मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

तुलसी घिमिरेको जीवन : नेपाली चलचित्रलाई ‘ओस्कार’ दिलाउने सपना छ

दर्शन फलो गर्न थालेको छु, मृत्युपछि पुगिने स्थान सुधार्न !
शनिबार, २८ चैत २०७७

काठमाडौँ । तुलसी घिमिरे नेपाली चलचित्र क्षेत्रका एक सफल निर्देशक हुन् । नेपाली चलचित्रमा निर्देशक, पटकथा लेखक, फिल्म सम्पादक, छायाँकारका रूपमा समेत चिनिएका उनी अभिनेता र गीतकार पनि हुन् ।

बलिउड हुँदै नेपाली फिल्ममा प्रवेश गरेका घिमिरेको निर्देशन रहेको पहिलो फिल्म ‘बाँसुरी’ हो । यो फिल्म सन् १९८१ मा निर्माण भएको थियो ।

 


 

त्यसपछि ‘कुसुमे रुमाल’, ‘अन्याय’,  ‘लाहुरे’, ‘चिनो’, ‘दुई थोपा आँसु’, ‘कोसेली’, ‘दक्षिणा’, ‘बलिदान’, ‘दर्पण छायाँ’देखि पछिल्लो पटक ‘दर्पण छायाँ २’ सम्म आइपुग्दा घिमिरेले २३ वटा फिल्म निर्देशन गरिसकेका छन् । पछिल्लो समय उनले दुई फिल्म निर्देशनको तयारी गर्दै थिए । तर कारोना महामारीले उनको योजनामा ब्रेक लाग्यो । अहिले उनी आफ्ना अधुरो योजना पूरा गर्न जुटेका छन् ।

६९ वर्षीय घिमिरेको कुनै दिन नेपाली चलचित्रलाई ‘ओस्कार’ दिलाउने सपना छ । उनै निर्देशक तुलसी घिमिरेको जीवनका विभिन्न पाटो रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा

पेसा

मेरो पेसा चलचित्र हो । म कक्षा ७ मा पढ्दै गर्दा एकपटक शिक्षकले सबैले आआफ्नो लक्ष्य भन्न लगाउनुभएको थियो । त्यो समय मेरो मुखबाट ‘आई वान्टु टु ज्वाइन फिल्म’ भन्ने निस्कियो ।

त्यो समय सरले किन र कसरी भन्नुभयो थाहा छैन । उहाँले सबैलाई हामी बाटो देखाउन सक्छौँ तर तिम्रो बाटो आफैले रोज्नुपर्छ भन्नुभयो । ममा फिल्ममा आउने जुनुन थियो ।

सन् १९७४ मा म सिक्किममा काम गर्दागर्दै ‘रोमियो एन्ड सिक्किम’ भन्ने फिल्म युनिटसँग भेट भयो । त्यही युनिटमा ज्वाइनसमेत भएको थिएँ । त्यो युनिटसँग मुम्बई पनि पुगेँ । त्यसपछि फिल्म यात्रा सुरु भयो ।

अभिनेताका रूपमा काम गरेको पहिलो फिल्म ‘रोमियो एन्ड सिक्किम’ हो । त्यसपछि सानोसानो रोलमा केही हिन्दी फिल्ममा काम गरेँ । काम गर्दै जाँदा सम्पादन सुरु गरेँ ।

सम्पादन भइसकेपछि पहिलो काम गरेको फिल्म हिन्दी फिल्म ‘श्रद्धाञ्जलि’ थियो । नेपाली फिल्म भने १९८१ मा ‘बाँसुरी’बाट निर्देशनमा डेब्यु गरेँ ।

बाँसुरीको लेखन, निर्देशन र सम्पादन म आफैले सम्हालेको थिएँ । ‘लाहुरे’, ‘चिनो’, ‘दर्पणछायाँ’ र ‘दर्पणछायाँ २’ सम्म आइपुग्दा अहिलेसम्म २३ वटा फिल्म बनाएको छु । कुनै निर्देशकको पच्चीस फिल्म पुग्यो भने त्यसले गाई दान गर्नुपर्दैन भन्ने हाम्रो फिल्म क्षेत्रमा भनाइ छ । मेरो पनि पच्चीस पु¥याउने उद्देश्य छ । कोरोना महामारी नदेखिएको भए मेरो २५ फिल्म पुग्थ्यो ।

मेरो सपना

सबै निर्देशकको एउटै सपना हुन्छ ओस्कार उठाउने । मेरो पनि चलचित्रमार्फत नेपाललाई ओस्कार दिलाउने सपना छ । त्यो भएन भने भारतको चर्चित राष्ट्रिय पुरस्कार जित्ने छ । नेपालका प्रायः र महत्त्वपूर्ण सम्मान मैलै पाइसकेँ ।

कहिल्यै नमर्ने, सधैँ सबैले सम्झने एउटा फिल्म बनाउने रहर हो मेरो । मैले बनाएका मध्ये केही फिल्म त्यस्ता पनि छन् ।

अहिले मसँग केही फिल्मका यस्ता विषय पनि छन् जसले ओस्कार दिलाउन सक्छन् ।

 


म राम्रो कुक

म खानेकुरामा चुजी छु । धेरै मनपर्ने नेपाली खाना नेपाली दालभात, तरकारी हो । मन नपर्ने त्यस्तो केही छैन । माछामासुमा क्रेजी पनि छैन । ठिकठिकै खान्छु ।

रेस्टुरेन्ट धेरै कम जान्छु । साथीभाइ र फेमिलीसँग जाने गरेको छु । अमेरिकन चाउमिन, चाइनिज खाना र पिजा त्यहाँको मनपर्छ ।

म राम्रो कुक पनि हो, पकाउन रुचि राख्छु । चाउमिन र तरकारी मीठो पकाउँछु । मैले पकाएको छोरीहरुले धेरै रुचाउँछन् ।

मेरो फिट्नेस प्रणायाम

फिट्नेसका लागि सजग छु । बिहान नियमित प्रणायाम गर्छु । करिब २० वर्षदेखि यो नियमित गर्दै आएको छु । सुटिङ भएको समय गर्न पाइँदैन । घरमा फिट्नेसका लागि आवश्यक भ्राइबेटर बाहेक केही सामानहरु छैनन् ।

पोसाक कुरा

जिन्स पाइन्ट र टिसर्ट नै मेरा मनपर्ने पोसाक हुन् । गर्मी स्थानमा कुर्था, पाइजामा लगाउने गरेको छु । धेरैजसो जे सजिलो हुन्छ त्यो लगाउँछु ।

पहिरनमा मनपर्ने कलर सेतो र पहेँलो हो । मनपरेको पहिरन किन्छु, त्यसमा ब्रान्डेड हेर्ने बानी छैन । प्रायः शिरमा ह्याट छुटाउदिनँ । विदेशमा मेरा आफन्तहरु छन् । उनीहरुले ह्याट पठाउने गर्नुभएको छ ।

अध्ययन

अध्ययन मेरो रुचिको विषय हो । आइ लभ रिडिङ । विशेष गरेर बेलुकाको समय पढ्छु । दर्शनका, चाखलाग्दा, रहस्यका र सबैले पढेका किताब पढ्छु । सबैले पढेका किताब कसैले पढिस् भनेर सोध्यो मैले किन पढिनँ भन्ने खोजेर पनि पढ्छु ।

पछिल्लो समय पढेको पुस्तक लीलबहादुर क्षेत्रीको ‘ब्रह्मपुत्रको किनारामा’ र ‘हरिवंश आचार्यको चिना हराएको मानिस’ हो । हिन्दी लेखक हरिशंकर प्रसाईंको ‘सफेद बाल’ भन्ने मेरो मनपर्ने पुस्तक हो । यो पुस्तक निकै राम्रो लाग्यो ।

घुमफिर मनपर्छ

घुमफिर गर्न धेरै मनपर्छ । धेरै ठाउँ र विशेष ठाउँ जाने अवसरसमेत पाएको छु । विशेष गरेर दुर्गम क्षेत्र घुम्न, पुग्न मनलाग्छ । सहरहरु त फिल्म, टेलिभिजन कार्यक्रममा पनि देख्न सकिन्छ ।

युरोप जाँदा साथीभाइले यहाँका गाउँ कस्तो छ हेरौँन भन्थेँ, हेरियो पनि । भुटान, सिक्किम र नेपालका पनि दुर्गमका धेरै ठाउँ पुगेको छु । जहाँ मेरा साथीभाइ पुगेको छैनन् । विदेशका २, ४ युरोपियन देश र अमेरिका घुमेँ ।

अहिले भुटानको थिम्पुमा रहेको टाइगर्स डेन हेर्न मन छ ।

कहिल्यै फुर्सद छैन

म फिल्म लाइनको मानिस, कहिल्यै फुर्सद हुँदैन । काम हुँदा कामले फुर्सद हुँदैन, काम नहुँदा काम खोज्दैमा फुर्सद हुँदैन । यस्तै कुरा मेरा गुरुले पनि भन्नु हुन्थ्यो ।

फुर्सद कहिल्यै हुँदैन र अहिलेसम्म फुर्सदमा बसेको पनि छैन । म केही न केही काममा लागिपरेको हुन्छु । फुर्सद हुँदा कालिङ्पोङको एउटा गाउँमा मेरो घर छ । त्यहाँ बस्न मनलाग्छ । त्यो ठाउँले बाल्यकालको सम्झना गराउँछ ।

खेलकुद

स्कुल पढ्दा म फुटबल खेल्थेँ । त्यो समय पनि स्टार खेलाडी त थिइनँ । टिममा गोलकिपरको रूपमा खेल्थेँ । स्कुलपछि सबै छुट्यो । अहिले खेलहरु हेर्न मनपर्छ । क्रिकेट, फुटबलका अलवा फिजिकल फिटनेसका खेलहरु पनि हेर्छु ।

मोबाइल वानप्लस

मसँग वानप्लस ब्रान्डको एउटा मोबाइल छ । फोन गर्ने, उठाउने र ह्वाट्स एप, भाइबर र सामाजिक सञ्जाल चलाउँछु । सामाजिक सञ्जालमा गर्ने सबै गतिविधि पनि गर्छु । गुगलमा केही खोज्नुपर्यो भने सजिलो लाग्छ । चलाउन जानेको जति मोबाइल सदुपयोग गर्छु ।

टिभी

धेरै भयो टिभी हेर्न पाएको छैन । भारतमा बस्दा समाचार हेर्छु अलि अलि । नेपालमा टेलिभिजन हेरेको छैन ।

टिभीमा लाइट कमेडी, सन्देश भएका कार्यक्रम, समाचार हेर्न बढी मनपर्छ । फिल्म पनि हेर्छु ।

चलचित्र हेर्छु

अध्ययनका लागि पनि म सबै किसिमका चलचित्र हेर्छु । १९७४ को प्रविधि, त्यसबेलाको सोच, विषयवस्तु, कथाहरु, अहिलेको प्रस्तुति र अहिले प्रविधिमा आएको भिन्नता थाहा पाउन, जानकारी लिन फिल्म हेर्नुपर्छ । यो अध्ययन गर्न मज्जा लाग्छ ।

अङ्ग्रेजी, नेपाली, हिन्दी सबै खालका फिल्म हेर्छु । नेपाल रहँदा सबैजसो नेपाली फिल्म हेर्छु । कसैले यो फिल्म नछुटाउनु है दाइ भने त्यो जसरी पनि हेर्छु ।

विवाह

मेरो विवाह सन् १९८६ मा भएको हो । रन्जित गजमेर दाइको घरमा मेरो आनाजाना धेरै हुन्थ्यो । उहाँकी जेठी छोरी मनपर्‍यो । उनले पनि मनपराइन् । सबैले यी दुईको जोडी राम्रो हुन्छ भन्थे । हाम्रो विवाह पनि भयो । हाम्रो अहिले दुईवटी छोरी छन् ।

सुख, दुःख

दुःख अहिलेसम्म केही छैन । नेपाली फिल्म उद्योग अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित हुन सकेको छैन । त्यही एउटा दुःख लाग्दो विषय भएको छ । फिल्म क्षेत्रबाट मैले जेजति पाउनुपथ्र्योे त्योभन्दा बढी मिलेको छ ।

हामी फिल्मकर्मी सानासाना कुरामा पनि खुसी हुन्छौँ । फिल्म हिट भयो भने, फिल्मका लागि खिचिएका सट राम्रा भए भने खुसी हुन्छौँ । नेपाली फिल्म उद्योगमा तीनवटा फिल्मले मात्र सिल्भर जब्ली मनाएको छ । ती तीनवटै फिल्म तपाईंको हो भनेर सोधेभने एक किसिमले खुसी र घमन्ड पनि लाग्छ ।

गीतसङ्गीत सुन्छु

गीतसङ्गीत मनपर्छ, सुन्छु । क्लासिकल र लोकगीत धेरै मनपर्छ । म गीतकार होइन । परिआउँदा टुक्काहरु लेख्छु । त्यसरी जोडेर लेख्दा  ५५, ५६ वटा गीत भइसके ।

आफूलाई गीतकार भन्दिनँ । कहिले काहीँ गीतको बीचबीचमा बोल्ने डाइलग बोलेको छु ।

मेरो भुल

भुल धेरै पटक भयो । भुलबाट सिक्ने हो । गल्ती नदोहोर्‍याउनु नै अगाडि बढ्नु हो भनेर मेरा गुरुले भन्नुहुन्थ्यो । मेरा गुरुका धेरै भनाइमध्ये यो एक सधैँ याद आउँछ ।

गल्ती दोहो¥याउँदिनँ भन्दाभन्दै पनि कहिले काहीँ दोहोरने रहेछ । भुल भयो भनेर पछुताएर बसेको अवस्था अहिलेसम्म छैन । भूल भयो त भयो । त्यो छोडेर अगाडि बढ्छु । सधैँ पछुताउनुपर्ने भुल गरेको छैन ।

हल्का वाइन लिन्छु 

मापसेमा कहिलेकाहीँ हल्का वाइन लिने गरेको छु । त्यो पनि सफ्ट । त्योभन्दा अगाडि बढेर हार्डड्रिङ्कसमा पुग्न सकेको छैन । किनकिन मापसेमा रमाउन सकिनँ ।

रोग छैन

भगवान्को कृपाले अहिलेसम्म त्यस्तो दीर्घ रोग  केही छैन । फिट एन्ड फाइन छु । रोग नै नभएपछि औषधि खाने कुरै भएन ।

मेरो राशि

मेरो राशि ‘वृश्चिक’, नक्षत्र ‘अनुराधा’ हो । ग्रहदशामा विश्वास गर्छु । समयको पालना गर्छु । के गर्दा ठीक हुन्छ, के गर्दा ठीक हुँदैन भनेर हेराउँछु  । मुम्बईमा मुस्लिम निर्माताले पनि हेराउने जुराउने गरेको देखेको छु । भगवानप्रति आस्था छ । पूजापाठ गर्छु ।

मृत्यु

मृत्यु जीवनको अन्त्य हो । कुनबेला, कसरी र के गरेर आउँछ कसैले भन्न सक्दैन । मृत्युलाई सजिलै स्वीकार गर्ने हो । बाबा बित्दा मृत्युलाई अर्कै पाराले हेर्थें । आमा बित्नु भएपछि दर्शन फलो गर्न थालेको छु । मृत्युपछि पुगिने स्थान सुधार्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया