केन्द्रीय संस्करण
प्रचण्डसँग अन्तरवार्ता

प्रचण्डको प्रक्षेपण : माओवादी फेरि जाग्छ, एमाले नफुटोस् (भिडियोसहित)

‘प्रचण्डलाई सिध्याउँदा लोकतन्त्र सुदृढ हुन्छ ? समाजवाद आउँछ ?’

person explore access_timeबैशाख १, २०७८ chat_bubble_outline0

काठमाडौँ । नेकपाका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधबार रातोपाटीसँगको कुराकानीका क्रममा मुख्यतः दुईवटा राजनीतिक प्रक्षेपण गरेका छन् :

एक– माओवादीले उठाएका मुद्दाहरुको औचित्य अझै सकिएको छैन, त्यसैले माओवादी पार्टी फेरि ‘रिभाइभ’ हुन्छ । अर्थात प्रचण्डलाई सिध्याउन सम्भव छैन ।

दुई– नेकपा एमाले फुटोस् र सकियोस् भन्ने आफूलाई लागेको छैन । एमाले सच्चियोस् र पुनः वाम एकता होस् भन्ने नै लागेको छ । प्रचण्डले भनेका छन्, ‘एमाले नफुटोस्, मेरो शुभकामना छ ।’

एमाले र माओवादी विभाजित भएको अवस्थामा प्रचण्डबाट भइरहेका सार्वजनिक भाषण र विभिन्न अन्तरवार्तामा प्रधानमन्त्री ओलीमाथिका टिप्पणी र वाद–प्रतिवाद मिडियामा बढी ‘कभरेज’ हुने गरेका छन् । यो अन्तरवार्तामा हामी राजनीतिक विषयवस्तुमा केन्द्रित भएका छौँ ।

खास गरी आगामी चुनावमा माओवादी पार्टी सिद्धिन्छ र प्रचण्डले कहीँबाट पनि चुनाव जित्दैनन् भनेर प्रधानमन्त्री ओलीले दाबी गरिरहेका छन् । र, ठीक यहीबेला प्रचण्डले हालै रुकुम, सल्यान, सुर्खेत, चितवन र सिन्धुली जिल्लाको भ्रमण गरेका छन् । के देशमा माओवादीको प्रभाव कमजोर भएकै हो त ? यिनै विषयमा हामीले प्रचण्डको विचार बुझ्न खोज्यौैँ ।

प्रस्तुत छ– रातोपाटी डटकमका मल्टिमिडियाका कुवेर पाठकले माओवादी अध्यक्ष प्रचण्डसँग गरेको भिडियो संवादको सम्पादित अंश– 

तपाईं अघिल्लो साता माओवादी आन्दोलनको उद्गमस्थल रुकुम पुगेर आउनुभयो । रुकुमदेखि चितवनसम्म पुग्दा कस्तो अनुभूति भयो ?

जनआन्दोलन दिवसका सन्दर्भमा रुकुममा आयोजित कार्यक्रममा गएँ । त्यहाँ जनताको भावना र कार्यकर्ताको स्थिति नजिकबाट नियाल्नु, जनता के सोचिरहेका छन् भने बुझ्नु एउटा (उद्देश्य) थियो । काठमाडौँमा जसरी माओवादी आन्दोलन र माओवादी नेतृत्वको औचित्य कमजोर भयो वा करिब–करिब सकियो भनेर एकथरी मानिसहरुले होहल्ला गर्न खोज्दैछन् । के साँच्चै त्यस्तै हो त भनेर म त्यसको जवाफ खोज्न पनि रुकुम गएको हो । ।

जनआन्दोलन दिवस आफैमा एउटा ऐतिहासिक दिन थियो । त्यही दिन रुकुम जानुको तात्पर्य मैले आफैले केही कुरा अध्ययन गर्न पनि हो । केही कुरा जनताको स्थितिको अनुसन्धान गर्नु पनि थियो । अर्को, सन्देश प्रवाह गर्नु पनि थियो । मलाई लाग्छ त्यो ऐतिहासिक नै रह्यो । चाहे सल्यानमा आउँदै गर्दा विभिन्न ठाउँमा जनताले गरेको स्वागत सत्कार होस्, सल्यानको सल्लीबजारमा अचानक र एकैचोटि जुटेका जनताको विशाल सभामा मेरो सम्बोधन होस्, या सुर्खेतमा भएका विभिन्न कार्यक्रमहरु ।

आजको मुद्दा भनेको माओवादी आन्दोलनले उठाएका मुद्दाहरु हुन् । यी मुद्दाहरु यथास्थितिवादी, प्रतिगमनकारी वा पुनरुत्थानवादीहरुलाई मन परेका मुद्दा होइनन्, जनताले मन पराएका मुद्दा हुन् । माओवादी आन्दोलनले थोपरेका कुरा पनि होइनन् ।

त्यसपछि म बर्दियाको एउटा कार्यक्रम र बाँकेमा पनि सहभागी भएँ । सबैलाई हेर्दा माओवादी आन्दोलनको औचित्य कमजोर भएको वा  सकिन लागेको भन्ने हल्ला विल्कुल झुटो हो भन्ने निष्कर्षमा म पुगेँ । बरु आम जनता चाहिँ माओवादी फेरि आफ्ना एजेन्डामा फिर्कियोस्, देशलाई माओवादीको खाँचो छ भन्ने जनभावना मैले आम रुपमा भेटेँ । 

त्यसअर्थमा अहिलेको मेरो कर्णाली वा लुम्बिनीको भ्रमणको एउटा शिक्षा मैले लिएँ– हामीले उठाएको मुद्दा, चाहे जनयुद्धमा होस्, शान्ति सम्झौतामा, संविधान निर्माण या सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दा, हामी जेका निम्ति लडेका थियौँ, त्यसको आवश्यकता र औचित्य अझै बढेको छ । त्यसविरुद्ध षड्यन्त्र भएको छ र जनता त्यो षडयन्त्रविरुद्ध छन् भन्ने मैले पाएँ । बौद्धिक जमात पनि यी मुद्दाहरु नै आज राष्ट्रका आवश्यकताहरु हुन् र माओवादी दृढतापूर्वक अघि बढोस् भन्ने सुझाव चारैतिरबाट मैले पाएँ ।

यसै पनि सैद्धान्तिक र राजनीतिकरुपमा यो कुरा क्लियर छ । आजको मुद्दा भनेको माओवादी आन्दोलनले उठाएका मुद्दाहरु हुन् । यी मुद्दाहरु यथास्थितिवादी, प्रतिगमनकारी वा पुनरुत्थानवादीहरुलाई मन परेका मुद्दा होइनन्, जनताले मन पराएका मुद्दा हुन् । माओवादी आन्दोलनले थोपरेका कुरा पनि होइनन् । हामीले उत्पीडित जाति भनेर मधेसी, मुस्लिमदेखि आदिवासी–जनजाति, दलित, महिला सबै वर्ग समुदाय र उत्पीडित क्षेत्रको पहिचान र आत्मसम्मानका निम्ति जनताका आवाजलाई मुखरित गरेका थियौँ । मैले अहिले के देखेँ भने अझ ठूलो आत्मविश्वास र दृढताका साथ यी मुद्दामा अडिन जरुरी छ । काठमाडौँमा एकथरी मान्छेले हल्ला गरेजस्तो धरातलको स्थिति होइन भन्ने पुष्टि भएको अवस्था हो । माओवादी आन्दोलन, माओवादीले उठाएका मुद्दा या माओवादीका कारण देशमा भएको परिवर्तनको पक्षमा जनमत छ ।

चितवनमा गएर मैले समग्रमा के छ भनेर विभिन्न सेक्टरका मानिसहरुसँग अन्तर्क्रिया गरेँ । सिन्धुलीमा पनि फिल्डमा खटेका धेरै कार्यकर्तासँग अन्तर्क्रियामा गएँ ।

कतिपय बेला त्रुटिहरु भए कि पनि भन्छन् । मैले हाम्रोबाट पनि कमीहरु भएका छन् भनेर त्यहाँ आत्मसमीक्षा पनि गरेको थिएँ । जनताले जस्तो चाहेको हो, त्यस्तो कतिपय सन्दर्भमा हामीले गर्न सकेनौँ । निर्वाचनको समय गरिएका प्रतिबद्धताहरु सबै वर्ग, जाति, क्षेत्र समुदायका लागि जे–जे गरिने छ भनेर भनिएको थियो, कम्युनिस्ट एकता भएपछि जे हुन्छ भनेर सपना देखिएको थियो, त्यो पूरा गर्न सकिएन भनेर मैले त्यहाँ आत्मसमीक्षा गरेको थिएँ ।

हुन त संसद् विघटन भएपछि त्यसको पुनर्स्थापना हुनुपर्छ, यो संविधान र लोकतन्त्रका विरुद्ध निरङ्कुश र स्वेच्छाचारी कदम हो भनेर नेकपाको तर्फबाट मैले त्यसको अध्यक्षका हैसियतले जनतालाई देशव्यापी रुपमा र काठमाडौँमा केन्द्रित गर्न धेरै नै मेहनत गरेको थिएँ । जनताले प्रचण्डबाट चाहन्छन् भन्ने महसुस मलाई त्यतिबेला पनि भएको थियो । माघ २८ गतेको दिन गहिरिएर हेर्नुभयो भने मैले आफ्ना कुराहरु राख्दै गर्दा जनताको प्रतिक्रिया जे थियो, काठमाडौँका मात्रै नभएर देशभरबाट आएका जनताको जनमतलाई देखेर मलाई त्यतिबेलै लागेको थियो कि माओवादी आन्दोलनले उठाएका मुद्दाप्रति र मूलतः त्यसको नेतृत्वप्रति जनताको विश्वास, माया, आशा र भरोसा छ ।

कतिपय बेला त्रुटिहरु भए कि पनि भन्छन् । मैले हाम्रोबाट पनि कमीहरु भएका छन् भनेर त्यहाँ आत्मसमीक्षा पनि गरेको थिएँ । जनताले जस्तो चाहेको हो, त्यस्तो कतिपय सन्दर्भमा हामीले गर्न सकेनौँ । निर्वाचनको समय गरिएका प्रतिबद्धताहरु सबै वर्ग, जाति, क्षेत्र समुदायका लागि जे–जे गरिने छ भनेर भनिएको थियो, कम्युनिस्ट एकता भएपछि जे हुन्छ भनेर सपना देखिएको थियो, त्यो पूरा गर्न सकिएन भनेर मैले त्यहाँ आत्मसमीक्षा गरेको थिएँ ।

समग्रमा देशमा अहिले यही भावना छ । एकथरी मान्छेहरुले आत्मरति लिएका छन् वा षड्यन्त्र गरेका छन् । अँध्यारा कोठामा बसेर प्रतिगमनको षड्यन्त्र गरेका छन् । तर, जनता त्यसको विरुद्धमा छन् भन्नेमा म पुगेको छु ।

माओवादीबाटै निर्वाचित केही सांसदहरु एमालेमा गए । तपाईंहरुले कारबाही पनि गर्नुभयो । यो निर्णयले माओवादी पार्टीलाई घाटा हुँदैन ?

हिजोदेखि हेर्दा १२–१५ वर्षको परिस्थिति र राजनीतिक घटनाक्रमको समीक्षा गर्दा के बुझिन्छ भने जतिबेला हामी वैचारिक विचलनका विरुद्ध, सांस्कृतिक विचलनका विरुद्ध, व्यक्तिगत स्वार्थ र पदलोलुपतामा मरिहत्ते गर्ने व्यक्तिप्रति हामी जहाँ जहाँ उदार भयौँ, त्यहाँ त्यहाँ माओवादीलाई घाटा भएको देख्छु ।

खासगरी शान्ति प्रक्रियामा आएपछिको परिस्थितिमा जहाँ हामीले विचलनविरुद्ध राम्रोसँग सङ्घर्ष गर्‍यौँ त्यसले जनतालाई र आम कार्यकर्तालाई पनि राम्रो सम्बाेधन गर्‍याे । जहाँ हामीले त्यस्ता प्रवृत्तिसँग सम्झौता गर्‍याैँ, त्यतिबेला कार्यकर्ता र जनता निराश भएको देखियो ।

अहिले गएकाहरुमा वैचारिक विचलन त हुँदै हो, प्रतिक्रान्ति, लोकतान्त्रिक विचलन भन्ने थाहा हुँदाहुँदै ती साथीहरु गए । त्यसकारण सांस्कृतिक रुपले पनि यो गम्भीर विचलन त हुँदै हो, यो साह्रै नराम्रो सङ्केत हो भन्ने मलाई लाग्छ । किनभने, केही साथीहरु ट्रयापमा परेर पनि गएको देख्छु म । केही साथीहरु पदको लोभले पनि गएका छन् ।

माओवादी आन्दोलन र कम्युनिस्ट आन्दोलनको पनि हामीले चाहेको पहिलो कुरा त बाम एकता नै हो । अहिले जुन परिवेश र परिस्थितिमा, जुन एमाले र माओवादी केन्द्र भनेर अदालतबाट निर्णय भयो । त्यो निर्णयप्रति हामी सहमत हुन त सकेका छैनौँ, तर फेरि हामीले त्यसलाई स्वीकारेर जानुको विकल्प छैन । किनकि हामी जुन प्रणालीमा छौँ, यसभित्र अदालतको निर्णयलाई स्वीकारेर अघि जानुको विकल्प छैन भनेर हामीले मानेका छौँ ।

त्यस्तो ट्रयाप के होला ?

धेरै छन् । म यो सबै त भन्दिनँ । तर, योबीचमा विभिन्न अडियो, भिडियोहरु बनाउने र मानिसहरुलाई फसाउने काममा बालुवाटार लागेको देख्छु । मुख्य कुरा चाहिँ साथीहरुमा वैचारिक विचलन आयो । उनीहरुविरुद्ध दृढतापूर्वक नै कदम चाल्नुपर्छ भन्ने ठानेर नै कारबाहीको प्रक्रिया अघि बढाएका छौँ । यसले देशभरि आम कार्यकर्तामा नयाँ आत्मविश्वास र ऊर्जा दिएको छ । निराशा दिएको छैन । मलाई लाग्छ, यसले आउने चुनावमा होस् वा आन्दोलनमा हामीलाई घाटा होइन, फाइदै पुर्‍याउँछ ।

हामीले गलत प्रवृत्ति, विचार र विचलनका विरुद्ध सङ्घर्ष गरेर जाने कुरा जनताको हितसँग मेल खान्छ । विचलनसँग सम्झौता गर्ने कुरा देश र जनताको हितसँग मेल खाँदैन ।

यसैलाई पार्टी सुदृढीकरणको पहिलो नम्बरको बुँदा मान्यौँ भने ठीक हुन्छ ?

पहिलो नम्बरकै बुँदा त नभनौँ । माओवादी आन्दोलन र कम्युनिस्ट आन्दोलनको पनि हामीले चाहेको पहिलो कुरा त बाम एकता नै हो । अहिले जुन परिवेश र परिस्थितिमा, जुन एमाले र माओवादी केन्द्र भनेर अदालतबाट निर्णय भयो । त्यो निर्णयप्रति हामी सहमत हुन त सकेका छैनौँ तर फेरि हामीले त्यसलाई स्वीकारेर जानुको विकल्प छैन । किनकि हामी जुन प्रणालीमा छौँ, यसभित्र अदालतको निर्णयलाई स्वीकारेर अघि जानुको विकल्प छैन भनेर हामीले मानेका छौँ ।

तर, अहिले पनि म कम्युनिस्ट एकता आवश्यक छ, बाम एकता आवश्यक छ र एउटा नयाँ ध्रुवीकरण आवश्यक भन्ने ठान्छु । एकताको झन्डा निरन्तर उठाइराख्ने मेरो प्रतिबद्धता र माओवादीको प्रतिबद्धता कायम रहन्छ ।

यसो गर्दा पूर्वमाओवादीहरु सबैले पनि समीक्षा गर्नुपर्ने हुन्छ । यतिबेलासम्म के गरियो ? फुट भयो, विभाजन भयो, एकता भयो । यी सबै कुराको वस्तुवादी समीक्षा गर्ने र फेरि एक ठाउँमा केन्द्रित हुने । मुद्दामा आधारित भएर केन्द्रित हुने । विचारमा, राजनीतिमा र संस्कृतिमा सङ्गठनात्मकरुपले पनि केन्द्रित हुन आवश्यक छ ।

अदालतमा रिट छ भने त्यो त ३ वर्षअघि कुरा हो । त्यो सामान्य खालको हो भन्ने ठानियो । बढीभन्दा बढी अर्को नाम खोज भन्ला वा निर्वाचन आयोगलाई यो मुद्दा तिमीहरुले नै हेर भन्ला भन्ठानियो । यस्तो होला भनेर कसैले पनि सोच्न सकेन । तर भयो त्यही ।

फेरि म माओवादीलाई मात्रै केन्द्रित गरेर राष्ट्रको आवश्यकता पूरा हुन्छ भन्नेमा छैन । कम्युनिस्ट आन्दोलनको एकता, त्यसमा एमाले पनि पर्छ । किनभने माधवजी र झलनाथजीहरुसँग हाम्रो एकतामा त कुनै समस्या थिएन । हामी अत्यधिक बहुमत एक ठाउँमा केन्द्रित थियौँ । ७० प्रतिशत त केन्द्रीय समितिको बैठक बस्दा पुस ७ गते हामी एक ठाउँमा केन्द्रित थियौँ र त्यो कारवाहीको प्रक्रियाका लागि थियो ।

पार्टीबाट वैधानिक ढङ्गले केपी ओलीको अनुशासनहीनता, पार्टीविरोधी गतिविधि र संविधानविरोधी क्रियाकलाप, संसद् विघटनदेखि अन्य सबै कुराका कारण स्पष्टीकरण लिएर कारबाही गरियो । त्यो वैधानिक छ । आधिकारिक छ । कानुनसम्मत छ । तर बिडम्बना निर्वाचन आयोगले तुरुन्तै पहल गरेन । किन गर्न चाहेन, सबैले बुझिराखेकै कुरा छ । ५१ प्रतिशत हुनेबित्तिकै पार्टीको आधिकारिकता दिने र नयाँ पार्टी खोल भन्ने निर्वाचन आयोग, ७० प्रतिशत  बुहमत हुँदासमेत साढे २ महिनासम्म केही पनि नगरेर बस्ने । हामी पटक–पटक गएका छौँ । सनाखत गर्न हामी तयार छौँ, सबै केन्द्रीय सदस्य लिएर आउँछौँ भन्दा पनि भएन । राष्ट्रका प्रति, संविधान र गणतन्त्रका प्रति सोच्ने सबै मानिसहरुका लागि यो विचारणीय छ ।

मैले त पटक–पटक भनेको छु । संसदीय दलको बहुमतले हस्ताक्षर गरेर केपी ओलीलाई दलको नेताबाट हटाएको छ । मलाई दलको नेता निर्वाचित गरेको छ । र, त्यो निर्णय र हस्ताक्षरसहित संसद् सचिवालयमा दर्ता भएको छ । दल नेताबाट पनि हट्ने र पार्टी नेताबाट पनि हटाइसकेपछि अविलम्ब उनको प्रधानमन्त्री पद गयो र नयाँ प्रधानमन्त्री चुन्ने प्रक्रिया सुरु हुनुपर्ने हो । तर, त्यसै दिन, जतिबेला हामीले संसदीय दलको बहुमत हस्ताक्षर लिएर बहुमतले केपी ओलीलाई संसदीय दलको नेताबाट हटाइयो भन्ने फैसलासहित दर्ता गर्न गयौँ । दर्ता गरेर बाहिर निस्कँदा त हाम्रो पार्टी त दुईवटा भइसकेछ । दर्ता गरेर पत्रकारहरुसँग कुरा गर्दा त पार्टी त दुईवटा भयो नि भनेपछि यो त विडम्बनापूर्ण कुरा भयो ।

माओवादी सिद्धियो अब र प्रचण्डको आवश्यकता छैन भन्ने प्रचार पनि यसैसँग जोडिएको छ । यो कुनै नियोजित प्रचार छ, किनभने त्यसो भनेर मात्रै यो प्रतिगमनलाई अघि बढाउन सकिन्छ । माओवादी आन्दोलनको औचित्य अझै छ, जनतामा प्रचण्डको लोकप्रियता अझै छ भन्ने कुरा गइराख्यो भने त गाह्रो हुन्छ फेरि । त्यसकारण जानीबुझी नियोजित ढङ्गले यो प्रचार गरिएको हो ।

अदालतमा रिट छ भने त्यो त ३ वर्षअघि कुरा हो । त्यो सामान्य खालको हो भन्ने ठानियो । बढीभन्दा बढी अर्को नाम खोज भन्ला वा निर्वाचन आयोगलाई यो मुद्दा तिमीहरुले नै हेर भन्ला भन्ठानियो । यस्तो होला भनेर कसैले पनि सोच्न सकेन । तर भयो, त्यही ।

त्यसकारण अहिले जे भइराखेको छ, त्यो नेपाली जनताले अहिलेसम्म गरेका आन्दोलनका उपलब्धिमाथि माथिबाट प्रहार भएको छ, एउटा डिजाइनमा । र, हामी त्यसका विरुद्ध छौँ । नेपाली जनता र नेपाल राष्ट्र त्यसको विरुद्धमा छन्  । प्राप्त उपलब्धिलाई रक्षा गर्दै अघि बढ्नुपर्छ भन्ने जनभावना छ । आम जनता यसमा छन् । तर अहिले प्रतिगमनतिर गएका मानिसहरुले यसलाई उल्ट्याउन सकिन्छ भन्ने ठानेका छन् र विभिन्न षड्यन्त्रमा लागेका छन् । त्यसैको परिणाम हो निर्वाचन आयोगले समयमै निर्णय नगरिदिने, अदालतले रिट निवेदकले दाबी नै नगरेको कुरामा गएर राजनीतिक निर्णय गरिदिने ।

माओवादी सिद्धियो अब र प्रचण्डको आवश्यकता छैन भन्ने प्रचार पनि यसैसँग जोडिएको छ । यो कुनै नियोजित प्रचार छ, किनभने त्यसो भनेर मात्रै यो प्रतिगमनलाई अघि बढाउन सकिन्छ । माओवादी आन्दोलनको औचित्य अझै छ, जनतामा प्रचण्डको लोकप्रियता अझै छ भन्ने कुरा गइराख्यो भने त गाह्रो हुन्छ फेरि । त्यसकारण जानीबुझी नियोजित ढङ्गले यो प्रचार गरिएको हो ।

किन प्रचण्ड संसदीय दलको नेता हुने निर्णय कार्यान्वयन भएन ? पार्टीको ७० प्रतिशतले कारबाही गरेको केपी ओलीलाई फेरि अध्यक्ष बनाउने, फेरि प्रधानमन्त्री बनाउने काम कसले गर्‍यो ? कुन संविधानअन्तर्गत, कुन विधानअन्तर्गत, कुन नीति नियमअन्तर्गत भन्दा त यो त छाडातन्त्रमा गयो अब । चिन्ताकोे विषय यो हो ।

त्यसकारण यो सबै क्रियाकलाप जे भइरहेको छ, म त्यस्तो आवेगमा त छैन । तर, कहीँ न कहीँ यो षड्यन्त्रप्रति मेरो हृदयमा आक्रोश चाहिँ छ । म नेपाली जनतासँग गम्भीर रुपले अपिल गर्न चाहिरहेको छु – नेपाल राष्ट्र र नेपाली जनताकाविरुद्ध षडयन्त्र भएको छ है । नेपाली जनताको र जनताले निर्वाचित गरेका प्रतिनिधिहरुको आत्मनिर्णयको अधिकारमाथि हमला भइरहेको छ ।

आफ्नोबारेमा आफैं सोच्ने, आफैं निर्णय गर्ने विधि पद्धति जे बनायौँ, जे संविधानमा व्यवस्था गर्‍यौँ, त्यो व्यवस्थामाथि प्रहार भइरहेको छ । त्यसलाई बन्धक बनाइएको छ । त्यसकारण, आम नेपाली जनता सजग हुनुपर्छ । यो प्रचण्डको व्यक्तिगत वा माओवादी मात्रैको कुरा होइन, यो आम जनताको कुरा हो । सबै जनताको कुरा हो ।

हिजो हामीले १२ बुँदे समझदारीमार्फत युगान्तकारी परिर्वतनको निम्ति सबै राजनीतिक दलहरु एक भएर जाऊँ भनेर सम्झौता गर्‍यौँ । युद्धलाई शान्तिमा रुपान्तरण गरौँ भनेर सम्झौता गर्‍यौँ । संविधान सभाको निर्वाचन गरौं र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जाउँ र नेपाली लोकतन्त्रलाई अब समावेशी लोकतन्त्रमा लैजाऊँ, समानुपातिक निर्वाचन प्रणालीलाई स्थापित गरौं भनेर हामीले सहमति गर्‍यौँ ।  त्यो अब माओवादीको मात्रै रहेन । यहाँ नेपाली काँग्रेस, नेकपा एमाले लगायतका ७ राजनीतिक दल, आम जनता जब सामेल भए, देश १९ दिनको जनआन्दोलन र जनयुद्ध आपसमा मिलेर विद्रोहतिर गयो र त्यसपछि यो राष्ट्रको सम्पत्ति भयो, माओवादीको मात्रै रहेन । यो कुरा बुझ्न जरुरी छ । अब संविधान सभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व प्रणाली यो सबैको भयो ।

यद्यपि त्यतिबेला यो पूर्ण छैन भन्ने हाम्रो भनाइ थियो । यो संविधानमा अझै परिमार्जनको आवश्यकता छ । तर जे–जति उपलब्धि संस्थागत भएका छन् । ती ठीक छन् र यसलाई आउने दिनमा अझै विकसित र परिमार्जन गर्दै लगिने ठाउँ राखिएको छ । पहिलोचोटि संविधानमा नेपाली जनतालाई सार्वभौम अधिकारको प्रयोग गरेको भनेर भनिएको छ । विगतका सबै संविधानमा कुनै व्यक्ति विशेषबाट निर्दिष्ट हुने भनिन्थ्यो । यो नै पहिलो संविधान हो, जहाँ सार्वभौम नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत संविधान जारी गरे भनेर घोषणा गरिएको यो नै पहिलो हो । यो सबैको हो । सबैको भएको हो ।

जतिबेला हामी युगान्तकारी परिवर्तनका निम्ति आन्दोलनमा थियौँ, जतिबेला काठमाडौँका ठाउँ–ठाउँमा सात दलले पनि आन्दोलन गरिराखेकै थिए, त्यतिबेला एकथरि मान्छेलाई गणतन्त्र मन पर्दैनथ्यो । सङ्घीयता मन पर्दैन भनिराखेकै थिए । समावेशी मन पर्दैन भनिराखेकै थिए । त्यस्ता मान्छेहरुले संविधान बनाउने बेलामा मन त परेको होइन, तर के गर्ने माओवादीले आँधिहुरी ल्यायो, मानियो भनेका थिए । मानियो भनेपछि त मानियो भयो होला भन्ठान्थें मैलेचाहिँ । यो परिवर्तनलाई स्वीकार गरियो भनेर सबैतिर प्रतिबद्धता व्यक्त गरेपछि त जे भएपनि सबैको भयो भन्ठान्थें । तर, आजका घटनाक्रमले त्यस्तो होइन रहेछ भन्ने देखायो । मान्छेहरुले त मन मनमा प्रतिशोध लिएर पो बसेका रहेछन् ।

ती मान्छे, जो हिजो नेपालमा गणतन्त्र आउनै सक्दैन भन्थे, ती त त्यहीँ रहेछन् । अहिले पनि गणतन्त्र कसरी मास्न सकिन्छ, सङ्घीयता कसरी मास्न सकिन्छ, समावेशी, समानुपातिक प्रतिनिधित्व प्रणाली, जो मधेसी, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम सबैका निम्ति जे जति अधिकार थिए, त्यो खोस्न चाहेका रहेछन् भन्ने देखिँदैछ । त्यो देखिइरहेको छ अहिले ।

संसद् विघटन भयो, यसलाई राष्ट्र र जनताका निम्ति, लोकतन्त्र र समावेशिताका निम्ति जीवन–मरणको सङ्घर्ष हो भनेर म सडकमा गएँ । पलेँटी कसेर बसेँ । कोहीले ठट्टा गरे, कोहीले व्यङ्ग्य गरे । तर मेरो मनमा चाहिँं फेरि म एकचोटि सत्यको पक्षमा, हिजो जे विषयमा लडेको हो, त्यो मुद्दाको पक्षमा फेरि जनताको काखमा पुगे भन्ने महसुुस गरेँ । मैले कता–कता रुमल्लिएको ठाउँबाट अप्ठ्यारो तुवाँलो फाटेर जनतासँग जोडिएको महसुस गरेँँ ।

यही परिवेशले के बनाएको छ भने माओवादी अब ‘रिभाइभ’ हुन्छ । मैले के देख्छु भने आउने दिनमा यो रिभाइभ हुन्छ । आम जनताले आफूले यी मुद्दाहरु, ०६२–६३ को आन्दोलनमार्फत स्थापित गरेको संविधान सभा र त्यसले स्थापित गरेका मुद्दाहरुमा आम जनताको सहभागिता हुन्छ र समर्थन हुन्छ भन्ने लाग्छ  ।

पछिल्लो आन्दोलनमा युवाहरुको ठूलो सहभागिता भयो, यसबाट म निकै खुसी भएँ । प्रतिगमनविरुद्धको आन्दोलनमा उहाँहरुको सहभागिता उत्साहपूर्ण रह्यो । अहिले हामीले विद्यार्थीहरुलाई –युवाहरुलाई लाखौं सदस्य थप्न ठूलो टार्गेट दिएको छ ।  पार्टीमा ५ लाख नयाँ सदस्य थप्ने भनेर विद्यार्थीहरुले अस्ति निर्णय गरेका छन् । युवाहरुले पनि त्यसरी नै भेलासम्म डेढ–दुई लाख अलग सदस्य बनाउँछौँ भनेका छन् । यो एउटा नयाँ उभार आउन खोजेको देख्छु । प्रतिगमन नराम्रो कुरा हो, तर यसले जनतामा गलत कुराविरुद्ध लड्नुपर्छ भन्ने आक्रोश, मनोविज्ञान तयार भएको देख्छु ।

मैले भन्नुपर्दा माओवादी अध्यक्षका हैसियतले मेरो जिम्मेवारी झन् कयौँ गुणा बढेको पो देख्छु । मेरो जिम्मेवारी सकियो भन्ने देख्दिनँ । मेरो जिम्मेवारी झन् बढ्यो, म खुसी छु ।

संसद् विघटन भयो, यसलाई राष्ट्र र जनताका निम्ति, लोकतन्त्र र समावेशिताका निम्ति जीवन–मरणको सङ्घर्ष हो भनेर म सडकमा गएँ । पलेँटी कसेर बसेँ । कोहीले ठट्टा गरे, कोहीले व्यङ्ग्य गरे । तर मेरो मनमा चाहिँं फेरि म एकचोटि सत्यको पक्षमा, हिजो जे विषयमा लडेको हो, त्यो मुद्दाको पक्षमा फेरि जनताको काखमा पुगेँ भन्ने महसुुस गरेँ । मैले कता–कता रुमल्लिएको ठाउँबाट अप्ठ्यारो तुवाँलो फाटेर जनतासँग जोडिएको महसुस गरेँँ ।

मैले त्यतिबेला पनि भनेको थिएँ, केपी ओलीले प्रतिगमनतिर गएर जनताको अधिकारमाथि हमला गरेर लडाइँ हार्न सुरु गरे । मैले जनतासँग जोडिएर लडाइँ जित्न सुरु गरेँ । यो लडाइँको अन्तिम फैसला जनताले गर्ने हो । जनता परिवर्तनको पक्षमा छन् । न्यायको पक्षमा छन् । शान्ति र समृद्धिको पक्षमा छन् भनेको थिएँ । अहिले पनि कुरा त्यही हो । त्यस अर्थमा मैले चाहिँ अलि गम्भीर ढङ्गले नै विचार गरेको छु । केही दिनभित्र देशमा विभिन्न भागमा र अझै जान्छु, मैले भनेको छु । सकेसम्म समय मिलाएर देशमा ७७ वटै जिल्लामा जान्छु । आम कार्यकर्तासँग अब जोडिन्छु । र, साँच्चै जनताले के चाहेका छन्, आम जनताको भावना र आवश्यतासँग पनि म अन्तर्क्रिया गर्छु । रुकुम र सुर्खेतको तस्र त एउटा भयो,  देशभरिका जनताले र हाम्रा आम कार्यकर्ता पङ्क्तिले अब के सोच्छन् भन्ने कुराको संश्लेषण गर्नेतिर म छु ।

अहिले एमालेभित्रको खनाल–नेपाल पक्षले समानान्तर कमिटीहरु बनाइराखेको छ । एमालेभित्र अन्तरविरोध छ । अर्कोतिर माओवादीको नेतृत्व तपाईंले गरिराख्नुभएको छ । यसले कम्युनिस्ट आन्दोलनमा पुर्‍याउने घाटाबारे तपाईंलाई आरोपित गर्नेहरुले आफूतर्फको घाटा चाहिँं देखिरहेका छैनन् वा देख्न चाहिरहेका छैनन् ?

त्यो त उनीहरुको प्रवृत्तिको कुरा भयो । तर, म के भन्छु भने केपीको असंवैधानिक या अलोकतान्त्रिक कदमका विरुद्ध, दम्भका विरुद्ध सङ्घर्ष गर्दा एमालेभित्रकै एउटा ठूलो हिस्सा उभियो । अझ भन्ने हो भने शान्ति र संविधानका निम्ति, गणतन्त्रका निम्ति हेलिएको हिस्सा थियो । मैले अघि भनेँ नि, एकथरी एमालेभित्रै केपी ओलीजस्ता मान्छे थिए, जो गणतन्त्र सम्भव छैन भन्दै हिँड्थे । त्यतिबेला एमालेका महासचिव माधव नेपाल हुनुहुन्थ्यो । उहाँहरुसँग हाम्रो लगातार छलफल हुन्थ्यो । म युद्धमै थिएँ । अन्तिममा संविधानसभा र गणतन्त्रका पक्षमा हाम्रो समझदारी बन्यो । त्यो माधवजीसँग बनेको हो । यो परिवर्तन ल्याउनेमा माधव, झलनाथजीहरुले नेतृत्व गरेको हिस्सा चाहिँ आजको कुरा होइन, १२ बुँदे समझदारी बनाउँदा, शान्ति सम्झौता गर्दा, या संविधान सभा र गणतन्त्र घोषणा गर्दा नेतृत्व गर्ने हिस्सा हो, त्यो । त्यसकारण माधवजीहरुसँग हाम्रो समझदारी र एकता मुद्दामै आधारित थियो ।

एमालेभित्र जो सङ्घर्ष चल्यो, त्यो अहिले मात्रै चलेको होइन । त्यो अलि अगाडिदेखि नै गहिरो गरी चलेको रहेछ । मैले त पछि नजिक पुगेपछि थाहा पाएँ । नवौँ महाधिवेशनमा जे प्रस्ताव पारित भयो, केपी ओलीले कहिल्यै त्यो प्रस्तावको पक्षमा एक शब्द बोलेनन्, लेखेनन् । त्यहाँ सङ्घर्ष चर्कै परेको रहेछ । चुनावी प्रक्रिया जुन ढङ्गले गयो, त्योप्रति पनि त्यहाँ निकै ठूलो विभाजन थियो । माधवजीहरु सत्यको पक्षमा र त्यो महाधिवेशनको लाइनको पक्षमा । केपी ओली त्यसलाई निषेध गर्ने र आफ्नो एकाधिकार कायम गर्नेमा । गुटलाई बलियो पार्ने पक्षमा गएकाले सङ्घर्ष पहिल्यैदेखि रहेछ ।

मैले एकता गरेँ । केपी ओली अध्यक्ष भएकाले एकता गर्ने बेलामा त उहाँसँगै कुरा गरेको थिएँ । मैले सहमति राम्रै गरेको छु, मलाई कुनै पश्चाताप छैन । केपी ओलीले एकातर्फ राजनीतिक, वैचारिक रुपले अबको हाम्रो राजनीतिक कार्यदिशा समाजवाद उन्मुख जनवाद हो है भन्नेमा सहमत भएर हस्ताक्षर गरेका छन् । जनताको बहुदलीय जनवाद इतिहासमा त्यसले राम्रो गर्‍यो, त्यसको समीक्षा गर्ने हो । मदन भण्डारीको भूमिकालाई पनि सम्मान गर्ने हो, तर अबको दिशा भने त्यो हुन सक्दैन भनेर सहमति गरेको हो ।

समीक्षा गर्दा, माओवादी आन्दोलनले नै नेपालमा आमजनतामा, त्यसमा पनि उपेक्षित समुदायमा जागरण ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको हो र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न र संविधान सभाको चुनाव गराउन माओवादी युद्धको मुख्य भूमिका भन्नेमा उहाँले र मैले सही गरेका छौँ । यसो गर्दा पार्टी एकता ठीक ट्रयाकमा जान्छ भनेर म खुसी हुने नै भएँ ।

यति मात्रै नभएर आलो–पालो अध्यक्ष र आलो–पालो प्रधानमन्त्री बन्ने भनेर हामीले नेतृत्व पनि टुङ्ग्याएका थियौँ । यसमा हस्ताक्षर छ, मेरो र केपी ओलीको । अन्य साथीहरुको पनि सही छ । अब बेइमानीको त औषधि भएन र त देशले दुःख पाउन खोजिरहेको छ । त्यही कुरा लागू गरेको भए त अहिले देशमा सामाजिक न्याय, आर्थिक विकासको गति, एउटा विशाल अभियान हुन्थ्यो । देश कहाँ पुग्थ्यो । तर, एउटा पनि पालना केपीजीले गर्ने केही देखिएन ।

एमालेभित्र सङ्घर्ष त हुनु नै थियो, त्यत्रो चिरा परिसकेको थियो, नवौँ महाधिवेशनभन्दा पहिलेदेखि नै । अनि त्यसमा सत्यको पक्षमा, परिवर्तनको पक्षमा, मार्क्सवादको पक्षमा, सङ्गठनात्मक विधि सिद्धान्तको पक्षमा उभिनेसँग मेरो स्वतः सहमति हुन्थ्यो, भयो । र, हामीले जित्यौँ । जितेको त हामीले हो नि त । ७० प्रतिशत कमान्ड गरेर बसेको त हामी हौँ नि त ।

एमालेको सन्दर्भ सोध्नुभयो तपाईंले । सङ्घर्ष त भयो । मेरो स्वाभावैले विचारले, मुद्दाले हिजोको इतिहास र विरासतले माधवजीहरुसँग निकटता हुँदै गयो । किनभने, पञ्चायतविरोधी आन्दोलनमा पनि ०४६ साल अगाडिको आन्दोलनमा पनि माधवजी र हामी धेरै कुरा गर्थ्यौं । शान्ति प्रक्रिया, १२ बुँदे सहमति, गणतन्त्र ल्याउन पनि हाम्रो धेरै ठूलो सहकार्य थियो । केपी त्यसको विरोधी देखिएपछि त आफ्नो इतिहासको विरासतका कारणले आफ्नो कर्मका कारणले माधवजी र हामी एक ठाउँमा हुँदै गइयो । केपीको प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्नुपर्छ भन्नेमा हामी पुग्यौं । सङ्घर्ष ग¥यौं ।

मैले १९ पृष्ठ लामो प्रस्तावमा जे लेखेको छु, त्यो मेरो मात्रै व्यक्तिगत होइन, त्यो माधवजीदेखि बामदेवजीसम्मको हो । सचिवालयको बहुमत, स्थायी समितिको बहुमत, केन्द्रीय समितिको त ७० प्रतिशत हो नि त त्यो ।  प्रचण्डको मात्रै त होइन नि ।

एमालेभित्र सङ्घर्ष त हुनु नै थियो, त्यत्रो चिरा परिसकेको थियो, नवौं महाधिवेशनभन्दा पहिलेदेखि नै । अनि, त्यसमा सत्यको पक्षमा, परिवर्तनको पक्षमा, मार्क्सवादको पक्षमा, सङ्गठनात्मक विधि सिद्धान्तको पक्षमा उभिनेसँग मेरो स्वतः सहमति हुन्थ्यो, भयो । र, हामीले जित्यौं । जितेको त हामीले हो नि त । ७० प्रतिशत कमाण्ड गरेर बसेको त हामी हौँ नि त ।

अहिले एमाले फुटोस् भन्ने मेरो दुराग्रह केही पनि छैन । सिङ्गै एमालेले सही बाटो लेओस्, एकताका बारेमा हामीले जुन लाइन पास गरेको हो, त्यही लेओस् । त्यहाँ माधवजीहरुको पक्ष हाबी होस् भन्ने मेरो चाहना त स्वाभाविक रुपमा हुन्छ नै, तर सिद्धियोस्, त्यो फुटोस् म बलियो हुन्छु भन्ने छैन ।

मलाई अहिले पनि कम्युनिस्ट आन्दोलनको एकता आवश्यक छ, हामीले गरेको एकता सही थियो, त्यो गलत होइन । तर, एकताका बेला गरिएका वैचारिक, व्यावहारिक, राजनीतिक, साङ्गठानिक र अरु प्राविधिक सहमति कार्यान्वयन केपीले गर्दैैनन्, यो प्रवृत्तिसँग नलडी राष्ट्र, जनता र लोकतन्त्रलाई खतरा हुने हो भनेर हामी सबै मिलेर लडेको हो । ममात्रै लडेको पनि होइन ।

आज पनि मेरो शुभकामना, सिङ्गै एमालेलाई माधवजीहरुले सही लाइनमा ल्याउन सक्नुहोस् र त्यसपछि फेरि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने अभियानमा अगाडि जान सकौँ । मेरो त्यही शुभकामना हुन्छ । म निकै उदारतापूर्वक, मेरो स्वाभाव सबैले बुझि पनि सके, एउटा कुरामा सहमत भएर अब यसरी जाने भनेपछि सानातिना कुरामा कचकच गर्ने मेरो हुँदैन । म माधवजीहरुसँग पछिल्लो चरणमा के गर्दा उहाँहरुलाई सजिलो हुन्छ, त्यही त्यही गर्थें । गरेको हो मैले । तर आज यो स्थिति भयो । मेरो शुभकामना छ, उहाँहरुलाई ।

संसद् विघटन गर्ने सिफारिस भएदेखि प्रतिगमनतिर जान खोज्ने निरङ्कुश प्रवृत्ति जुन देखियो, संविधान मिच्ने र लोकतन्त्रका मान्यताहरुको हत्या गर्ने जुन प्रवृत्ति देखियो, मैले सुरुदेखि नै भनेको यसका विरुद्ध खडा भएका सबै राजनीतिक दलहरु र शक्तिहरुको बीचमा सहकार्य हुनुपर्छ, समीकरण बन्नुपर्छ । यो त्यतिबेलादेखि नै मुद्दा भयो । जो–जो ओलीको कदम संविधानविरोधी र लोकतन्त्रविरोधी छ भनेर सडकमा गए, ती सबै एक  ठाउँमा आउनु सबैभन्दा प्राकृतिक र स्वाभाविक हुन्छ ।

तर, स्थिति के देखिन्छ भने एमाले अब एक हुन सक्ने सम्भावना त कम देखिएको छ । एमाले एक हुने भनेको माधवजीहरुको सोच र माधवजीहरुको पक्ष हाबी भए मात्रै एक हुन्छ एमाले । केपीकोमा एक हुन सक्ने त म देख्दिनँ । मैले तीन वर्षमा जे अनुभव गरेँ, त्यो असम्भव छ । माधवजीले नेतृत्व लिने, माधवजीको विचार वा झलनाथजीको विचार हाबी भयो भने एक हुन्छ, होस् । मेरो विश्लेषण यही हो ।

अहिलेको राजनीतिक समीकरणको कुरा गर्दा नेपाली काँग्रेसले धेरैपछि मुख खोल्यो, जसपा विभाजित हुन्छ कि के हुन्छ भन्ने थियो, उसले पनि मुख खोल्यो । जुन, तपाईंका निम्ति सकारात्मक पक्ष हो । अबको राजनीतिक समीकरण के त ?

राजनीतिक समीकरण कुनै स्वार्थ वा पद प्रतिष्ठाका लागि हुनुहुँदैन । त्यो भयो भने देश र जनताको हितमा हुँदैन । समीकरण मुद्दामा आधारित हुनुपर्छ ।

त्यसकारण संसद् विघटन गर्ने सिफारिस भएदेखि प्रतिगमनतिर जान खोज्ने निरङ्कुश प्रवृत्ति जुन देखियो, संविधान मिच्ने र लोकतन्त्रका मान्यताहरुको हत्या गर्ने जुन प्रवृत्ति देखियो, मैले सुरुदेखि नै भनेको यसका विरुद्ध खडा भएका सबै राजनीतिक दलहरु र शक्तिहरुको बीचमा सहकार्य हुनुपर्छ, समीकरण बन्नुपर्छ । यो त्यतिबेलादेखि नै मुद्दा भयो । जो–जो ओलीको कदम संविधानविरोधी र लोकतन्त्रविरोधी छ भनेर सडकमा गए, ती सबै एक ठाउँमा आउनु सबैभन्दा प्राकृतिक र स्वाभाविक हुन्छ । उनीहरु आएर यो निरङ्कुशतालाई परास्त गर्ने । जसरी, संसद् पुनर्स्थापना हुनुपर्छ भन्ने लडाइँ लडेर हामी त्यसमा सफल पनि भयौँ, त्यसरी नै अझै पनि निरङ्शुकतालाई जारी राख्ने जुन प्रयास भइराखेको छ, त्यसलाई परास्त गर्नुपर्छ । अब यो सरकार हट्नुपर्छ र नयाँ मुद्दामा आधारित सरकार बन्नुपर्छ । संविधानको रक्षा गर्ने, लोकतन्त्रको रक्षा गर्ने, राष्ट्रको आत्मनिर्णयको अधिकारको रक्षा गर्ने पक्षजति ढिला नगरीकन एक ठाउँमा आउनुपर्छ भन्ने म ठान्छु ।

०४६ सालदेखि नै पार्टीभित्र पनि एउटा प्रवृत्ति छ । मलाई हमला गर्नेहरु छन् । चितवनको माडीमा एकता महाधिवेशन थियो – मैले पाटनढोकामा गएर मम खान्छ भनेर आलोचना भयो, महाधिवेशन हलमै । पाटनढोकामा मम खाने कुरालाई लिएर महाधिवेशन हलमै यो मान्छे त्यसकारण ठीक छैन भन्ने पनि भयो । त्यस्तो पनि हेरेँ । 

अब गठन हुने सरकार चुनावी सरकार मात्रै हुने कि प्रतिनिधि सभाको पूरा कार्यकाल चलाउने सरकार बन्ला ?

मेरो विचारमा त्यो ५ वर्षको अवधि पूरा गर्ने सरकार नै हुनुपर्छ । किनभने, योबीचमा जुन दुर्घटना गराउन अझै खोजिएको छ, त्यसका विरुद्धको सरकार हुन्छ । उसै पनि चुनावको अवधि त आउँछ डेढ वर्षपछि । त्यसको तयारी गर्ने पूरा कार्यकाल सरकार नै हुुनुपर्छ भन्ने ठान्छु म । तर, यदि अरु दलहरुले ‘अर्ली इलेक्सन’ गरौँ भने भने पनि म त्यसमा विमति चाहिँं राख्दिनँ । त्यसो गर्‍यौँ भने पनि त्यो मुद्दामा आधारित सरकार हुन्छ र त्यसले चुनाव छिटो गराउने जिम्मा लिन्छ ।

नयाँ समीकरण बन्न किन ढिला भइरहेको छ ?

म निरन्तर सबैसँग सम्पर्कमा छु । अन्तर्क्रियामा छु । छलफलमा छु । भइराखेकै छ तर विस्तारै–विस्तारै परिस्थिति सकारात्मक अवस्थामै अघि बढिराखेकै म देख्छु । हिजो बेलुकासम्म आइपुग्दा स्थिति पोजेटिभ नै छ ।

नेपाली काँग्रेसले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ र यदि नदिने हो भने यो सरकार हटाएर आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्नुपर्छ भन्ने औपचारिक निर्णय गरेपछि त्यसले एउटा माहोल बन्यो । त्यसपछि तीन पार्टीको बैठक भयो । त्यहाँ जनता समाजवादी पार्टीले, खासगरी महन्थ ठाकुरजीबाट पहिलोचोटि औपचारिक प्रस्ताव आयो, नयाँ सरकार बनाउने भन्ने । हामीले त पार्टीमा राम्ररी छलफल गरेका छैनौँ, हामी छलफल गरेर छिट्टै भन्छौँ । जे होस् औपचारिक प्रस्ताव आउनु चाहिँं ठिकै हो भन्ने थियो उहाँको कुरा । छलफल गरेर निधो दिन्छौँ भनेकाले मैले यसलाई पनि सकारात्मक रुपमै हेरेको छु ।

प्रधानमन्त्रीमा तपाईंको दाबी छैन ?

मैले त पहिले पनि पुनर्स्थापनाको पक्षमा आन्दोलन गर्दा नै म प्रधानमन्त्रीको दौडमा छैन भनिसकेको छु । मेरो निम्ति संविधानको रक्षा, लोकतन्त्रको रक्षा, यो परिवर्तन जे भएको छ, समावेशिताको रक्षा, यसको रक्षा मुख्य कुरा हो । म त्यसको निम्ति जस्तोसुकै त्याग गर्न पनि तयार छु भनेर त्यतिबेलै भनेको हो । अहिले पनि मेरो यही भनाइ छ । म अहिले यो दौडमा छैन ।

जतिबेला देशव्यापी अभियानमा हुनुहुन्थ्यो, त्यतिबेला सीता दाहालको बिरामी अवस्थाको तस्बिर सार्वजनिक भयो  । तपाईं मैदानमा निरन्तर खटिराख्नुपर्ने अवस्था छ, उमेर पनि बढ्दै गइरहेको छ । यो सबै पक्षलाई हेर्दा प्रचण्ड बनेर निर्णय लिन कत्तिको गाह्रो छ । निर्णय लिने उत्प्रेरणा चािहँ कुराले दिने रहेछ ?

भावनात्मकरुपले सोच्दा एउटा होला । तर मैले कसरी सोच्छु भने राष्ट्र र जनताको निम्ति इमानदारिताका साथ लड्ने मान्छेहरुलाई इतिहास र घटनाक्रमले पटक–पटक अग्निपरीक्षा लिइराख्छ । साँच्चै राष्ट्रको स्वाधीनता र स्वतन्त्रताको पक्षमा या जनताको हक–अधिकारको पक्षमा जस्तोसुकै कष्ट भोग्नुपरे पनि पीडा भए पनि सहेर अन्तिम समयसम्म बस्ने कि नबस्ने, बच्ने कि नबच्ने भन्ने मुद्दा हो यो ।

अस्ति छोरीहरुले र म्याडमको फोटो हालिहालेछन् । मैले त नहालेको भए हुने भनेँ । छोरीहरुको आलोचना पनि गरेँ । सबैलाई बिरामी छन् भनेर थाहा छ नि भनेँ। त्यसमा टिप्पणीहरु केही घण्टाभित्रै यति धेरै आएछ । मलाई सहानुभूति वा ढाडस दिनेहरुको त कमी त छैन । म तिनीहरुप्रति पनि आभारी छु । मलाई आलोचनात्मक टिप्पणी गर्नेहरुप्रति पनि म आभारी छु ।

चाहे जनयुद्धको समयमा हजारौँ सदस्यहरु, हाम्रो असाध्यै राम्रा साथीहरु, पोलिटब्युरो र केन्द्रीय कमिटीदेखि तल्लो तहसम्मका, जनमुक्ति सेनाका सदस्यहरु हजारौँको बलिदान हुँदाका भाव अनुभूति हुन्, उनीहरुप्रतिको जिम्मेवारीबोध मलाई जसरी हुन्छ नि, मेरो टाउकोमा त यो सबै छ । मैले त्यसप्रति इमानदार हुनुपर्छ । मैले राष्ट्रका लागि र जनताका लागि सबै वर्ग, उत्पिडित समुदायको निम्ति भनेर मैले जे मुद्दाहरु अघि सारेँ, जनताले जसरी साथ दिए, म ती जनताप्रति निष्ठावान् भएर बस्नुपर्छ भन्नेले मलाई एउटा ठाउँमा बनाइराख्छ  ।

अस्ति छोरीहरुले र म्याडमको फोटो हालिहालेछन् । मैले त नहालेको भए हुने भनेँ । छोरीहरुको आलोचना पनि गरेँ । सबैलाई बिरामी छन् भनेर थाहा छ नि भनेँ । त्यसमा टिप्पणीहरु केही घण्टाभित्रै यति धेरै आएछ । मलाई सहानूभूति वा ढाडस दिनेहरुको त कमी त छैन । म तिनीहरुप्रति पनि आभारी छु । मलाई आलोचनात्मक टिप्पणी गर्नेहरुप्रति पनि म आभारी छु ।

मैले मार्क्सवाद र समाज विकासको जे विचार र विज्ञानलाई समात्नुपर्छ भनेर जसरी बुझें, म त्यसप्रति इमानदार हुनुपर्छ । त्यसकारण हाम्रो परिवारमा हुने छोराको, छोरीको मृत्युदेखि लिएर म्याडमको अहिलेको अवस्था सबैले मभित्र संवेदना र भावुकता त ल्याउँछ नै, तर, म के देख्छु भने मेरो कर्तव्य के त ? म पीडित भएर बस्ने र आफ्नो जिम्मेवारीबाट थाक्ने गरेर पूरा हुन्छ त भन्दा यो त गलत बाटो हो । म त राष्ट्रको निम्ति र जनताको निम्ति अझ बढी खट्नुपर्छ । यो पीडालाई मैले नयाँ शक्ति आर्जन गर्ने आधारको रुपमा लिनुपर्छ । यसलाई पनि मैले सहन गर्नसक्छु भन्ने कुरा प्रमाणित गर्नु छ जीवनमा भन्ने पर्छ मलाई । मेरो विचार र मभित्रको प्रवृत्तिले मलाई अझ बढी सक्रिय हो भन्छ ।

हुन त उमेरले ६७ लागिसकेँ । तर फेरि पनि उमेर मुख्य कुरा होइन । उमेरले आफ्नो कर्तव्य र जिम्मेवारीलाई कम गर्ने भन्दैन । बरु त्यो अझ बढाउनुपर्छ । जति उमेर बढ्दै जान्छ, त्यति नै अनुभवहरु सङ्केन्द्रित हुँदै जान्छन् । परिपक्वताहरु आउँछन् । त्योचाहिँ राष्ट्र र जनताको पक्षमा झन् बढी लगाउनुपर्ने हुन्छ । अन्तिम साससम्म लगाउनुपर्ने हुन्छ ।

यो सबैले मलाई अझै दृढतापूर्वक नै लाग्नुपर्छ है भन्ने बनाएको छ । त्यस अर्थमा म भाग्यशाली पनि भन्ने गर्छु आफूलाई, मैले जनयुद्ध गर्ने, शान्ति सम्झौता गर्ने, संविधान सभा ल्याउने, गणतन्त्र ल्याउने, चुनाव गराउने, कम्युनिस्ट एकता गराउने र दुईतिहाई बहुमत कम्युनिस्ट पार्टीको आउने । यो एउटा असाधारण परिस्थिति सिर्जना भएको हो । यसमा नेतृत्वदायी भूमिका खेल्ने अवसर मलाई प्राप्त भइरह्यो । सबैलाई त यस्तो अवसर प्राप्त हुँदैन, नेपाली जनताले दिइराखे मलाई ।

फेरि, सुरुदेखि मविरुद्ध यो मान्छेले गलत गरेको छ, सिध्याउनुपर्छ भन्नेहरु पनि छन् । ०४६ सालदेखि नै पार्टीभित्र पनि एउटा प्रवृत्ति छ । मलाई हमला गर्नेहरु छन् । चितवनको माडीमा एकता महाधिवेशन थियो – मैले पाटनढोकामा गएर मम खान्छ भनेर आलोचना भयो, महाधिवेशन हलमै । पाटनढोकामा मम खाने कुरालाई लिएर महाधिवेशन हलमै यो मान्छे त्यसकारण ठीक छैन भन्ने पनि भयो । त्यस्तो पनि हेरेँ ।  जनयुद्ध गरेपछि ३ महिना–६ महिना सिद्धिन्छ भन्ने पनि भोगे मैले । त्योभित्रका धेरै पीडा, आँशु, हाँसो, आक्रोश, सबै–सबैको क्लाइमेक्स भोगेको छु मैले । यो अहिलेको समाजको उपल्लो वर्गकाले यो कुरा भन्न र सुन्न चाहँदैनन् । कसैलाई भन्न पनि चाहँदैनन्, कति धेरै क्लाइमेक्सहरुबाट नेपाली समाज गुज्रियो ।

प्रचण्ड अब मेरो व्यक्तिगत कुरा मात्रै हो भन्ने मलाई लाग्दैन, एउटा परिवर्तनको अभिव्यक्ति हो । उसलाई सिध्याउँदा के हुन्छ ? लोकतन्त्र सुदृढ हुन्छ ? समाजवाद आउँछ ? यो त उल्टो भइरहेको छ ।

यसबाट म मात्रै होइन, नेपाली जनता नै गुज्रिए । समाज नै गुज्रियो । त्यो सबै कुराको एउटा केन्द्रीकरण छ । त्यसकारण यो सबै कुराको कारणले म यी पीडाहरु छन् । सबैको अभिव्यक्ति भन्नुहुन्छ भने संविधानको रक्षा गर्ने, यसलाई परिमार्जन गर्ने, प्रतिगमनका षड्यन्त्रहरुलाई परास्त गर्न नेपाली जनतासँग मिलेर अन्तिम साससँग लड्ने प्रतिबद्धता हो मेरो । यसलाई राम्रोसँग बुझिदिए हुन्थ्यो भन्नेबाहेक मेरो अरु स्वार्थ छैन ।

भित्र र बाहिरका धेरैले मलाई जसरी पनि सियाउने भनेर एकथरीले भनिरहेका छन् भनेर मलाई दिनहुँ सुनाउँछन् । अन्तर्वार्ता पनि आउँछन् । पहिलो टार्गेट प्रचण्डलाई सिध्याउने पनि भन्छन् । मलाई सिध्याउन मैले के गरेको छु ? मैले त शान्ति सम्झौतापछि इमानदारिताका साथ सेना समायोजन, हतियार व्यवस्थापन, शान्ति सम्झौतालाई निष्कर्षमा पुर्‍याएन खोज्ने मान्छेलाई सिध्याउन खोज्ने काम कसले गर्न खोजिरहेको छ ? के उद्देश्यका लागि गरिरहेको छ ? फेरि नेपाल विद्रोहमा जाओस् भन्या हो ? फेरि नेपाल अराजक होस्, दिनदिनै मान्छे मर्ने होस् भन्ने चाहेको हो ? नेपाललाई भुमरीमा पारेर अध्याँरो सुरुङमा लगेर हाल्न खोजेको हो, कसैले ? प्रचण्डलाई सिध्याउने भनेको त त्यही हुन्छ ।

प्रचण्ड अब मेरो व्यक्तिगत कुरा मात्रै हो भन्ने मलाई लाग्दैन, एउटा परिवर्तनको अभिव्यक्ति हो । उसलाई सिध्याउँदा के हुन्छ ? लोकतन्त्र सुदृढ हुन्छ ? समाजवाद आउँछ ? यो त उल्टो भइरहेको छ ।

मेरो प्रतिबद्धता लोकतन्त्रविरुद्ध प्रतिगमनतिर जान खोजिरहेको प्रवृत्तिविरुद्ध अन्तिम समयसम्म लड्ने भन्ने हो । जे–जे परे पनि गर्ने । फेरि पनि आफ्नो उद्देश्यका निम्ति झन् बढी ताकतका साथ लड्नुपर्छ मैले । मेरो बुझाइ यही हो ।

नयाँ वर्षको दिन विशेष गरी युवा र आम नेपाली जनतालाई के भन्न चाहनुहुन्छ ?

मैले धेरै कुरा भनिसकेँ । २०७७ सालको जस्तो नयाँ वर्ष नहोस् । एकातिर कोभिड १९ को कारणले संसारभरका जनतालाई ठूलो पीडा भयो । अब त्यस्तो नहोस् । हुन त फेरि दोस्रो लहर आउने क्रम देखिएको छ । जनतालाई हामी सबै सतर्क हौँ र सतर्कता अपनाऔँ भन्न चाहन्छु ।

र, यो नयाँ वर्षमा मैले गर्ने अपिल भनेको युवाहरुलाई । युवा नै परिवर्तनका लागि सबैभन्दा क्रियाशील, सबैभन्दा गतिशील, सबैभन्दा सिर्जनशील शक्ति हो । देशमा इतिहासको चक्कालाई पछाडि धकेल्ने षड्यन्त्र भएको छ, एकथरी तत्वहरुले त्यो कोसिस गरेका छन्, यसका विरुद्ध सम्पूर्ण जनता मिलेर सम्पूर्ण युवा शक्ति र अगाडि बढनुपर्छ भन्ने मेरो शुभकामना र अपील छ । नयाँ वर्षले युवाहरुलाई गलत चिजका विरुद्ध सङ्घर्ष गर्ने प्रेरणा देओस् भन्ने कामना गर्छु ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.