बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

माओवादीमा पुनर्जागरण कति सम्भव ?

सोमबार, ०६ वैशाख २०७८, ०९ : ५५
सोमबार, ०६ वैशाख २०७८


काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको राजनीतिक क्यालेन्डरमा करिब तीन वर्ष गायब छ । २०७५ जेठ ३ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि २०७७ फागुन २३ सम्म दुवै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नामबाट क्रियाशील रहे ।

यसबीचमा एमाले पक्षले मदन भण्डारी फाउन्डेसन लगायतका संस्थामार्फत वैचारिक, राजनीतिक गतिविधि सञ्चालन गरिरह्यो । तर, माओवादी केन्द्रले भने आफ्ना कार्यकर्ताका लागि त्यस प्रकारका कुनै राजनीतिक संस्था वा मञ्च आवश्यक देखेन ।

सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा फर्किएपछि एमालेका लागि राजनीतिक गतिविधि सञ्चालन गर्न जति सहज देखिएको छ, माओवादी केन्द्रका लागि त्यो सहजता देखिएको छैन ।

माओवादी केन्द्र यतिबेला आफ्ना कार्यकर्तालाई पुनर्संगठित गर्दैछ । कतिपय पुराना कार्यकर्ताले पार्टी एकतापछि आफूहरुलाई पार्टीमा उपेक्षा गरिएको, नेतृत्वले वास्ता नगरेको गुनासो पनि गरिरहेका छन् ।

जनयुद्ध छाडेर शान्ति प्रक्रियामा आएयता माओवादी विभिन्न धारमा विभाजित भइसकेको छ । यो अवस्थामा माओवादी पार्टी पुनर्जागरण होला कि नहोला भन्ने बहस राजनीतिक वृत्तमा सुरु भएको छ । यसका लागि नेतृत्वले पहिला आफैंमा पुनर्जागरण गरेर देखाउनुपर्ने विश्लेषकहरुको भनाइ छ ।

‘मानिसहरु परिवर्तनका लागि तयार थिए । माओवादी आफैं पनि परिवर्तनका लागि तयार थियो । २४ घण्टाभित्र लाख मान्छे सडकमा उतार्ने क्षमता उसमा थियो । तर, माओवादीले आफ्नो त्यो क्षमतालाई परिवर्तनका पक्षमा प्रयोग नै गरेन ।’

गत साता रातोपाटीसँगको अन्तरवार्तामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी पार्टीको पुनर्जागरण सम्भव भएको दाबी गरेका थिए ।

प्रचण्डले अन्तरवार्तामा भनेका थिए, ‘काठमाडौंमा एकथरी मान्छेले हल्ला गरेजस्तो धरातलको स्थिति होइन । माओवादी आन्दोलन, माओवादीले उठाएका मुद्दा या माओवादीका कारण देशमा भएको परिवर्तनको पक्षमा जनमत छ ।.....माओवादी अब ‘रिभाइभ’ हुन्छ । मैले के देख्छु भने आउने दिनमा यो रिभाइभ हुन्छ ।’

 


होला त माओवादीमा पुनर्जागरण ?

राजनीतिक विश्लेषक श्याम श्रेष्ठका अनुसार माओवादीको पुनर्जागरण नेताहरुमा भरपर्ने कुरा हो । माओवादीले यसअघि प्राप्त जनसमर्थन, जनताको चाहनालाई परिवर्तनको पक्षमा प्रयोग नै नगर्दा पार्टी अहिले यो अवस्थामा आइपुगेको उनले बताए ।

डेढ दशकअघिको अवस्था चित्रण गर्दै उनले भने, ‘मानिसहरु परिवर्तनका लागि तयार थिए । माओवादी आफैं पनि परिवर्तनका लागि तयार थियो । २४ घण्टाभित्र लाख मान्छे सडकमा उतार्ने क्षमता उसमा थियो । तर, माओवादीले आफ्नो त्यो क्षमतालाई परिवर्तनका पक्षमा प्रयोग नै गरेन ।’

सरकारमा जाँदा पनि माओवादीले यस्तो परिवर्तनका लागि प्रयास नगरेको उनले बताए । ‘आफू सरकारमा जाँदा उसले ठुलो परिवर्तन गर्न सक्थ्यो, जुन उसले प्रयास नै गरेन,’ उनले भने, ‘यसले गर्दा माओवादीमा सांस्कृतिक विचलन भइसकेको भनेर मानिसले बुझ्न थाले, कार्यकर्ताहरु कोही व्यापारतिर, कोही कता, कोही कता लागिसकेका छन् । तिनीहरुलाई फेरि रुपान्तरण गर्नु भनेको निकै ठूलो जोखिम मोल्नु हो ।’

माओवादीको नेतृत्व आफैं धेरै बदलिसकेको उल्लेख गर्दै श्रेष्ठले यस्तो नेतृत्वबाट पार्टी रुपान्तरण हुनेमा आशा गर्न नसकिने बताए । ‘नव धनाढ्य वर्गमा नेतृत्व आफै रुपान्तरित भएको छ,’ उनले भने, ‘पार्टी पुनर्जागरण गर्ने नै हो भने केहीले छेक्न सक्दैन । तर पहिलेको तुलनामा अब धेरै गाह्रो हुन्छ । यसका लागि नेतृत्वले धेरै ठूलो त्याग गर्नुपर्ने हुन्छ ।’

‘खासगरी दक्षिण एसियाका केही मुलुकले पहिलेदेखि नै माओको लाइनलाई उग्रवामपन्थी स्कुलिङका रुपमा बुझे,’ खनाल भन्छन्, ‘माओले चिनियाँ सन्दर्भमा छापामार संघर्ष भने, त्योबेला उपयुक्त थियो । १९७० को दशक यता छापामार शैलीका संघर्षका परिणामहरू असाध्यै नकारात्मक आए । या त तिनीहरु सरकारी दमनमा परेर सकिए, या त पूर्ण रुपमा डेमोक्रेटिक मोडलसँग सहकार्य गरेर शान्तिपूर्ण मार्गमा फर्किए ।’

नेतृत्व आफैं रुपान्तरित हुने हो भने कार्यकर्ता रुपान्तरित हुन असम्भव नहुने उनको भनाइ छ । नेतृत्वले पहिला आफूलाई रुपान्तरित गरेर कम्युनिस्ट भनेको यस्तो हुनुपर्छ भनेर उदाहरण दिन सक्नुपर्ने उनले प्रस्ट पारे । ‘नेतृत्वले समूहमा बसेर देखाउने, कम खर्चमा जीवन चलाएर देखाउने, सादा पोशाक, सादा सामग्री प्रयोग गरेर देखाउने, महँगा गाडी किन चाहियो ? साधारण गाडी प्रयोग गर्दा हुन्छ,’ उनले भने, ‘नेतृत्वले यसरी आफूलाई रुपान्तरण गर्ने हो भने अन्य नेता तथा कार्यकर्तामा एउटा सन्देश आफै गइहाल्छ नि ।’

अर्का विश्लेषक मुमाराम खनाल प्रचण्डकै नेतृत्वमा माओवादीको पुनर्जागरण सम्भव नभएको दाबी गर्छन् । ‘अर्को कुनै पात्र भइदिएको भए त्यो सम्भव हुन्थ्यो होला,’ खनालले भने, ‘तर माओवादी आन्दोलनलाई पुनर्जागृत गर्न सक्ने खालको पात्र अब बाँकी रहेन ।’

बाबुराम भट्टराईले परम्परागत कम्युनिस्टको स्कुलिङ नै छोडिसकेको र मोहन वैद्यले मोहनविक्रमजस्तै ‘क्लासिक कम्युनिजम’, त्यसमा पनि लेनिनका पालाको कम्युनिज्मलाई बचाएर जानुपर्छ भन्दै आएको खनाल बताउँछन् ।

नेपालमा देखिएको अर्को उग्रवामपन्थी धारा (विप्लव समूह) लाई खनालले ‘असाध्यै कमजोर, अर्थ गुमाएको वामपन्थी धार’ संज्ञा दिँदै त्यो धारबाट पनि पुनर्जागरणको नेतृत्व हुन नसक्ने दावी गरे ।

‘खासगरी दक्षिण एसियाका केही मुलुकले पहिलेदेखि नै माओको लाइनलाई उग्रवामपन्थी स्कुलिङका रुपमा बुझे,’ खनाल भन्छन्, ‘माओले चिनियाँ सन्दर्भमा छापामार संघर्ष भने, त्योबेला उपयुक्त थियो । १९७० को दशक यता छापामार शैलीका संघर्षका परिणामहरू असाध्यै नकारात्मक आए । या त तिनीहरु सरकारी दमनमा परेर सकिए, या त पूर्ण रुपमा डेमोक्रेटिक मोडलसँग सहकार्य गरेर शान्तिपूर्ण मार्गमा फर्किए ।’

नेपालको झापा आन्दोलन, प्रचण्ड नेतृत्वको जनयुद्ध र अहिलेको विप्लव समूह त्यसकै उदाहरण रहेको खनालको भनाइ छ ।

प्रचण्डचाहिँ शक्ति आर्जन गर्ने दिशामा मात्र केन्द्रित रहेको, बाबुराम परम्परागत मार्क्सवादबाट धेरै पर सोसल डेमोक्रेटिक धारमा पुगेको खनाल बताउँछन् । विद्यमान चार÷पाँच प्रकारका धारालाई एक ढंगले व्याख्या गर्ने र संरचनामा कसरी ढाल्ने भन्ने चुनौती कायम रहेकाले यो त्यति सहज नभएको उनले बताए ।

‘संरचना फेरि सबैमा उस्तै छ, आ–आफ्नो व्यक्तित्वलाई सुहाउने संरचना छ,’ खनालले रातोपाटीसँग भने, ‘प्रचण्डको पार्टीमा वैद्य, बाबुराम, विप्लवलगायतले आफ्नो स्थान देखेनन्, किनकि प्रचण्डको प्रशंसा नगरी त्यहाँ कुनै स्थान पनि नपाइने, एउटै मानिस अढाइ÷तीन दशकदेखि नेतृत्वमा छ भने त्यहाँ अरुको पालो आउने कुरै भएन । त्यसकारण उनीहरु त्यहाँ बसिरहन जरुरी भएन ।’

माओवादीलाई अब एकीकृत गर्न प्रचण्डको नेतृत्वमा सम्भव नरहेको दोहो¥याउँदै खनालले शान्तिपूर्ण राजनीतिमा रहेका यी चारवटै धाराको संरचना र राजनीतिक एजेण्डालाई बुझेर यी सबैलाई एकीकृत गर्ने हो भने एउटा फ्रेस राजनीतिक नेतृत्व बाहिरबाटै आउनुपर्ने बताए ।

माओवादी आन्दोलनभित्रको कुनै पनि पात्रले फेरि माओवादी आन्दोलनलाई एकतावद्ध गर्न सक्छ भन्ने आफूलाई नलागेको खनालको भनाइ छ ।

अबको राजनीतिक नारा के ?

गणतन्त्र, संविधानसभाको निर्वाचन लगायतमा माग राखेर जनयुद्ध गरेको माओवादीले दोस्रो जनआन्दोलनमा यिनै मागबारे तत्कालीन सात दलसँग सहकार्य ग¥यो । सोहीअनुसार राजनीतिक परिवर्तन पनि भयो । तर, अझै पनि ती उपलब्धि संस्थागत हुन नसकेको, कुनै पनि बेला उपलब्धिहरु गुम्न सक्ने खतरा रहेको नेताहरु नै बताउँदै छन् ।

यसबीचमा माओवादी अध्यक्ष प्रचण्ड नै दुई पटक प्रधानमन्त्री भए । २०७४ को निर्वाचनमा वाम गठबन्धनले झण्डै दुई तिहाई बहुमत ल्यायो । तर, यतिबेला वाम एकता छिन्नभिन्न भएको मात्र होइन, दलभित्र पनि अनेक चिरा देखिएका छन् । यस्तो अवस्थामा माओवादी पुनर्जागरणका लागि कस्तो नारा तय होला ? प्रश्न उठ्नु स्वाभाविक हो ।

विश्लेषक श्रेष्ठ अहिलेकै सिस्टमबाट धेरै कुरा परिवर्तन गर्न सम्भव रहेको बताउँछन् । त्यसका लागि नेतृत्वमा इच्छाशक्ति आवश्यक रहेको उनको भनाइ छ ।

‘युरोपकै उदाहरण लिने हो भने नर्वे, डेनमार्क, स्वीडेन, फिनल्याण्ड जस्ता मुलुकले निकै उदाहरणीय ढंगले यही सिस्टमबाट परिवर्तन गरेका छन्,’ श्रेष्ठले भने, ‘समाजवादी हिसाबले शिक्षा, स्वास्थ्यको जिम्मा राज्यले लिने । यी दुई क्षेत्रमा नागरिकको जिम्मा राज्यले लिइसकेपछि मानिसहरु राज्यलाई कर तिर्न थाल्छन् ।’

आधारभूत कुरामा राज्यले जिम्मेवारी लिइसकेपछि मानिसलाई पैसा बचत गरिरहन नपर्ने श्रेष्ठको भनाइ छ । ‘मानिसले शिक्षा र स्वास्थ्यकै लागि भनेर पैसा जम्मा गर्ने न हो,’ उनले भने, ‘यसरी समाजवादी यात्रा सुरु हुन्छ । त्यसैले अहिले पनि यो सिस्टम फेजआउट भइसकेको छैन ।’

तर, नेतृत्व आफूचाहिँ नवधनाढ्य हुन खोज्ने, भ्रष्टाचारतिर लाग्ने, व्यापारीसँग लेनदेनमा लाग्ने हो भने परिवर्तन गर्छु भन्दैमा अब कसैले नपत्याउने वाम विश्लेषक श्रेष्ठ बताउँछन् । सिंगापुरको उदाहरण दिँदै उनले भने, ‘सिंगापुर १५ वर्षमै बदलियो भने नेतृत्वले चाहेमा असम्भव भन्ने हुँदैन । सिंगापुरमा पहिला राज्यले शिक्षामा बजेट खन्याउन थाल्यो । त्यसपछि स्वास्थ्यमा खर्च ग¥यो ।  यसैगरी थाल्ने हो भने नहुने कुरै छैन । तर, थाल्नका लागि नेतामा गरी छाड्ने अठोट हुनुपर्छ ।’

देश र जनताको पक्षमा काम गर्ने हो भने सबैको साथ पाइने उदाहरण कुलमान घिसिङबाट पनि लिन सकिने श्रेष्ठले बताए । ‘उदाहरण हेर्न टाढा जानै पर्दैन, नेपालमा कुलमानले लोडसेडिङ हटाएपछि उनका पछि कति मानिस लागे ? उनलाई फेरि जिम्मेवारी दिनुपर्छ भनेर मानिस सडकमा उत्रिएका होइनन् ?,’ श्रेष्ठले भने, ‘एउटा मात्र गतिलो काम गर्दा त्यत्रो मानिस पछि लाग्ने देश हो यो । त्यसैले अझै पनि नेताहरुले राम्रो काम गर्छु भन्ने हो भने जनताको साथ पाउन सक्छन् ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि परिवर्तनका लागि आँट गरेमा आफूलाई असम्भव नलाग्ने उनले बताए । तर, पहिला नेतृत्व आफै रुपान्तरण हुनुपर्नेमा उनले जोड दिए । ‘उनले आफ्नो सांस्कृतिक जीवनशैलीलाई त्यसअनुसार रुपान्तरण गर्नुपर्छ, ता कि जनताले उनको जीवनशैली हेरेर पत्याउन्,’ श्रेष्ठले भने ।

विश्लेषक खनाल भने माओवादी पुनर्जागरणका लागि सबैभन्दा पहिला ‘माओवादी’ शब्द नै खारेज गर्नुपर्ने बताउँछन् । त्यसपछि चारवटा कुरामा समाजवादी कार्यक्रम लागू गर्ने सार्वजनिक प्रणका साथ अघि बढ्नुपर्ने उनको भनाइ छ ।

‘ती चार कुरा भनेको शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात र सामाजिक सुरक्षा हुन्,’ उनले भने, ‘यी चारबाहेक सबै कुरामा बजारलाई निर्देशित गर्ने, अनुगमन गर्ने काम चाहिँ सरकारले गर्छ, तर यी चार आधारभूत कुरामा चाहिँ पूर्णरुपले समाजवादी कार्यक्रम लागू हुन्छ, त्यो समाजवादी कार्यक्रम लागू गर्नका लागि सबैभन्दा पहिला माओवादी आन्दोलनका मानिसहरुमै स्पष्टता चाहिन्छ ।’

तर, माओवादीमा रहेका मानिसहरुले पढेको मार्क्सवाद नै काम नलाग्ने खनाल बताउँछन् । ‘अहिले माओवादी धारा भनेको त आफ्नो विनाश बरु स्वीकार गर्ने, तर अरुको नेतृत्व स्वीकार नगर्ने खालको छ,’ उनले भने, ‘यसरी पार्टी पनि पुनर्जागरण हुँदैन, देश र जनताले पनि उपलब्धि हासिल गर्न सक्दैनन् । समाजवादी दिशामा लैजान सक्ने पात्र आउने हो भने उसको नेतृत्वमा नेपालमा ठूलो कम्युनिस्ट पार्टी बन्न सक्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य
लेखकबाट थप