बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जसपामा दुई लाइन संघर्ष : महन्थ र राजेन्द्र महतोको योजनामा उपेन्द्र र बाबुराम बाधक

रेशमलाई रिहा गर्ने प्रक्रिया सुरु, तर समय अनिश्चित
आइतबार, १५ चैत २०७७, २१ : ३७
आइतबार, १५ चैत २०७७

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेताहरु सत्ता साझेदारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ धाइरहेका छन् । उनीहरुले रेशम चौधरीको रिहाइसहितका सर्त अघि सारेर सत्ता गठबन्धनका लागि प्रधानमन्त्री ओलीसँग छलफल गर्दै आएका छन् ।

त्यसो त जसपा नेपालले प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सत्ता साझेदारी गर्ने वा ओलीको विकल्पमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसँग मिलेर नयाँ गठबन्धन बनाउने भन्ने दुवै विकल्पका लागि छलफल चलाउन सक्ने अवस्था छ । किनकि संसदीय अंक गणितले जसपालाई यस्तो निर्णायक बिन्दुमा उभ्याएको छ कि उसले दुईमध्ये जुन गठबन्धनमा आफूलाई सामेल गर्छ, सोही गठबन्धनले सरकार गठन गर्न सक्छ ।

तर, पछिल्लो समय जसपा नेपालले प्रधानमन्त्री ओलीसँगकै छलफललाई बढी महत्त्व दिएको छ । जसपाका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतोले पटक पटक ओलीसँग भेटवार्ता गरेका छन् । अर्कोतिर काँग्रेस र माओवादी केन्द्रसँगको गठबन्धनका लागि जसपा नेपाल अनिच्छुक भएको हो कि भन्ने आशंका पनि उब्जन थालेको छ ।

 


यिनै आशंकाका बीच जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर भन्छन्, ‘अहिलेको प्रधानमन्त्रीमा केपी शर्मा ओली हुनुहुन्छ भने हामी अन्त कहाँ जाने ? हामी आफ्नो माग लिएर जाने सरकार कहाँ नै त हो ।’

सत्ता साझेदारीका लागि जसपा नेपालले पहिलो सर्तका रुपमा रेशम चौधरीको रिहाइ, मधेस तथा थरूहट आन्दोलनका क्रममा लगाइएका मुद्दाहरूको खारेजी, नागरिकतासम्बन्धी कानुन र संविधान संशोधन लगायतका मुद्दा उठाएको छ ।

जसपा नेपालका अर्का अध्यक्ष उपेन्द्र यादव र सोही पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको अडानका कारण ठाकुर र महतोले सरकारबारे चाँडो निर्णय गर्न सकिरहेका छैनन् । जसपाका एकजना पदाधिकारीले भने, ‘उपेन्द्र यादव र डा.भट्टराई नभएको भए उहाँहरु (महन्थ र राजेन्द्र महतो लगायत) ले उहिल्यै मन्त्रीको सपथ लिइसक्नुहुन्थ्यो । उहाँहरुको लक्ष्य सरकार नै हो ।’

सरकारसँग निरन्तर वार्तामा रहेका जसपा नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण भन्छन्, ‘रेशम चौधरीको रिहाइका लागि प्रधानमन्त्री ओली सकारात्मक हुनुभएको छ, त्यसका लागि प्रकृया पनि सुरु गरिसक्नुभएको छ ।’

कर्णले मात्र होइन, प्रधानमन्त्री ओलीसँग बालुवाटारमै गएर वार्ता गर्दै आइरहेका जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पनि आफूहरुको माग पूरा गर्न प्रधानमन्त्री ओली सकारात्मक भएको प्रतिक्रिया दिइरहेका छन् ।

 


जसपा नेपालको एक पक्षले प्रधानमन्त्री ओली आफूहरुको माग पूरा गर्नेमा विश्वस्त भएर बसिरहेको छ भने अर्को पक्ष ओलीलाई सरकारबाट हटाउनैपर्ने पक्षमा देखिन्छ ।

तर, जसपा नेपालका अध्यक्ष ठाकुरका अनुसार प्रधानमन्त्री ओलीलाई समर्थन गरिसकेको अवस्था नरहेको बताउँछन् । उनले भने, ‘हामीले प्रधानमन्त्री ओलीलाई समर्थन दिइसकेका छैनौं । प्रधानमन्त्री ओलीले पटक–पटक सरकारमा आउन आग्रह गरिरहनुभएको छ । तर, हामीले अहिले समर्थन गर्न सकिँदैन, तपाईको विरोध पनि गरिँदैन भनेर विश्वास दिलाएका छौं ।’

आफ्ना माग पूरा भइसकेपछि सरकारका बारेमा विचार गरिने ठाकुरको भनाइ छ ।

जसपा नेपालका अर्का अध्यक्ष उपेन्द्र यादव र सोही पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको अडानका कारण ठाकुर र महतोले सरकारबारे चाँडो निर्णय गर्न सकिरहेका छैनन् । जसपाका एकजना पदाधिकारीले भने, ‘उपेन्द्र यादव र डा.भट्टराई नभएको भए उहाँहरु (महन्थ र राजेन्द्र महतो लगायत) ले उहिल्यै मन्त्रीको सपथ लिइसक्नुहुन्थ्यो । उहाँहरुको लक्ष्य सरकार नै हो ।’

रेशम चौधरीलाई रिहा गराएर मधेसमा एउटा वातावरण तयार गर्ने पक्षमा जसपाका अध्यक्ष ठाकुर र महतो रहेको उनले बताए ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओलीलाई सरकारमा समर्थन गर्न नसकिने बताउँदै आएका छन् । ओलीले चालेको असंवैधानिक कदमको बारेमा माफी नमागेसम्म समर्थनको बारेमा सोच्न पनि नसकिने उनको भनाइ छ ।

ओली देशका प्रधानमन्त्री भएका कारण मधेसी, आदिवासी जनजाति, पिछडिएकाहरुको जायज माग पूरा गर्नु उनको कर्तव्य भएको र त्यो पूरा गर्नुपर्ने आफूहरुको भनाइ रहेको यादव बताउँछन् । ती माग पूरा गरेपछि पनि उनलाई प्रधानमन्त्रीमा समर्थन गर्नैपर्छ भन्ने बाध्यात्मक अवस्था नरहने उल्लेख गर्दै यादवले अहिले कसैसँग मिलेर सरकार बनाउने पक्षमा जसपा नेपाल नरहेको बताए ।

रेशमलाई रिहा गर्ने प्रक्रिया सुरु, तर समय अनिश्चित

जसपा नेपालले प्रधानमन्त्री ओलीसँग वार्ता थालेपछि रेशम चौधरीलाई रिहा गर्ने प्रकृया सुरु गरेको छ । महान्यायाधिवक्ता कार्यालयले चौधरीको फाइल झिकाएर अध्ययन थालेको छ भने जसपा नेपालले पनि जिल्लाहरूबाट कागजात मगाएर प्रधानमन्त्री ओलीमार्फत महान्यायाधिवक्ता कार्यालयमा पठाएको छ । रेशम चौधरीलाई कुन कानुनअनुसार रिहा गर्न सकिन्छ भनी अध्ययन भइरहेको स्रोत बताउँछ ।

जिल्ला अदालतले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि रेशमले पुनरावलोकनका लागि मुद्दा दायर गरेका छन् । सोही मुद्दामा टेकेर चौधरीलाई छाड्ने तयारी भइरहेको स्रोत बताउँछ ।

 


जसपाका एकजना कार्यकारिणी सदस्यले भने, ‘कुनै पनि मुद्दामा वादी र प्रतिवादी मिलेपछि त्यो मुद्दा आफैं कमजोर हुन्छ । रेशम चौधरीको मुद्दा पनि त्यही हुन्छ । सरकारको तर्फबाट पनि चौधरीलाई सपोर्ट गरेपछि रिहा गर्न सजिलो हुन्छ । यद्यपि कानुनीरुपमा प्रकृया सुरु गरेदेखि अन्तिम फैसला आउँदासम्म कम्तिमा दुई महिना लाग्छ ।’

सरकार पक्षका सांसद तथा मन्त्रीहरु र जसपा नेपालका नेता तथा सांसदहरु दिनहुँजसो डिल्लीबजार कारागारमा गएर रेशम चौधरीलाई रिहाइको आश्वासन दिइरहेका छन् । दुवै पक्षले रेशमलाई आफ्नो पहलमा रिहा गर्न थालिएको आश्वासन दिने गरेका छन् । रेशम चौधरी रिहा हुन्छन् या हुँदैनन् ? र, उनको रिहाइका लागि कसको भूमिका महत्वपूर्ण रहने हो भन्ने प्रस्ट हुन अझै केही दिन कुर्नैपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप