शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रेशम चौधरीको मुद्दाः गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

सोमबार, १६ चैत २०७७, २० : ००
सोमबार, १६ चैत २०७७

सरकारले निलम्बित सांसद रेशम चौधरीको रिहाइको माग गर्दै आन्दोलनरत पक्षसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ ।  मन्त्रिपरिषद्को बैठकले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र सांसद भगवती चौधरी सदस्य रहेको ३ सदस्यीय वार्ता टोली गठन गरेको हो ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले वार्ता समितिले आजैबाट संवाद सुरु गर्ने बताए । ‘थारु कल्याणकारिणी सभा, थारुवान–थरुहट संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिको सम्बोधन गर्नका लागि गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र सांसद भगवती चौधरी सदस्य रहेको ३ सदस्यीय समिति वार्ता टोली गठन गरिएको छ । वार्ता टोलीले आजैबाट सम्बन्धित पक्षसँग वार्ताको थालनी गर्नेछ’, उनले भने, ‘नेपाल सरकार सबै प्रकारका हिंसात्मक गतिविधिलाई अन्त्य गर्दै देशलाई शान्तिपूर्ण बनाउन लागिपर्ने अभियानमा रहेको छ ।’

रेशम चौधरीलाई रिहाइको माग गर्दै केही दिनअघिदेखि थारु कल्याणकारिणी सभा, थारुवान–थरुहट संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राजधानीको माइतीघरमा धर्ना दिँदै आएको छ । सो पक्षले चौधरीको रिहाइसहित १९ बुँदे माग अघि सारेको छ ।

यसअघि, आन्दोलनरत पक्षलाई मनाउन गृहमन्त्री रामबहादुर थापा रेशम चौधरी र लक्ष्मण चौधरी लगायतको मुद्दा खारेजका लागि आयोजित विरोध सभामा नै सहभागी भएका छन् । माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी थापाले सडकमा बसेर उनीहरुलाई सम्बोधन गरेका थिए । 


आन्दोलनकारीलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले आन्दोलनकारीको १९ बुँदे समस्या र माग बारेमा सरकारको ध्यान गएको बताएका थिए । ‘सरकारको तर्फबाट म यहाँ उपस्थित छु । तपाईंहरुको समस्या समाधान गर्न सरकारले अब छिट्टै वार्ता टोली गठन गर्छ ।’, उनले भनेका थिए । 

जनता समाजवादी पार्टी नेपालले रेशम चौधरीको रिहाइको एजेण्डासहित सरकारसँग वार्ता गरिरहेकै समयमा अन्य पार्टीका संघ संगठनले समेत चौधरीको रिहाइको मागसहित आन्दोलन गरिरहेका छन् ।  माइतीघर मण्डलामा थारु कल्याणकारीणी सभा र थरूहट, थारुवान संयुक्त संघर्ष समितिले चैत ८ गतेदेखि संयुक्त रुपमा धर्ना सुरु गरेका हुन् । 

थरुहट, थारुवान संयुक्त संघर्ष समितिमा नेपाली काँग्रेसको नेपाल थारु संघ, एमालेको नेपाल लोकतान्त्रिक थारु संघ र माओवादी केन्द्रको थारु राष्ट्रिय मुक्ति मोर्चा रहेका छन् । चौधरी टीकापुर घटनाका मुख्य दोषी मानिन्छन् । उनको रिहाइको माग गर्दै आएको छ भने पछिल्लो समय होडबाजी नै देखिएको छ । थरूहटमा रेशम चौधरीको रिहाइसँग कतिपय नेताहरुको भविष्य जोडिएको छ । त्यही भएर रेशम चौधरी कसको पहल र दवावमा रिहाइ भएको कुरामा होडबाजी चलेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप