शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एक महिला जो घरमै बसेर वार्षिक झण्डै ३५ लाख कमाउँदैछिन्

आइतबार, २५ माघ २०७७, ०८ : ४३
आइतबार, २५ माघ २०७७

गर्न सके के हुँदैन र ? आफ्नै माटोमा सुन फल्छ । काम गर्न आँट चाहिन्छ र सफल बन्नका लागि धैर्य । यसको एक ज्वलन्त उदाहरण हुन्– देवी दाहाल । प्रदेश १ को शिवसताक्षी नगरपालिका, झापाकी उनी एक सफल महिला उद्यमी हुन् । उनी एक सफल मौरीपालक कृषकसमेत हुन् ।

२०६०/६१ सालदेखि व्यावसायिक रुपमै मौरीपालन व्यवसायमा लागेकी दाहालले सुरुवाती दिनमा जम्मा १२ सय रुपैयाँ लगानी गरेकी थिइन् । दुई गोला (घार) मौरी पालनबाट व्यावसायिक यात्रा थालनी गरेकी दाहालसँग आज ९ सय गोला मौरी छन् भने वार्षिक ३५ लाख रुपैयाँको हाराहारीमा आम्दानी गर्छिन् ।

दैनिक गुजारा चलाउनसमेत निकै कठिनाई पर्ने परिस्थितिमा मौरीपालनले आफ्नो जीवनशैलीमै परिवर्तन ल्याएको दाहालको भनाइ छ । गरिबी र बेरसको आफ्नो जीवनलाई मौरीले नै महजस्तै रसिलो मिठास बनाइदिएको उनी बताउँछिन् ।

‘मौरी नै मेरो जीवनको अभिन्न अङ्ग हो । अहिले म जुन स्थानमा छु, त्यो सबै मौरीकै देन हो,’ उनले भनिन्, ‘दुःख र गरिबीमा डुबेको मेरो जीवन आज मौरीले नै पार लगाइदिएको छ ।’

आफ्नो दैनिक गुजाराका लागि अरुको घरमा जुठा भाँडा माझ्नुपर्ने, मेलापात गर्नुपर्ने अवस्थाबाट गुज्रिएकी उनी मौरीपालन व्यवसायबाटै अहिले घर–घडेरी जोड्न सफल भएको र छोराछोरीलाई उच्च शिक्षा दिन सकेको बताउँछिन् ।

त्यसो त सुरुवाती दिनमा दुःखमा डुबेको आफ्नो जीवन पार लगाउनका लागि उनमा विदेशिने सोच नआएको होइन । पैसाकै लागि विदेश जाने र केही पैसा कमाएर राम्रोसँग घर–व्यवहार, परिवार चलाउने उनको सोच थियो । तर, जब उनी मौरीपालनतर्फ आकर्षित भइन्, त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन ।

उनले भनिन्, ‘छाना र मानाकै लागि विदेश जान तयार भएकी म, अहिले घरमै बसेर वार्षिक झण्डै ३५ लाख रुपैयाँ आर्जन गर्दैछु ।’

त्यसो त दाहालको मात्र होइन, अहिले मौरीपालन व्यवसायकै कारण झापाका यस्ता धेरै महिलाको दैनिकी फेरिएको छ । शिवसताक्षी नगरपालिका–११, दूधेमा संगठित रुपमै महिलाहरु मौरीपालन व्यवसायमा लागेका छन् । श्री सतासी महिला मौरी पालन सहकारी संस्था लि.मार्फत् महिलाहरुले व्यावसायिक मौरीपालन गरिरहेका छन् भने सोही सहकारीमार्फत् वार्षिक करिब ६ टन मह उत्पादन गर्दै आएको सहकारी व्यवस्थापकसमेत रहेकी उद्यमी दाहाल बताउँछिन् ।

उत्पादित महलाई सहकारीले नै प्रशोधन गरी देशका विभिन्न स्थानमा विक्रीवितरणका लागि पठाउने गरेको उनको भनाइ छ ।

व्यावसायिक रुपमै सफल मानिएको सतासी महिला मौरी पालन सहकारीलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सरकारबाट अनुदानसमेत मिलेको छ ।

भिडियो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप