शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नवीन्द्रराजकी छोरीले भनिन् – आइ लभ यु बाबा, गुडबाई !

शोकमग्न सानेपाको भावविह्वल दृश्य
शनिबार, १४ चैत २०७७, १८ : ४०
शनिबार, १४ चैत २०७७

काठमाडौं । ललितपुरको सानेपास्थित नेपाली काँग्रेस केन्द्रीय कार्यालय परिसरमा शनिबार विहान १० बजेबाटै भीडभाड सुरु भयो । काँग्रेस कार्यकर्ता हातमा फूल बोकेर पूर्वगेटबाट कार्यालय प्रवेश गरिरहेका थिए । केहीले बाहिरबाटै फूल बोकेर आएका थिए भने केही प्रवेशद्वारमा बेच्न राखिएको फूल किन्दै थिए ।

गाडीमा आएकाले गाडी बाहिरै पार्किङ गरे । पार्टी कार्यालयको परिसरमा सबैलाई गाडी ल्याउन दिइएको थिएन । पार्टीका शीर्षस्थ नेताका गाडी मात्र कार्यालय परिसरमा थिए ।

बिहान ११ ः ३० बजे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएकाले काठमाडौं उपत्यकामा रहेका केन्द्रीय सदस्यहरु ११ बजे  नै सानेपा पुगिसकेका थिए । केन्द्रीय सदस्यसँगै काठमाडौं उपत्यका र त्यस वरिपरिका काँग्रेस कार्यकर्ता पनि सानेपा आइरहेका थिए ।

दिउँसो १२ बजेसम्म पार्टी कार्यालय परिसर नेता–कार्यकर्ताले भरिभराउ भइसकेको थियो । त्यहीबीचमा काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्यो । बैठकमा यसअघि जस्तो गुटगत कुराकानी भएन  । पार्टी सभापति शेरबहादुर देउवाले बैठकको अध्यक्षता गर्दै महामन्त्री पूर्णबहादुर खड्कालाई एजेण्डा प्रस्तुत गर्न लगाए । देउवाको निर्देशनमा खड्काले बैठकको एजेण्डा प्रस्तुत गरे ।

 

पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले ५९ वर्षको उमेरमा जीवनलीला त्यागेको विषयमा शोक प्रस्ताव पारित गर्ने बैठकको एकमात्र एजेण्डा थियो । जसमा चैत्र १५, १६ र १७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने  र उक्त दिनहरुमा शोकका कार्यक्रमहरु बाहेक पार्टीका अरु औपचारिक कार्यक्रमहरु नगर्ने प्रस्ताव खड्काले राखे ।

यस्तै चैत्र १७ गते मंगलबार केन्द्र तथा सबै जिल्ला कार्यालयहरु बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने कांग्रेस बैठकले निर्णय ग¥यो । यस्तै, जोशीको स्वर्गारोहणको १३ औँ दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दुरी कायम गर्दै शोक सभाको आयोजना गर्ने निर्णय पनि बैठकले ग¥यो ।

महामन्त्री खड्काद्वारा पेस गरिएको प्रस्ताव बैठकमा सहभागी सबैले हात उठाएर पारित गरे । अनि, नेता जोशीप्रति एक मिनेट मौनधारण गरेर बैठक सकियो । यता जोशीको शव उनको निवासबाट सानेपा ल्याइदिँदै थियो । जोशीको पार्थिव शरीर १२ बजे नै पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने भनिए पनि १ बजे मात्र शव सानेपा ल्याइपु¥याइयो । जोशीकी श्रीमती सपना र छोरी नीरिती भावविह्वल अवस्थामा सँगै आइपुगे ।

जोशीलाई श्रद्धाञ्जली अपर्ण गर्न पार्टी कार्यालयको एउटा छेउमा मञ्च बनाइएको थियो । शव त्यहीँ राखियो । शवको छेउमै रहेकी सपना र नीरितीले श्रीमान र पिता गुमाउनुको पीडा आँशुबाट बगाइरहेकी थिइन् । उनलाई केही महिलाले सम्हालिरहेका थिए । यहीबीचमा श्रद्धाञ्जली दिने क्रम सुरु भयो । पार्टी सभापति देउवाले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरे । अनि शीर्षस्थ नेताहरुले पालैपालो श्रद्धाञ्जली दिए ।

श्रद्धाञ्जली दिनेको भीडमा सपना र नीरितीलाई उभिन गाह्रो भयो । उनीहरुलाई शवको केही पर राखिएका कुर्सीमा लगेर राखियो । तर,  छोरी नीरिती त्यहाँ बस्न तयार भइनन् । अनि काँग्रेस नेता प्रकाशमान सिंह ढाडस दिन पुगे । सपना र नीरितीलाई राखिएको ठाउँनजिकै अर्को कुर्सीमा बसेर सिंहले सान्त्वना दिए ।

 


 

सपना केही शान्त देखिए पनि नीरितीको चित्कार रोकिएन । जोशीलाई श्रद्धाञ्जली दिएर काँग्रेस नेता गगन थापा पनि सपना र नीरितीलाई राखिएको नजिकै कुर्सीमा बसे ।

त्यहीबीचमा नेकपा एमाले नेतृअष्टलक्ष्मी शाक्य पनि उनीहरु भएको ठाउँमा गइन् । केही समय बसेर बाटो लागिन् । त्यसको केही समयपछि सिंह पनि त्यहाँबाट उठे । उनीहरुको अवस्था देखेर भावविह्वल बनेका गगन थापा भने ढाडस दिइरहेका थिए । तर, उनी आफैं पनि आँशु बगाइरहेका थिए । नीरिती हातमा लगाएको औंठी खोल्दै लगाउँदै गर्दै थिइन् । दुई छोरीका पिता गगन थापा यस्तो दृश्य देखेर भावह्विल देखिन्थे ।

१३ वर्षीया नीरिती स्वर्गीय जोशीकी एक्ली सन्तान हुन् । बाबुको असीम माया ममताका साथ हुर्कँदै गरेकी नीरिती बाबुको मृत शरीर हेरेर त्यहाँ धेरै समय टिक्न सकिनन् । अनि एक महिलाको साहरामा उनी बाबुको शव राखिएको  ठाउँमा आइन् र मृत शरीर सुम्सुम्याउँदै गालामा चुम्बन गरिन् । केही समय उनको त्यो क्रम जारी रह्यो । त्यसपछि उनलाई सम्हालिरहेकी महिलाले त्यहाँबाट छेउमा दिने प्रयास गरिन् । तर, उनी मानिरहेकी थिइनन् । मुस्किलले पछि हट्दै गर्दा उनले भनिन्– ‘आई लभ यु बाबा, गुड बाई.....!

जोशीको शव पार्टी कार्यालयमै थियो । पत्नी सपना उता कुर्सीमा चित्कार छोडिरहेकी थिइन् । त्यतिबेलासम्म पार्टी कार्यालयमा मानिसको भीडभाड पातलिसकेको थियो ।

 


 

काँग्रेस नेताहरुका साथै सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, योगेश भट्टराई श्रद्धाञ्जली दिएर सानेपाबाट बाहिरिइसकेका थिए । त्यसको केही समयपछि काँग्रेस सभापति देउवा पनि सानेपाबाट बाहिरिए ।

करिब तीन बजेतिर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जोशीलाई श्रद्धाञ्जली दिन सानेपा पुगे । उनी त्यहाँ पुग्दा काँग्रेसका अधिकांश नेता सानेपाबाट बाहिरिसकेका थिए । जोशीको शव भने त्यहीँ थियो । उपत्यका नजिकैका कार्यकर्ताहरु ४ बजेसम्म सानेपा आइरहेका थिए ।

 


 

बेलुका चार बजेपछि मात्र अन्त्येष्टिका लागि जोशीको शव आर्यघाट लगियो । महामन्त्री शशांक कोइराला लगायतका नेताहरु आर्यघाट पुगे । पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भने आर्यघाटमा देखिएनन् । उपत्यका बाहिर रहेका नेता पौडेल मौसमको खराबीका कारण काठमाडौं आउन नसकेकाले सानेपा र आर्यघाट दुबै ठाउँमा पुग्न नसकेका हुन् ।

आर्यघाटमा पनि नेता, कार्यकर्ता शुभेच्छुकको ठूलो भीड थियो । साँझ ६ बजेपछि जोशीको हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरियो । जोशीको पार्थिव शरीरमा उनका दाजु राजुराज जोशी र  भतिजा सौरभ जोशीले दागवत्ती दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप