शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

किन हुन सकेन एमाले–जसपाबीच सहमति ?

मङ्गलबार, १० चैत २०७७, १४ : १०
मङ्गलबार, १० चैत २०७७

काठमाडौँ । सत्तारुढ नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच मंगलबार बालुवाटारमा छलफल भएको छ । दुई दलबीच सत्ता सहकार्यबारे कार्यदल स्तरमा छलफल भएपनि कुनै सहमति हुन नसकेको बैठकपछि नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । 

टीकापुर घटनाका दोषी रेशम चौधरीलगायतको रिहाइ, मधेस आन्दोलनमा संलग्नमाथि लागेका मुद्दा फिर्ता, संविधान संशोधन, नागरिकता, लाल आयोगको प्रतिवेदन कार्यान्वयन लगायतको विषयमा छलफल भएपनि कुनै सहमति नभएको कार्यदलका सदस्य समेत रहेका कर्णले बताए । यद्यपी छलफललाई निरन्तरता दिने सहमति भएको उनले बताए ।

छलफलको क्रममा जसपाको सहयोग चाहिए काम गरेर देखाउनुपर्ने अनि मात्रै जसपाले निर्णय गर्ने बताएको नेता कर्णले बताए । उनले भने, ‘हामी गएका थियौँ । हामीले त्यहाँ ४ वटा विषयहरु उठाइरहेका छौँ । जुन हाम्रो माग हो । त्यो मागलाई आश्वासन अस्तिदेखि पाइराख्या छौं । भन्या पनि हो पोजेटिभ कुरा चलिराखेको छ । तर देखिने गरी काम आएकै छैन । काम हुनुपर्यो । उहाँहरु सहयोग मागि राख्नुभएको छ भने आज पनि हाम्रो छलफलमा, काममा हेर्नुपर्यो । काम गरेर देखाउनुपर्यो । त्यसपछि मात्रै हामी निर्णय गछौँ भन्ने कुरा गर्यौँ । उहाँले देखाउँछु भन्नुभएको छ हेर्दै जाउँ ।’

वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो पार्टीका नेता, कार्यकर्ताको रिहाइका लागि गृहकार्य सकारात्मक रुपमा अगाडी बढेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिदैँ महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा मुद्दा मामिलाको सन्दर्भमा गृहकार्य सकारात्मक रुपमा अगाडी बढेको बताएका हुन् ।

पहिले मुद्दा मामिलाको काम अगाडि बढेमा सत्ता समीकरण लगायतको विषयमा कुरा गर्ने उनले बताए । नेता, कार्यकर्ताको मुद्दा फिर्ता गर्न पार्टी भित्र एकमत भएको भन्दै उनले नेताहरुले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेपनि निर्णय भने पार्टीले गर्ने बताए । उनले भने, ‘मुद्दा मामिलाको सन्दर्भमा गृहकार्य सकारात्मक रुपमा अगाडी बढेको छ । काम होस् भन्ने हामीले चाहेको । पहिले मुद्दा मामिलाको अगाडि बढोस् न । अनि बाँकी कुरापनि गरौँला नि त ।’

नेकपा(एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जसपा र एमाले बीचको सम्बन्धमा कुनै शर्त नभएको बताए । रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनसँग सम्बन्धित विषयमा कुरा भएपनि सत्ता साझेदारीको विषयमा कुरा नउठेको बताए । उनले भने, ‘कुनै पनि सर्तबन्दी छैन हाम्रो सम्बन्धमा । उहाँहरुले कुनैपनि सर्तबन्दी राख्नुभएको छैन । हामी बीचमा कुनै पनि सर्तबन्दी छैन । रेशम चौधरी, मधेस आन्दोलन लगायतका विषयमा उहाँहरुले भन्नुभएको छ । सत्ता साझेदारी गर्ने कुरा त्यहाँ उठिरहेको छैन ।’ अहिलेसम्म जसपाको मागसँग सम्बन्धित भएर मात्रै कुरा भइरहेको उपनेता नेम्बाङले बताए । दुई पार्टीबीच राम्रो सम्बन्ध भयो भने सत्ता समीकरण हुनसक्ने पनि उनले बताए ।

वार्ताका लागि गठन भएको कार्यदलमा सरकारको तर्फबाट सुवास नेम्वाङ, डा.राजन भट्टराई र विष्णु पौडेल रहेका छन् भने जसपा नेपालको तर्फबाट कर्णसहित सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने देखिएपछि सत्ता जोगाउनका लागि उनले जसपा नेपाललाई मनाउने प्रयास गर्दै आएका छन् । जसपा नेपालले आफूहरुको माग पुरा भएपछि मात्र सरकारमा जाने अडान लिएका छन् । सोही अडानको विषयमा सरकार र जसपा नेपालबीच पटक पटक छलफल हुँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप