शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महन्थ ठाकुर : राजनीतिका एक सन्यासी !

पारिवारिक ‘ट्रयाजेडी’देखि प्रधानमन्त्रीको आश्वासनसम्म
शुक्रबार, ०३ वैशाख २०७८, १२ : ५६
शुक्रबार, ०३ वैशाख २०७८

नेपालको राजनीति अहिले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरको वरिपरि घुम्न थालेको छ । कतिपयले ठाकुरलाई सम्भावित प्रधानमन्त्रीकै रूपमा चर्चा गर्न थालेका छन् । नजिकबाट नचिनेकाहरुले पनि सोध्न थालेका छन्– आखिर को हुन् महन्थ ठाकुर ?

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य, ७८ वर्षीय महन्थ ठाकुर जति शालीन र भद्र देखिन्छन्, उनीभित्र त्यतिकै क्रान्ति र विद्रोह पनि छ । महन्थको जीवन सङ्घर्षको कथाले भरिएको छ । ७८ वर्षको उमेरमा पनि उनी सङ्घर्षको राजनीतिमा सक्रिय छन् ।

को हुन् ठाकुर ?

महोत्तरीको पिपरा गाउँपालिकास्थित एकरहियामा जन्मेका महन्थ ठाकुर नेपाली काँग्रेस छाडेर तमलोपाको अध्यक्ष हुँदै मधेसको राजनीतिमा आएका हुन् । ठाकुरको राजनीतिक पृष्ठभूमि काँग्रेस हो । काँग्रेसमा उनको यात्रा २०१६ मा विद्यार्थी राजनीतिबाट सुरु भयो । काँग्रेसको कोषाध्यक्ष र विज्ञान तथा प्रविधि मन्त्री छाडेर २०६४ सालमा उनी मधेसको राजनीतिमा हेलिएका हुन् ।

ठाकुरको प्रारम्भिक शिक्षा गाउँमै भएको थियो । उच्च शिक्षाका लागि जनकपुर आएपछि ठाकुरले  राजनीतिमा चासो लिन थाले । जनकपुरमा उनी हरिहर विरही, महेन्द्रकुमार मिश्र, केशव कोइराला आदिसँगको सङ्गतमा परेर काँग्रेसमा लागे ।

जनकपुरका पत्रकार राजेश्वर नेपालीका अनुसार २०२६ सालतिर ठाकुर काँग्रेसनिकट छात्र सङ्घको सभापति भएका थिए । उनी नेपाल विद्यार्थी सङ्घका संस्थापक केन्द्रीय सदस्य पनि हुन् ।

महन्थ ठाकुर विद्यार्थीकालमा २०१७ साल पुस १ मा राजा महेन्द्रले गरेको ‘कु’ विरुद्ध आन्दोलन गर्ने क्रममा पक्राउ परे । त्यतिबेला उनीमाथि राजकाजको मुद्दा लागेको थियो ।

जेलमै बसेर उनले स्नातकोत्तर अध्ययन गरे । उनले कानुनमा स्नातक (बीएल) समेत अध्ययन गरेका छन् ।

 


उच्च शिक्षा सकेपछि ठाकुरले जनकपुर क्याम्पसमा प्राध्यापक भएर काम गर्न थाले । प्राध्यापकको काम गर्दागर्दै उनी राजनीतिमा पनि सक्रिय थिए । विद्यार्थीहरुले गरेको आन्दोलनमा उनी सहभागी भएपछि उनलाई प्राध्यापकबाट हटाइयो ।

प्राध्यापकबाट हटेपछि उनी सन् १९७५ मा नेपाली काँग्रेसले भारतको सीतामढीमा बनाएको क्याम्पमा गए । त्यो क्याम्पको नेतृत्व गणेश नेपालीले गरेका थिए । महोत्तरीका बजरङ्ग नेपाली भन्छन्, राजा वीरेन्द्रको राज्याभिषेक हुनेबेलामा भारतीय प्रहरीद्वारा महन्थ ठाकुरसहित गणेश नेपाली, वासुदेव कोइराला लगायतका नेताहरु समातिए । उनीहरुमाथि हातहतियार ओसार–पोसार गरेको आरोप थियो । उनीहरुलाई पक्राउ गरेर विहारको मुजफ्फरपुर जेलमा राखियो । बिहारको मुख्यमन्त्रीमा कर्पुरी ठाकुर नियुक्त भएपछि उनीहरुको मुद्दा फिर्ता भयो ।

सन् १९७७ मा राष्ट्रिय मेलमिलापको नारा दिएर काँग्रेसका नेताहरु नेपाल फर्केका थिए । त्यसबेला बिहारबाट आउनेबित्तिकै महन्थलाई नेपाल प्रहरीले पक्राउ गर्यो र उनलाई सर्लाहीको मलङ्गवा जेलमा राखियो । उनी २०३६ सालमा रिहा भए । र, जनमत सङ्ग्रहमा बहुदलको प्रचार–प्रसारमा लागे ।

महन्थको राजनीतिक यात्रा जनकपुरबाट सुरु भएको थियो । उनको जन्मथलो महोत्तरी भए पनि कर्मक्षेत्र भने सर्लाही थियो । सर्लाहीमा उनी वकालतको काम गर्थे । वकालत गर्नुका साथै राजनीतिक सक्रियता पनि त्यस्तै थियो ।

सर्लाहीका भिखारी मन्सुर सम्झन्छन्, ‘महन्थ ठाकुर सर्लाहीमा कानुन व्यवसायीका रूपमा आउनुभयो । तर उहाँ नेता हुनुभयो । वकालतभन्दा बढी राजनीतिक गतिविधिमा उहाँको रुचि थियो ।’

वकालतका साथै सर्लाही क्याम्पसमा महन्थले अध्यापन पनि गराउँथे । भिखारी मन्सुर मेयरमा चुनाव लडेपछि उनको प्रचार–प्रसारमा ठाकुर लागेका थिए । प्रध्यापक भएर चुनाव प्रचारमा लागेको भन्दै त्यहाँबाट उनलाई बर्खास्त गरियो । भिखारी र ठाकुर दुवै राजनीतिक सहकर्मी हुन् ।

भिखारी मन्सुरका अनुसार २०४६ सालको आन्दोलनमा महन्थ जेल परेका थिए । आन्दोलन सफल भएपछि बहुदल आयो र उनी रिहा भए ।

पारिवारिक ‘ट्रयाजेडी’

महन्थ ठाकुरलाई नजिकबाट चिन्नेहरुले उनलाई त्यागी नेता मान्छन् । राजनीतिमा लागेपछि निजी सम्पत्ति त्याग गरेका छन् । उनलाई सकुम्बासी नेताभन्दा पनि हुन्छ । न उनको आफ्नो जमिन छ, न घर ।

काठमाडौँमा महन्थ छोरी–ज्वाइँका घरमा बस्छन् । काठमाडौँबाट मधेस जाँदा कहाँ बस्ने ठेगान हुँदैन । कहिले होटलमा बस्छन्, कहिले कार्यकर्ताको घरमा ।

महोत्तरीमा ठाकुरको आफ्नो जग्गाजमिन र घर छैन । सर्लाहीमा काम गर्दा उनले जमिन किनेर घर बनाएका थिए । पछि उनले त्यो घर पार्टीलाई दिएको निकटस्थहरु बताउँछन् । सोही घरमा पार्टीका गतिविधि हुन थालेपछि घर छाडेर उनी डेरा लिएर बस्न थालेको भिखारी मन्सुरले रातोपाटीलाई बताए ।

मधेसी दल खोलेपछि ठाकुरले त्यही घरमा नयाँ दलका गतिविधि सुरु गरे । अहिले त्यहाँ जसपा नेपालको गतिविधि हुन्छ । त्यो सम्पत्ति पार्टीले उपभोग गरिरहेको छ ।

महन्थका दाजुभाइ दुई जना हुन् । जगदीश ठाकुर उनका दाजु हुन् । जगदीशको निधन भइसकेको छ । 

महन्थको पहिले महोत्तरीमा जग्गा र घर थियो । जनकपुर आएर राजनीति सुरु गरेपछि उनले जमिन र घरको मतलबै गर्न छाडे । त्यसको खोजबिनै गरेनन् । दाजुले नै जोतभोग गरे । महन्थका दाजुतिरको परिवार अझै पनि महोत्तरीमै छ । 

महन्थका नाति दुर्गेश ठाकुर भन्छन्, ‘हजुरबुवाले कहिल्यै केही खोज्नुभएन । राजनीतिमा लागेपछि कहिल्यै पनि घरतिर फर्केर हेर्नुभएन । जनकपुरमा बस्न थाल्नुभयो । त्यहीँबाट कहिले जेल, कहिले भारत त कहिले कहाँ–कहाँ हुनुभयो ।’

नाति दुर्गेशका अनुसार महन्थको अधिकांश समय महोत्तरीभन्दा बाहिरै बित्यो । घरपरिवारसँग मतलबै राखेनन् । उनले राजनीतिलाई नै सबथोक माने । उनका लागि परिवार र सम्पत्ति केही होइन ।

सर्लाहीमा डेरा गरी बस्दा २०४५ सालतिर खाना पकाउने क्रममा स्टोभ पड्किएर महन्थकी श्रीमती घाइते भइन् । उपचारकै क्रममा उनको मृत्यु भयो । महन्थको विवाह भारतमा भएको थियो । सर्लाहीको डेरामा उनी श्रीमतीका साथ बसेका थिए ।

महन्थका दुईजना छोराछोरी रहेकोमा दुर्घटनामा परेर छोराको मृत्यु भइसकेको छ । छोरी डा. मिनाक्षी झाको बिहाबारी भइसकेको छ ।

काँग्रेस नेताका रूपमा महन्थ ठाकुर

२०४८ को आम चुनावमा नेपाली काँग्रेसका तर्फबाट सर्लाही–५ बाट जितेर महन्थ प्रतिनिधि सभामा आए । उनी २०५१ सम्म उपसभामुख बने । त्यसबेला दमननाथ ढुङ्गाना सभामुख थिए ।

२०५१ सालको मध्यावधि चुनावमा पनि महन्थले सर्लाहीबाट  जिते । त्यसपछि उनी कृषि मन्त्री भए । ०५६ सालपछि उनी कानुनमन्त्री पनि बने ।

काँग्रेसमा रहँदा ठाकुर गिरिजाप्रसाद कोइरालाका विश्वास पात्रमध्येका एक थिए । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन्, ‘महन्थ ठाकुरलाई पार्टीमा निकै सम्मान थियो । गिरिजाबाबुले उहाँलाई निकै माया गर्नुहुन्थ्यो ।’

उपसभामुख बनाउनेदेखि लिएर एकैचोटि केन्द्रीय सदस्यबाट कोषाध्यक्ष तथा विभिन्न समयमा मन्त्री बनाउने काम पनि पार्टीले गरेको बताउँदै पौडेल भन्छन्, ‘तर यति सम्मान र प्रतिष्ठा हुँदाहुँदै उहाँ किन काँग्रेस छाडेर जानुभयो, उहाँलाई नै थाहा होला ।’

काँग्रेसमा ठाकुरलाई क्रान्तिकारी एवं आन्दोलनकारी नेताका रूपमा लिइन्थ्यो । जस्तोसुकै चुनौती हाँसी–हाँसी स्वीकार गर्ने गुण ठाकुरमा रहेको काँग्रेस नेता पौडेलले सम्झन्छन् ।

धेरै नबोल्ने, कुनै पनि विषयलाई गम्भीर रूपमा लिने र त्यसको समाधान गर्नेतिर लाग्ने ठाकुरको स्वाभाव रहेको उनी बताउँछन् ।

सर्लाहीमा रहँदासम्म ठाकुर नेपाली काँग्रेसका जिल्ला सदस्य थिए । २०४८ सालमा चुनाव जितेर संसदीय राजनीतिमा आएपछि काँग्रेसको केन्द्रीय सदस्य बने । उनी कृषि, सञ्चार, विज्ञान र कानुन मन्त्रीसम्म बन्न सफल भए ।

काँग्रेस छाडेर मधेसतिर

महन्थ ठाकुर काँग्रेसमा कोषाध्यक्ष र विज्ञान तथा प्रविधिमन्त्री भएकै बेला ती पदहरुबाट राजीनामा दिएर मधेस राजनीतिमा लागेका हुन् ।

धनुषाका काँग्रेस सभापति रामसरोज यादवका अनुसार ठाकुरले पार्टीको महामन्त्री माग गरेका थिए । तर गिरिजाप्रसाद कोइरालाले सो पद डा. रामवरण यादवलाई दिएपछि उनी पार्टी परित्याग गरेर मधेस राजनीतिमा लागेका हुन् ।

तर जसपा नेपालका नेता वृषेशचन्द्र लाल भने काँग्रेस मधेसको माग र अधिकारमा गम्भीर नभएका कारण महन्थले पार्टी छाडेको बताउँछन् ।

महन्थले काँग्रेस छाड्दै गर्दा मधेसमा आन्दोलनको सुरुवात भइसकेको थियो । काँग्रेसमा महन्थ ठाकुर, विजयकुमार गच्छदार, जेपी गुप्तालगायतका नेताहरुले मधेसको अधिकारका लागि अवाज उठाइरहेका थिए । अन्ततः काँग्रेसले कुनै सुनुवाइ नगरेको भन्दै महन्थ ठाकुरसहित अन्य नेताहरुले काँग्रेस छाडे ।

तमलोपा गठन

नेपाली काँग्रेस छाडेपछि महन्थ ठाकुरले आफ्नै नेतृत्वमा २०६४ सालमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरे । तत्कालीन मधेसी जनअधिकार फोरम र सद्भावना पार्टीसँग मोर्चा बनाएर तमलोपा पनि मधेस आन्दोलनमा होमियो ।

आन्दोलन सफल भएपछि २०६५ सालमा भएको संविधान सभा चुनावमा महन्थ सर्लाहीबाट चुनाव लडे । तर जित्न सकेनन् । पछि उनलाई मन्त्रिपरिषद्बाट मनोनयन गरेर संविधान सभा सदस्य बनाइयो ।

पहिलो संविधान सभाको समयमा महन्थको पार्टी पटक–पटक सरकारमा गयो । तर ठाकुर आफू कहिल्यै मन्त्री बनेनन् । मन्त्री बन्न पटक–पटक आएको प्रस्ताव उनले इन्कार गरे ।

दोस्रो संविधान सभा चुनावमा पनि उनी सर्लाहीमा  पराजित भए । तर चुनावमा पराजित भए पनि राजनीतिक सक्रियतामा कमी ल्याएनन् । संविधान निर्माणको विषयमा हुने छलफल होस् वा कुनै उच्च स्तरीय वार्ता होस्, सबैमा पार्टीका तर्फबाट उनको उपस्थिति हुन्थ्यो ।

२०७० मा भएको तेस्रो मधेस आन्दोलनमा पनि ठाकुर सक्रिय भएर लागे । कहिले मोर्चा बनाएर त कहिले एक्लै उनी मधेस आन्दोलनमा निरन्तर रहे ।

महन्थ संसदमा नहुँदा पनि उनको सक्रियता कम थिएन । कहिले उनलाई राष्ट्रपति बनाउने चर्चासमेत चल्थ्यो ।

२०७४ मा भएको प्रतिनिधि सभा चुनावमा आफ्नो जन्मथलो महोत्तरीबाट ठाकुरले चुनाव जिते । मधेसमा रहेका तमलोपासहित अन्य विभिन्न ६ दललाई मिलाएर उनले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बनाएका थिए । सुरुमा उनलाई त्यो पार्टीको संयोजक बनाइएको थियो, पछि आलोपालो प्रणाली लागू गरी अन्य नेताहरु पनि संयोजक भए ।

यसबीचमा ६ वटा दल मिलेर बनेको राजपामा निकै उतार–चढाव आयो । कहिलेकाहीँ पार्टी फुट्ने अवस्थामा पनि पुग्थ्यो । तर महन्थ चुपचाप त्यसलाई सल्टाउँथे । तथापि राजपा कहिल्यै स्थिर रहन सकेन । एकातिर राज्यविरुद्धको सङ्घर्ष र अर्कोतिर पार्टीभित्रको अन्तरसङ्घर्षलाई उनले सँगसँगै लगिरहेका थिए ।

यसैबीच २०७७ सालमा राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरण भयो र जनता समाजवादी पार्टी नेपाल (जसपा) बन्यो । अहिले उनी जसपाका एक नम्बरका अध्यक्ष हुन् । तर अहिले पार्टीभित्र उनी फरक रूपमा प्रस्तुत भइरहेको हुनाले हाल उनी विशेष चर्चामा छन् । महन्थमाथि अहिले ओलीसँग निकट रहेको आरोप लाग्ने गरेको छ ।

थरुहट र मधेस आन्दोलनका क्रममा पक्राउ परेका रेशम चौधरीलगायत अन्य राजबन्दीको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधन लगायतका माग जसले पूरा गर्छ, उसैलाई सहयोग गर्ने भन्दै ठाकुरले प्रधानमन्त्री ओलीसँग पटक–पटक वार्ता गरेका छन् र यही क्रममा ओलीसँग निकट भएका छन् । तर जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीको विकल्प खोज्नुपर्छ भन्दै पार्टीमा ठाकुरमाथि दबाव बढाइरहेका छन् । ठाकुर भने आफ्नो अडानमा अहिलेसम्म टसको मस भएका छैनन् ।

उधारो आश्वासन !

राजनीतिमा लाग्दा महन्थ ठाकुरले धेरैचोटि उधारो आश्वासन पाएका छन् । उनलाई कहिले सभामुखको ‘अफर’ आयो, कहिले राष्ट्रपति त कहिले उपराष्ट्रपति । अहिले उनलाई भावी प्रधानमन्त्रीसम्म आश्वासन आएको छ । केपी ओलीले नै उनलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएको चर्चा छ ।

तर पदलाई भन्दा मुद्दालाई प्राथमिकता दिने  त्यागी नेता महन्थ भन्दैछन्– ‘चेक होइन, क्यास चाहियो । उधारोमा कुनै सहमति हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप