मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

‘प्रहरी भएका कारण छोरी दिन मानेनन्’

शनिबार, १४ चैत २०७७, १० : १०
शनिबार, १४ चैत २०७७

काठमाडौँ । हरिभक्त सिग्देल ‘महेश’ आध्यात्मिक चिन्तन र साहित्यमा कलम चलाउने स्रष्टा हुन् । ‘एक मात्र’ नामक उनको ४३ औँ कृति केही समय अगाडि सार्वजनिक भएको थियो । काठमाडौँको जीतपुरफेदीमा जन्मिएका सिग्देल पूर्वप्रहरी पनि हुन् । प्रहरी सेवा सामान्य पदबाट सुरु गरी डीएसपीमा अवकाश प्राप्त गरेका सिग्देल प्रबल गोरखा दक्षिण बाहु चौथादेखि संयुक्त राष्ट्रसङ्घ शान्ति सेवा पदकसम्म गरी दशौँ पदक तथा विभूषणले विभूषित भएका छन् ।

माछापुच्छ्रे बैङ्क लिमिटेडको सञ्चालक पदमा दुई पटक रहेर सिग्देलले कार्यसम्पादन गरिसकेका छन् । हाल चावहिलस्थित मेडिकेयर अस्पतालका कार्यकारी निर्देशक रहेका सिग्देलको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा छोटकरीमा उनकै शब्दमा ।

मेरो खाना

नेपाली खाना दाल, भात, तरकारी मनपर्छ । मेरो मनपर्ने तरकारी आलु र फर्सी हो । पहिले प्रहरी सेवामा हुँदा सबैथोक एउटै भाँडामा हालेर खिचडी बनाएर खान्थेँ । खानेकुरामा मन नपर्ने केही छैन ।

एक्लै कहिल्यै रेस्टुरेन्ट जान्नँ । साथीभाइ, परिवारसँग जान्छु । पकाउन रुचि छैन र आउँदैन । म घरको कान्छो छोरा भएकाले सानोमा कहिल्यै पकाउन परेन । त्यसैले सिक्ने अवसर नै मिलेन ।

मेरो फिट्नेस

फिट्नेसका लागि सजग छु । पहिले ३–४ घण्टासम्म एक्सरसाइज गर्थें । अहिले उमेर ६८– ६९ भएकाले २ घण्टा जति मर्निङवाक गर्छु । त्यसपछि प्राणायम, पहिले खेलेको जुडो, कराँते हल्का एक्सरसाइज गर्छु । अभ्यास र खानपिनले अहिलेसम्म फिट छु ।

मेरो पोसाक

कमिज, पाइन्ट र कोट मेरो सबैभन्दा मनपर्ने पहिरन हो । घरमा बस्दा सजिलो हुने भएकाले ट्र्याक सुट लगाउँछु ।

पहिरनमा मनपर्ने कलर आकाशे र ब्राउन हो । पहिरन प्रायः सिलाएरै लगाउँछु । कोट राम्रो ठाउँमा सिलाउँछु । अन्य पहिरन जे राम्रो लाग्यो त्यही किन्छु । ह्याट, टोपी लगाउने बानी भने छैन । मर्निङवाक जाँदा घाम छेक्न भनेर ह्याट लगाउने गरेको छु ।

 

मेरो अध्ययन

पुस्तक मेरो साथी हो । धेरै पढ्छु । पढ्न सुरु गरेपछि सकेरै छोड्ने बानी छ । अहिले पढ्दै गरेको पुस्तक विश्वेश्वरप्रसाद कोइरालाले जेलमा कसरी लेख्न सुरु गरे भन्ने विषयमा रहेको छ ।

मनपर्ने पुस्तक आध्यात्मिक र धार्मिक नै हुन् । धर्म के हो, ईश्वर के हो ? यस्तै विषयका किताब बढी पढ्छु । धेरै धार्मिक पुस्तक पढे पनि अहिलेसम्म बुझ्न नसकेको विषय ईश्वर छ कि छैन ? छ भने कहाँ छ र को हो ? अहिले बजारमा आएको मेरो पुस्तक ‘एक मात्र’ पनि धर्मको विषयमा छ ।

व्यक्तिका जीवनी पनि पढ्छु । म जीवनी चाहिँ कि एकदमै खराब मानिसको पढ्छु, कि एकदमै असल मानिसको । किन भने ती किन र कसरी त्यस्तो भए बुझ्न सजिलो हुन्छ । त्यसबाट धेरै कुरा सिक्न सकिन्छ ।

मेरो घुमघाम

घुमघाम धेरै रुचि छैन । अलिअलि घुमिरहेको हुन्छु । मन्दिर, ऐतिहासिक स्थल र विश्वसम्पदा सूचीमा परेको ठाउँ घुम्छु । अस्ट्रेलिया, अफ्रिका, रसिया, अमेरिका लगायत दर्जनभन्दा बढी देश पुगेको छु । देशका ५७, ५८ जिल्ला घुमेँ होला । स्वास्थ्यले साथ दियो भने मेची–महाकाली पुग्न मन लागेको छ ।

मेरो फुर्सद

फुर्सद पहिले थिएन, अहिले पनि छैन । अहिले मेडिकेयर अस्पतालको कार्यकारी निर्देशकमा रहेर काम गरिरहेको छु । त्योबाहेक लेख्ने, पढ्ने बानीले फुर्सद भएको जस्तो लाग्दैन ।

मेरो खेलकुद

म एथलेट्स खेलाडी हो । पहिले हाइजम्प, हन्ड्रेड मिटर, अफटेकल रेस भन्ने हुन्छ । प्रहरीमा रहँदा दुई वर्ष खेलेँ । सानोमा स्कुलमा पनि एथलेटिक्स खेलाडी थिएँ । फुटबल र ब्याडमिन्टनको अलि अलि खेलाडी हुँ । अहिले फुटबल र क्रिकेट खेल टिभीमा हेर्न मन लाग्छ ।

मेरो मोबाइल

मसँग अहिले सामसुम ब्रान्डका दुईवटा सिम लाग्ने एउटा मोबाइल छ । मोबाइल फोन गर्न, फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जाल चलाउन प्रयोग गर्छु ।

कोरोनाको समय घरमा बसेर मोबाइलबाटै अफिसको कामसमेत गरियो । यो सधैँ साथमा रहने साथी, सहयोगीभन्दा पनि हुन्छ । नबिग्रिएसम्म मोबाइल फर्ने बानी छैन ।

मेरो टिभी

टिभी सकेसम्म बिहान बेलुकाको समाचार हेर्छु । विचार र अन्तर्वार्ता पनि हेर्छु । भुषणा दाहाल, सुमन सङ्गमलगायतको अन्तर्वार्ता हेर्छु । विदेशी च्यालन सीएनएन, बीबीसी पनि हेर्ने गरेको छु ।

मेरो चलचित्र

फिल्म नहेरेको अहिले एक, डेढ वर्ष भयो होला । नेपाली, हिन्दी सबै प्रकारका फिल्म हेर्छु । बच्चाहरुले विशेष छ भनेका फिल्म हेर्छु, कि शीर्षक आकर्षक लाग्यो भने हेर्छु । पछिल्लो समय बलिउडको ‘पिके’ नामको फिल्म हेरेको थिए ।

पहिले फाइट भएको, अनुसन्धानात्मक मनपथ्र्याे । अहिले सन्देशमूलक, मानव समुदायमा सन्देश दिने खालका फिल्म हेर्छु । केही फिल्मकर्मीसमेत चिन्छु ।

मेरो पेसा

म रिटायर प्रहरी अफिसर हो । २०२९ सालदेखि सिपाहीबाट सुरु गरेको जागिर २०५८ मा डीएसपी भएर रिटायर भएँ । त्यसअगाडि कान्ति अस्पतालमा काम गर्थंे । त्यहाँ काम गर्दा प्रहरी तालिम केन्द्रमा बाजा बजेको, एक्सरसाइज, अभ्यास गरेको देखेर लोभ लाग्यो । त्यसपछि निजामती कर्मचारी जागिर छोडेर प्रहरीमा छिरेँ ।

पहिले पहिले जुडो, कराँते, जिमन्यास्टिक बाहिर सिक्न पाइँदैन थियो । त्यो मैले पुलिसमै गएर सिके । जागिरको सिलसिलामा आफूले पाउने सुविधा लिन मैले धेरैसँग जुध्नुपर्यो ।

जनयुद्धको समय ५०–६० प्रहरीको निधन भएको सुन्दा  त्यो ठाउँमा म हुन्थेँ भनेर सोच्थेँ ।

मेरो धेरै कार्यकाल प्रहरी महानिरीक्षकको सल्लाहकार र सेक्रेटरी भएर बित्यो । मोतिलाल बोहोरा, अच्यूत कृष्ण खरेल, ध्रुवबहादुर प्रधान र प्रदीप शमशेर जबरा गरेर ४ प्रहरी महानिरीक्षकको निजी सचिव भएर मैले काम गरेँ । प्रहरीमा नगएको भए म राजनीतिमा हुन्थेँ होला ।

मेरो सेवा

प्रहरीबाट रिटाएर भएपछि डा. उपेन्द्र महतोको बास्तोक इन्टरनेसन भन्ने कम्पनीको म्यानेजर भएर काम गरेँ । त्यसपछि सिन्टेज इन्भेस्टमेन्ट कम्पनीको सीईओ भएर केही समय रहेँ ।

दुई पटक माछापुच्छ्रे बैङ्कको निर्देशक भएँ । अहिले मेडिकेयर अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दैछु ।

मेरो प्रेम

विसं. २०३२ साल फागुनमा मैले विवाह गरेको हो । मेरो विवाहको रोचक किस्सा छ । म प्रहरीमा थिएँ । उनी नुवाकोट खरानीटारको उप्रेती परिवारकी नेपाली काँग्रेस नेताकी छोरी थिइन् । उनको एक दाइ काठमाडौँको जेलमा राजनीतिक बन्दी थिए । उनी जेलमा दाइलाई तिहारको टीका लगाउन आएको बेला मैले भेटेको थिएँ । उनी लाजिम्पाटमा दिदीको घरमा बस्थिन् । त्यो घरमा मेरो डेरा थियो । त्यही हाम्रो भेट भयो । मलाई मनपर्यो । उनले पनि मनपराइन् ।

केही समयपछि विवाहको कुरा राख्दा पञ्चायतमा काम गर्ने पुलिस भनेको महेन्द्रको छोरा जस्तो हो । त्यो काँग्रेसको दुस्मन हो भनिन्थ्यो । त्यसैले मलाई उनको परिवारले विवाहका लागि प्रहरीबाट राजीनामा नदिएसम्म छोरी दिँदैनौँ भने । मैले पनि जागिर छोडेर विवाह गर्दिनँ भनेँ । केही समयपछि कुरो मिल्यो । विवाह भयो । विवाहपछि झन् झाँगिएको हाम्रो प्रेम अहिले पनि त्यस्तै छ ।

मेरो साहित्य

१३–१४ वर्षको उमेरदेखि नै मैले कविता लेख्न थालेको थिएँ । ९ कक्षामा पढ्दा ‘किसान’ शीर्षकको कविताबाट पुरस्कारसमेत हात पारेको थियो । त्यसपछि लेखन कार्य नियमित भयो ।

मेरो प्रकाशनमा आएको पहिलो पुस्तक ‘शान्ति क्षेत्र नेपाल’ नामक कविता सङ्ग्रह हो । यो २०४४ सालमा प्रकाशनमा आएको थियो । अहिले केही समयअगाडि सार्वजनिक भएको ‘एक मात्र’ भन्ने मेरो ४३औँ कृति हो । केही कृति समसामयिक विषयका छन् भने धेरैजसो धार्मिक छन् ।

अहिले मेरा दुईवटा कविता सङ्ग्रह प्रकाशनको तयारीमा छन् । ‘म अमर छु’ भन्ने गद्य कविता र अर्काे एक । अहिले मुक्तक पनि लेख्न सुरु गरेको छु । त्योबाहेक अन्य केही पुस्तक लेखनको पनि काम भइरहेको छ ।

जीवन के हो भनेर खोज्दै जाँदा म धार्मिक साहित्यप्रति प्रभावित भएको थिएँ । एक दुई गर्दै यसमा पनि धेरै कृति बाहिर आएका छन् ।

मेरो सपना

विश्वमा जात, भाषा, राज्यलगायतका जति पनि सीमा छन् ती सबै भत्कियोस् । सबै मानिस एकै भनेर व्यवहार गर्न पाइयोस् । सबैको भलो चिताउँदै एकले अर्काेप्रति सहयोगको भावना राखेको देख्न पाइयोस् भन्ने छ । सायद त्यो कहिल्यै पूरा हुन्न होला र ?

मेरो गीतसङ्गीत

गीतसङ्गीत मनपर्छ, अलिअलि सुन्छु । कमेडी र सकारात्मक सोच, सन्देश दिने र प्रेरणा जगाउने खालका गीत सुन्छु । गीतमा पीडा, दुःख भरिएको मनपर्दैन ।

हिन्दी, नेपाली सबै प्रकारका गीत सुन्छु । मैले एउटा भजन गीतसमेत निकालेको छु । सायद, त्यो एक मात्र भजन गीत होला । जसमा जिसस, शिव, बुद्धलगायत जति पनि अहिले विश्वमा भगवान मानिन्छ । त्यो एकै हुन् भनेको छ । त्यसमा गणेश, अग्नि, पृथ्वीलगायतको भजन समेत छ ।

मेरो भुल

भुल भनेको जीवनको अज्ञान हो । त्यो बुझिसकेपछि भुल जस्तो लाग्छ । भुल धेरै गरियो होला । तर अहिलेसम्म कसैलाई हानि नोक्सानी हुने र आफूले पछुताउनुपर्ने भुल गरेको छैन जस्तो लाग्छ ।

मेरो रोग

अहिले प्रेसर छ । पहिले केही पनि रोग थिएन । जनयुद्ध एकदमै उत्सर्गमा पुगेको बेला थुप्रै प्रहरी, माओवादी र सर्वसाधारणले ज्यान गुमाए । त्यो समय म पनि त्यहाँ हुनसक्थेँ भनेर सोच आउन थालेको थियो । एक किसिमको पीडा बोध हुन्थ्यो । त्यो समयदेखि प्रेसर बढेको अहिले पनि नियमित औषधि सेवन गर्नुपर्छ ।

मेरो मापसे

मापसे मात्र होइन, चुरोट, खैनी लगायत केही पनि छुँदिनँ । त्यसको टेस्ट पनि थाहा छैन । 

मेरो राशि

मेरो राशि ‘सिंह’ हो । ग्रहदशामा विश्वास पहिले लाग्दैन थियो, अहिले लाग्छ । जागिरको सिलसिलामा मेरो महाकाली पोस्टिङ भएको थियो । त्यहाँको ज्योतिषीले भनेकै दिनमा मुमाको स्वर्गवास भयो । त्यसपछि विश्वास गर्न थालेँ ।

मेरो मृत्यु

मृत्यु विकल्परहित सत्य हो । जन्मेपछि एक दिन मर्नैपर्छ । मेरो धारणा आफैलाई चिन्न सक्यो भने त्यो मर्दैन भन्ने रहेको छ । शरीर नाशवान् छ । तर आत्मा अमर छ भन्ने पनि हो । म मर्दिनँ भनेर मैले विश्वास गरेको छु । आध्यात्मिक साहित्यले ममा यो विश्वास जगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप