नमुना सहकारी : जसले उठाउँदै छ सामूहिक उत्थानको अभिभारा
सहकारी भन्ने वित्तिकै कुनै कार्यको सहकार्य वा सँगसँगै गर्ने भन्ने बुझिन्छ । यसको विश्वव्यापी मूल्य मान्यता पनि यही हो । तर पछिल्लो समय अधिकांश सहकारी संस्थाहरू प्राइभेटाइज (व्यक्तीकरण) गरिँदा सहकारी क्षेत्र नै बदनाम बन्न पुगेको छ । सदस्यहरुसँग पैसा उठाउने र ऋणमा लगानी गर्ने र बसीबसी नाफा खाने प्रवृत्ति नै सहकारीको गलत प्रवृत्ति हो । यसले पछिल्लो समय सहकारी क्षेत्र दूषित मात्र नभएर बदनामसमेत बन्दै गएको छ ।
तर पैसाका लागि, पैसाकै कारोबार गरेर नाफामुखी बनेका केही सहकारीका बीचमा यस्ता सहकारीहरु पनि छन् जो सदस्यमुखी भएर व्यावसायिकतामा लागेका छन् । हो, जुन सहकारीले उदाहरणीय काम गरेर नमुना सहकारीको रूपमा दर्ज भएका छन् ।
यसैको एक उदाहरणीय सहकारी संस्था हो, पूर्वको बराहक्षेत्र नगरपालिका–२, सुनसरीमा सञ्चालित ‘चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था’ ।
‘नाम जस्तै काम उस्तै’ चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीले स्थानीय मानव समुदायको आर्थिक, सामाजिक तथा व्यावसायिक उत्थानका खातिर उपलब्धिमूलक काम गरिरहेको छ ।
झण्डै ४ हजार ५ सय सेयर सदस्य रहेको उक्त संस्थाले सामूहिक हितका लागि विविध योजना परियोजनाहरु सञ्चालन गरिरहेको छ । यसको नमुना उदाहरण हो, संस्थाले सञ्चालन गरिरहेको १० करोड रुपैयाँ बराबरको कृषि परियोजना ।
बहुउद्देश्यीयले बराहक्षेत्र–२, सुनसरीमा कुल १० करोड रुपैयाँ बराबरको लगानीमा बृहत् गाई फार्म सञ्चालनमा ल्याएको छ । झण्डै १० बिघा क्षेत्रमा फैलिएको उक्त फर्ममा लगभग ३०० वटा गाई पालन गरेको छ भने गाईका लागि आहार, घाँससमेत सोही जग्गामा उत्पादन गर्दै आएको छ ।
त्यति मात्र होइन संस्थाले फार्मका साथसाथै त्यहाँबाट उत्पादित दूध प्रशोधन एवम् चिस्यान केन्द्रसमेत सञ्चालनमा ल्याएको छ ।
फर्मबाट दैनिक ७ सय लिटर दूध उत्पादन हुने र करिब ८ सय लिटर दूध स्थानीय कृषक सदस्यहरुबाट सङ्कलन गरी दैनिक १५ सय लिटर दूध संस्थाकै चिस्यान केन्द्रबाट प्रशोधन गरी बजार पठाउने गरेको संस्थाकी अध्यक्ष सीता भण्डारी पौडेलले जानकारी दिइन् ।
‘अहिले फर्मबाट दैनिक ७ सय लिटर दूध उत्पादन हुन्छ । स्थानीय कृषक सदस्यहरुबाट समेत उत्पादित करिब ८ सय लिटर दूध गरी दैनिक करिब १५ सय लिटर दूध सङ्कलन गर्छौं । यो दूध संस्थाकै चिस्यान केन्द्रमा राखी बजार पठाउँछौँ ।’
अध्यक्ष पौडेलले भनिन्, ‘संस्थाबाट उत्पादित दूधसँगसँगै स्थानीय कृषकबाट उत्पादित सङ्कलित दूध अब संस्थाकै डेरीबाट विविध दुग्धजन्य पदार्थ बनाएर बिक्रीवितरण गर्ने योजना बनाउँदै छौँ । यसका लागि अहिले संस्थाले गृहकार्य गरिरहेको छ ।’
त्यसो त यस्तो योजना संस्थाको सफलता र सदस्यहरुको सामूहिक हितकै लागि गरिएको उनको भनाइ छ । आर्थिक, सामाजिक तथा व्यावसायिकतामा पछाडि परेका स्थानीय समुदायलाई माथि उठाउनु नै संस्थाको प्रमुख उद्देश्य भएको उनको भनाइ छ ।
‘प्रमुखतः हाम्रो उद्देश्य भनेको नै स्थानीय समुदाय सेयर सदस्यहरुकै हितमा काम गर्ने हो । आर्थिक रूपमा पछाडि परेका स्थानीय समुदायको आर्थिक उन्नति, रोजगारी सिर्जनका लागि नै फर्म सञ्चालनमा ल्याएका हौँ । यसले धेरै सदस्यहरुको आर्थिक उन्नती पनि भएको छ । यसमा हामी सफल भएका छौँ ।’
अध्यक्ष भण्डारीले भनिन्, ‘यति मात्र होइन अब यो फर्मलाई गाई स्रोत केन्द्रको रूपमै विकास गर्ने हाम्रो योजना छ ।’
फर्मलाई स्रोत केन्द्रका रुपमा विकास गरी सेयर सदस्यलाई उन्नत गाईहरु सुलभ मूल्यमा उपलब्ध गराउने र व्यवसायमा स्वाभलम्बी बनाउने संस्थाको उद्देश्य रहेको उनले बताइन् ।
त्यसो त संस्थाले गाईपालनका साथसाथै विविध कृषि परियोजनाका लागि पाँच वर्षे कार्ययोजना समेत बनाएको छ । गाई फर्मबाट सुरुवात गरेको व्यवसायमा दूध सङ्कल तथा चिस्यान केन्द्रसँगै डेरी व्यवसाय र जैविक मल तथा पशु आहार उत्पादन केन्द्रको रूपमा समेत विकास गर्ने योजना संस्थाले बनाएको छ । यसका लागि संस्थाले लगानी बढाउँदै लगेको अध्यक्ष भण्डारीले बताइन् ।
त्यसो त अहिले डेरी फार्म सञ्चालन भएकै क्षेत्रमा अन्य कृषिका कार्यक्रमहरु समेत सञ्चालन गर्ने संस्थाले योजना बनाएको छ । दूध वृद्धिका लागि सङ्कलन केन्द्र विस्तार गरी यही वर्षदेखि २ हजार लिटर दूध सङ्कलन गर्नुका साथै पूर्वी उदयपुर र सप्तरी जिल्लाबाट समेत दूध खरिद गर्ने तयारी गरेको छ ।
संस्थाबारे जानकारी
चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था वि.सं. २०५० सालमा स्थापित एक बहुउद्देश्यीय सहकारी संस्था हो । पूर्व प्रदेश नम्बर १ को सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–२ स्थित संस्थामा कुल ४ हजार ३ सय ८१ जना सदस्य रहेका छन् ।
यीमध्ये ३ सय ५८ जना मात्रै पुरुष सदस्य छन् । बाँकी झण्डै ९३ प्रतिशत सदस्य अर्थात् ४ हजार २३ जना सदस्य महिला छन् ।
संस्थाको सेयर पुँजी कुल ८ करोड ९१ लाख ४७ हजार ३ सय रहेको छ भने, संस्थाले ४६ करोड निक्षेप सङ्कलन गरी कुल २० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
अध्यक्ष पौडेलका अनुसार संस्थाले सुरुवाती दिनहरुमा बचत तथा ऋणमा मात्रै केन्द्रित भए पनि पछिल्ला केही वर्षयता कृषिको व्यवसायीकरणमा लगानी बढाउँदै गएको छ । पछिल्ला दिनहरुमा कृषि कार्यसँगै बचत तथा ऋण तथा रेमिट्यान्सको कामसमेत गरिरहेको छ ।
सदस्य सेवामा संस्थाले आफ्ना सदस्यको व्यावसायिक फार्मलाई सुलभ कृषि ऋण, प्राविधिक सेवा तथा तालिम, बीमा, पशु आहारमा थप सहुलियत दिनुका साथै उत्पादनका आधारमा थप मूल्यसमेत दिइरहेको छ ।