको बैठक भनेर वक्तव्य प्रकाशित गरेपछि अहिलेको सङ्कट आएको दाबी समेत गरेका छन् ।

‘केपी ओलीका उक्त क्रियाकलापले पार्टीको विधान, परम्परा, सामान्य लोकतान्त्रिक मूल्यहरूको समेत धज्जी उडाएको छ । सयौँ सहिद, लाखौँ पार्टी सदस्य, शुभचिन्तक तथा समर्थकहरूको भावनामाथि खेलबाड गरेको छ । वैचारिक रूपमा समेत उहाँ कम्युनिस्ट आन्दोलन र इतिहासको वैज्ञानिक चेतना, श्रमजीवी वर्गका हितबाट झन् झन् टाढा पुग्दै हुनुहुन्छ । नेकपा एमालेको एकता बचाउन र कम्युनिस्ट आन्दोलनको रक्षा गर्न हामीले लिएको पहलकदमीका विरुद्ध शत्रुवत आक्रमण गर्दै हुनुहुन्छ, पार्टीका नेता तथा संसदहरूमाथि तथाकथित स्पष्टीकरण र कारबाहीको नाटक गरिँदै छ । यसरी तीन वर्ष अगाडि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठाका साथ उपलब्धिको एकपछि अर्को मानक बनाउँदै अगाडि बढेको यो पार्टी आज अचानक विभाजन र विसर्जनको डिलमा पुगेको छ’, १५ नेताको निष्कर्ष छ ।

हात हल्लाए, बोलेनन् नेपाल

दोस्रो दिन पनि ओली–नेपाल होटल मेरियटमा दुई घण्टा नै छलफल भयो । दोस्रो दिनको वार्ताबारे नेताहरुले जानकारी दिने आशमा मेरियट होटल पुगेका सञ्चारकर्मीहरु निराश भएर फर्कन बाध्य भए ।

विहीबार २ बजेदेखि ४ बजेसम्म दुई नेताबीचको भएको भेटवार्ताबारे सञ्चारकर्मीले प्रतिक्रिया माग्दा बरिष्ठ नेता नेपालले हात मात्रै हल्लाए । दुई नेताबीचको भेटवार्ताको व्यवस्थापन गरेका प्रधानमन्त्री केपी शर्मा ओली विशेष आर्थिक सल्लाहकार मोती दुगडले नेताहरुको हाउभाउले वार्ता सकारात्मक भएको बुझ्न सकिने प्रतिक्रिया दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप