बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पिताद्वारा बन्धक बनाइएकी दुबईकी राजकुमारी लतिफाको आफ्नै दिदीलाई रिहा गरिदिन बेलायती प्रहरीलाई पत्र

बिहीबार, १३ फागुन २०७७, १४ : ३७
बिहीबार, १३ फागुन २०७७

दुबईका शासककी छोरी राजकुमारी लतिफाले बेलायत प्रहरीसमक्ष २० वर्ष अघि क्याम्ब्रिज स्ट्रिटबाट अपहरणमा परेकी आफ्नी दिदीको पुनः खोजी गरिदिन आग्रह गरेकी छिन् ।

बीबीसीसँग साझा गरिएको पत्रमा लतिफाले क्याम्ब्रिजशायर प्रहरीलाई राजकुमारी शम्साको खोजी गरिदिन अपिल गरेकी हुन् । लतिफाका अनुसार शम्सालाई उनकै पिताको आदेशमा अपहरण गरिएको हो ।

हाल ३९ वर्षकी र त्यतिबेला १८ वर्षमा रहेकी शम्सा अहिलेसम्म पनि सार्वजनिक रुपमा देखिएकी छैनन् ।

बीबीसीले यसबारे प्रतिक्रिया लिन खोज्दा दुबई सरकारले प्रतिक्रिया दिन चाहेन ।

सन् २०१९ मा एक उच्च अदालतका न्यायाधीसले सिख मोहम्मद बिन रसिद अल मख्तोमले आफ्ना दुई छोरीहरुको अपहरण गरेर उनीहरुको इच्छा विपरित पक्राउ गरेको राखेको जानकारी दिएका थिए ।

गत हप्ता बीबीसी प्यानारोमाले लतिफाले गोप्य रुपमा खिचेको भिडियो सार्वजनिक गरेको थियो जसमा लतिफाले सन् २०१८ मा भाग्न खोज्दा आफू आफ्नै पिताको आदेशमा पक्राउ परेको बताएकी थिइन् ।

करिब दुई दशक अघि उनकी दिदीले पनि भाग्ने कोसिस गरेकी थिइन् जसमा उनी विफल भएपछि उनलाई पनि कैद गरिएको थियो ।

सन् २००० को अगस्टमा भाग्ने कोसिस गरेको करिब दुई महिना पछि शाम्सालाई बलपूर्वक क्याम्ब्रिज लगिएको र उनलाई त्यहाँबाट हेलिकोप्टरमा राखेर फ्रान्स पुर्याइएको र पछि नीजि विमानमार्फत् दुबई पुर्याइएको थियो ।

लतिफाले हातले लेखेको चिठ्ठी क्याम्ब्रिजसायर प्रहरीलाई उनका साथीहरुले बुधबार प्रदान गरेका छन् । लतिफाले बेलायती अधिकारीलाई आफ्नो दिदीको पक्षमा कदम उठाउन आग्रह गरेकी छिन् । यो पत्र उनले सन् २०१९ मा जेलमा कैद गरिएका बेला लेखेको बताइन्छ ।

‘म तपाईंहरु समक्ष यत्ति मात्रै आग्रह गर्छु,’ लतिफा लेख्छिन्, ‘कि कृपया तपाईंहरुले यो मुद्दालाई एकपटक पुनः ध्यान दिनुहोस् किनभने यसले उनी स्वतन्त्र पार्न सक्छ.... तपाईंहरुले यसबारे ध्यान दिँदा र सहयोग गर्दा उनी मुक्त हुन सक्छिन् ।’

उनी थप्छिन्, ‘उनको बेलायतसँग निकै गहिरो सम्बन्ध छ । उनले बेलायतलाई असाध्यै माया गर्छिन्, बेलायतमा बिताएका क्षण उनको जीवनको सबैभन्दा प्रिय पलमध्येको हो ।’

लतिफाले पत्रमा मिति २०१८ फेब्रुअरी लेखेकी छिन् । यसो गरेर उनले यो पत्र आफूले भाग्ने योजना बुन्नु अघि नै लेखेको देखाउन चाहन्छिन् । यसका साथै, हिरासतमा रहँदा पनि बाहिरी दुनियाँसँग आफ्नो सम्पर्क रहेको बारे कसैलाई शंका नहोस् भनेर पनि उनले यसो गरिन् ।

क्याम्ब्रिजसायर प्रहरीले पहिलो पटक सन् २००१ मा शाम्साको खोजी गरेको थियो । तर अधिकारीलाई दुबई प्रवेशमा रोक लगाएपछि यो मुद्दा पूर्ण रुपमा बन्द भएको थियो ।

युवा शाम्साको भाग्ने असफल प्रयासः

राजकुमारी शाम्सा धेरैजसो बेलायतमा नै हुर्किइन् । उनलाई पश्चिमा शिक्षा प्रदान गरियो ।

‘शाम्सा हामीले भन्ने जस्तो ‘राजकुमारी’ जस्ती थिइनन्,’ उनका कजन मार्कस इसाब्रीले भने । मार्कस दुबईमा आफ्ना परिवारसँगै बस्दथे र शाम्सासँग निकै नजिक थिए । ‘उनी निकै रमाइलो गर्नुपर्ने खालकी थिइन् । जीवन र रोमाञ्चकताले भरिपूर्ण थिइन् ।’

‘उनी महिलाको स्थिती फेर्न चाहन्थिन् विशेषगरी अरब देशमा । उनी सीमा तोड्न चाहन्थिन् । यहाँबाट नै समस्या सुरु भयो,’ मार्कसले भने ।

शाम्शाले सन् १९९९ मा मार्कसलाई बेलायतबाट पत्र लेखेकी थिइन् । त्यसको ९ महिनापछि उनले भाग्ने प्रयास गरेकी थिइन् । उनका पिता, दुबईका तत्कालीन युवराजले उनलाई पढ्न दिइहरेका थिएनन् र युनिभर्सिटीजान पनि बन्देज गरेका थिए ।

‘मलाई आफ्नो पढाईमा निरन्तरता दिन दिइएन । तिमीलाई थाहा छ, उहाँले मलाई तिम्रो इच्छा के छ भनेर पनि सोध्नुभएन । मात्र ‘हुँदैन’ भन्नुभयो ।’

उनले आफ्ना कजनसँग आफू भाग्न चाहेको गोप्य कुरा सेयर गरेकी थिइन् ।

‘मलाई एउटै कुराले तर्साउँछ । बुढेस्कालमा एक्लै बसेर ‘म १८ वर्षको हुँदा किन आँट गरिनँ’ भनेर पछुतो मान्छु कि भन्ने डर लाग्छ । कस्तो प्रयास ? मलाई थाहा छैन । तर मौका गुम्न दिन्नँ ।’

त्यसपछि सन् २००० को गर्मीयाममा उनले मौका छोपिन् । उनले कालो रङको रेन्ज रोभर चलाएर भागिन् । त्यसपछि शेखले एजेन्टहरुको टोली गठन गरेर उनलाई गोप्य रुपमा ट्र्याक गरे ।’

सन् २००० को अगस्ट १९ मा एक व्यक्तिले शाम्सालाई क्याम्ब्रिज लगे । जब उनीहरु युनिभर्सिटी आर्म्स अस्पताल पुग्नै लागेका थिए तब उनका पिताले नियुक्त गरेका चार व्यक्ति त्यहाँ पुगे र उनलाई बाटोबाटै बन्दी बनाए ।

शाम्सालाई न्यूमार्केटमा रहेको शेखको जग्गामा लगियो । भोलिपल्ट बिहानै उनलाई हेलिकोप्टरमार्फत् उत्तरी फ्रान्समा पुर्याइयो, त्यसबाट उनलाई नीजि विमानमा राखियो ।

त्यसको केही घण्टापछि उनी दुबई पुगिन् । स्वतन्त्र हुने र उच्च शिक्षा हासिल गर्ने उनको सपना तुहियो ।

शाम्साको ‘जम्बी’ जीवनः

लतिफाका अनुसार शाम्साले ८ वर्ष जेलभित्र बिताइन् ।

जब उनलाई सन् २००८ मा रिहा गरियो तब लतिफाले उनलाई देख्ने मौका पाएकी थिइन् । ‘उनी आफ्नो अगाडि हात फैलाएर हिँडिरहेकी थिइन् । उनले आफ्नो आँखा खोल्न सकिरहेकी थिइनन् । उनलाई नियन्त्रण गर्नका लागि एक मुठ्ठी औषधी दिने गरिन्थ्यो । ती औषधीले उनलाई जम्बी झैं बनाएको थियो ।’

शाम्सा रिहा भएपछि उनको सम्पर्कमा आएका एक व्यक्तिले भने, ‘उनी सधैंजसो चुप नै बसिरहन्थिन् । उनले जे पनि गर्थिन् त्यो नियन्त्रण गरिएको थियो । शाम्सामा अब कुनै चमक छैन । उनी अब लडाकू होइनन् । उनी भित्र केही पनि छैन । उनी एउटा बोक्रासरह भएकी छिन् ।’

‘मलाई लाग्छ कि उनले आफ्नो जीवनबाट राजीनामा दिएकी छिन् । यो अत्यन्तै दुःखद हो ।’

सन् २०१९ मा लतिफाले शाम्सालाई पुनः भेटिन् । त्यतिबेला लतिफा पनि भाग्ने प्रयासमा कैद भइसकेकी थिइन् । उनले त्यतिबेला एक गोप्य फोनमार्फत् आफ्ना कजनसँग सम्पर्कमा आएको बताइन् ।

‘लतिफाले ‘अब तिमीले शम्सालाई चिन्नै सक्दैनौ’ भन्दै मलाई चेतावनी दिइन् । उनलाई असाध्यै धेरै औषधी खुवाइएको छ । उनी जिउँदो त छिन् तर शाम्सा अहिले शाम्सा होइनन्,’ मार्कसले भने ।

शाम्सालाई चिन्नेहरु भन्छन्, ‘तपाईंले यो कुरा सुल्झाउन सक्नुहुन्नँ । तपाईंलाई कसले पत्याउने ? यो असत्य जस्तो देखिन्छ । तर दुर्भाग्यवश यो वास्तविक हो । र म बुझ्दछु कि मानिसहरुले यो जटिल कुरालाई बुझ्न सक्दैनन् । उनीहरुले केही धनी केटी मात्रै देखेका हुन्छन् । भित्र यस्तो हुँदैन । यो भयानक छ ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप