शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा उत्साहित प्रचण्ड काठमाडौँ आएपछि किन सेलाए ?

आइतबार, २२ चैत २०७७, २३ : २५
आइतबार, २२ चैत २०७७

काठमाडौं । ‘परिस्थितिले कोल्टे फेर्यो, अब सम्भवतः छिट्टै नयाँ सरकार बन्छ, म आजै काठमाडौ फर्केर घनिभूतरुपमा छलफल थाल्छु’, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार कपिलवस्तुमा उत्साहित हुँदै कार्यकर्तामाझ यसो भनेका थिए ।

सोही अनुसार प्रचण्ड शनिबार साढे ६ बजेको उडान छोट्याएर साढे चार बजे नै काठमाडौँ फर्किए ।

शुक्रबार नेपाली काँग्रेसले नयाँ सरकार गठनमा अग्रसरता लिने निर्णय गरेपछि प्रचण्ड केपी ओली नेतृत्वको सरकारको विकल्पमा नयाँ सरकार गठनको आधार तय भएकोमा शनिबार उत्साहित हुन पुगेका हुन् ।

 


 

 कपिलवस्तुमा प्रचण्डले तत्कालै घनिभूतरुपमा छलफल थाल्ने बताएकाले पनि प्रचण्ड काठमाडौँ फर्केलगत्तै जनता समाजवादी पार्टी (जसपा) र नेपाली काँग्रेससँग छलफल सुरु हुने धेरैले अपेक्षा गरेका थिए ।

तर, प्रचण्ड काठमाडौँ फर्किएको १८ घण्टा बित्न लाग्दा पनि नेताहरुबीच औपचारिक रुपमा त्यस्तो छलफल नभएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

‘आन्तरिक छलफल त भइरहेका छन् । तर बाह्य छलफल भएका छैनन् । बाह्य छलफल पनि हुने कुरा हो तर समय एकिन भैसकेको छैन’, प्रचण्डको सचिवालयका एक सदस्यले भने, ‘यस्तो छलफल टुँडिखेलमा हुने होइन, आवश्यकता अनुसार टेलिफोन वा प्रत्यक्ष भेटेर जतिबेला पनि हुनसक्छ ।’

राजनीतिक उत्तरचढावकाबीच बरु माओवादी केन्द्रले आइतबार बिहान ११ बजेका लागि बोलाएको पार्टीको स्थायी समिति बैठक समेत स्थगित भयो ।

स्थायी समितिका सदस्यहरु काठमाडौँ बाहिर भएकाले बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

तर माओवादी केन्द्रले बैठक नै स्थगित गर्नुको जे कारण देखाएको छ, त्यो नै प्रमुख कारण हुन नसक्ने कतिपयले आशंका गरेका छन् ।

माओवादी केन्द्रले आइतबार बैठक बसेर केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने अड्कल भइरहेका बेला बैठक नै स्थगित गरेपछि यस्तो आशंका गर्नेहरुलाई बल पुगेको हो । तर माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेल बैठक स्थगित हुनुमा अन्य कारण नरहेको बताउँछन् ।

 


 

‘अरु कारणले बैठक स्थगित भएको होइन, ५ जनाजति सदस्यहरु बाहिर रहेको सूचना आएपछि बैठक स्थगित गरिएको हो’, पोखरेलले रातोपाटीसँग भने, ‘जसपा र काँग्रेससँग नयाँ सरकार गठनबारे छलफल गर्ने कुरा छ । सायद छिट्टै होला ।’

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा ओलीले चलखेल गर्न सक्ने भएकाले नयाँ सरकार गठनको आधार तय नहुँदासम्म फिर्ता नलिने बताउँदै आएको छ ।

शनिबारमात्रै प्रधानमन्त्री ओलीले समर्थन फिर्ता गर भन्दा पनि नगरेको भन्दै व्यङ्ग्य गरेका थिए । उनले भनेका थिए, ‘ए बाबा हटाउ न त । समर्थन फिर्ता लिइलेऊ भन्छु, त्यो पनि लिँदैन अनि राजीनामा माग्छ । राजीनामा त आइहाल्छ नि समर्थन फिर्ता गर न ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप