शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसको बटमलाइन ओलीको बिदाइ र ‘अर्ली इलेक्सन’

अब विधिवत् रूपमा ‘नेकपा एमाले’ पनि फुट्ने आँकलन
सोमबार, २४ फागुन २०७७, १४ : ५५
सोमबार, २४ फागुन २०७७

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अब ‘अर्ली इलेक्सन’को मुद्दालाई बटमलाइन बनाउने भएको छ । सर्वोच्चको फैसलाबाट नेकपा खारेज भई नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किनुले अर्ली इलेक्सन काँग्रेसको मुख्य मुद्दा बन्न पुगेको हो ।

काँग्रेस नेता रमेश लेखकले काँग्रेसको मुख्य मुद्दा अर्ली इलेक्सन हुनुपर्ने बताए । रातोपाटीसँग उनले भने, ‘अब संसद् त्रिशङ्कु भयो । ६४ प्रतिशत मत भएको पार्टीले पनि स्थिरता दिन सकेन । हिजोबाट त्यो पार्टी विधिवत रूपमा दुई पार्टी भइसक्यो । त्रिशङ्कु संसद्ले न स्थिरता दिन सक्छ न यो प्रतिनिधि सभाले कम्युनिस्टको द्वन्द्वमा काम गर्न सक्छ ।’

त्यसो भएकाले अब ताजा जनादेशका लागि अर्ली इलेक्सनमा जानुपर्ने उनको राय छ । पार्टी सभापतिका विश्वास पात्रसमेत रहेका लेखकले भने, ‘मूल कुरा अर्ली इलेक्सनमै जानुपर्छ । नेतृत्व कसले गर्ने भन्ने कुरा सेकेन्डरी हो ।’

यस्तै सांसद गगन थापाले काँग्रेसको नेतृत्वमा देशलाई अर्ली इलेक्सनमा लगिने बताए । ‘देश अब इलेक्सनमा जान्छ नै । संसद् विघटनबाटै गत निर्वाचनको जनमत सकिएको थियो । फेरि हिजोको सर्वोच्चको निर्णयबाट नेकपा एमाले र माओवादीले पाएको जनमत सकियो अब । देश अब निर्वाचनमा जान्छ । निर्वाचन कसले गराउने ? कहिले गराउने ? कसरी यसलाई सम्हाल्ने भन्ने सन्दर्भमा नेपाली काँग्रेसले सुझबुझ पूर्ण ढङ्गले विभिन्न पक्षमा छलफल गर्नुपर्छ ।’

उनका अनुसार काँग्रेसले अब कुनै हतार नगरेर पार्टी हित र संविधानको अनुकूल हुनेगरी निर्णय लिनुपर्छ । त्यसका लागि केन्द्रीय  कमिटी र संसदीय दलको बैठक बस्छ ।

केपी ओलीलाई प्रधानमन्त्रीबाट बिदा गरेर आफ्नो नेतृत्वमा सरकार गठन गरी मुलुकलाई निर्वाचनमा लिएर जाने जिम्मेवारी आएको थापाले बताए ।

‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्नुहुन्न । त्यसपछि उहाँको सरकार रहन्न । अनि वैकल्पिक सरकार बनाउनुपर्यो । अब नेपाली काँग्रेसले प्रधानमन्त्री केपी ओलीलाई बिदा गरेर आफ्नो नेतृत्वमा सरकार बनाएर देशलाई निर्वाचनतर्फ लिएर जाने जिम्मेवारी पूरा गर्नुपर्छ,’ उनले भने ।

थापाका अनुसार अब अर्ली निर्वाचनको विकल्प छैन । ‘हामीलाई नियमित सरकार चलाउने म्यान्डेट छैन । हामीले नेतृत्व गरेर जाने भनेको निर्वाचनको प्रयोजनका लागि हो,’ उनले भने ।

यस्तै नेता एनपी साउदले काँग्रेसकै नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरे ।

‘एमाले र माओवादी विधिवत् रूपमा दुई पार्टीको अस्तित्वमा आएका छन् । अब कुनै न कुनै रूपमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्छ । यो सरकारले देशलाई निकास दिँदैन । काँग्रेसकै नेतृत्वमा नयाँ सरकार गठन हुन्छ,’ उनले भने ।

अदालतको फैसलापछि अब फेरि अस्थिरताको शृङ्खला दोहोरिने देखिएको भन्दै त्यसको विकल्प निर्वाचन नै भएको साउदको भनाइ छ ।

‘अदालतको फैसलापछि अब फेरि अस्थिरताको शृङ्खला दोहोरिने देखिएको छ । हामी त्यो चाहँदैनौँ । यसको समाधान भनेको चुनाव नै हो । लोकतन्त्रमा चुनाव नै निकासको बाटो हो,’ साउदले भने, ‘काँग्रेसले अहिलेको बहुलबादी समाजमा सबै पार्टीलाई एक ठाउँमा राखेर आफ्नो नेतृत्वमा अर्ली इलेक्सनको बाटोमा अघि बढ्छ ।’

नेता अर्जुननरसिंह केसीले पनि ओलीको विकल्प खोज्दै काँग्रेस अर्ली निर्वाचनमा होमिने बताए ।

‘काँग्रेसले केपी ओलीको विकल्प खोज्छ ।  अनि मुलुकलाई अर्ली इलेक्सनमा लिएर जान्छ । ०७९ को वैशाखभित्र निर्वाचन गर्ने गरी अघि बढ्नुपर्छ । काँग्रेस त्यहीअनुसार अगाडि बढ्छ भन्ने मलाई विश्वास छ । मेरो प्रयास पनि त्यही रहन्छ,’ केसीले भने ।

यस्तै काँग्रेस नेता गुरुराज घिमिरेले प्रधानमन्त्रीबाट ओली बिदाइ र अर्ली इलेक्सन काँग्रेसको बटमलाइन भएको बताए । उनले भने, ‘प्रधानमन्त्री भइरहन ओलीमा राजनीतिक र नैतिक कुनै आधार छैन । ओलीको बिदाइ काँग्रेसको बटमलाइन हो । त्यसपछि आफ्नो नेतृत्व वा अन्य दलको नेतृत्वमा सरकार बनाएर अर्ली इलेक्सनमा जानुको विकल्प छैन ।’

काँग्रेसमा नयाँ सरकार बनाउँदा प्रचण्ड–नेपाल समूह र जनता समाजवादी पार्टीसँग मात्र सहकार्य गर्नुपर्ने मत बलियो ढङ्गले उठिरहेको छ । काँग्रेसभित्र सरकारको नेतृत्वमा दाबी गर्नुपर्ने हिजोआज आवाज उठे पनि अन्य दलबाट दाबी आएको छैन ।

आइतबार मात्र जसपा सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जसपाले सरकारको दाबी नरहेको बताएका थिए । ‘नेपालको संविधानअनुसार सरकारले आफ्नो बहुमत गुमाएको छ । अब यो अल्पमतको सरकार भइसकेपछि सरकार परिवर्तनको प्रक्रिया स्वतः अगाडि बढ्नुपर्ने हुन्छ,’ भट्टराईको भनाइ थियो ।

अब राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माण गरेर जानुपर्ने उनको प्रस्ताव छ । त्यसका लागि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिए विश्वासको मत लिने ओलीले बताइसकेको छन् ।

यता माओवादी केन्द्रले पनि ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकेको अवस्थामा ओली सरकार ढल्छ । अनि संविधानको धारा ७६ (५) बमोजिम प्रतिनिधि सभामा दुई वा सोभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको कुनै पनि सदस्य प्रधानमन्त्री बन्न सक्नेछ । जसअनुसार काँग्रेस (६३), नेकपा माओवादी केन्द्र (५३) र जनता समाजवादी पार्टी (३४) मिलेर नयाँ सरकार गठन हुन सक्नेछ । त्यसरी नियुक्त प्रधानमन्त्रीले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले समेत विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने व्यवस्था छ ।

पुनः स्थापित संसदमा निर्णायक रूपमा उदाएको काँग्रेसले यसका लागि बाटो खोलिदिनुपर्ने राप्रपा अध्यक्ष कमल थापाको आग्रह छ ।

कमल थापा भने, ‘नेकपासम्बन्धी सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि प्रधानमन्त्री नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब प्रधानमन्त्रीले केपी शर्मा ओली संसदमा विश्वासको मत लिनुपर्छ वा राजीनामा दिनुपर्छ ।’

‘यस अवस्थामा अपवित्र गठबन्धन बनाएर सरकार बनाउन अस्वीकार गरी काँग्रेसले नयाँका लागि चुनावको बाटो खोलिदिनुपर्छ,’ थापाले भने । तर काँग्रेस ओलीको नेतृत्वमा चुनावमा जान तयार देखिने सङ्केत देखिएको छैन । काँग्रेस आफ्नो नेतृत्वमा अर्ली इलेक्सनमा जान भने इच्छुक देखिएको नेताको भनाइबाट पुष्टि हुन्छ । अर्ली इलेक्सन हुँदा नेकपा एमाले पनि विधिवत विभाजित हुने काँग्रेस नेताहरुको बुझाइ छ ।

नियमित चुनावमा जाँदा एमालेको माधव नेपाल पक्षलाई माओवादीसँग मिलेर नयाँ पार्टी बनाउन कानुनी कठिनाइ छ । संसद् विघटनपछि प्रचण्ड र माधव नेपाल एक ठाउँमा भए पनि सर्वोच्चको फैसलाले एमाले र माओवादीको एकता खारेज गरिदिँदा नेपाल पक्ष सङ्कटमा छ । प्रचण्डसँग बस्न कानुनी कठिनाइ र ओलीसँग जान नेपाल पक्षलाई नैतिक सङ्कट खडा भएको छ ।

कानुनलाई चुनौती दिएको खण्डमा माधव पक्षका नेताहरुले सङ्घ र प्रदेश सांसदको पद गुमाउनुपर्ने अवस्था छ ।

काँग्रेसका लागि निकटतम प्रतिस्पर्धी नेकपा एमाले फुट्नुमा राजनीति लाभ हुने देखिन्छ । आगामी बाटो तय गर्दा यो कुरालाई पनि मध्यनजर गरी निर्णय लिइने काँग्रेस नेताहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप