शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डले एमसीसीमा समर्थन जनाएको ओलीको दाबी

आइतबार, ०५ वैशाख २०७८, २३ : ३१
आइतबार, ०५ वैशाख २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज (एमसीसी) सम्झौतालाई समर्थन जनाएको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् । अध्यक्ष प्रचण्डले अमेरिकीहरुलाई भेटेर एमसीसीमा समर्थन जनाएको ओलीले दाबी गरेका हुन् ।

बालुवाटारमा शनिबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले कुनै देश वा राजदूतको नाम नलिई प्रचण्डले विदेशीलाई भेटेर एमसीसीमा सहमति जनाएको लाक्षणिक भाषामा बताए ।

सर्वदलीय बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले रातोपाटीसँग भने, ‘प्रधानमन्त्रीज्यूले कसैको नामै त लिनुभएन, तर विदेशीलाई भेटेर म एमसीसी पास गर्छु, भन्दै हिँडेका छन् भन्नुभयो । उहाँको संकेत प्रचण्डतिर लक्षित रहेको प्रष्टै बुझ्न सकिन्थ्यो । र, एमसीसीमा विदेशी भन्नाले अमेरिकालाई बुझ्नु स्वाभाविकै हो ।’  

सर्वदलीय बैठकमा सहभागी नेमकिपाका सांसद प्रेम सुवालका अनुसार अध्यक्ष प्रचण्डले अमेरिकी राजदूतलाई बोलाएर ‘प्रधानमन्त्री बन्न आफूलाई सहयोग गरे एमसीसी अनुमोदन गर्न आफू  तयार रहेको’ भनेर प्रधानमन्त्री ओलीले शनिबार सबैका सामु सुनाएका थिए ।

‘केपी ओलीले एमसीसी पास गर्दैनन्, मलाई प्रधानमन्त्री बनाउन सहयोग गर्नुपर्यो म एमसीसी पास गरिदिन्छु भनेर भनेका रहेछन्’, सुवालले प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै रातोपाटीसँग भने, ‘एमसीसीबारे संसदलाई छलफल गरेर पास गर्ने÷नगर्ने अधिकार छ, त्यसैले मैले सभामुखलाई पटक–पटक भनेको हो, तर सभामुखले पेश नै गर्दैनन्, उनी असंवैधानिक ढंगले चल्न खोजिरहेका छन् ।’

बैठकमा प्रधानमन्त्री ओलीले कि सभामुख सापकोटाको स्वेच्छाचारिता बेहोरिरहने, कि सापकोटाको विकल्प खोज्नु बाहेक आफूहरुसँग कुनै विकल्प बाँकी नभएको बताएका थिए ।

नेमकिपा नेता सुवालले शनिबारको सर्वदलीय बैठकमा आफूहरुले एमसीसीको विरोध गरेको बताए । ‘एमसीसी देशको सार्वभौमसत्तासँग जोडिएको छ । यो अमेरिकी हिन्द प्रशान्त रणनीति अन्र्तगतको सैन्य गठबन्धन हो’ सुवालले भने, ‘त्यसकारण यो स्वीकार गर्यो भने अमेरिका र भारत मिलेर चीनलाई अप्ठेरो पार्न नेपालमा विशाखापटनममा जस्तै हतियार राख्न बाटो खुल्छ ।’

बैठकमा सहभागी जनमोर्चाका सचिव पुरीले पनि एमसीसीको चर्को विरोध गरेका थिए । संसदबाट एमसीसी पारित गरिए राष्ट्रिय जनमोर्चा आन्दोलनमा उत्रने पुरीले बताएका थिए ।

बैठकमा राप्रपाका प्रतिनिधि डा. प्रकाशचन्द्र लोहनीले भने एमसीसीको खासै विरोध नगरी ठूला दहरुलाई ‘तपाईहरु मिलेर जे गर्नुपर्छ, गर्नुहोस्’ भनेका थिए । काँग्रेस र मधेसवादी दलले भने एमसीसीमा खुलेर समर्थन जनाएको जनमोर्चा नेता पुरीले बताए ।

 

 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप