वाग्मतीमा भेटिएको शव : डिस्कोबाट फर्किएका किशोरहरुले मोबाइल लुट्न हत्या गरेको खुलासा
काठमाडौं । काठमाडौंको गुहेश्वरी मन्दिर नजिकै वाग्मतीमा शनिवार एउटा शव भेटियो । फागुन १ मा फेला परेको शव काठमाडौं–७ घर भएका ४९ वर्षीय रजुनमान श्रेष्ठको थियो । घरबाट गाडी सिक्न वाग्मती करिडोर पुगेका श्रेष्ठलाई हत्या गरेर छाडेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ । हत्यामा संलग्न चारजनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंहले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउपालिका–३ घर भएका १८ वर्षीय विशाल तामाङ, सन्तोष तामाङ, सन्त कुमार तामाङ र २० वर्षीय लाक्पा तामाङ छन् ।
हत्या आरोपीहरु बौद्धस्थित नयाँ बस्तीमा डेरामा बस्थे । आरोपीहरुमध्ये ३ जनालाई नयाँ बसपार्क र विशाल तामाङलाई नयाँबस्तीबाट नियन्त्रणमा लिएको एसएसपी सिंहले बताए ।
डिस्कोबाट फर्किंदा जम्काभेट अनि, हत्या
रजुनमान श्रेष्ठ हरेक विहान गाडी सिक्न गुहेश्वरी करिडोरमा जान्थे । हरेक दिन बिहान ३ देखि साढे ३ को बीचमा गाडी लिएर निस्कने उनी फागुन १ मा भने मध्यरात १२ बजेतिर नै मैजुबहालस्थित घरबाट गाडी लिएर निस्किए ।
गुहेश्वरी मन्दिरको पारिपट्टि पुगेपछि गाडी बिग्रियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार उनले मिस्त्रीलाई फोन गरेर एकछिन आएर गाडी जाँच गर्दिन आग्रह गरे । तर, मध्यरातमा मिस्त्रीले आउन नमानेपछि नारायणमार्गमा गाडी छाडेर उनी दिव्यश्वरी पार्टी प्यालेसतर्फ लागेका थिए ।
दिव्यश्वरि तर्फबाट फर्किँदा सो करिडोरमा करिब १२ बजेर ४० मिनेट चारजना किशोरसँग जम्काभेट हुन्छ । लाक्पा तामाङसहितका चारजना चावहिलको बेबिलोन डिस्कोबाट निस्केर पैदल हिँड्दै नयाँबस्तीस्थित डेरामा जाँदै थिए ।
चारजना मिलेर रजुनमानलाई आक्रमण गरे । पिटाइबाट गम्भीर घाइते भएपछि रजुनमानलाई छाडेर उनीहरु भागे । रजुनमानको मोवाईल रामेछापको लिखु तामाकोशी गाउपालिका–३ घर भएका १८ वर्षीय विशाल तामाङ्गले लिएर हिँडे ।
आरोपीहरु चार जना नै लिखु तामाकोशी गाउँपालिका–३ का हुन् । ‘मोवाईल लुट्ने नियतले उनीहरुले आक्रमण गरेको देखिन्छ’ एसएसपी अशोक सिंह भन्छन्–‘कुटाइको चोटले हिँड्न नसकेर वाग्मतीमा डुब्दा रजुनमानको मृत्यु भएको अनुसन्धानबाट थाहा भएको छ ।’
अनुसन्धान गर्दै जाँदा प्रहरीले सबैभन्दा पहिल विशाललाई पक्रियो । विशाल नयाँ बजारस्थित डेरामा भेटिए । विशालले बयान दिए–‘कुट्ने अरु पनि छन् ।’ विशाल बाहेक अरु ३ जनालाई नयाँ बसपार्कस्थित गेष्ट हाउसमा लुकेर बसेको अवस्थामा महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो ।
रजुनमानको मृत्यु भएको थाहा पाएपछि आरोपीहरु गेष्ट हाउसमा गएर लुकेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले रातोपाटीलाई बताए । त्रिवि शिक्षण अस्पतालमा रजुनमानको शव पोष्टमार्टम गरिएको छ । पोष्टमार्टममा ‘डुबेर मृत्यु’ भन्ने रिपोर्ट आएको छ ।
मृतकको मोवाइल प्रहरीले विशाल तामाङको डेराबाट बरामद गरेको छ । हत्यामा संलग्न आरोपी मध्येका विशाल गाडी चालक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई